मंगलबार , साउन १९, २०८३

‘बनेपा’को व्युत्पति, इतिहास र अङ्कशास्त्र

घाम र हावाको सन्तुलन मिलाउनका लागि ठाँउठाँउमा ननि अर्थात् चोकहरू, पानीको व्यवस्था मिलाउन ढुङ्गेधारा र इनारहरू, सांस्कृतिक कार्यक्रमहरू गर्न र नाटक देखाउन डबलीहरू राखी निर्माण गरिएको बनेपा अत्यन्तै व्यवस्थित थियो ।

image

बनेपा एउटा प्राचीन नगरी हो । बनेपा नगरीलाई लक्षिणको भूमि, पवित्र नगरी पनि मानिन्छ । नेवारहरूको बाहुल्यता पाइने यस नगरीको नाम भने नेपाल भाषाबाट नभई संस्कृतबाट आएको हो । नेवारहरूले भने बनेपालाई अर्कै नामले चिन्ने गर्दथे ।

प्राचीन बनेपाको इतिहास

पूर्वमा रक्तचन्दन भनिने चासःगुँ (चण्डेश्वरी जङ्गल), उत्तरमा थागुँ (माथिको जङ्गल) र दक्षिणमा क्वगुँ (तलको जङ्गलको) पृष्ठभूमीमा उपत्यकाबाट करिब २५ किलोमिटर पूर्व समुद्री सतहदेखि ४८०० फिट उचाईमा अनि २७.३१ डिग्री अक्षांश र ८१.३१ डिग्री देशान्तरमा रहेको एउटा सानो तर रमणीय उपत्यकामा अवस्थित प्राचीन नगर राजा आनन्ददेवले कलिगत वर्ष ४१९७ तद्अनुसार वि.सं.११५९ ने.सं. २२३ मा चण्डेश्वरी (चासुद्यः) को नजिक पुरानो भोलाखा टोललाई केन्द्र मानी त्यहाँ वरपरका बस्तीहरू भिंद्य: (भिमसेनस्थान), बहिक्यवः, सोमुदेगः, क्वताल, वर्णिपुर (बुडोल) लगायतका बस्तीहरूलाई उठाएर खड्ग आकारमा एकीकृत शहरको रूपमा प्राचीन बनेपा (भ्वँत) नगर स्थापना गरेका हुन् ।

प्राचीन बनेपा नगर (भ्वँत) पूर्वमा चण्डेश्वरी खोला, पश्चिमबाट दक्षिण हुँदै पूर्वतिर बगिरहेको पुण्यामति खोला अनि पहाड र पर्वत र स-साना गाउँहरूले घेरिएको साँगाः, नाला, धुलिखेल, श्रीखण्डपुर, चौकोट र पनौतीका बीचमा अवस्थित प्राचीन बनेपा, प्राचीन नेपाल मण्डलको पूर्वी (तिब्बत) नाका का रूपमा प्रख्यात नगरी हो । भक्तपुरका राजा यक्ष मल्लको (सन् १४८२ मा)मृत्यु पश्चात उनका छोराहरूको अंश बाँडफाडका क्रममा साहिला छोरा रण मल्ल बनेपाका राजा बनेका थिए । उनको शासनकालमा नेपाल सम्वत् ६२२ मा देवी चण्डेश्वरी माईले बनेपाका धलंछेँ खलकका मोहनसिंह मानन्धरलाई सुनको राँगोको टाउको वर(प्रसाद) दिएको कुरा वंशावलीमा उल्लेख छ । तिनै मोहनसिले पशुपतिनाथ महादेवलाई चढाएको एकमुखी रुद्राक्ष अद्यापि पशुपति मन्दिरमा छ ।

