शुक्रबार , अषोज १४, २०७९

सहरमा असुर पसेको छ..

कलाकारले स्थानीय परिवेश अनुरूपै भेषभूषाको प्रयोग गरेकाले नाटक गाउँ जस्तै लाग्छ । बनेका घर, पहाड, पँधेरो, माओवादी शिविर, परम्परागत तुलसीका मठहरूको प्रयोगले नाटक जीवन्त लाग्दछ ।

image

राजधानीमा अहिले ‘असुर’ पसेको छ । समाजका अनेक आयाम र परिधि भित्र हाँसेर बसेका विचार र सिद्धान्तका मुखौटा बेरेर बसेका अनेक असुरहरूको बहुलठ्ठी पनि अहिले सहर पसेको छ। रजनीश ओशोको एक सिद्धान्त छ, “जोसँग बन्दुक हुन्छ उसले बलात्कार गर्छ’ अर्थात् शक्ति र सामर्थ्यको आडमा नै मान्छेले अनेक कुकृत्य गर्छ । यसरी अनेक कुकृत्य गर्नेहरू नै समाजका असुर हुन् । जसले समाजमा विध्वंस निम्त्याउँदछन् । नेपाली समाजमा यस्ता असुरहरूको बिगबिगी छ । त्यही असुर अहिले राजधानीको मञ्चमा मञ्चन भइरहेको छ ।
यहाँ सहर पसेको असुर एक प्रवृत्ति हो । यही प्रवृत्तिको पेरिफेरिमा रहेर मञ्चन भइरहेको नाटक ‘असुरको  कुरा यहाँ गर्दै छु । रवि दोङको लेखन, विवेक न्यौपाने (घने) को निर्देशन र राजन/शङ्कर कार्की निर्माता रहेको नाटक काठमाडौँ रातोपुल स्थित ओजस्स थिएटर (शैली थिएटर) मा मञ्चन भइरहेको छ । भदौ १५ देखि सुरु भएको नाटक असोज ८ गतेसम्म नियमित मञ्चन हुनेछ । नेपाली समाज र राजनीतिको सङ्क्रमणकालीन समय, गृहयुद्ध भनौँ या सशस्त्र माओवादी द्वन्द्वको उत्कर्षदेखि २०६३/६३ को दोस्रो जनआन्दोलनसम्मको समयलाई कलात्मक ढङ्गले प्रस्तुत गर्ने प्रयास गरिएको नाटक हो, असुर ।
कथा र विषयवस्तु:
२०५७ देखि २०६२/६३ सम्मको राजनैतिक समयलाई समाजको पुछारको कथासँग सिउने गरी उनिएको कथा कलात्मक छ । सशस्त्र द्वन्द्वले  भुईमान्छे र समाजका हुने खानेहरूमा कस्तो प्रभाव परेको थियो भन्ने क्षेत्रलाई विषयवस्तुको रूपमा  प्रयोग गरिएको छ । जनवर्गीय वा जनमुक्तिका लागि, सर्वहारा वर्गको उत्थानका लागि भएको भनिएको क्रान्तिको आम जनसमुदाय र गाउँका मान्छेमा के-कस्ता प्रभाव परेको थियो, सो कुरालाई खोज्ने प्रयास गरिएको छ यस नाटकमा । सर्वहारा वर्गको उत्थानका लागि भएको जनयुद्धले सर्वहारा वर्गमा कुन प्रकारको पीडा दिएको थियो ? सो कुराको लेखाजोखा गर्न खोज्नु यो नाटकको मूल विषयवस्तु र कथा हो ।
कथाले जनयुद्धकालमा गाउँका पञ्चहरूले भोगेको जनकारबाही र पञ्चहरूले गाउँलेप्रति गर्ने व्यवहारलाई खोतल्ने प्रयास गरेको छ । कथाले स-साना कुरालाई खोज्ने र खोतल्ने प्रयास गरेको छ । यसरी कथा खोतल्दै जाँदा कथा भित्र पनि स-साना कथा जोडिन पुग्छन्, जसले नाटकमा सुन्दरता थप्छ । कथाले अनेक विषय खोज्न खोज्दा कथा आफैँमा उल्झिएको पनि छ । द्वन्द्वको बिचमा फक्रिएको प्रेम, साहुले ऋणले थलिएको चन्द्रेले आफ्नी बहिनिलाई ऋणको साटो साहुलाई बेच्ने जस्ता कथा फरक फरक बनिदिन्छन् ।
