आफ्ना प्रिय राजाकाे शिर पत्थरमा परिणत भएकाे देखेर त्यही मन्दिर थपना गरी ज्यापू समुदायले आकाश भैरवका रूपमा पुज्न थालेका हुन् ।
हुन त मिथकहरू कथा नै हुन् । तर हुन्छन् खुब राेचक ।
काठमान्डु उपत्यकामा कुनै समय किराँत राज्य थियाे । यिनै किराँतका सन्तान नै नेवा: संस्कृति जिउँदाे राख्ने अहिलेकाे किसान समुदायका ज्यापू हुन् । तिनका प्रथम राजा थिए, यलम्बर । यलम्बर नै महाभारतका बहुचर्चित पात्र बर्बरिक हुन् भनिन्छ ।
भीमसेनकी राक्षस पत्नी हिडम्बाले घटाेत्कच नामक छाेरा जन्माइन् । घटाेत्कचका पनि महावीर छाेरा थिए, बर्बरिक । उनी महाभारतमा पराजितका तर्फबाट युद्ध लड्न चाहन्थे । बर्बरिककाे वाणले पिपलकाे सबै पात झारेकाे र लुकाएकाे एउटै पातसमेत कृष्णकाे खुट्टा छेडेर अघि बढ्न तयार भएपछि उनकाे वीरताप्रति कृष्ण विश्वस्त भएका थिए । उनलाई युध्दमा भाग लिन नदिन कृष्णले चलाखीपूर्वक उनकाे टाउकाे छिनालेर आकाशमा अड्याइदिए र महाभारत युद्ध हेर्ने सुविधा दिए ।
युद्ध सकिएपछि त्याे शिर नेपाल मण्डल फर्कने क्रममा इन्द्रजात्राकै दिन अहिलेकाे इन्द्रचाेकमाथि आपुग्दा मिर्मिरे उज्यालाे भयाे र त्याे शिर पत्थरमा परिणत भयाे । आफ्ना प्रिय राजाकाे शिर पत्थरमा परिणत भएकाे देखेर त्यही मन्दिर थपना गरी ज्यापू समुदायले आकाश भैरवका रूपमा पुज्न थालेका हुन् ।
ज्यापूहरू पुर्खालाई पनि देवताका रूपमा पुज्छन् । आकाश भैरव उनका पुर्खा हुन् । त्यसैले उनीहरू आकाशभैरवलाई आजुद्य (पुर्खादेव) का रूपमा पनि पुज्छन् ।
इन्द्रजात्रालाई नेपालभाषामा “य या:” अर्थात् यलम्बर जात्रा भनिन्छ ।
अभय श्रेष्ठ