सोमबार , भाद्र ८, २०८३

रहेनन् रकस्टार रविन तामाङ

image

काठमाडौं । चर्चित नेपाली रकगायक एवम् अभिनेता रविन तामाङको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार गायक तामाङको मङ्गलवार बेलुका निधन भएको हो ।

मङ्गलवार बेलुका बुढानीलकण्ठस्थित घरमा निधन भएका रविनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

प्रहरी प्रभाग बुढानीलकण्ठका इन्स्पेक्टर दीपेन्द्र चन्दले गायक तामाङकी दिदी भगवतीले प्रहरीलाई ६ बजे खबर गरेको र सोहीअनुसार बुढानिलकण्ठ-५ चिसेनीस्थित उनको घरमा पुगेको बताए ।

रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्टसमेत रहेका रविन पछिल्लो समय चलचित्र अभिनयमा समेत व्यस्त थिए ।

सिंगापुरमा जन्मिएका लाहुरे परिवारका रविनको पछिल्लो फिल्म ‘छड्के-२’ हो । नेपाली रक जनराको गीतको विकासमा उनको योगदान उल्लेख्य मानिन्छ ।

सिंगापुरमै अध्ययन गरेका उनी अमेरिकी गायक तथा सङ्गीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए । सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन् ।

उनले ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत एक दर्जन बढी नेपाली फिल्ममा अभिनय गरेका छन् । उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो जहाँ उनी ग्याङस्टर रोलमा थिए ।

उनले हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका छन् ।

सम्बन्धित समाचार