ताइवानमाथि आक्रमण गरिए सैनिक ढङ्गले प्रतिरक्षा गर्ने पनि बाइडनले प्रतिबद्धता जनाएका थिए ।
अमेरिकी राष्ट्रपतिले ताइवानको विषयमा चीनलाई चेतावनी दिएको केही सातापछि बेइजिङ्गले कडा प्रतिक्रिया जनाउँदै ताइवानको स्वतन्त्रताका निम्ति गरिने “जुनसुकै प्रयासलाई दृढतापूर्वक कुल्चने” बताएको छ ।
आइतवार चिनियाँ रक्षामन्त्री जेनरल वे फङ्खले ताइवानको स्वतन्त्रताका लागि अमेरिकाले आधारभूत रूपमा सघाइरहेको आरोप लगाउँदै ताइवानबारे अमेरिकाले आफ्नो “वाचा तोडिरहेको” र चिनियाँ मामिलामा “हस्तक्षेप” गरिरहेको बताए ।
“मलाई प्रष्ट पार्न दिनुहोस्: यदि कसैले ताइवानलाई चीनबाट अलग पार्ने दुस्साहस गर्छ भने हामी लडाइँ गर्न हिचकिचाउने छैनौँ । हामी हरेक मूल्यमा र अन्त्यसम्म लड्नेछौँ । चीनका लागि यो मात्र रोजाइ हो,” सिङ्गापुरमा आयोजित साङ्ग्रिला डाइलग नामक एशियाली सुरक्षा बैठकमा उनले भने ।
अमेरिकी राष्ट्रपति जो बाइडनले लडाकु विमानहरू ताइवाननजिक उडाएर चीनले “खतरासँग खेलिरहेको” भनी टिप्पणी गरेपछि चिनियाँ रक्षामन्त्रीको पछिल्लो भनाइ आएको हो ।
ताइवानमाथि आक्रमण गरिए सैनिक ढङ्गले प्रतिरक्षा गर्ने पनि बाइडनले प्रतिबद्धता जनाएका थिए ।
ताइवानले आफूलाई एउटा सार्वभौम राष्ट्र मान्ने गरे पनि लामो समयदेखि चीनले त्यसलाई आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ ।
तर ताइवानले पनि अमेरिकालाई आफ्नो सबैभन्दा ठूलो साझेदार ठान्छ ।
चीनले ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमा लडाकु विमानहरू उडाउने क्रम बढाइरहँदा र ताइवानी जल क्षेत्रमा अमेरिकाले युद्धपोत जहाज पठाएको पृष्ठभूमिमा पछिल्लो तनाव चुलिएको हो ।
उसो भए के अमेरिका र चीन सैनिक द्वन्द्वतर्फ लम्किरहेका छन् त ?
महँगो र ध्वंसात्मक
एउटा प्रमुख डर भनेको चीनले ताइवानमाथि अतिक्रमण गरेको खण्डमा युद्ध निम्तिन सक्छ । बेइजिङले आवश्यक परे बल प्रयोग गरेर भए पनि उक्त टापुमाथि पुनः दाबी गर्न सक्ने विगतमा भनिसकेको छ । तर अधिकांश विश्लेषकहरू भन्छन्, तत्कालका लागि त्यसो हुने सम्भावना देखिन्न ।
ताइवानमा सैनिक अतिक्रमण गरेर चीन सफल हुन सक्ने अथवा नसक्ने कुरामा विवाद रहिआएको छ । ताइवानले उल्लेख्य रूपमा आफ्नो हवाई तथा सामुद्रिक प्रतिरक्षा शक्ति बढाउँदै लगेको छ ।
तर धेरैजना केमा सहमत छन् भने यस्तो कदम चीनका लागि मात्रै नभई विश्वकै लागि निकै महँगो र ध्वंसात्मक हुन सक्ने बेडजिङले पनि ठान्छ ।
ताइवानसँग “शान्तिपूर्ण पुनःएकीकरण” चाहेको कुरामा चीनको निरन्तरको अडान रहिआएको छ। यो कुरामा जेनरल वेले पनि आइतावर जोड दिए । साथै उक्साहटपूर्ण काम भए मात्र चीनले जबाफ दिने उनले बताए ।
ताइवानले औपचारिक रूपमा स्वतन्त्र भएको घोषणा गरे द्वन्द्व निम्त्याउने अर्को कदम हुनेछ ।
तर यो कुरालाई ताइवानकी राष्ट्रपतिले पनि निरन्तर पन्छाउँदै आएकी छन् जबकि उनले आफूहरू स्वतन्त्र देश भएको बताउने गरेकी छन् ।
-टेसा वोङ, बीबीसी न्यूज, एशिया डिजिटल संवाददाता