मंगलबार , भाद्र ३१, २०८२

बारपाक र नारद पोखरी

गोरखाको बारपाक धेरै पर्यटकहरुका लागि नौलो नाम भने होइन । भूकम्प जानुभन्दा अगाडि बारपाक गएको कुनै पर्यटक आजभोलि बारपाक गाउँमा पुग्यो भने एकैछिन अलमल पर्दछ ।

image

गोरखा पर्यटनको लागि छुट्टै महत्व भएको भूगोल हो । तिब्बतसँग सीमा भएको हिमालपारिको सामा गाउँ र चुमलुब्रीदेखि लिएर चितवन जिल्लासँग जोडिएको गोरखाको भूगोल पर्यटनका लागि महत्वपूर्ण मानिन्छ । पर्यटनको क्षेत्रमा ऐतिहासिक भुरे–टाकुरे राजाहरुको शासनदेखि शाहवंशको शुरुवात भएको जिल्ला पनि हो गोरखा । गोरखा दरबार, गोरखनाथ मन्दिर, तल्लो दरबार जस्ता ऐतिहासिक सम्पदा गोरखामा रहेका छन् । मनकामना मन्दिर, गोरखकाली मन्दिर जस्ता धार्मिक सम्पदा पनि गोरखामा पर्दछन् । गोरखामा मनास्लु, श्रृङ्गी, गणेश, हिमाल चुली र बौध्द हिमालको काखमा कालताल, वीरेन्द्र ताल, निसराङ ताल, चुबु ताल, दूधपोखरी, नारद पोखरी, नागे पोखरी, निम्चे आदि पोखरीहरु पर्दछन् ।

गोरखामा लिगलिगकोटबाहेक अन्य साना–ठूला गरी ३६ वटा कोटहरु छन् । तर पनि पश्चिम गोरखाको लिगलिगकोट ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । किनकि लिगलिगकोट आफैमा इतिहास हो । शाहवंशको राजतन्त्रको शुरुवात भएको ठाउँसँग लिगलिगकोट जोडिएको छ । प्राकृतिक दृष्टिकोणले पनि लिगलिगकोट सुन्दर र महत्वपूर्ण छ । लिगलिगकोटबाट मनास्लु हिमालको दृष्यावलोकन र गोरखा, लमजुङ र तनहूँका अधिकांश भूगोल पनि देख्न सकिन्छ । पर्यटन भनेकै नदेखेको ठाउँ, नदेखे पनि पढ्दा अथवा कसैले ठाउँको बारेमा सुनाउँदा कतिपय मानिसहरुलाई पुग्न पाए हुन्थो भनेझै लाग्छ ।

गोरखाको बारपाक धेरै पर्यटकहरुका लागि नौलो नाम भने होइन । भूकम्प जानुभन्दा अगाडि बारपाक गएको कुनै पर्यटक आजभोलि बारपाक गाउँमा पुग्यो भने एकैछिन अलमल पर्दछ । विनाशकारी भूकम्प गएको अहिले १० वर्ष भएको छ । भूकम्पले भौतिक तथा मानवीय क्षति अत्यधिक भएको बारपाक गाउँमा अहिले सडकको पहुँचसँगै आधुनिक शैलीका घर पुनःनिर्माण भएका छन् । पर्यटकहरु गाउँमा पुग्दा बारपाक हो कि हैन ? ऊ आफैमा द्विविधामा पर्दछ । उसले देखेको बारपाक गाउँ ढुंगाले छाएका एकनासका घर, ढुंगा नै बिछाएको बाटो र आँगन मात्र होइन बारपाक गाउँका गल्लीहरु पनि ढुंगा छापिएको पुरानो दृष्य भने बारपाकमा आजभोलि देख्न पाइँदैन । वारपाकमा पहिलाको मौलिक संरचना छैनन् । परम्परागत शैलीमा निर्माण भएका घरहरुको सट्टा अहिले बारपाकमा भूकम्प प्रतिरोधात्मक घर बनेका छन् । नयाँ घरहरुले भरिएको बारपाकको रुप फेरिए पनि मौलिकता हराएको छ । बारपाकमा पहिले साँघुरो गल्ली थियो, अहिले चोकचोकसम्म मोटर मार्ग भएका छन् । अहिले सिमेन्टेड रङ्गीचङ्गी घर बनेका छन् । भूकम्प जाँदा सबै घर भत्किए तर आरसीसी गरेर बनाइएका घर भत्केनन् । त्यसैले अहिले धेरैले आरसीसी घर बनाएका छन् । अहिले बारपाक अनेकौं रङको जस्ताको छानाले रंगीबिरंगी भएको छ । बेलायत, हङकङ, काठमाडौं बस्ने बारपाकका जनताले धेरै लगानी गरेर गाउँमा ठूला आरसीसी भवन बनाएका छन् । तर प्रायः ठूला घरका मान्छे गाउँमा बस्दैनन् । होलिडे होमका रुपमा घर बनाएर छोडेका छन् ।

बौद्ध हिमालको काखमा रहेको सुन्दर गाउँको नाम हो बारपाक । घले र गुरुङ जातिहरुको पहिचान, रुविनाला, बौद्ध हिमाल, नारदपोखरी, लार्केको अवलोकन गर्दै हिँडने मनास्लु पदयात्राको बाटोमा पर्दछ बारपाक । भूकम्पपछि बारपाकले पुरानो पहिचान गुमाइसकेको छ । गाउँमा होमस्टे मात्र नभएर सुविधायुक्त होटलहरु सन्चालन छन् । बारपाकमा पुगेपछि पर्यटकहरु बुद्धपार्क, मनीडाँडा, चौतारा ढुङ्गेधारा र गाउँ हेर्न आतुर हुन्छन् । बारपाकमा ०७२ को भूकम्पले १ हजार ४ सय भन्दा बढी घर पूर्णरुपमा क्षतिग्रस्त भएका थिए । भूकम्प पछि बारपाक गाउँको कोटडाँडा, मान्द्रे गाउँ र अल्छी डाँडाका घरहरुको जग कहाँ थियो पत्ता लगाउनै गारो भयो । भूकम्पबाट ७२ जनाको मृत्यु भएको थियो । भूकम्पपछि घर पुनःनिर्माण गर्दा सरकारले बनाएको मापदण्ड अनुसार बारपाक गाउँको मौलिकता गुमेको मात्र छैन गाउँको स्वरुप फेरिएको छ ।

बारपाक प्राकृतिक सुन्दरताले भरिएको गाउँ हो । बारपाक गाउँमा पर्यटनका लागि धेरै ऐतिहासिक सम्पदाहरु छन् । बारपाक द्वितीय विश्वयुद्धमा जापानसँग ब्रिटिशको पक्षमा वीरताको पराक्रम देखाएका भी.सी. गजे घलेको जन्मथलो हो । भी.सी. गजे घले वर्माको एउटा डाँडामा शत्रुपक्ष अर्थात् जापानीजसँग आफ्ना सबै साथी मारिंदा पनि एक्लै लडेर जापानलाई परास्त गर्न सफल भएका थिए । बारपाकमा दोस्रो विश्व युद्धमा चमत्कारपूर्ण युद्धकला देखाएर परमवीरचक्रम तथा महावीरचक्र अर्थात् भिक्टोरियाक्रस पदक जित्न सफल गोरखाका ४ वीर पुरुषहरुको सम्झनामा संग्रहालय निर्माण भएको छ । विश्व युद्धमा विश्वलाई चकित पारेर लडेका बारपाकका भीसी गजे घले, मुच्चोकका भानुभक्त गुरुङ, गुम्दाका थमन गुरुङ, मनकामनाका लक्षिमान गुरुङले लगाउने पोशाक, उनीहरुको विषयमा लेखिएका पुस्तकहरु, उनीहरुसँग सम्बन्धित अन्य सामग्रीहरु संग्रहालयमा राखिएको छ । संग्रहालयमा बारपाक गाउँमा परापूर्वकालमा प्रयोग हुने प्राचीन महत्वका बस्तुहरु, घले, गुरुङका पोशाकहरु, चोयाबाट बनेका, काठबाट बनेका, माटोबाट बनेका सामग्रीहरु, पञ्चैबाजा समेत राखिएको छ । गुरुङ र घले समुदायको घना बस्ती रहेको बारपाकमा पुर्खाहरुले प्रयोग गरेको र अहिले लोप हुन लागेका परम्परागत सामग्री संकलन गरी संग्रहालयमा राखिएको छ । संग्रहालयलमा गजे घलेको घरमा भेटिएको बन्दुक सैनिक पदमा कार्यरत रहँदा घलेले प्रयोग गरेको सुट र अन्य सामग्रीहरु पनि छन् । वर्षौं पुराना सामग्री संकलन गरेर संग्रहालयमा राखिएको छ । संग्रहालय अवलोकन गर्न पुगेका पर्यटकले बारपाकको स्थानीय पहिचान झल्काउने डकुमेन्ट्री पनि हेर्न सक्छन् ।

बारपाकका धेरैजसो युवाहरु ब्रिटिश र भारतीय सेनामा छन् । बारपाकका बासिन्दाहरु लण्डन, हङकङ, भारत, काठमाडौं, गोरखा र नारायणघाट बसाइ सरेता पनि चाडपर्व र कुलपुजा आदिमा गाउँ फर्कने र गाउँलाई जीवन्त राख्ने गर्दछन् । बारपाक गाउँमा बौद्ध धर्मावलम्वी धेरै छन् । चाडपर्वहरु मनाउन बारपाकवासी देश बाहिर रहेकाहरु पनि गाउँ फर्कने गर्दछन् । बारपाकमा गाउँमा वैशाख पूर्णिमा, साउने सक्रान्ति, पौष पन्ध्रको पर्व मनाउने गर्दछन् भने दशैं, तिहारलाई कम औपचारिकता दिने गर्दछन् । बारपाक गाउँको शिरान अर्थात् मनिडाँडामा एउटा चौतारी छ । जुन चौतारीलाई अल्छी चौतारी भनिन्छ । चौतारीमा काम नभएकाहरु जम्मा हुने र गफ गर्ने गर्दछन् । बारपाक गाउँको उत्तरतर्फ गाई भैसी र भेडाको चरिचरन वनजंगल अर्थात् खर्क रहेको छ । बारपाक गाउँका मानिसहरु भेडा, बाख्रा, गाई, भैसी पाल्ने र राडी, बख्खु, फुदुङ, उत्पादन गर्ने गर्दछन् । फागुनदेखि कार्तिकसम्म लेक अर्थात खर्क माथि जाने र हिउँद कार्तिकदेखि फागुनसम्म बेसीमा गोठ राख्ने परम्परा रहेको छ । हिउँदमा भेडा, बाख्रा, गाई, भैसी, गोठ बारीमा छाप्रो राखी चरन गराउने गर्दछन् । बारपाकमा हिउँदमा खेती लगाउँदा गोरुको सट्टा मान्छेले जोत्ने चलन पनि छ । यो दृष्य देख्दा बारपाकमा पुग्ने पर्यटकहरु आश्चर्य मान्छन् । गोरुले तीन दिन लगाएर जोत्ने ठाउँमा मान्छेले जोत्दा एक दिनमा सकिन्छ । बारपाकमा मृतकहरुको शव गाडने च्यानडाँडा छ । शव गाडेको चिहानहरुलाई सिमेन्टेड मठमा शिलालेख पनि राखिएको हुन्छ । शिलामा मृतक को हो ? उसले जीवनमा के काम ग¥यो ? सबै परिचय लेखिएको हुन्छ । चिहान नजिकै खुम्बे बौद्ध गुम्बा छ । त्यस क्षेत्र भन्दा अझ माथि वनभोज गर्ने स्थल पनि छ ।

पर्यटनका लागि बारपाक विशेष पहिचान भएको गाउँ हो । मनास्लु हिमाल र मनास्लु सर्किट, विभिन्न जातीय संस्कृति तथा संस्कारले पर्यटनको क्षेत्रमा गोरखालाई विश्वमा नै चिनाएको छ । बुद्ध हिमालको काखमा रहेको बारपाकमा निर्माण भएको भ्यूटावरबाट नजिकै अर्थात् पुचु डाँडा र मनास्लु हिमालको श्रृंखला दृष्यावलोकन गर्न सकिन्छ । समुद्रसतहबाट झण्डै दुई हजार मिटर उचाइमा रहेको बारपाकमा ४० घरधुरी दलित र बाँकी झण्डै आधा जति घले थरका डाँगे, सामी, ध्यालसङ, रिलाङ र गुरुङ जातिहरुको बसोबास रहेको छ । पर्यटकहरु गाउँमाथिको डाँडाबाट मनास्लु, बुद्ध, गणेश हिमालको रेन्ज हेर्न पुग्छन् । कतिपय पर्यटकहरु डाँडामा क्याम्पिङ गरी बस्ने गर्दछन् । बारपाकमा अन्य जिल्लाको मात्र होइन बारपाकबाहेक अन्य गाउँका मानिसले घर जग्गा किन्न पाउँदैनन् । लघु जलविद्युतबाट बारपाक गाउँलाई पुग्ने बिजुली उत्पादन भएको छ । हङकङ, बु्रनाई, बेलायत बस्ने किन नहोस् केटा वा केटी विवाह गर्ने समयमा गाउँकै केटा वा केटीसँग बिहे गर्नुपर्ने प्रचलन बारपाकमा छ । भेडाको मासुबाहेक अरु जनावर र पशुपंक्षीको मासु घरबाहिर पकाउनुपर्ने परम्परा छ ।

