काठमाडाैं । राजकुमार सिद्धार्थले राजकीय जीवनसहित राजप्रासाद त्याग गरेको ऐतिहासिक क्षण ब्युँताई पर्यटकीय आकर्षण बढाउन कपिलवस्तुको तिलौराकोटमा महाभिनिष्क्रमण दिवस मनाइएको छ ।
तौलिहवाका शाक्य कुलका सिद्धार्थ शाक्य घोडामा चढेर पूर्वीद्वाराबाट दरबार छाडेको देखाइएको थियो । तत्कालीन अवस्थाको कन्थक नामक घोडामा चढेर बुद्धले तिलौराकोटको द्वारबाटबाट गृह त्याग गरेका थिए । त्यही झल्को दिने गरी कार्यक्रम गरिएको हो ।
लुम्बिनी विकास कोष तिलौराकोट कपिलवस्तुका प्रमुख माधव प्रसाद आचार्यका अनुसार २६ सय १८ वर्ष अघि राजकुमार सिद्धार्थले प्राचीन कपिलवस्तु राज्यको राजधानी तिलौराकोटबाट सम्पूर्ण राजशी सुखसयल लगायत पारिवारिक जीवनलाई त्याग गरेको बताए । राजकुमार सिद्धार्थले कन्थक नामको घोडामा चढेर पूर्वीद्वाराबाट महाभिनिष्क्रमण गर्नुभएको आचार्यको भनाई छ ।
दिवसका परिकल्पनाकार विक्रम पाण्डे काजीका अनुसार बोधगया देखि लिएर बुद्धसँग सम्बन्धित क्षेत्र तिलौराकोट दरबार र राजकुमार सिद्धार्थले पूर्वी द्वारबाट गृह त्याग गर्नुभएकोले विशेष महत्त्व राखिएको बताए । आउने दिनमा यो विशेष महत्वलाई पर्यटन आकर्षणको रूपमा विकास गरेर यो क्षेत्रमा समृद्धि ल्याउने परिकल्पना रहेको उनले बताए ।
महाभिनिष्क्रमणको महत्त्व बुझाउँदै बुद्धको जीवनीसँग जोडिएको गुरु पूर्णिमामा गृह त्याग गरेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न दिवस मनाइएको हो । तिलौराकोटमा राजकुमार सिद्धार्थले २९ वर्षको युवा अवस्था बिताएका थिए ।