शुक्रबार , कार्तिक ७, २०८३

घलेगाउँमा फुटबल म्याच हुँदै, प्रथम पुरस्कार पाँच लाख रूपैयाँ

फुटबल प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ लाख ५ सय ५५ रुपैयाँ, गोल्ड कप र मेडल पुरस्कार राखिएको छ । द्धितीय हुनेलाई नगद ३ लाख ३ सय ५५ रुपैयाँ, कप र मेडल राखिएको छ ।

image

काठमाडाैं । स्मार्ट भिलेज घलेगाउँमा वैशाख १ गतेदेखि सुरु हुने प्रथम स्मार्ट भिलेज आमन्त्रित एवं छैटौँ गोल्ड कप फुटबल प्रतियोगितामा १२ टिमले खेल्ने भएका छन् ।

समुद्री सतहदेखि २ हजार १ सय मिटर उचाइमा आयोजना हुने फुटबल प्रतियोगितामा जिल्ला बाहिरका ‘ए’ डिभिजन खेल्ने फुटबल क्लबसहितका ७ टिम सहभागी हुनेछन् । लमजुङका ५ वटा टिम सहभागी हुने आयोजकले जनाएको छ ।

पोल ‘ए’ र ‘बी’ मा ६÷६ वटा टिमले सहभागिता जनाउनेछन् । खेल तालिका अनुसार पहिलो खेल वैशाख १ गते दिउँसो २ बजे सशस्त्र प्रहरी क्लब (एपीएफ) काठमाडौं र नेपाल भानु युनाइटेड क्लब तनहुँबीच हुने भएको छ ।

प्रतियोगिताको उद्घाटन नेकपा एमालेका केन्द्रीय उपमहासचिव, गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं प्रतिनिधि सभा सदस्य पृथ्वीसुव्वा गुरुङले गर्ने कार्यक्रम रहेको छ । वैशाख १ गतेदेखि सुरु हुने फुटबल प्रतियोगिताको फाइनल खेल वैशाख ८ गते हुने आयोजक पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

यसअघि खुला फुटबल प्रतियोगिता आयोजना गर्दै आएका घलेगाउँबासीले पहिलो पटक आमन्त्रित फुटबल प्रतियोगिता आयोजना गर्न लागेका हुन् । फुटबल प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ लाख ५ सय ५५ रुपैयाँ, गोल्ड कप र मेडल पुरस्कार राखिएको छ । द्धितीय हुनेलाई नगद ३ लाख ३ सय ५५ रुपैयाँ, कप र मेडल राखिएको अध्यक्ष घलेले बताए ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई नगद १०÷१० हजार रुपैयाँ र मेडल प्रदान गरिनेछ । यो कार्यक्रम आयोजना गर्न ३० लाख ८० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा जिल्ला बाहिरका टिममा कास्की ११, नेपाल भानु युनाइटेड तनहुँ, समाज कल्याण खेलकुद केन्द्र काठमाडौं, सशस्त्र प्रहरी क्लब (एपीएफ) काठमाडौं, गोरखा ब्वयज बुटवल, (रड्स) रामपुर चिवन र बाग्मती फुटबल क्लब सर्लाही छन् ।

लमजुङका टिममा लालीगुराँस युवा क्लब भुजुङ, त्रिवेणी युवा क्लब बेंसीशहर, बुद्ध यूथ क्लब भोटेओडार बेंसीशहर यूथ सोसाइटी शेरा, उत्तरकन्या यूनाइटेड घलेगाउँ रहेका छन् । नाइन ‘ए’ साइडको स्वर्गभूमि रंगाशालामा हुने प्रतियोगितामा आमन्त्रण गरिएका खेलाडीलाई खाना र बासको निःशुल्क व्यवस्थापन गरिएको छ । फुटबल प्रतियोगिता उद्घाटनअघि सिद्धार्थ आले मगर, रेजिना परियारलगायतका कलाकारहरूको साङ्गीतिक प्रस्तुति हुने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार