धनुषा जिल्ला प्रदेश २ अन्तर्गत पर्ने जिल्ला हो । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम पनि यसै जिल्लामा पर्छ । धनुषाको पुर्वमा सिरहा, पश्चिममा महोत्तरी, उत्तरमा सिन्धुली, उदयपुर र दक्षिण तर्फ भारतको विहार राज्यका विभिन्न जिल्लाको सिमाना छ ।
सत्ययुगको अन्त्यतिर भगवान विष्णुका अनुयायीहरुको प्रयासबाट मिथिलाको खोज भएको शास्त्रहरुमा उल्लेख छ । मिथिला राज्य जनकपुरधामको नाममा प्रतिस्थापित हुन पुगेको देखिन्छ ।
नेपालको एकीकरण पछि नेपालको तराई भुभागमा रहेको यो मिथिला क्षेत्रको महत्व पौराणिककाल देखि जुन रुपमा रही आएको थियो अझ त्यो भन्दा बढी रुपमा धार्मिक र पछि थप पर्यटकीय रुपमा समेत आज यो क्षेत्रको महत्वमा बृद्धि भएको छ ।
जनकपुरधाम धार्मिक र सांस्कृतिक जगमा उभिएको प्राचीन नगरी हो । प्राचीनकालमा मिथिला, विदेह र तिरहुत पनि भनिने जनकपुर जनकवंशी राजाहरूको राजधानी पनि थियो । यसबारे रामायण, वेद, पुराणलगायत उपनिषदमा मिथिलाको उन्नत सभ्यताबारे व्याख्या गरिएको छ ।
यसका साथै प्रदेश २को अस्थायी राजधानी जनकपुरधामको महत्व विश्व प्रसिद्ध जानकी मन्दिरले समेत बढाएको छ ।
माता जानकीको विशाल मन्दिरको निर्माण सन १९११मा गरिएपनि मध्यभारत लोहागढका सन्त शुरकिशोर दासले १५औँ शताब्दिमा जनकपुरधामको खोज गरी मन्दिरको जग बसाएका थिए । शुरकिशोर दास माता जानकीको अनन्य भक्त थिए ।
त्यसैले मिथिलाधाम दर्शन गर्ने उनको मनमा उत्कण्ठा जाग्यो तर मिथिलाधाम कुन ठाउँमा छ भन्ने विषयमा उनलाई केही थाहा थिए । भनिन्छ मााता जानकीले नै उनको सपनामा आएर जनकपुरधामको बाटो देखाएकी थिइन् ।
१४१७ सालमा भारतको राजस्थानस्थित लोहागढबाट जनकपुर आएका आदि महन्थ सुरकिशोरदास वैष्णवले राम जानकीको प्रतिमा फेलापारेको बताइन्छ । १७८४ मा मकवानपुरका राजा मानिक सेनले जानकी मन्दिरको नाममा १४ सय बिघा दान दिएको लिखत अझै छ ।
पछि निसन्तान टिकमगढकी रानी वृषभानु कुमारीले माता जानकी समक्ष पुत्र प्राप्तीको ईच्छा व्यक्त गरिन् । उनलाई पुत्र प्राप्ति भएपछि विशाल मन्दिरको निर्माण गरेको बताइन्छ । त्यो समयमा ९ लाख असर्फी खर्चेर मन्दिरको निर्माण गरिएको जानकी मन्दिरलाई नौ लखा मन्दिर समेत भन्ने गरिन्छ । मन्दिर निर्माणका लागि सन १८९४ मा शिलान्यास गरिएको थियो सन १९११ मा मन्दिर निर्माण कार्य सम्पन्न भएको मानिन्छ ।
मन्दिरमा बिहान ७ बजे र बेलुका ८ बजे आरती हुन्छ । दिउँसो १२ देखि ४ बजेसम्म गर्भगृहको ढोका खुल्दैन । गर्भगृह पछाडि सांस्कृतिक संग्रहालय छ । त्यसले हलेश्वरी महायज्ञ भएर सीता फेला परेदेखि सीतारामको विवाह भएसम्मको झझल्को दिलाउँछ ।
जनकपुरधामको मध्य भागमा रहेको सो मन्दिर मानव सिर्जनाको उत्कृष्ट नमूना मानिन्छ । मन्दिरको वास्तुकला, मूर्ति, डिजाइन र प्रविधि दर्शनीय, पूजनीय, आस्था र विश्वासका प्रतीकका रूपमा रहेका छन् । सो मन्दिर ४९ हजार ५ सय ५५ वर्गफिटमा फैलिएको छ ।
सो मन्दिर वास्तु कलाकारिताको विलक्षण रहेको छ । मन्दिर परिसरमा रहेका ६० वटा कोठाहरु छन् ।
भारतको वैशालीमा लिच्छवी गणराज्यको विकास भएको बेला नेपालमा मिथिला सभ्यताले उचाई पाएको थियो । जनक र सीताबाहेक याज्ञवल्क्य, गार्गी र मैत्रीय आदि विद्वानको थलो जनकपुरधाम नै हो ।
मन्दिरको बुर्जा, गुम्बज, गर्भगृह, सुनौला गजूर, फराकिलो सफा परिसर र कलात्मक प्रवेशद्वार भएको जानकी मन्दिरलाई बेला बेलामा विश्व सम्पदा सूचीमा सूचीकृत गराउनका लागि आवाज उठ्दै आएको छ ।
राम मन्दिर
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको महत्वपूर्ण तिर्थस्थलहरु मध्ये राम मन्दिर पनि एक हो । जानकी मन्दिरको निर्माणभन्दा पहिले नै निर्मित यो मन्दिरको निर्माण प्यागोडा शैलीमा गरिएको छ । राम मन्दिरलाई झट्ट हेर्दा पशुपतीनाथ मन्दिरको झ–झल्को आउँछ ।
राम मन्दिरमा पंचायन मूर्ति, लक्ष्मीनारायण, विष्णु दशावतारको मूर्ति, सातवटा घोडायुक्त रथमा विराजमान सूर्य भगवान र अन्य देवी देवताको नित्य पूजा अर्चना गर्ने गरिन्छ । मन्दिरमा रहेको मूर्तिहरु चतुर्भुज गिरीले ती मूर्तिहरु फेला पारेका थिए । तीनै सन्तले पछि मन्दिरमै रहेको बरको रुखमुनि मूर्तिहरु राखेर पूजा शुरु गरेका थिए ।
यो मन्दिर प्राचिन एवं ऐतिहासिक रहेको छ । महन्थख चतुर्भुज गिरीलाई राजा इन्दु विधाताले वि.सं. १८६७मा दिएको कुश विर्ता राजा विर्वाण युद्ध विर विक्रम शाहले अम्वर गिरीलाई दिएको थमौतीबाट नै मन्दिरको प्राचिनतालाई दर्शाउँछ ।
रणबहादुर शाहका सेनापति अमरसिंह थापाले वि.सं १८३९ मा यो मन्दिरको निर्माण गर्न लगाएका थिए । पछि चन्द्र शम्शेर प्रधानमन्त्री भएको समयमा १९८४ सालमा पित्तलको छानोमा सुनको पानी चढाउन लगाएर मन्दिरलाईअझै आकर्षक बनाउन लगाएका थिए । मन्दिरको लम्बाई २५ फिट रहेको छ भने २३ फिट चौडाई छ ।
झिंगटीको छानो हाली काठबाट यस मन्दिरको निर्माण गरिएको छ । यस मन्दिरलाई पनि राम मन्दिर जतिकै पुरानो मनिन्छ । यो मन्दिरको निर्माण पनि अमरसिंह थापाले नै गर्न लगाएका थिए । मन्दिर परिसर भित्र १८ वटा शिवलिंगहरु समेत रहेका छन । यि शिवलिंगहरुलाई नवग्रहादी पनि भन्ने गरिन्छ । हुनत यसलाई धर्म रक्षाका लागि प्राण दिएको सन्यासीहरुको समाधी स्थल रहेको समेत भन्ने गरिन्छ ।
मन्दिर भित्र भगवानका केही पाषाण मूर्तिहरु र संगमर्मरका मूर्तिहरु समेत राखिएको छ । त्यहाँ रहेका मूर्तिहरु मध्ये यशोधाले भगवान कृष्णलाई दूध खुवाई रहेको कालो ढुंगाको मूर्तिलाई पाल कालिन मूर्ति मानिन्छ । यी मूर्तिहरु पुरातात्विक दृष्टिले पनि महत्वपूर्ण छन् ।
मन्दिरको प्रवेशद्वार पूर्व तथा दक्षिणमा मूख्य रुपमा रहेपनि पश्चिम तर्फ सानो र उत्तर तर्फ राजदेवी मन्दिर प्रवेश गर्ने द्वार रहेको छ । पूर्व तर्फको मुख्य प्रवेशद्वार भएर सोझै धनुषसागरसम्म पुग्न सकिन्छ ।
राजदेवी मन्दिर
जनकपुरको राजदेवी मन्दिर जनकपुरधामको सबैभन्दा प्राचिन मन्दिरहरुमा पर्छ । मिथिलाका जनकवंशी राजाहरुको कुलदेवीको रुपमा राजदेवीलाई लिइने गरिन्छ । राम मन्दिरको उत्तर तर्फ रहेको सानो प्रवेशद्वार भएर राजदेवी मन्दिरमा पुग्न सकिन्छ ।
मन्दिरको गर्भगृहमा धातु वा ढुंगाको कुनै मूर्ति छैन । त्यहाँ माटोको ढिस्कोलाई कुलदेवीको रुपमा प्राचिन कालदेखि नै जनकवंशी राजाहरुले पूजा अर्चना गर्दै आएका छन । राजदेवी माताको प्रतिकको रुपमा रहेको माटोको ढिस्कोलाई अहिले पित्तलको पाताले ढाकिएको छ । मन्दिर परिसरमा महावीर युवा कमिटीले टायल्स ओछ्याएर त्यसको आकर्षण अझै बढाएको छ ।
विजया दशमीको ९ दिनसम्म यस मन्दिरमा देवीको पूजा पाठ गर्नका लागि टाढा टाढाबाट लाखोको संख्यामा दर्शनार्थीहरुको घुइचो लाग्ने गर्छ । दशैँको बेला मन्दिरलाई नव बेहुली झैं सिंगारिएको हुन्छ ।
राजदेवी मन्दिरमा विजया दशमीको अष्टमी तिथीका दिन एकै दिनमा सबै भन्दा बली दिइने गरिन्छ । हुनत राजदेवीमा बली प्रदानका लागि आउनेहरुको संख्या दिन प्रति दिन बढ्दै गई रहेको देखिन्छ । यसबाट के पुष्टी हुन्छ भने जनकपुरधाममा वैष्णव धर्मका साथै शाक्त धर्म पनि त्यतिकै प्रबल छ ।
जनक मन्दिर
राजा जनककै नामले प्रख्यात नगरी जनकपुरधाममा रहेको जनक मन्दिर प्राचीनताको नमूना हो । यो मन्दिर धनुष सागरको उत्तर पश्चिम डिलमा अवस्थित छ । मन्दिर भएको ठाउँलाई जनक चोकको नामले चिनिएको छ ।
मन्दिरमा प्रमुख रुपले राजा जनक, सुनयना, सीता लगायत अन्य देवी देवताहरुको पूजा अराधना गर्ने गरिन्छ । राजर्षि जनकको मन्दिरको थापना मणिक सेनको समयमा भएको मानिन्छ । यो मन्दिरको निर्माण अमरसिंह थापाले १८३९ सालमा गर्न लगाएका थिए ।
१९९० सालको भूकम्पमा मन्दिर क्षतिग्रस्त भएपछि १९९४ सालमा रामशम्शेरले फेरी मन्दिर बनाउन लगाएका थिए । पछि मन्दिरको सौन्दर्यीकरण फेरी गरिएको छ भने मन्दिर परिसरमा टायल्स ओछ्याएर आकर्षक बनाइएको छ ।
मन्दिरको गर्भ गृहमा रहेका मूर्तिहरु क्रमशः सतानन्द (कालो ढुंगा), राजर्षि (ढुंगा), सुनयना (संगमर्मर), गोपाल (ढुंगा) राखिएका छन् । मन्दिरमा रहेको राजर्षि शिरध्वज जनकको मूर्ति शिर तथा हाथ खुट्टा नभएको खण्डित मूर्ति रहेको छ । भगवान राम जनकले दिएको दाइजोबाट सन्तुष्ट नभएपछि आप्mनो शिर नै काटेर दिएको किम्बदन्तीसंग समेत यस मूर्तिलाई जोड्ने गरिन्छ ।
गंगा आरती
जनकपुरधाम आउने पर्यटकहरुका लागि जानकी मन्दिर, राम मन्दिर दर्शन पछि आकर्षणको केन्द्र गंगा आरती हो । संगीतमय सो आरती हेर्नका लागि प्रत्येक साँझ जनकपुरधामको ऐतिहासिक गंगासागरमा श्रद्धालुहरुको भीड लाग्ने गर्छ । त्यहाँ प्रत्येक साँझ ७ बजेदेखि ८ बजेसम्म गंगा आरती हुने गर्छ । गत ५ बर्ष देखि गंगा आरती हुँदै आएको छ ।
आरतीका लागि गंगा सागरको डिलमा ३ वटा मण्डप बनाइएको छ । तीनवटा पण्डित एकैसाथ गीत संगीतकै धूनमा आरती गर्ने गर्छन । गंगासागरमा हुने गंगा आरतीले पूजाका साथै जल संरक्षण र पर्यावरण संरक्षणको सन्देश दिन सफल समेत भएको छ ।
केही वर्ष अगाडिसम्म फोहोर पोखरीको रुपमा रहेको गंगासागरलाई सेभ हिस्टोरिकल जनकपुरका अध्यक्ष एवं प्रदेश २का प्रदेशसभा सदस्य रामअशिष यादवको नेतृत्वमा सरसफाई गरी पूजनीय स्थलको रुपमा परिणत गरिएको छ ।
आरती शुरु भएपछि राती पर्यटकहरु जनकपुर बस्नेको संख्याहरु समेत बढेको छ । जनकपुरमा उत्सव नभएको बेला पहिले पर्यटकहरु वास बस्न रुचाउँदैनथे तर गंगा आरतीका कारण पर्यटकहरु यहाँ एक दिनका लागि पनि वास बस्ने गर्छन् ।
गंगासागरको महत्व
७२ वटा कुण्ड रहेको जनकपुरमा सबै कुण्ड र पोखरीको आ–आफ्नै ऐतिहासिक महत्व रहेको छ । अधिकांशको त्रेतायुगकै इतिहास रहेको पाइन्छ । रामजानकीसंग ती ऐतिहासिकता जोडिएकाले पनि पोखरीको महत्व अझै बढ्न जान्छ ।
त्रेतायुग कालिन यसको पनि इतिहास रहेको छ । इतिहासकारहरु यो गंगासागर कुन प्रयोजनका लागि निर्माण गरियो त्यसमा एकमत नदेखिए पनि त्रेतायुगकालिन रहेको यसमा कुनै द्विविधा नरहेको उनीहरु बताउँछन ।
केही इतिहासकारहरु रामजानकीको विवाहको बेला जानकीकै आग्रहमा भगवान रामले आफ्नो बाणले गंगालाई जनकपुरमा आमन्त्रीत गरेको दावी गर्छन भने केहीले त्रेता युगमा मिथिला नरेश निमिको श्रापबाट पूरै शरीर गलिसकेको थियो, त्यस पछि उहाँको शरीरलाई मन्थन गरियो जसबाट मिथि नामको बालकको जन्म भएको थियो ।
सो बालकलाई पानीबाट सिख्त गर्नका लागि संसारकै प्रमुख नदि तथा सरोवरहरुबाट पानी ल्याइयो सोही पानीबाट गंगासागर पोखरीको निर्माण भएको हुन सक्ने बताउँछन । रामजानकीको विवाहको समयमा मटकोर गंगासागर पोखरीमै भएको मान्यता पनि छ ।
शिव मन्दिर
गंगासागरको डीलमा रहेको शिव मन्दिरमा श्रद्धालु भक्तजनहरु ठूलै संख्यामा पूजाका लागि पुग्ने गर्छन् । यो मन्दिरकै नाउँबाट चोकको नाम शिव चोक राखिएको छ । शिवरात्री लगायतका पर्वहरुमा मन्दिरमा ठूलै संख्यामा दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्छ ।
गंगासागरको उत्तर पश्चिम तथा शिव चोकमा रहेको यो मन्दिरको निर्माण २०३८ सालमा गरिएको छ । मन्दिरको निर्माण रामस्वरुप रामसागर धर्म संस्थाबाट गरिएको हो । मन्दिरमा काठमाडौँबाट ल्याइएका पाषण मूर्तिहरु प्रतिस्थापित गरिएका छन । यस मन्दिरको निर्माण शिखर शैलीमा गरिएको छ ।
मन्दिरको चारैतिर प्रवेशद्वार छन । गर्भमन्दिर अगाडी जगमोहन समेत छन । दर्शनार्थीहरु जगमोहन कोठामा बसेर पूजा अराधना गर्ने गर्छन ।
संकटमोचन मन्दिर
जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदान नजिक रहेको हनुमानजीको संकटमोचन मन्दिर विश्व प्रसिद्ध मन्दिर रहेको छ । यो मन्दिर रंगभूमि मैदान १२ बिघाको उत्तर पश्चिम कुनामा अवस्थित छ । मन्दिरको स्थापना २००० सालमा गरिएको थियो ।
जनकपुरधाम घुम्न आउने श्रद्धालु तथा पर्यटकहरु एक पटक यहाँ अवश्य नै पुग्ने गर्छन् । यो मन्दिरको स्थापना परमहंस श्री अवध बिहारी दासजीले गराउन लगाउएका थिए ।
मौनी बाबाले दिनु भएको अठारह कठा जग्गामा मन्दिरको स्थापना गरी हनुमानजीको मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ । यस मन्दिरमा रहेको हनुमानजीको संगमर्मरको मूर्ति भारत जयपुरबाट ल्याइएको हो । संकटमोचन मन्दिरको शिखर शैलीमा निर्माण तत्कालिन महन्थ अवध कुमार दासले गराएका थिए ।
मन्दिरको गर्भगृहमा हनुमानजीको संगमर्मरको भव्य मूर्ति सिंहासनमा विराजमान गराइएको छ । गर्भगृहमै संगमर्मरको मूर्ति मुनी सानो हनुमानजीको मूर्ति समेत रहेको छ । हनुमानजीकै मूर्ति नजिक चाँदीको कन्तुरमा सीतारामको शालिग्राम छ । मन्दिरभित्र रामचरित मानसका दोहाहरु समेत लेखिएका छन् ।
रामजानकी विवाह मण्डप
जानकी मंदिरको उत्तर तर्फ तथा अरगज्जासरको दक्षिण तर्फ रहेको रामजानकी विवाह मण्डप जनकपुरधामको अर्को धार्मिक एवम् दर्शनीय स्थल हो ।
रामजानकी विवाह मण्डप वि.स. १९९० सालको भुकम्प्ले क्षतिग्रस्त भएकाले वर्तमान रामजानकी विवाह मण्डप नेपाली शैली (पैगोडा) मा पर्यटकहरुलाई तान्न सकिने किसिमले आकर्षक ढंगबाट बनाइएको छ । वर्तमान मण्डपको सिलान्यास २०२६ सालमा वडा गुरु ज्यू खगेन्द्र राज पाण्डेबाट भएको थियो भन्ने यसको उद्घाटन तत्कालिन राजा विरेन्द्रबाट २०४२ साल मा भएको हो ।
श्री रामजानकी विवाह मण्डपको गर्भगृहको चारैतिर पारदर्शी सिसा लगाइएकाले गर्भगृह वरिपरि रहेका सम्पुर्ण देवताहरुको दर्शन बाहिरबाट गर्न सकिन्छ । सीतारामका भव्य मुर्तिहरु गर्भगृहको मध्य भाग वेदीको पश्चिममा पुर्व मुख पारेर राखिएका छन् ।
गर्भ मण्डप भित्र कलात्मक अठारह ओटा संगमरमरका स्तम्भहरु छन् । यी स्तम्भहरुमा विभिन्न देवीदेवताहरुका चार चार ओटा दरले संगमरमरका मुर्तिहरु जोडिएका छन् । यसले गर्दा मण्डपको भव्यता बढ्नुको साथै रामजानकीको विवाह बेलामा उपस्थित सम्पूर्ण देवी– देवताहरुलाई राखेर सजिवता दिएको छ । मण्डप दुई छानाको छ ।
मण्डपको माथि शिरमा रहेको सुनौले गजुरले यसको रौनकतालाई अझ बढाएको छ । गर्भ मण्डपको सतहलाई पारदर्शी शिशाको अतिरक्त चारैतिर फलामको ३ फिट जति अग्ला वार लगाइएका छन् ।
यो मण्डप जानकी मन्दिर अन्तरगत रहेकाले यसको संचालन यसैबाट भएको छ । मण्डपको सम्भार एवं व्यवस्थापनका लागि दर्शालुहरुबाट न्युनतम शुल्क लिने गरिन्छ । यहाँ फोटो खिच्ने व्यवस्था गरिएको छ ।
लक्ष्मण मन्दिर
जनकपुरधामका पुराना मन्दिरहरुमा लक्ष्मण मन्दिर पनि एउटा हो । यो मन्दिर जानकी मंदिर अगाडिको विशाल प्राङगणको उत्तर पुर्वमा पर्छ । यस मन्दिरमा मुख्य रुपमा भगवान सीताराम, लक्षमण र लवकुशका धातुका मुर्तिहरु राखी पुजाआजा गरिन्छ ।
यो मन्दिरको स्थापना महात्मा श्री जयकृष्ण दासले १७औं शताब्दीको अन्ततिर गरेका हुन । मन्दिरको प्राचीनताबारे ताम्रपत्रमा उल्लेख भएको वाक्यबाट यकिन हुन्छ ।
ताम्रपत्रमा वि.स. १८१० फाल्गुणवादी ९ मा मकवानपुरका राजा हेमकर्ण सेनले जय कृष्ण दासुलाई दान दिएको कुश विर्ता वि.स. १८६७ सुदी ५ भाद्रका दिन गींर्वाण विक्रम शाहले महात्मा रामकृष्ण दास लक्षमण मन्दिरका महन्थलाई रजौल मौजाको कुश विर्ता दिएको अधिकार कन्फर्म गरिएको उल्लेख छ ।
यस मन्दिरको पौरानिकताको सम्बन्धमा यसै मन्दिरका महन्थ वेदान्ती श्री राटहल दासजीका अनुसार भागवतका अनुसार त्रेतामा मिथिलाका राजा बाहुल्याश्व जनक थिए । उनको समयमा मिथिलामा भीषण अनिकाल परेको थियो । जनताहरु आकुल व्याकुल र दुःखी थिए ।
जनताहरुमा सन्तान बृद्धिको क्रम रुकेको थियो । देशको यस्तो स्थिती देखेर राजा, ऋषिमुनीहरु पनि दु्खि थिए । राजा वाहुल्याश्व यस संकटकालिन स्थितीबाट छुटकारा पाउन चिंतित थिए ।
यस अवस्थाबाट मुक्ति पाउन तत्कालीन ऋषिमुनिहरुले हिमालयमा गई १२ वर्ष तपस्या गर्न भने । ऋषिमुनिहरुको आदेश पाएपछि हिमालयमा गई तपस्या गर्न थाले । १२ वर्ष तपस्या गरेपछि उनलाई लक्ष्मणको मुर्ति प्राप्त भयो र आकाशवाणी भयो । तिमी यो मुर्ति लिएर जानु र पुजा गर्नु तिम्रो देशमा अनिकाल हट्ने छ जनताहरु सबै खुशी रहने छ ।
राजाले लक्ष्मणको मुर्ति लिएर आफ्नो देशमा आए र पुजा आजा सुरु गरे । यसपछि देशमा अनिकाल हट्यो जनताहरुमा संतान बृद्धिको क्रम सुरु भयो । राजा प्रजा सबै आनन्दले जीवन विताउने भएपछि कालखण्डको दौरान राष्ट्रमा अनेकानेक उकाली ओरालीहरु आएको कारण लक्ष्मण जीको मुर्ति माटोमा पुरिन गयो र लुप्त भयो ।
कलियुग आएपछि महात्मा मस्त रामजीलाई प्रयागमा हनुमान जीले दर्शन दिनुभयो र भन्नु भयो, तिमी मिथिला जनकपुरधाम जाउ त्यहाँ लक्ष्मण जीको मुर्ति छ । खोजेर पुजा गर्नु तिम्रो कल्याण हुनेछ ।
हनुमान जीबाट यस्तो आदेश पाएपछि मस्तरामजी सोनपुर हुदै जनकपुर आए र गंगासागरको पश्चिममा आएर बसे । सोच्न थाले कता हनुमानजीले भनेको मुर्ति खोज्ने ? हनुमानजीबाट सपना भयो । मणिमण्डपको पुर्व विमला भन्दा पश्चिम जानकी जीकोे जिरायत भन्दा उत्तर कडहराग पोखरी देखि दक्षिण नेर खोज भनेर मस्तराम जीलाई आदेश भयो ।
लुप्त भएको लक्ष्मण जीको मुर्ति हनुमानजीको कृपाले पता लगाई मस्तरामजीले पुजापाठ गर्न शु्रु गरे । लक्षमण जीको मुर्ति मात्र पुजा गर्न नहुने भएकोले साधुसन्तहरुको सल्लाहले मस्तरामजी त्यस ठाउँमा सीतारामको समेत मुर्ति राखी पुजा गर्न सुरु गरे ।
यो मन्दिर शिखर शैलीमा निर्माण गरिएको छ । भगवानहरु संगमरमरको सिँघासनमा श्रृंगारेर राखिएका छन् । मन्दिरको अगाडी दक्षिण पुर्वमा अपराजीत हनुमानजीको मन्दिर छ । उत्तर तर्फ पक्काको घर छ ।
श्री रामशरण वेदान्ती यस भेगका साधुसन्त समाजमा एउटा विद्वत प्रमाणपत्र प्राप्त गर्नुभएको छ । यहाँ विवाहपञ्चमी, रामनवमी, जानकी नवमी, झु्ला अन्नकुट कोजाग्रत पुर्णिमा जस्ता पर्वहरु मनाइन्छ । यी पर्वहरुमा भक्तजन तथा दर्शनालुहरुको भीड रहन्छ ।
धनुषाधाम
धनुषाधाम क्षेत्र प्रदेश २ का लागि महत्वपूर्ण पर्यटकीय स्थलहरु मध्ये एक हो । धनुषाधाम क्षेत्रमा धनुषाधाम वन, धनुष मन्दिर, धनुषाधाम वन भित्रै रहेको वाण गंगा नदि जस्ता पर्यटकीय स्थलहरु रहेको छ । विस्तारै यस क्षेत्रले चर्चा पाएपछि यहाँ घुम्न आउनेहरुको संख्या दिनप्रति दिन बढ्दो छ ।
अतिक्रमणको चपेटमा परेर मासिदै आएको धनुषाधाम वनक्षेत्र अहिले नमूना पर्यटकिय स्थलको रुपमा पहिचान बनाउन सफल भएको छ । चुरे विनासका कारण तराईका वनहरु मासिंदै गएको समयमा वनका कर्मचारीहरु तथा स्थानीयवासीको पहलमा २०६९ सालमा संरक्षित वन घोषणा गरिएको हो ।
३ सय ६० हेक्टर क्षेत्रफलमा फैलिएको यो वनलाई २०७१ सालदेखि नेपाल सरकारले चरिचरण निशेधित घोषणा गरेको छ ।
अहिले राष्ट्रपति चुरे संरक्षण योजनाबाट वन क्षेत्रमा विभिन्न पर्यटकीय स्थल निर्माण तथा भ्युटावर लगायतको निर्माण कार्य समेत जारी रहेको छ । वन भित्रै ३ हेक्टर क्षेत्रफलमा फैलिएको ताललाई व्यवस्थित पारेर बोटिंगको व्यवस्था गर्ने तयारी चलि रहेको छ ।
वनमा निलगाई, चितुवा, सर्प, विभिन्न प्रकारका पुतली, चराहरु र अन्य जिवजन्तुहरु रहेका छन । यसले पनि पर्यटकहरुलाई आपूm तिर आकर्षित गर्दै आएको छ ।
धनुषाधाम क्षेत्रको आकर्षणको केन्द्र त्यहाँ रहेको धनुष मन्दिर समेत रहेको छ । राजा जनकले आप्mनो छोरी सीताका लागि आयोजना गरेको स्वंयबरमा भगवान रामले शिवजीको धनुष तोडेका थिए ।
भगवान रामले धनुष तोडेपछि त्यसको तीन टुक्रा भएको थियो । तीन टुक्रामध्ये एक टुक्रा यही झरेको मान्यता छ । सोही स्थानमा अहिले धनुष मन्दिर रहेको छ । त्यसैले पनि यस क्षेत्रको नाम धनुषाधाम र जिल्लाको नाम धनुषा राखिएको भनिन्छ । धनुष मन्दिरमा दैनिक सयौको संख्यामा पर्यटकहरु पुग्ने गर्छ ।
धनुषा जिल्लाको धनुषाधाम वन क्षेत्रमा रहेको त्रेता युगकालिन नदी बाणगंगा समेत पर्यटकीय स्थलको सम्भावना बोकेको छ । तर यो नदि अहिले लोपोन्मुख अवस्थामा पुगेको छ ।
कपिलेश्वर मन्दिर
धनुषाको सदरमुकाम जनकपुरधाममा रहेको प्रसिद्ध कपिलेश्वरनाथ महादेव मन्दिर समेत ख्याती एवं ऐतिहासिकताको हिसाबले प्रसिद्ध मन्दिर हो ।
कपिलेश्वर नाथ महादेवको मन्दिर जनकपुर उपमहानगरपालिका वडा नम्बर १६ जनकपुर जयनगर रेल्वेलाइन भन्दा दक्षिणमा अवस्थित छ । गुम्बा जस्तै देखिने यो शिखर शैलीको मन्दिर छ ।
धार्मिक ग्रन्थहरुका अनुसार जनकवंशीय राजा शिरध्वजले जनकपुरको चारै दिशामा महादेवको स्थापना गरेका थिए । ती चार महादेवहरु मध्ये कपिलेश्वरनाथ पनि एक हो । कपिल मुनीको आश्रमको मुनी समेत यहीँ रहेको मान्यता छ ।
मन्दिर परिसरको चारैतिर स–साना मन्दिरहरु बनाएर त्यसमा भगवानका प्रतिमाहरु स्थापित गरिएका छन । मन्दिरको उत्तर पूर्वमा संतोषी माँ, पूर्व दक्षिणमा गणेश भगवान, दक्षिण पश्चिममा राम जानमी, पश्चिममा शिव पार्वती र पश्चिम उत्तरमा हनुमानजीको प्रतिमा स्थापना गरिएको छ ।
मन्दिर परिसर ५ कठामा फैलिएको छ । यो मन्दिर गुठी अधिनस्थ रहेको छ । मन्दिरमा साउनमा महिनामा तथा शिवरात्रीका दिन ठूलै मेला लाग्ने गर्छ । यहाँ दर्शनार्थीहरुको ठूलो भीड लाग्ने गर्छ ।
कुपेश्वरनाथ महादेव
जनकपुर उपमहानगरपालिका वडा नम्बर १२ मा अवस्थित कुपेश्वरनाथ महादेव मन्दिर प्राचिनतम मन्दिरहरु मध्ये एक हो । यो मन्दिर राम मन्दिर जतिकै पुरानो रहेको भनिन्छ ।
त्यसैले यो मन्दिरको निर्माण पनि चतुर्भूज गिरीले नै गराएको हुन सक्ने अनुमान गरिन्छ । तर मन्दिरको पुननिर्माण १९९६ सालमा गरिएको थियो । त्यसपछि पुनः २०५१ सालमा जिर्णोद्धार गरियो ।
कुपेश्वरनाथ महादेवको विषयमा धेरै किम्बदन्तीहरु प्रचलित छन् । मन्दिर भित्र कुपेश्वरनाथको शिवलिंग एक आकृति विहिन कालो पत्थर रहेको छ, पछि स्थापना गरिएका महादेवका शिवलिंग वसहा र शालिग्रामहरु छन् ।
गर्भगृह भित्र महादेव कूप वा कुवा भित्र रहेकाले महादेवलाई कुपेश्वरनाथ महादेव भनिएको हो । सो गाउँको नाउँ पनि महादेवकै नाउँबाट कुवा राखिएको छ ।
