बिरे नुनको गन्ध मिश्रित तातोपानी पिउँदै कुण्डमा बिहान तीन घण्टा र बेलुकी तीन घण्टा सातदेखि दश दिनसम्म नुहाएमा बाथरोग, ढाड दुख्ने, ग्यास्ट्रिक, चर्मलगायत रोग निको हुने विश्वास रहेको छ ।
काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा अवस्थित प्राकृतिक तातोपानी कुण्ड स्वास्थ्य पर्यटनको आकर्षण बन्दै गएको छ । तातोपानी कुण्डमा डुबुल्की मारेर उपचार गराउन आएका बिरामी र आफन्तहरूले यसलाई प्राकृतिक चिकित्सालय भन्ने गरेका छन् । पर्यटकको आगमनमा वृद्धि भएसँगै तातोपानीका होटल र घरवास (होमस्टे)हरू भरिभराउ भएका छन् ।
समितिका अनुसार निर्वाचन सम्पन्न भएपछि म्याग्दीमा पहिलाको भन्दा धेरै भीड बढ्ने अनुमानसहित आवश्यक सुविधाहरू थप गरिएको छ । पश्चिमबाट पूर्वतर्फ बगेको म्याग्दी नदीको किनारमा अवस्थित तातोपानी कुण्डमा प्राकृतिक रूपमै जमिनभित्रबाट ५० डिग्री सेल्सियस तापक्रमको पानी आउँछ ।
बिरे नुनको गन्ध मिश्रित तातोपानी पिउँदै कुण्डमा बिहान तीन घण्टा र बेलुकी तीन घण्टा सातदेखि दश दिनसम्म नुहाएमा बाथरोग, ढाड दुख्ने, ग्यास्ट्रिक, चर्मलगायत रोग निको हुने विश्वास रहेको छ । बागलुङको ढिकीचौरबाट पहिलो पटक तातोपानीमा नुहाउन आएकी शर्मिला गौतमले लगातार सात दिनसम्म तातोपानीमा डुबेर उपचार गर्दा आफूलाई ढाड दुख्न कम भएको जानकारी दिइन् ।
नेपाल र भारतका ठुला अस्पतालमा उपचार गर्दा पनि निको नभएका बिरामी उपचारका तातोपानी जाने गरेका छन् । स्थानीय कृष्णबहादुर केसीका अनुसार परिवार तथा आफन्तको सहयोगमा तातोपानी कुण्ड पुग्ने बिरामी हप्ता दिनसम्म स्नान गरेपछि आफ्नै खुट्टाले टेकेर घर फर्कने गरेका छन्।
कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले वार्षिक करिब २० हजार मानिस तातोपानी कुण्डमा स्थान गर्न आउने गरेको बताए । कोराना महामारीअघि यहाँ कात्तिकदेखि फागुन महिनासम्म थेगीनसक्नुको भीड लाग्ने गर्दथ्यो । कात्तिक दोस्रो सातासम्म सात सयजना भन्दा बढीले स्नान गरेका कुण्ड व्यवस्थापन समितिले बताएको छ ।
नेपालबाट मात्रै होइन, भारत र तेस्रो मुलुकबाट पनि स्नान गर्न आउने बिरामीको सङ्ख्या बढ्दो छ । स्नान गर्न आउनेको सङ्ख्या वृद्धि भएसँगै पुरुष र महिलालाई पालैपालो स्नानका लागि व्यवस्था गरिएको छ ।