बिहिबार , फागुण १७, २०८०

एक्सन नेपालद्वारा बेनीघाट रोराङ–१ का विद्यार्थीलाई छात्रवृत्ति वितरण

image

धादिङ । एक्सन नेपालले धादिङको बेनीघाट रोराङ–१ का विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ । शुक्रवार वडा नम्बर १ स्थित श्री बाँसखर्क माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै कक्षा सातदेखि कक्षा १० सम्म अध्ययनरत एकसय एक जना छात्रछात्राहरूलाई पोसाक र शैक्षिक सामाग्री वितरण गरेको हो ।

श्री जरुङ सिमटार आधारभूत विद्यालयमा कक्षा सात र आठमा अध्ययनरत ३४ जना र श्री बाँसखर्क माध्यमिक विद्यालयमा कक्षा सातदेखि कक्षा दशसम्म अध्ययनरत ६७ जना गरी एकसय एक जना छात्रछात्राहरूलाई सदिक्षा छात्रवृत्ति वितरण गरेको हो ।

बालविवाहलाई निरुत्साहित गर्ने उद्देश्यले कक्षा सातदेखि कक्षा दशसम्म अध्ययनरत ९–१५ वर्ष उमेर समूहका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको एक्सन नेपालका कार्यकारी निर्देशक रोमी घिमिरेले बताइन् ।

“नेपालका ग्रामीण भेगमा बालविवाह अझै पनि एक ठुलो समस्या हो । सानै उमेरमा स्कुल पढ्दापढ्दै विवाह गर्ने परम्पराले बालबालिकाहरूले दुःख पाइरहेका छन्”, निर्देशक घिमिरेले भनिन्, “बालविवाहलाई रोक्न, स्कुल छोड्ने (ड्रपआउट) दर रोक्न र शिक्षाप्रति लगन बढाउन हौसला मिलोस् भन्ने उद्देश्यले छात्रवृत्ति वितरण गरेका हौँ ।”

राेमी घिमिरे (सबैभन्दा दायाँ)

बेनीघाट रोराङ–१ का वडाध्यक्ष जीवन सिं तामाङले एक्सन नेपालले वितरण गरेको छात्रावृत्तिले बालविवाह रोक्न र बालवालिकाहरूलाई शिक्षाप्रति लगनशिल बनाउन हौसला मिल्ने विश्वास व्यक्त गरे । उनले भने, “स्कुल ड्रपआउट, बालविवाह हाम्रो समाजको एक जल्दोबल्दो समस्या हो, एक्सन नेपालले आज जुन छात्रावृत्ति वितरण गरेको छ, यसले पक्कै पनि बालबालिकाहरूलाई बालविवाह गर्नबाट निरुत्साहित बनाउन सहयोग पुग्ने छ ।”

जीवन सिं तामाङ, वडाध्यक्ष, बेनीघाट राेराङ-१, धादिङ

त्यसैगरी श्री बाँसखर्क माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेश तामाङले कक्षा सातभन्दा मुनिका छात्रछात्राहरूलाई पनि छात्रवृत्ति वितरण गर्न अनुरोध गरे । उनले भने, “कक्षा सातदेखि कक्षा दशसम्म विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गर्नुभएकोमा एक्सन नेपाल र डोनरहरू सबैलाई धन्यवाद । तर, ठुला कक्षाका विद्यार्थीलाई मात्रै छात्रवृत्ति दिँदा साना कक्षाका सानासाना बालबालिकाहरूले चित्त दुखाउन सक्छन्, उनीहरूको कलिलो मस्तिष्कमा नकारात्मक मनोवैज्ञानिक प्रभाव समेत पर्न सक्छन् । त्यसैले अबको दिनमा सबैलाई समेटेर छात्रवृत्ति उपलब्ध गराउने प्रयास गर्नुहुन अनुरोध गर्न चाहन्छु ।”

सुरेश तामाङ, प्रधानाध्यापक, श्री बाँसखर्क माध्यमिक विद्यालय ।

त्यसैगरी श्री जरुङ सिमटार आधारभूत विद्यालयका निमित्त प्रधानाध्यापक रमन चौधरीले पनि विद्यालयमा अध्ययनरत सबै तहका बालबालिकालाई समेटेर छात्रवृत्ति वितरण गर्नु उचित हुने विचार व्यक्त गरे ।

हलाई बहिष्कार गरौँ, शिक्षालाई अवलम्बन गरौँ” भन्ने नारासहित एक्सन नेपालले हार्टफोर ओन्डरविज्स् नेपालसँगको सहकार्यमा सदिक्षा छात्रवृत्ति वितरण गरेको हो । सदिक्षा छात्रवृत्ति एक्सन नेपालको शिक्षा केन्द्रित एक प्रोजेक्ट हो ।

छात्रवृत्ति वितरण कार्यक्रममा नेदरल्यान्ड्सका डोनरहरू, एक्सन नेपालका प्रोग्राम हेड गणेश ढुङ्गाना, कार्यकारी निर्देश रोमी घिमिरे लगायत प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, शिक्षक, अभिभावक र विद्यार्थीहरूको उपस्थिति थियो ।

करिब दुई दशकअघि स्थापना भएको संस्था एक्सन नेपालले शिक्षा, बालबालिका, लैङ्गिक हिंसाको न्यूनीकरण, पूर्वाधार विकास, विपद् व्यवस्थापन लगायत क्षेत्रमा काम गर्दै आएको छ ।

तस्बिरहरूः

सम्बन्धित समाचार