बारपाकमा पुगेपछि खान बस्नको लागि कुनै असुविधा हुँदैन । गाउँमा सञ्चालनमा आएका होमस्टेले सबै पर्यटकहरुलाई स्वागत सत्कार गरी होमस्टेमा राख्ने गर्दछन् । पर्यटकलाई बारपाक प्रवेशद्वारबाट बाजा बजाएर स्वागत गर्ने प्रचलन छ । होमस्टेमा पर्यटकहरुले बास बसेवापत आन्तरिक र वाह्य पर्यटकहरुलाई छुट्टाछुट्टै शुल्क लिने गरिन्छ । शुल्क लिएवापत उनीहरुले स्थानीय परिकार खान दिने, मनोरञ्जन दिने र समूह बनाएर गाउँ घुमाउने गर्दछन् । गाउँमा पुग्ने पर्यटकहरुलाई महिला समूह, युवा समूह र गाउँ समूहले समूह विभाजन गरी पर्यटकका लागि आवश्यक सेवा दिने गर्दछन् । बारपाकमा एक घरमा चार पर्यटक मात्र राख्ने गरिन्छ । होमस्टेमा पर्यटकहरुले इच्छा अनुसार भेडाको मासु, सिस्नुको तरकारीसँग ढिँडो, खान पाउँछन् । मदिराका पारखीहरुलाई चाख्नकै लागि मात्र गाउँमा बनाएको आधा गिलास रक्सी दिइन्छ । पर्यटकहरुको खानापछिको समय भने बारपाकका युवा समूहले लिन्छन् । युवा समूहले पर्यटकलाई सांस्कृतिक कार्यक्रम देखाउँछन् । पर्यटकहरुलाई युवाहरुले रातको १२ बजेसम्म झाँकी, मारुनी नाच, घाटु नाच, लाहुरे नाच, तोमो, झाँक्री, मकै विवाह, तुक्लुङ, ठाडो भाकालगायतका गीत तथा नाच देखाएर मनोरञ्जन दिन्छन् । भूकम्पले तहसनहस भएको बारपाकमा अहिले पुरानो पीडा बिर्सेर पुन गाउँको विकासमा जुटेका छन् । शोकलाई शक्तिमा बदल्नुपर्छ भने झैं बारपाकबासी अहिले कसरी पुनः पुरानै जीवनमा फर्कन सकिन्छ भन्ने खोजीमा छन् ।