कुपेश्वरनाथ महादेवकै छेउमा अर्को शिवलिंगको पनि स्थापना गरिएको छ । वसहाको मूर्ति गोलाकार खाल्डोको पूर्व तर्फ माथि राखिएको छ । महादेव कुपेश्वरनाथलाई चाँदीले बनाइएको नागले ढाकेको देखिन्छ ।
मन्दिरको दुईवटा प्रवेशद्वारहरु छन । मन्दिरको निर्माण शिखर शैलीमा गरिए पनि एकचारी छानो राखी बनाइएकोले मैथिली वास्तु शैलीको झ–झल्को आउँछ ।
हनुमानगढी मन्दिर
हनुमानगढी मन्दिर प्राचीनता ऐतिहासिकता एवं संस्कृतिको हिसाबले महत्वपूर्ण मन्दिर हो । जनकपुर उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको यो मन्दिर नै प्रसिद्ध मिथिला मध्यमा परिक्रमाको पहिलो विश्राम स्थल हो ।
यहाँ पूजा अर्चना गरेपछि मात्रै परिक्रमामा सहभागीहरु अगाडीको विश्राम स्थलका लागि हिँड्ने गर्छन । हनुमानगढी मन्दिरमा पाषाणको हनुमान र धातूको राम जानकी प्रतिस्थापित गरिएको छ । मन्दिरको स्थापना सन्यासी प्रितम दासले गरेको बताइन्छ । भनिन्छ उनी भारत उत्तरप्रदेश गोरखपुरबाट आएका थिए ।
जनकपुरधाम आउने सन्यासीमा सुरकिशोर दास र चतुर्भूज गिरी पछि प्रितम दास नै हुन । गंगास्नान गरिरहेकको समयमा प्रितम दासले हनुमानजीको प्रतिमा फेला पारेका थिए । सोही प्रतिमालाई यहाँ स्थापना गरेको मान्यता छ ।
१८३८ सालमा मौजेको कुश विर्ता प्राप्त गरेका थिए । पछि १८६७ मा गिर्वाण युद्ध विर बिक्रम शाहले सुदी शाही आदेशबाट यस मन्दिरको प्राचीनताको विषयमा स्पष्ट हुन्छ ।
मन्दिरको निर्माण शिखर शैलीमा गरिएको छ । हनुमानगढी मन्दिर गुठी अधिनस्थ मन्दिर हो । गुठीले प्रत्येक वर्ष मन्दिरलाई १ सय ४४ मन धान उपलब्ध गराउँदै आएको छ ।
मणि मण्डप
जनकपुरधामको पौराणिकतालाई मणि मण्डपले दर्शाउँछ । मणि मण्डप नै त्रेता युगमा राजा जनकको दरबार रहेको भन्ने गरिन्छ । हुनत भगवान राम र माता सीताको विवाह भएको स्थलको रुपमा मणि मण्डपले ख्याती प्राप्त गरि सकेको छ । पुरातात्विक दृष्टिले अति नै प्राचीन रहेको यो मण्डपले मिथिला सभ्यताको प्राचीनतालाई दर्शाउँछ ।
एकजना भक्तको भाकल पूरा भएपछि त्यहाँ रहेको मन्दिरको निर्माण गरिएको बताइन्छ । भारत जयपुरका भक्त रतनलालको छोरा राम प्रसादको विहे भएको १० वर्ष पछि पनि सन्तान भएन ।
नाती नातिनी भए आफूले यहाँ यज्ञ गर्नुका साथै मन्दिरको निर्माण गर्ने भाकल गरे । पछि उनलाई नाती नातिनी दूबै भयो । त्यसपछि रतनलालले यहाँ मन्दिरको निर्माण गर्न लगाएको बताइन्छ । मन्दिरको निर्माण सन २००७ जुन १७ का दिन पूरा भएको थियो ।
राजा जनकको दरबार १५ कोषमा फैलिएको थियो मिथिला महात्ममा उल्लेख रहेको छ । महात्मका अनुसार दरबारमा ५२ वटा गल्लीहरु रहेका थिए ।
चमिनियाँ माई
धनुषा सदरमुकाम जनकपुरधामबाट ३५ किलोमिटर उत्तर पूर्वमा प्रसिद्ध चमिनियाँ माईको मन्दिर रहेको छ । मेची महाकाली जोड्न महेन्द्र राजमार्ग अन्तर्गत पर्ने पुष्पवलपुरमा सो मन्दिर अवस्थित छ । चमिनियाँ माईको जन्म अर्थात उत्पति यही स्थानमा भएको मानिन्छ ।
धनुषाको दुई स्थान पुष्पवलपुर र उमाप्रेमपुरलाई जगधर नदीले विभाजन गरेको छ । सिन्धुली जिल्ला उदगम स्थल रहेको सो नदी जंगल क्षेत्रको विभिन्न भाग हुँदै बग्दै आएको छ ।
जंगलमा घास दाउरा काट्नका लागि जानेहरुले सो नदीलाई चमिनि नै राखि दिए । नदीमा चमिनिमाई को वसोवास रहेको र उनको नाम स्मरण गर्दा डर नहुने भन्दै चमिनिमाईलाई त्यहाँ पूजा गर्न थालियो । पछि एक निश्चित स्थानमा नै चमिनिमाईको गहवर स्थापना गरी पुजा गर्ने गरिन्छ । अचेल सो मन्दिर श्रद्धालुहरुका लागि खुबै लोकप्रिय छ ।
दूधमती नदी
प्रदेश २ को धनुषा र महोत्तरी जिल्ला भएर बग्ने दूधमती नदी सबैभन्दा प्राचिन नदीमध्ये पर्दछ । त्रेतायुगकालिन इतिहास रहेको यो नदीको संरक्षण एवं सौन्दर्यीकरण गर्न सकियो भने यो नदीको माध्यमले समेत पर्यटन क्षेत्रमा ठूलो फडको मार्न सकिने छ । धनुषा जिल्लामै उदगम स्थल रहेको यो नदीको उत्पति त्रेता युगमै भएको मान्यता रहेको छ ।
राजर्षि जनक अनावृष्टिबाट अक्रान्त मिथिलाधामलाई उन्मुक्ति दिनका लागि आफै हलो चलाए । हलो चलाउँदै गर्दा एउटा घैटोमा हलो ठोकिएर माता सीताको उत्पति भएको मानिन्छ । माता सीताको माताको रुपमा पृथ्वीलाई मानिन्छ ।
