बुधबार , साउन ९, २०८१

चराकाे राजधानी, ‘अरुण भ्याली’

विश्वकै सबैभन्दा धेरै प्रजातिको चरा पाइने अरुण उपत्यका संसारकै सबैभन्दा गहिराे उपत्यका पनि हाे ।

image

अरुण उपत्यका विश्वकै सबैभन्दा गहिरो उपत्यका हो । यो उपत्यका समुन्द्री सतहभन्दा तीन हजार ६ सय मिटरकाे गहिराइमा अवस्थित छ । प्रदेश नम्बर १ को सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदबारीबाट १३ किलोमिटरको दुरीमा अवस्थित अरुण उपत्यका विश्वकै सबैभन्दा धेरै प्रजातिको चरा पाइने उपत्यका हो । यस उपत्यकामा ६ सय ५० भन्दा बढी प्रजातिको चरा पाइन्छ । त्यसैगरी आठ सय भन्दा बढी प्रजातिका पुतली पनि यस उपत्यकामा पाइन्छ । अरुण उपत्यका जैविक विविधता, मनमोहक प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले पनि भरिपूर्ण रहेको छ । भौगोलिक तथा सांस्कृतिक विविधताले भरिएको यो उपत्यकालाई पर्यटकीय दृष्टिले अत्यन्तै महत्त्वपूर्ण स्थानको रूपमा लिने गरिन्छ ।

उपत्यकाको बीचबाट नागबेलीझैँ निरन्तर बगिरहने अरुण नदी उपत्यकाको अर्को सुन्दरता हो । चीनको तिब्बतबाट बग्दै आउने अरुण नदीको निलो कञ्चन पानीले उपत्यकाको सुन्दरतामा नयाँ रङ्ग थपिदिएको छ । मकालु हिमालबाट उत्पत्ति भएर आएको वरुण नदी अरुणको ठुलो सहायक नदी हो भने अरुण नदी सप्तकोसी नदीको प्रमुख सहायक नदी हो । अरुण नदीमा ८३ भन्दा बढी प्रजातिको माछा पाइन्छ ।

अरुण उपत्यका पदयात्राको लागि पनि उत्कृष्ट गन्तव्य हो । यो उपत्यका सगरमाथा र मकालु पदमार्गको बीचमा पर्ने भएकाले पदयात्राको लागि पनि उत्तम मानिन्छ । यस उपत्यकाबाट सुन्दर हिमालयको दृष्यवालोकन गर्न सकिन्छ । जहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, मकालु, वरुण, ल्होत्से, नुप्से, आमादव्लम, थामसेर्कु लगायत हिमाललाई नजिकैबाट देख्न पाइन्छ । रमाइलो कुरा के छ भने विश्वकै गहिरो उपत्यकाबाट विश्वकै अग्लो शिखर सगरमाथा देख्न पाइन्छ । यस हिसाबले पनि अरुण उपत्यका एक पटक घुम्नैपर्ने गन्तव्य हो ।

अरुण उपत्यकामा पूर्वकै प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरसमेत रहेको छ । यस उपत्यकामा सती प्रथाको विरुद्ध योगमाया न्यौपानेले आफ्ना ६८ जना अनुयायीहरूका साथ जलसमाधि लिएकी थिइन् । बालागुरु षडानन्द अधिकारीले शिक्षाको ज्योति छरेको उपत्यका भनेर पनि यस उपत्यकालाई चिनिन्छ ।

अरुण उपत्यका सांस्कृतिक रूपले पनि धनी छ । यस उपत्यकामा राई, लिम्बु र शेर्पा समुदायको विशिष्ट संस्कृतिको अवलोकन गर्न पाइन्छ । ती समुदायका सुन्दर गाउँबस्तीहरु अर्को पर्यटकीय आकर्षण हो । उनीहरूको लवाइ खवाइ, भेषभुषा, चालचलन, जीवनशैली, सामाजिक धार्मिक एवम् सांस्कृतिक मूल्यमान्यताले त्यहाँ पुग्ने पर्यटकलाई अर्के ग्रहमा पुगेको आभास गराइदिन्छ ।

अरुण उपत्यका कृषिबालीका लागि उल्लेखनीय छ । यहाँको हालपुरा र डल्लेतौली जातका धानलाई बिर्सन नमिल्ने वनस्पतिविद् डा. तीर्थ बहादुर श्रेष्ठको मत रहेको छ । उनका अनुसार, “आनापाछी, भुटाङ्ग, मनीपुरे, मार्सी, अटेमार्सी, मनसरा, जलवीरे, जिरासारी आदि विभिन्न धानका जाति कृषि सम्पदाको रूपमा विद्यमान छन् । यो क्षेत्र आँप, कटहर, उखु, भूइँकटहर र केटाको निम्ति पनि प्रख्यात छ । यहाँका केही गाउँमा सात-आठ थरीका रैथाने केरा पाइछ- विभिन्न रङ, स्वाद, आकार र प्रकारमा । एक खालको केटा त हरियोमै पाक्दछ । यसका बोक्रा भने छोडाउन मिल्दैन । बीचमा कर्दले चिरेर औँलाले कोट्याएर गुदी खानुपर्छ । आधुनिक खाने हो भने चट्ट चक्कुले काटेर चम्चाले आइसक्रिम खाएझैँ खादा हुन्छ (नेपाल, नखुलेका पाटाहरू, पृ. २०७) ।

सरकारले ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले छनौट गरेको सय वटा नयाँ गन्तव्यको सूचिमा सङ्खुवासभाका पनि दुई गन्तव्य परेका छन् । सो सूचीमा प्रसिद्ध धार्मिक स्थल भालेश्वर गुफा नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यमा र विश्वकै होचो उपत्यका अरुण उपत्यका स्थापित तथा प्रवर्द्धन गरिनुपर्ने पर्यटकीय गन्तव्यका रूपमा राखिएको छ ।

भरपर्दो सडक सञ्जाल र भौतिक पूर्वाधारको विकास हुन नसक्दा प्रशस्त सम्भावना अरुण उपत्यकामा पर्यटन फस्टाउन सकेको छैन । यस्ता महत्त्वपूर्ण पर्यटकीय क्षेत्रमा भौतिक पूर्वाधारको विकासमा सबै तहका सरकारको ध्यान जान जरुरी छ । पर्यटकीय पूर्वाधारहरूको निर्माण, प्रचारप्रसार गर्न सकिए अरुण उपत्यकाले विश्वको ध्यान तान्न सक्नेछ ।

तस्बिर/गुगलबाट 

सम्बन्धित समाचार