शनिबार , बैसाख २६, २०८३

नाट्टाको मुख्यालयमा पुन: तालाबन्दी, जोटुफ भन्छ, “सम्झौता नभएसम्म ताला खोल्देनौँ”

image

काठमाडौं । ताला खोलिएको २४ घण्टा नबित्दै नक्सालस्थित नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)को मुख्यालयमा पुन: तालाबन्दी गरिएको छ। संयुक्त पर्यटन ट्रेड युनियन फोरम (जोटुफ) ले आज ताला लगाएको हो ।

किन लगाइयो ताला ?

२०७९ भदौ २९ गते श्रम ऐन २०७४ को दफा ११६ (ख) बमोजिम संयुक्त ट्रेड युनियन फोरम (जोटुफ) ले श्रम नियमावली २०७५ दफा ६७ बमोजिमका टुर क्षेत्रका रोजगारदाताहरुको संघ नाट्टामा मागपत्र पेश गरेको थियो ।

मागपत्र पेश गरेको ५ महिना बित्दासम्म नाट्टाले बेवास्ता गरेका कारण मिति २०७९ पुष १२ गते ७ दिने र २४ गते ४८ घण्टे ध्यानाकर्षण पश्चात विभिन्न चरणमा छलफल गर्दा पनिनिष्कर्ष निकाल्न नसकेको कारण गत फागुन २७ गते नक्सालस्थित नाट्टाको मुख्यालयमा तालाबन्दी गरिएको जोटुफले बताएको थियो ।

नाटाको कार्यसमितिले आन्दोलनले नेपालको पर्यटन विकासमा समेत दीर्घकालीन क्षति पुगेको भन्दै हिजो मंगलबार स्थानीय प्रतिनिधि, प्रहरी प्रशासन र पत्रकारको रोहवरमा नाट्टाको कार्यालयमा लगाइएको ताला खोलिएको थियो तर, आज जोटुफले पुनः आज नाट्टामा ताला लगाएको छ ।

नाट्टामा अनिश्चितकालीन तालाबन्दी गरिएको र माग पूरा नभएसम्म ताला नखोलिने जोटुफका सचिव रामकाजी ‘प्रयास’ बताउँछन् । “फाइनल सम्झौता नभएसम्म हामी ताला खोल्देनौं । उहाँहरू छलफलमा बसौँ भन्दै हुनुहुन्छ तर, निष्कर्ष निस्कने देखेका छैनौँ”, उनले हिमाल दर्पणलाई बताए ।

यो पनि पढ्नुहोस्,
नाट्टाले ताला खोलेपछि जोटुफले भन्यो, ‘नाट्टामा कुनै क्षती भए हामी जिम्मेवार हुँदैनौँ’

सम्बन्धित समाचार