माओवादी सेनाको गाउँ प्रवेश र मुखियाको छोराको प्रेमकथा द्वन्द्वसँग कता मिल्छ, भेउ पाउन भने मुस्किलै पर्छ । अनमेल विवाह, टुटेको प्रेमको धार स्वतन्त्रताको चिसोपन पाउँदा आफ्नो हालत गुमाउने नोकरको कथालाई द्वन्द्वको विशुद्ध प्रभावसँग कसरी जोडिएको हो भन्ने कुराको भेउ पाउन सकिँदैन ।
जनयुद्ध र यसका आयम आफैँमा बृहत् पक्ष हो जसलाई खोतल्न एक क्षेत्रमा समाते पनि धेरै हुने हुन्छ तर, लेखकले जनयुद्धसँग मानसिक द्वन्द्वको जोड्न खोज्नु भुल देखिन्छ, नाटकले मानसिक द्वन्द्व देखाउन खोजेको कि जनयुद्धको प्रभाव भन्ने विषयलाई प्रस्टाउन सक्दैन।
आफ्नो प्रेमीसँग सुन्दर संसारको सपना देखेकी प्रेमिका दाजुले लिएको ऋणको बन्धनमा परेर प्रेमीको बाउ अर्थात् गाउँको मुखियासँग बिहे गर्न बाध्य हुन्छिन् र आफ्नै प्रेमीलाई छोरा भन्नू पर्ने परिबन्दमा पर्छिन् । आफ्नो पेटमा हुर्किरहेको प्रेमीको सन्तानलाई प्रेमी नै बाउ हो भनेर चिनाउन नपाउने मानसिक द्वन्द्वमा हुर्किएकी पात्रलाई जनयुद्धको प्रभावको कुन प्रभावबाट सृजित हुन् भनेर बुझाउन नाटकले सक्दैन ।
आफ्नै प्रेमिकासँग बाउले बिहे गरेपछि बिछिप्त भएको छोराले पार्टी प्रवेश गरी बाउलाई सामन्त मानी क्रान्तिको विचार विरोधी भन्दै मार्न मतियारको काम गर्दछ । र बाउलाई मारेर आफू पार्टीको ठुलो पदभार ग्रहण गर्दछ । उल्लेखित कथा दुई फरक फरक र बृहत् बिट हुन्। जसलाई एकापसमा जोड्न नसक्नु कथाको कमजोरी हो ।
निर्देशन:
नाटकको सबै भन्दा बलियो पक्ष भनेकै निर्देशन हो। समाजको पेरिफेरी, अवस्था समकालीनता बुझी निर्देशकीय दायित्व निभाइनु पर्छ । यो नाटकमा पनि निर्देशकले यो दायित्व भने पूरा गरेका छन् । पात्रहरूलाई कथामा बुन्ने काम र पात्रलाई कसरी उत्कृष्ट बनाउन सकिन्छ भन्ने विषयमा निर्देशक चनाखो भएको देखिन्छ ।
कथामा आएका संवाद, परिवेश र परिस्थितिलाई एक रेखामा उनेर बगाउन निर्देशकले मेहनत गरेको देखिन्छ । एकै परिवारका फरक विचार बोकेका दुई पिँढी र समाजका फरक फरक कथालाई एक आपसमा जोड्न भने निर्देशक चुकेका छन् । निर्देशकले पात्रबाट फरक दुई पिँढीको फरक विचारको द्वन्द्व युक्त प्रभाव देखाउन खोजेको कि ? फरक बिचार भएका दुई पीढीको कारण जनयुद्धको पारिवारिक प्रभाव देखाउन खोजेको ? या, समाजको उत्पीडनले थलिएका निमुखाहरूको मानसिक द्वन्द्व देखाउन खोजेको, सो कुरा प्रस्टाउन सकेका छैन ।