माता सीतालाई सीतालाई दूध खुवाउने कोही नभएपछि पृथ्वी माताले नै कामधेनुलाई दूध खुवाउन आग्रह गरेपछि स्वयं कामधेनु माता उनलाई दूध खुवाउन धरतीमा अवतरित भएकी थिइन । माता कामधेनुले आफ्नो स्तनबाट दूधको धारा बहाएपछि यो नदी बनेको मानिन्छ । त्यसैले यस नदीको नाम दूधमती पर्न गएको हो । दूधमती नदीको पानी पनि केही वर्ष अघिसम्म दूधजस्तै स्वच्छ र सफा बग्ने गथ्र्यो । तर नदीमै फोहोर पानी र नाला मिसिएपछि यो नदी संरक्षणको पर्खाईमा छ ।
धनुष सागर
जनकपुरका पोखरीकहरुमध्ये अधिकांश पोखरीहरुको इतिहास त्रेतायुगकालिन इतिहास रहेको छ । प्रसिद्ध पोखरी तलाउहरुमध्ये धनुष सागरको विशिष्ट महत्व रहेको छ । राम मन्दिरको पूर्व भागमा अवस्थित यो तलाउ धार्मिक महत्वका साथै ऐतिहासिकता समेत बोकेको छ । यस तलाउमा श्रद्धालुहरुको स्नानआदिका लागि बाह्रै महिना घुइचो लागेको हुन्छ ।
राजा जनककी छोरी माता सीताले शिवजीको धनुषलाई बायाँ हाथले उठाएपछि कुनै बीर पुरुष संगै बिहे गरि दिने प्रण लिएका थिए । जनकले यो धनुषमा जुन बिर पुरुषले प्रत्यंचा चढाउन सक्छ उही बिर पुरुषसंग छोरीको बिहे गरि दिने प्रण लिए ।
माता सीताको स्वयम्बर संसारका सबै बिर पुरुषहरुले प्रत्यंचा चढाउने प्रयास गरे तर कोही सफल भएका थिएनन् । अन्तमा भगवान रामले प्रतयंचा चढाउन खोज्दा शिवजीको धनुषको ३ टुक्रा भएको थियो ।
तीन टुक्रा मध्ये एक टुक्रा पातालमा गएको थियो । सोही स्थानमा पोखरीको आकार लिएको मान्यता रहेको छ । आज सोही स्थानलाई धनुष सागरको नामले चिनिन्छ ।
अंगराज सर
जानकी मन्दिरको उत्तरपट्टी रहेको पाखेरी अंगराज सरको महत्व पनि विशिष्ट रहेको छ । यो पोखरी समेत त्रेतायुगकालिन नै रहेको छ ।
अचेल यो पोखरीलाई अरगज्जा सरको नामले समेत चिनिन्छ । अंगराज सर पोखरीमा प्रत्येक दिन माता सीता स्नान गर्ने गरेको मान्यता रहेको छ । माता सीता उबटन लगाएर यसै पोखरीमा स्नान गर्ने गर्थिन । यो पोखरीमा स्नान गर्नाले चर्मरोगबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ ।
केही वर्ष अगाडीसम्म यो पोखरी फोहोरमय बनेको थियो । सो पोखरीलाई जनकपुरकै युवाहरुको सक्रियतामा सरसफाई गरी गरी रमणीय स्थलको रुपमा विकास गरिएको छ । अहिले यहाँ पोखरीको डीलमा बटुवाहरुका लागि बस्ने पार्क समेत निर्माण गरिएको छ भने वृक्षा रोपण समेत भएको छ । यो पोखरी बटुवाहरुका लागि थकाई मार्ने राम्रो स्थलको रुपमा समेत विकसित भएको छ ।
महाराज सर
त्रेता युगको साक्षीहरुमध्ये महाराज सर पोखरी पनि एक रहेको छ । जानकी मन्दिरभन्दा पश्चिम र रंगभूमि मैदान १२ बिघाभन्दा दक्षिण अवस्थित रहेको यो पोखरी धार्मिक महत्व बोकेको पोखरी रहेको छ ।
यो पोखरीमा स्नान गर्नाले ब्रह्माहत्यादि पापबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ । यो पोखरीको नाउँ भगवान रामका पीता राजा दशरथको नाउँबाट महाराज सर राखिएको छ ।
पिता यमदग्नीको आज्ञाबाट परशुरामले आफ्नै माताको हत्या गरेका थिए । सो पापबाट मुक्ति पाउनका लागि यसै पोखरीमा स्नान गरेको मान्यता रहेको छ । यो पोरखीको पश्चिम पट्टीको डीलमा राजा दशरथको ऐतिहासिक मन्दिर समेत छ ।
गंगा दशहाराका दिन महाराज सरमा स्नान गर्ने परम्परा रहेको छ । सोही दिन श्रद्धालुहरु स्नान गरेर आम चुरा खाने परम्परा रहेको छ ।
कपालमोचनी सर
कपालमोचनी सर पोखरीको विशिष्ट धार्मिक महत्व रहेको छ । यो पोखरीमा स्नान गर्नाले सबै प्रकारको पापबाट मुक्ति पाउन सकिन्छ । यो पोखरी दशरथ मन्दिरभन्दा उत्तर र महाराज सागरभन्दा पश्चिम उत्तरको कुनामा अवस्थित छ ।
यो पोखरीको विषयमा धार्मिक ग्रन्थहरुमा समेत उल्लेख पाइन्छ । एक पटक भगवान ब्रह्मा माता सरस्वतीलाई देखेर कामांध भएका थिए । माता सरस्वती ब्रह्मालाई देखेर भाग्न थालिन । सरस्वती भागेको देखेर भगवान ब्रह्मा पनि उनकै पछि पछि भाग्न थाले ।
माता सरस्वती पछि भगवानको शिवको शरणमा पुगे । ब्रम्हाजीको यो हरकत देखेर भगवान शिवले उनको शिरनै खण्डित गरेका थिए । ब्रह्म हत्या लागेपछि भगवानको शिवको हत्केलामा ब्रह्माजीको शिर टाँसिएको थियो । सो शिरलाई जती हटाउने प्रयास गरे पनि हटेको थिएन ।
यो पोखरीको पश्चिम डीलमा अहिले योगाभ्यास समेत प्रत्येक बिहान हुने गर्छ । हुनत यो पोखरीको संरक्षणको पर्खाईमा छ ।
नेपाल रेल्वे
नेपालको एक मात्र रेल सेवाको रुपमा रहेको नेपाल रेल्वेलाई ब्रोडगेज रेल सेवाको रुपमा विकास गरिदै छ । आउँदो फागुन महिनादेखि यो रेल गुडाउने तयारी समेत चलिरहेको छ ।
