नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत कास्की क्षेत्र नं. ३ (ख) बाट महिला प्रदेश प्रतिनिधि पदमा कमला गिरीले उम्मेद्वारी घोषणा गरेकी छन्।
पोखरा महानगरपालिका-५ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित गिरीले अब प्रदेश प्रतिनिधिका रूपमा पार्टीको महाधिवेशनमा प्रतिनिधित्वका लागि उम्मेद्वारी घोषणा गरेकी हुन्।
लामो समयदेखि पर्यटन व्यवसाय, सामाजिक संस्था र विभिन्न व्यावसायिक संगठनमा सक्रिय गिरीले आफूले हासिल गरेको अनुभव र संगठन सञ्चालनको अभ्यासलाई पार्टीको जिम्मेवारीसँग जोड्न खोजेकी छन्।
उनले आफ्नो उम्मेद्वारी कुनै पदमा पुग्ने उद्देश्यमा मात्र सीमित नभई अनुभवलाई संगठनको हितमा उपयोग गर्ने संकल्पका रूपमा प्रस्तुत गरेकी छन्।
बागलुङको बलेवामा जन्मिएकी गिरीले १२ वर्ष मेडिकल क्षेत्रमा काम गरेपछि पछिल्लो १५ वर्षदेखि पर्यटन व्यवसायमा निरन्तर सक्रिय रहेकी छन्। उनी मेट्रो इन टूर एन्ड ट्राभलकी प्रबन्ध निर्देशक हुन्। सुमी मनी चेन्जर, सोभिनियर सप तथा स्पा एकेडेमीमा समेत उनको संलग्नता छ।
व्यवसायसँगै संस्थागत नेतृत्वको अनुभव पनि गिरीको राजनीतिक परिचयको महत्वपूर्ण आधार बनेको छ। उनी टेवान पोखराकी निवर्तमान अध्यक्ष, रोटरी क्लब अफ पोखराकी निवर्तमान अध्यक्ष तथा बागलुङ बचत तथा ऋण सहकारी संस्थाकी पूर्व अध्यक्ष हुन्।
विभिन्न संस्थामा नेतृत्व सम्हाल्दा प्राप्त अनुभवलाई उनले कांग्रेसको संगठनात्मक भूमिकामा उपयोग गर्ने बताएकी छन्।
नाट्टा गण्डकीमा सदस्यबाट संगठनात्मक जिम्मेवारी शुरू गरेकी गिरीले सचिव, महासचिव हुँदै द्वितीय उपाध्यक्षको भूमिका निर्वाह गरिसकेकी छन्। पर्यटन क्षेत्रको संस्थागत नेतृत्वमा लामो समय काम गरेकी उनी नाट्टा गण्डकीको अध्यक्ष पदमा समेत प्रतिस्पर्धा गरेकी थिइन्।
सार्वजनिक भूमिकामा गिरी प्रखर वक्ताका रूपमा पनि परिचित छिन्। आफ्ना धारणा स्पष्ट रूपमा राख्ने र संस्थागत विषयमा सक्रिय सहभागिता जनाउने उनको शैलीलाई उनको राजनीतिक यात्राको महत्वपूर्ण पक्षका रूपमा लिइन्छ।
पर्यटन तथा सामाजिक क्षेत्रमा गरेको योगदानका लागि उनले विभिन्न पुरस्कार तथा सम्मानसमेत प्राप्त गरेकी छन्।
गिरीको राजनीतिक सक्रियतासँगै व्यावसायिक र सामाजिक क्षेत्रमा बनाएको सम्बन्ध पनि उनको उम्मेद्वारीको आधार बनेको छ।
क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएपछि प्रदेश प्रतिनिधिका लागि अघि बढेकी उनले महिला सहभागिता, संगठनमा सक्रिय भूमिका र आफूले हासिल गरेको अनुभवलाई पार्टीको जिम्मेवारीमा जोड्ने अपेक्षा राखेकी छन्।
कास्की क्षेत्र नं. ३ (ख) मा प्रदेश प्रतिनिधिका लागि हुने प्रतिस्पर्धामा अब प्रतिनिधिहरूले उम्मेद्वारहरूको राजनीतिक संलग्नता, संगठनात्मक अनुभव, सार्वजनिक भूमिका र पार्टीमा योगदानका आधारमा आफ्नो प्रतिनिधि छनोट गर्नेछन्।
गिरीका लागि भने यो उम्मेद्वारी पर्यटन तथा सामाजिक क्षेत्रको लामो अनुभवलाई पार्टीको संगठनात्मक भूमिकासँग जोड्ने अर्को चरणका रूपमा हेरिएको छ।
भिडियो