निर्देशकले देखाउन खोजेको भूभागिय परिवेश कहाँको हो भन्ने नै अलमल्ल हुन्छ नै । पृष्ठभूमिमा आउने भू-भागिय परिवेश भित्री मधेस वा पहाडी लाग्छ तर गाउँको चिया पसल मुस्लिम समुदायको छ । यो परिवेशीय बुनाई केही फरक लाग्दछ । हुन त पहाडी समाजका मुस्लिम धर्मावलम्बी पनि छन् तर उनीहरूको व्यवहार, बोली र रहनसहन फरक छ, नाटकमा देखाइएको परिवेश त्यस्तो देखिँदैन।
जनयुद्धमा समावेश हुन गएकी गाउँले केटी कुन कुराले जनयुद्ध प्रति प्रभावित भइन् र होमिइन्?, त्यो कुनै पृष्ठभूमि देखाइँदैन तर मुखियाको छोरालाई सरकारी जासुसको शङ्का गरेर पनि दुहुनु गाई भने पार्टी प्रवेश गराइने परिवेश बुनिन्छ । यो कता कता निर्देशकिय उल्झन भने लाग्दछ ।
साँघुरो मञ्चमा लामो समय लगाएर सेट अप गरिँदा पनि मञ्चको प्रभावकारी प्रयोग गराउन नसक्नु निर्देशकको भुल देखिन्छ । नाटकका प्लटहरू छोटा छोटा र सेट अपको समय लामो बनिदिँदा दर्शकलाई नाटक हेर्न आएको कि अँध्यारो भन्ने पनि हुन्छ । दर्शक नाटकको पात्रसँग भिज्न र ऊभित्र हराउन नै पाउँदैनन् । जसले गर्दा नाटकले देखाउन खोजेको परिवेश खल्लो भई दिन्छ ।
यति हुँदा हुँदै पनि नाटकलाई अन्तिम सम्म बाँधेर दर्शकलाई रोकेर राख्न भने निर्देशक सक्षम छन्, यो एक सबल पक्ष हो।
भेषभूषा, प्रकाश र संगित:
कलाकारले स्थानीय परिवेश अनुरूपै भेषभूषाको प्रयोग गरेकाले नाटक गाउँ जस्तै लाग्छ । बनेका घर, पहाड, पँधेरो, माओवादी शिविर, परम्परागत तुलसीका मठहरूको प्रयोगले नाटक जीवन्त लाग्दछ । माओवादी सेनाले प्रयोग गरेका पोसाक भने केही फरक देखिन्छ जो प्रतिकात्मक मात्र आभास हुन्छ भने शीरमा प्रयोग भएको रातो कपडाको सेतो ताराले जनयुद्धका सेनाहरूकै झल्को दिन्छ ।
नाटकमा आवश्यक पर्ने सङ्गीत लाइभ प्रस्तुत गरिने हुँदा नाटक झन्न बढी उत्कृष्ट बनीदिन्छ । नाटकमा प्रयोग हुने गीत र कलाकारको कलाको उत्कृष्टता उर्वर लाग्दछ  ।
कथाको आवश्यकता अनुसार प्रयोगमा आउने प्रकाशले मञ्चलाई सुन्दर बनाउँदछ । तर कथाको पल्ट परिवर्तन हुँदा धेरै र लामो पल्ट आउने अँध्यारोले प्रकाश संयोजनलाई खल्लो बनाइदिन्छ ।
कलाकार र कला:
कथाको आवश्यकता अनुसार पात्र र परिवेश निर्माण हुनै पर्छ ।असुर नाटकमा कलाकारको जम्बो टोली छ भन्दा फरक पर्दैन । यहाँ कलाकार कथाको पात्र चरित्र अनुसार स्थापित छन् । छोटो समयका लागि नाटकमा देखिने चन्द्रे होस या नाटकका प्रमुख पात्र सबैले चरित्र निर्वाह उम्दा तरिकाले गरेका छन् । संवाद प्रवाह, अभिनय, चरित्र चित्रणमा अब्बल देखिन्छन् । माओवादी सेनामा, चन्दे, मुखिया, नोरकनी यी सबै उम्दा पात्र हुन्न । केही पात्र  किन आए भन्ने भान भने कतिकति बेला हुन्छ नै ।
नेपाली समाजको तत्कालीन परिवेशलाई कलात्मक रूपमा देखाउन सफल छ, असुर । असुर एक हेर्नुपर्ने नाटक को रूपमा रहेको छ ।

Tags:

सम्बन्धित समाचार