एजेन्सी । अनेसास जापानको आयोजनामा नागोया साहित्य उत्सव २०२२ सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष रविन शर्माको अध्यक्षता तथा जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्ययतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रम पुस्तक विमोचन कार्यक्रम, गजज महफिल, बहस र खुला रचना वाचन लगायतका खण्डहरूमा विभाजन गरी सम्पन्न गरिएको थियो ।
सुविन न्यौपाने कान्जिभाइको कविता सङ्ग्रह कमरेडको जनै र श्यामराज राईको लघुकथा सङ्ग्रह हाम्रो बाटो एकैसाथ विमोचन भएको थियो । विमोचनमा कवि सुविन न्यौपानेले आफ्नो धारणा राख्दै सङ्ग्रहबाट एउटा कविता वाचन गरे भने कथाकार म्यामराज राईले सङ्ग्रह बारेमा आफ्नो धारणा प्रस्तुत गरे ।

कार्यक्रममा जापानमा बसेर गजल लेखिरहेका ६ जना गजलकारहरूको गजल महफिल खण्ड विशेष आकर्षणको केन्द्र बनेको थियो । महफिलमा गजलकारहरू दिनेशराज ज्ञवाली, गिरिजा गैह्रे, अमरदेव बास्तोला, मीनराज बास्तोला, गङ्गा गगन र विकास लम्सालले गजल वाचन गरेका थिए ।
प्रवासमा नेपाली भाषा र साहित्य विषयमा यसका विविध पाटाहरूमाथि साहित्यिक बहस गरिएको थियो । बहस खण्डमा अनेसास केन्द्रका निवर्तमान अध्यक्ष प्रकाश पौडेल माइला, नेपाली भाषा तथा साहित्यका अध्येता जापानी नागरिक हारुहितो नोजू तथा महिला अभियन्ता सविता पन्थीलाई वक्ताका रूपमा उपस्थित थिए ।

कार्यक्रममा जापानमा बसेर साहित्य सिर्जना गरिरहेका सर्जकहरूबाट खुला रचना वाचन खण्डमा विविध विधाका रचनाहरू वाचन भएका थिए । जापानमा क्रियाशील विभिन्न सङ्घ संस्थाका प्रतिनिधि तथा साहित्य प्रेमीहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा अनेसास केन्द्रका सचिव दीप पाठक, बिओटी सदस्य शुष्मा ओमाता, एनआरएन आइसिसि उपाध्यक्ष गोविन्द श्रेष्ठ रोविन, श्रवण सत्याल, दीपक कार्की लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै आआफ्ना धारणा व्यक्त गरेका थिए ।
सोही कार्यक्रममै अनेसास जापानले आयोजना गरेको जापानव्यापी कविता प्रतियोगिताका उत्कृष्ट तीन कविलाई पुरस्कार अर्पण गरिएको थियो । साथै कार्यक्रममा प्रत्यक्ष सहभागी सम्पूर्ण सर्जक, वक्ता तथा सहयोगदाताहरूलाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।

अनेसास जापानका पूर्व अध्यक्ष विष्णु प्रसाद घिमिरेको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रम शरद पोख्रेल, अनिल कुमार निर्दोष र श्याम शीतलले सहजीकरण गरेका थिए । संस्थाका अध्यक्ष रविन शर्माले कार्यक्रम सम्पन्न गर्न भूमिका खेल्ने सम्पूर्ण पक्षलाई धन्यवाद ज्ञापन गर्दै नागोया साहित्य उत्सव २०२२ को समापन गरेका थिए ।