सोमबार , भाद्र ८, २०८३

पहाडकी रानी ‘बन्दिपुर’काे सुन्दरतामा लट्ठिएपछि…! (तस्बिरहरू)

पहाडी संस्कृति, पहाडी दृश्य र पहाडी पैदल यात्राका लागि बन्दिपुर अत्यन्त उपयुक्त गन्तव्य हो ।

image

भक्तपुरे शैलीमा बनेका इँट्टाका घर । बुट्टा भरेका आँखीझ्याल । कलाले सिँगारेका टुँडाल । शान्त बजार, त्यहीँ बजारको बीचमा ढुंगाको छपनीले चिठेको बाटो, जहाँ मोटर गाडी गुडाउन बन्देज छ । भीमसेनको मन्दिर । आँखै अगाडि जुगल, लाङटाङ, गणेश, मनास्लु, हिमचुली, अन्नपूर्ण, धौलागिरी र कान्जिरोवा लगायत हिमालको दृष्य । तनहुँको प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दिपुर ।

नेवार संस्कृतिमा लिपिएको बन्दीपुरको सहरी संरचना साढे दुई सय वर्ष पुरानो मानिन्छ । रहनसहन, थिति र संरचनाका साथसाथै प्राकृतिक सौन्दर्य बन्दिपुरका विशेषता हुन् । बन्दिपुर वरिपरिका गाउँमा मगर संस्कृतिको पनि अवलोकन गर्न पाइन्छ । हिमालयको फराकिलो दृश्य बन्दिपुरको विशेषता हो । बजारबाट दश मिनेट परको टुँडिखेलबाट हिमालको हिउँमात्र देखिँदैन, ३०० कि.मी. फराकिलो क्षितिजमा फैलिएका फाँट, पहाड पनि देखिन्छन् ।

बन्दिपुर, तनहुँ जिल्लाको पुरानो सदरमुकाम हो । यो शहर मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडका तनहुँ, कास्की, लम्जुङ्ग, गोर्खा र मनाङ्गको लागि दक्षिणबाट सामान ल्याउने मुख्य व्यापारिक नाकाको रुपमा विकास भएको थियो । यस ठाउँबाट वि.सं. २०२५ सालमा सदरमुकाम दमौली सारिए पनि सांकृतिक सम्पदा र प्राकृतिक मनोरमताको प्रचारप्रसारसंगै बन्दिपुर व्यापारिक नाकाबाट पर्यटकीय स्थानको रुपमा विश्वभर नै प्रसिद्धि छ ।

बन्दिपुरबाट पूर्वपट्टि भक्तपुरको उत्तरमा पर्ने जुगल देखिन्छ । पश्चिमतिर चाहिँ लाङटाङ, गणेश, गोरखा, मनास्लु हिमचुली तथा बौद्धसहित, अन्नपूर्ण, धौलागिरि र काञ्जिरोवा हिमाल फेददेखि टुप्पोसम्मै देखिन्छन् । तलतिर मर्स्याङ्दी नदीले बनाएका उपत्यका हेर्दा लाग्छ, बन्दिपुर उपत्यका माथि झुण्डिइरहेको छ । बन्दिपुरले प्राकृतिक भ्यु टावरको उपमा यसै पाएको होइन ।

बन्दिपुरबाट दुई घण्टा हिँडेर पातालीद्वार वा स्वर्गद्वारी गुफा पुग्न सकिन्छ । यहाँको सिद्ध गुफा नेपालकै सबैभन्दा ठूलो गुफा मानिन्छ । बन्दिपुर वरिपरिका डाँडा हाइकिङका दृष्टिले पनि उपयुक्त मानिन्छन् । बन्दिपुर प्याराग्लाइडिङका लागि पनि चर्चित छ । ११५० मिटर उचाइमा रहेको भञ्ज्याङ चौतारा, बुरुञ्चे डाँडाबाट ग्लाइडरहरू तल फाल हाल्ने गर्छन् । पोखराका कम्पनीहरूले यहाँको प्याराग्लाइडिङको व्यवस्थापन गरेका छन् ।

सेती नदीमा राफ्टिंग गर्न दमौली आउनेहरूले पनि बन्दिपुरमा एक दिन बास बस्ने गरेका छन् । मुग्लिनबाट आधा घण्टा जतिमा गाडीमा पृथ्वी राजमार्गको डुम्रेबजार पुगिन्छ । त्यहाँबाट दुई किमि पश्चिममा पिप्ले, जहाँबाट आधा घण्टा मोटर यात्राबाट पुरानो पहाडी सहर बन्दिपुर पुग्न सकिन्छ ।

पहाडी संस्कृति, पहाडी दृश्य र पहाडी पैदल यात्राका लागि बन्दिपुर अत्यन्त उपयुक्त गन्तव्य हो । मंसिरतिर जानुभयो भने हिमाल हेर्दै बन्दिपुरे सुन्तलाको स्वाद लिन पाउनुहुन्छ । मध्यजेठदेखि मध्यअसारसम्म आउने आगन्तुकको बजारमा मानिसले मात्र होइन, बाटैभरि चौबीस जातिका सुनगाभाले पनि स्वागत गर्छन् ।

बन्दिपुरमा घुम्नको लागि बसोबासको समस्या छैन । टुँडिखेलमा सुविधासम्पन्न रिसोर्ट मात्र छैन, पुराना नेवारी घरहरूलाई पनि मध्यमस्तरको बसोबासका निम्ति उपयुक्त होटलका रूपमा विकसित गरिएको छ । यहाँका कतिपय घरहरूमा खाना र बिहानको खाजा खाने गरी सःशुल्क पाहुना भएर बस्न सकिने व्यवस्था (होमस्टे) पनि छ । जहाँ थोरै रुपैयाँमा खाना बस्न पाइन्छ । बन्दीपुरका प्रमुख आकर्षणहरूमा खड्गदेवी माई मन्दिर र थानीमाई मन्दिर पनि हुन् ।

खड्गदेवी माई मन्दिर

खड्गदेवी माई मन्दिर

थानीमाइ मन्दिर

बन्दिपुरकाे अर्काे आकर्षण मिनी ग्रेट वाल पनि हाे। पाँच सय मिटर लामाे मिनी ग्रेटवाल निर्माणाधीन छ । बन्दिपुर पुग्ने पर्यटकहरू मिनी ग्रेटवाल पनि छुटाउँदैनन् ।

निर्माणाधीन मिनी ग्रेटवालमा पर्यटक   

बन्दिपुर पुगेका आन्तरिक पर्यटक

सम्बन्धित समाचार