नेपाली पर्यटकहरुका लागि यो रेल पनि आकर्षणको केन्द्रको रुपमा रहेको छ । हुनत ५ वर्ष देखि यो रेल सेवा पूर्न रुपमा बन्द रहेको छ । रेलका पुराना इज्निहरुलाई संरक्षण गर्न सकियो भने पनि पर्यटकहरुलाई आकर्षित गर्न सकिने छ ।
१९९४ सालमा तत्कालीन ब्रिटिस शासकले महोत्तरीको जंगलबाट सखुवाको गोलिया काठ ओसार्नका निम्ति जनकपुर जयनगर रेल्वेको निर्माण गरिएको थियो ।
जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट धनुषाको जनकपुर हुँदै भारतको जयनगरसम्म सञ्चालनमा रहेको थियो । ५२ किलोमिटर सम्म रेल संचालनमा थियो । तर २०५९ सालमा आएको बाढीबाट महोत्तरीको विग्ही पुल क्षतिग्रस्त भएपछि जनकपुर देखि विजलपुरा सम्मको रेल सेवा बन्द भएको थियो । त्यसपछि रेल सेवा जनकपुरदेखि जयनगर २९ किलोमिटरमा सीमित हुन पुगेको थियो ।
तर, न्यारोगेजमा संचालित उक्त रेल ब्रोडगेज सेवामा स्तरोन्नती हुँदा जनकपुर जयनगर सम्म सुचारु रहेको रेल सेवा २०७१ माघ देखि पुर्णतः ठप्प छ ।
सुरुमा इन्धनको रूपमा कोइला तथा दाउरा प्रयोग गरी चल्ने रेल २०१८ साल देखि यात्रु ओसारपसार कार्यको थालनी गरेको थियो । पछि २०५१ सालमा भारत सरकारको सहयोगमा १८ बोगीसहित चारवटा डिजेल पावर इन्जिन प्राप्त भएपछि आधुनिक रेल सेवा सञ्चालन भएको हो ।
रेल्वेलाई व्यवस्थित गर्ने उद्देश्यले २०२१ सालमा यसलाई नेपाल यातायात संस्थान अन्तर्गत राखियो । पछि २०२५ सालमा सरकारले यसको नाम जनकपुर जयनगर रेल्वे राख्यो ।
रेल्वेको पहिलो प्रबन्धकको रूपमा टेकजंग थापा नियुक्त भएका थिए । २०६१ सालमा रेल्वे सेवालाई नेपाल रेल कम्पनीको रूपमा कम्पनी रजिस्टारको कार्यालयमा दर्ता गरिएपछि नेपाल रेल्वेको रूपमा हालसम्म चिनिएको छ । श्रम तथा यतायात व्यवस्था मन्त्रालयअन्तर्गत रहेको रेल्वे सेवालाई भौतिक योजना निर्माण तथा यतायात मन्त्रालयअन्तर्गत रेल विभाग गठन भएपछि त्यसले हेर्दै आएको छ ।
ज्ञानकुप कुट्टी
अग्नीकुण्डभन्दा दक्षिण पश्चिममा ज्ञानकसप विद्यालय प्राङ्गण भित्र ज्ञानकुप कुट्टी रहेको छ । यो कुट्टीमा राम जानकी तथा लक्षमण अष्टधातुको तथा हनुमानजीको संगमर्मरको प्रतिमा रहेको छ ।
यो स्थानमा सबैभन्दा पहिले मुजेलियाकी मिथिला नामकी एक महिलाले फुसको घर बनाई पूजा गर्न शुरु गरेकी थिइन । कुट्टीमा रहेको भगवानको धातस एवं संगमर्मरको मूर्ति उनले नै स्थापना गरेकी थिइन । उनी पछि कुट्टीमा श्याम सुन्दरी शरण र युगल किशोर महन्थ भए । यिनले नै कुट्टीका लागी पक्की घर बनाएका थिए ।
घर आकारको यस कुट्टीको मुख उत्तर तर्फ छ भने कुट्टीको प्राङ्गण ७ कठामा फैलिएको छ । कुट्टीको खर्च कुट्टी अधिनस्त रहेको ४ विगहा जग्गाबाट हुने आम्दानीबाट गरिदै आएको छ ।
सीता कुण्ड
विहार कुण्डभन्दा दक्षिण पश्चिम र ज्ञानकुपभन्दा पूर्व दक्षिणमा एक प्राचिन एवं पवित्र कुण्ड रहेको छ । यो कुण्ड सीता कुण्डको नामले प्रख्यात छ ।
यस कुण्डको दक्षिण तर्फ ११ फिटभन्दा अग्लो माटोको ढिस्कोमा मन्दिरको निर्माण गरिएको छ । मन्दिरमा सतानन्दजी, रामजानकी, लाल गोपाल, चरण पादुका आदिको पूजा गरिन्छ । धार्मिक ग्रन्थहरुका अनुसार माता जानकी यही कुण्डमा स्नान गरी सतानन्दजीसँग शिक्षा लिने गर्थिन ।
पुरानो मन्दिरको भवन १९३४ सालको भूकम्पमा नष्ट भएको थियो । पछि फेरी यस मन्दिरको निर्माण गरियो । सतानन्दजी र चरण पादुका कालो ढुंगाबाट निर्मित छ भने राम जानकी र लाल गोपाल भगवानको प्रतिमा अष्टधातुको रहेको छ । मन्दिरको नाउँमा ५ विगहा जग्गा छ ।
स्वर्गद्वार
जनकपुुरधाम आउने पर्यटकहरुका लागि स्वर्गद्वार पनि रोजाईमा पर्ने गरेको छ । स्वर्गद्वार मूलतः श्मसान घाट हो । तर श्मसान घाटलाई यसरी सिंगारिएको छ कि त्यहाँ पर्यटकहरु एक पटक नपुगी आफूलाई रोक्नै सक्दैन् । गंगासागरको दक्षिण पूर्वमा यो श्मसान घाट छ ।
पर्खालमा विश्वप्रसिद्ध साहित्यकारका दार्शनिक कविता, सायरी तथा गजलका पंक्ति लेखिएका छन् । पर्खालभित्र चिटिक्कको शिव मन्दिर, मन्दिरको देब्रेतिर शिव–पार्वतीको ठूला मूर्ति र दाहिनेतिर फराकिलो बगैंचा रहेको छ ।
खुल्ला ठाउँमा दुबो रोपिएका छन् त कतै कुर्सी राखिएका छन् । बगैंचाको एक कुनामा जस्ताले छाएको खुला घर छ, जहाँ शव जलाइन्छ । श्मसान घाट भित्र रहेको मन्दिरलाई भूतनाथ मन्दिरको नामले समेत चिनिन्छ । – सुजीतकुमार झा