बारपाक पुग्ने कतिपय पर्यटकहरु पदयात्रामा रमाउन खोज्छन् । तल्लो मनास्लु क्षेत्र भनिने गोरखाको लेकाली क्षेत्र बुद्ध हिमालको काखमा रहेको छ । जैविक विविधता एवं प्राकृतिक सौन्र्दयले भरिपूर्ण रहेको ती क्षेत्रमा पर्यटकहरु पदयात्रामा जान्छन् । पर्यटनकै लागि बारपाकदेखि रुबिनालासम्म करिब ३० किलोमिटर लामो पदमार्ग निर्माण भएको छ । पदमार्गलाई नारदपोखरी र बुद्ध हिमालको फेदी हुँदै लमजुङको दूधपोखरीसम्म विस्तार गर्ने योजना छ । गुरुङ समुदायको बाहुल्य रहेको तल्लो मनास्लु क्षेत्रमा बारपाक, लाप्राक, भच्चेक जस्ता गुरुङ गाउँहरु पर्दछन् । पर्यटकहरु नारदपोखरी, राम्चे खर्क, रुबिनाला, लाप्राक र विभिन्न खर्क हुँदै भ्यू प्वाइन्ट पुग्न सक्छन् । जहाँबाट सुन्दर प्राकृतिक दृश्यहरु र काठमाडौंको थानकोट पनि देखिन्छ । दरौंदीखोला नारद  पोखरीबाट उद्गम हुन्छ । नारद पोखरीको पानी अर्थात् दरौंदी गोरखाको उत्तरबाट दक्षिणतर्फ बग्दै मझुवा खैरेनीमा रामशाह घाटमा मस्र्याङ्दी नदीमा मिसिन्छ । बौद्ध हिमाल, रुबिनाला क्रस गर्न पर्यटकहरु बारपाक हुँदै पदयात्रा गर्ने गर्दछन् । राङरुङको आकर्षक मनमोहक झरनाले पर्यटकहरुलाई लोभ्याउँछ । बारपाकको घना बस्ती र माथिको नाम्चे डाँडा हँुदै लाप्राक, गुम्दा, लापु, नौलीखर्क, खर्कचोक, सीता गुफा, ग्याजी तामाखानी हुँदै घ्याम्पेसाल पुग्न सकिने पदमार्ग छ । तर बारपाक जाँदा धेरै पर्यटकहरु नारद पोखरी पुग्ने गर्दछन् ।

बारपाक गाउँदेखि १९ किलोमिटर उत्तर बुद्ध हिमालको काखमा नारदपोखरी पर्दछ । नारदपोखरी जाँदा पर्यटकहरुले आफूलाई आवश्यक पर्ने सबै खानेकुरा र लगाउने लुगाको बन्दोबस्ती गर्नुपर्दछ । दुईदिनको यात्रामा बाटोमा कुनै मानवबस्ती छैनन् । बाटो ठाउँ ठाउँमा भेडा गोठ र गाई भैंसी गोठहरु भेटिन्छन् । पर्यटकहरुको लागि अहिले गाउँपालिकाले गुपसी भञ्ज्याङ, लाभ्राखर्क, रुन्चेखर्क, मेचेखोला रुन्चे खर्कमा पोटोल हाउस अर्थात धर्मशाला निर्माण गरिदिएको छ । बारपाक जाँदा कतिपय पर्यटकहरु लाप्राक गाउँ पनि पुग्छन् । बारपाकदेखि करिब साढे दुई घण्टाको यात्रापछि पुग्न सकिन्छ लाप्राक गाउँ । लाप्राक पुरानो गाउँ पुग्नु भन्दा पहिले नै लाप्राकको नयाँ बस्तीले पर्यटकहरुलाई स्वागत गरिरहेको हुन्छ । गैरआवासीय नेपालीहरुले बनाइदिएका लाप्राकको नयाँ बस्ती पर्यटकहरुको अर्को आकर्षणको केन्द्र बन्दछ । लाप्राक पुरानो गाउँ पहिरोको जोखिमका बीच पनि लाप्राकका मानिसहरु नयाँ बस्तीमा खासै बस्ने गर्दैनन् । लाप्राकबाट अर्को दिन गुम्दा गाउँ पनि पुग्न सकिन्छ । लाप्राकबाट करिब दुई घण्टाको दूरीमा रहेको गुम्दा गाउँ पनि सडक सञ्जालले जोडिएको छ । गुम्दाबाट यामगाउँ र लप्सीबोट हुँदै माछीखोला पुग्न सकिन्छ । माछीखोला बुढिगण्डकी र रेचेखोला अर्थात हाइड्रो खोलाको दोभानमा पर्दछ । जुन मनास्लु सर्किटको प्रस्थान बिन्दु समेत हो ।

वारपाक कसरी पुग्ने ?

गोरखाको १२ किलोबाट मुख्य सडक छाडेर भित्री सडक पसेपछि शुरु हुन्छ बारपाकको बाटो । बाह्र किलोबाट बारपाक ४८ किलोमिटर पर्दछ । बाह्रकिलो, छेपेटार, चोरकाटे, भालुस्वाँरा, चनौटे, झयाल्लाफाँट, ढोडेनी, बालुवाबजार, राङरुङ, मान्द्रे हुँदै दरौँदीको नागबेली सुन्दर दृष्यावलोकन गर्दै बारपाक गाउँ पुग्न सकिन्छ ।

(नयाँ युगबोध राष्ट्रिय दैनिकबाट)

सम्बन्धित समाचार