बनेपाका प्रथम मल्ल राजाका रूपमा रहेका रण मल्लपछि उनका छोरा केशव मल्ल र त्यसपछि कृष्ण मल्ल बनेपाका राजा भए । पछि भक्तपुरका राजा विश्व मल्लको पालामा राजा कमजोर भएपछि शासन व्यवस्था उनकी पत्नी गंगा महारानीको हातमा गएपछि बनेपा माथि पुनः आक्रमण गरी पुनः भक्तपुरमै गाभेका थिए । वि.सं. १८२० कार्तिकमा पृथ्वीनारायण शाहका सेनाप्रमुख दलजित शाहको नेतृत्वमा बनेपालाई विजय गरेपछि गोरखा राज्यमा विलिन भएको बनेपा, सांस्कृतिक रूपले निकै धनी नगर थियो । वि.सं. १८६७ जेठ ६ मा तौडिक काजीलाई बनेपाको चासःद्वः मा वर्षको १०१ रुपैयाँ बुझाउनेगरी दुईवटा पानीघट राख्न दिएका थिए । साथै, जनतालाई बुझाउने गरी पानीघटको लागि जाने पानीमा गाईभैंसी छोड्न नपाइने नियम पनि बनाइदिएका थिए। त्यस्तै, भाजुधन नेवारलाई १८६७ जेठ १० गते क्वाथ नजिकै वर्षको १० रुपैया बुझाउने गरी एकवटा पानीघट राख्न दिएका थिए ।

‘बनेपा’ शब्दको व्युतपति

बनेपा शब्दको व्युत्पति र यसको इतिहास प्राचीन समयका विभिन्न अभिलेख तथा ताडपत्रहरूमा यस क्षेत्रलाई संस्कृत भाषामा विनयापुरी, बनेपुर, बर्णिपुर, बनेकापुर, व्यनेपे, बनियुप्य भनी उल्लेख गरिएको पाइएको हुनाले संस्कृत भाषाको नामबाट नै अपभ्रंशित भई बनेपा रहन गएको अनुमान गर्न सकिन्छ ।

तर, नेपाल भाषाबाट नगरलाई “भ्वँत” भनि उच्चारण गर्ने गर्दछन् । प्राचीन समयमा नेपाल मण्डलका नेवाः समुदायको नुनदेखि सुनसम्मको व्यापार चीनको तिब्बतसँग हुने गर्दथ्यो र तिब्बतलाई नेपाल तथा नेपाली भाषामा “भोँत” (भ्वंत) भन्ने चलन रहेको पाइएको हुँदा तिब्बतसँग व्यापार गर्ने मुख्य पूर्वीद्वारका रूपमा रहेको बनेपा क्षेत्रलाई नेपाल भाषामा भ्वँत भनी उच्चारण गर्ने प्रचलन रहेको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

प्राचिन बनेपाको अङ्कशास्त्र

भ्वँत निर्माण गर्दाको संरचना अत्यन्तै वैज्ञानिक किसिमले बनाइएको पाइन्छ । घाम र हावाको सन्तुलन मिलाउनका लागि ठाँउठाँउमा ननि अर्थात् चोकहरू, पानीको व्यवस्था मिलाउन ढुङ्गेधारा र इनारहरू, सांस्कृतिक कार्यक्रमहरू गर्न र नाटक देखाउन डबलीहरू राखी निर्माण गरिएको बनेपा अत्यन्तै व्यवस्थित थियो । यहाँ नौ वटा ढुङ्गेधारा, नौवटा बहाः, बही: नौवटा डबली, र ९९ वटा इनारहरू थिए ।

यसरी ९ अङ्क पारेर निर्माण गरिएको बनेपा नगरी लक्षणयुक्त छ भनी बुढापाकाहरू भन्दछन् । शास्त्रीय दृष्ट्रिकोणले पनि ‘९’ अङ्कलाई, शुभ फलदायी र लक्षणयुत्त मानिन्छ ।

(प्राचीन बनेपा महोत्सवद्वारा उपलब्ध)

सम्बन्धित समाचार