काठमाडाैं । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । मकालु गाउँपालिका-३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल थुनिएको हो ।
अरुण तेस्रो आयोजनाको ड्याम साइटको टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।
अहिले आयोजनाको अस्थायी बाँधमा पानी भरिएको छ। टनेलबाट पानी २५ प्रतिशत मात्र बाहिर निस्किएको उनले बताए ।
‘टनेलको पानी निष्कासन हुने ठाउँमा पहिरो खसेपछि नदी थुनिएको हो,’ गोदारले भने ।
अरुण नदीको बहाव परिवर्तन गरी चार सय २९ मिटर लामो टनेल निर्माण गरिएको छ । अस्थायी बाँध निर्माण गरी टनेलमार्फत नदी बग्दै आएको थियो । टनेल बन्द भएपछि करिब ७० फिट अग्लो बाँधमा पानी जम्मा भएको छ ।
पक्की भएकाले तत्काल बाँध नफुटे पनि लामो समयसम्म पानी जम्मा भएमा खतरा हुने देखिन्छ । सुक्खा पहिरो खसिरहेकाले नियमित मार्गबाट नदीको बहाव गराउन केही समय लाग्ने देखिएको छ । नदीको बहाव नियमित मार्गबाट गराउन भने केही समय लाग्ने देखिएको छ । पहिरोले अरुण थुनिएपछि दुई किलोमिटर माथिसम्म ताल बनेको छ ।
तटीय क्षेत्रमा नजान अपिल
सुख्खा पहिरोले अरुण नदी थुनिएपछि नदी किनारका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले अनुरोध गरेको छ । पानीको सतह घटेको नदीमा माछा मार्न जानेको सङ्ख्या बढेसँगै जिल्ला प्रशासन कार्यालयले यस्तो अनुरोध गरेको हो ।
पानीको सतह घटेसँगै माछा मार्न मानिस खोलामा गएको बेला ठुलो मात्रामा पानी आए दुर्घटना हुनसक्ने सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए । अरुण नदीलाई फ्याक्सिन्दा दोभानस्थित जलाशय (ड्याम)मा पठाएपछि त्यस भन्दा तलको क्षेत्रमा पानीको मात्रा घटेको छ ।
अरुण तेस्रो जलविद्युत परियोजनाको डाइभर्सन सुरुङको प्रवेश क्षेत्रमा सुख्खा पहिरो गएपछि ड्याममा पानी हालिएको आयोजनाका वरिष्ठ निर्देशक रमेशचन्द्र सुलेरीयाले जानकारी दिए ।
अरुण तेस्रो परियोजनाले ड्याममा पठाएको पानी भरिएर जुनसुकै समयमा पुरानै मात्रामा बग्ने भएकाले अरुण नदीको किनार क्षेत्रमा नजान जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो ।