बिहिबार , जेठ ३१, २०८१

गाउँ घुम्न मन त पर्छ, तर कुन गाउँ जाने ?

यसपालिको दसैँमा घुमघामको योजना चाहिँ विफल भयो । कतिपय आफ्ना आफन्तकोमा समेत पुग्न सकेनन् । घुम्न जाने भनेको त 'सम्झिने पानी छम्किने' भने जस्तै भयो । तर, केही छैन । अब मौसम खुल्न थालेको छ । फेरि हिन्दुहरूको अर्को ठुलो चाड तिहार पनि आउँदै छ । यस बीचमा घुमघाम गर्ने योजना धेरैको होला । घुमघाम त गर्ने तर कहाँ जाने भन्ने अलमल पनि होला ।

image

हिन्दु धर्मावलम्बीहरूको ठुलो चाड दशैँ भर्खरै सकियो । लगातार वर्षाका कारण हिले दशैँ भयो । थुप्रै मानिसहरूका लागि दशैँ दशा नै बन्यो । वर्षातका कारण कतिपय घर पुग्न पाएनन् । सवारी दुर्घटना समेत भयो । थुप्रैले ज्यान गुमाए । अब मौसम बल्ल खुल्न थालेको छ । दशैँ मनाएर गाउँबाट सहर पस्नेहरूको लर्को छँदै छ ।

यसपालिको दसैँमा घुमघामको योजना चाहिँ विफल भयो । कतिपय आफ्ना आफन्तकोमा समेत पुग्न सकेनन् । घुम्न जाने भनेको त ‘सम्झिने पानी छम्किने’ भने जस्तै भयो । तर, केही छैन । अब मौसम खुल्न थालेको छ । फेरि हिन्दुहरूको अर्को ठुलो चाड तिहार पनि आउँदै छ । यस बीचमा घुमघाम गर्ने योजना धेरैको होला । घुमघाम त गर्ने तर कहाँ जाने भन्ने अलमल पनि होला ।

गाउँ नै गाउँले भरिएको देश हो, नेपाल । नेपालमा सयौँ सुन्दर गाउँहरू छन् । गाउँहरू नेपालको अमूर्त चित्र हुन् । नेपालको वास्तविक सुन्दरता गाउँमा देख्न पाइन्छ । नेपालका सबै भूगोलमा गाउँहरू छन् । ती गाउँहरूको आ-आफ्नै विशिष्ट पहिचान रहेका छन् । मौलिक संस्कृति, परम्परा, जीवनशैली, मुल्यमान्यतामा पनि विविधताा पाइन्छ । भूगोल, हावापानी, जाति, इतिहास, सामाजिक संरचना आदिले गाउँहरूलाई विशिष्ट बनाएका छन् । नेपालमा हजाराैँ सुन्दर गाउँहरू छन् । यहाँ नेपालका पाँच सुन्दर एवम इतिहासिक गाउँहरूका बारेमा चर्चा गरिनेछ;

१. मुलुककै पहिलो होमस्टेस्याङ्जाको ‘सिरुबारी’

स्याङ्जाको आँधिखोला गाउँपालिकामा अवस्थित सिरुबारी नेपालकै पहिलो होमस्टे हो । यो एक सुन्दर गुरुङ बस्ती हो । त्यहाँका ३९ मध्ये २२ घरमा होमस्टे सुविधा छ । बेलायती र भारतीय सेनामा जागिर भएका र रिटायर्ड भइसकेकाहरूको बस्ती भने हुन्छ, सिरुबारीलाई।

सिरुबारीबाट हिमाल देखिँदैन । हिमाल हेर्न डाँडामा चढ्नु पर्छ । गाउँमाथि देउरालीबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेदेखि लमजुङ हिमालको लामो लर्कन देखिन्छ । डाँडाको टुप्पी गोरुजुरेमा पुग्न सिरुबारीबाट दुई घन्टा लाग्छ । सबैभन्दा अग्लो थुम्रो जुरो (२,०२३ मिटर)बाट झन् राम्रो भ्यू देखिन्छ ।

डाँडामा डहरा ऋषिले उहिल्यै तपस्या गरेका थिए । त्यहाँ उनको आश्रम छ । सिरुबारीले सन् २००१ मा पाटा गोल्ड अवार्ड पाएको थियो । माओवादी द्वन्द्वका बेला सिरुबारीमा पर्यटन सुरु गरिएको थियो । सुरुका दिनमा सिरुबारीको मार्केटिङमा टोनी पार नाउँका विदेशीले ठूलो योगदान पुर्याएका थिए । सिरुबारीले इतिहास रचेको छ ।

आँधीखोला गाउँपालिका १ पञ्चमूलस्थित शिरुबारी बाक्लो गुरुङ बस्ती छ । गाँउले तथा पहाडीया जीवन, कला, संस्कृति, गुम्वा, भ्यू टावर, म्यूजियम, धारु, बुद्धको मूर्ति लगायतका क्षेत्रका घुमिफिर तथा अवलोकन गर्ने स्थलहरु मनमोहकका लागि आक्रर्षक छन् ।

पाहुना आउने खबर पाएपछि होमस्टे सञ्चालकहरु गाँउ प्रवेशको मुख्य प्रवेशद्वारमा पञ्चेबाजासहित पाहुनाका स्वागत र सम्मान गर्छन् । पञ्चेबाजासँगै पाहुनालाई लिएर नाच्दै नचाउँदै सांस्कृतिक भवनमा पुर्याईन्छ । त्यसपछि खाजामा स्थानीय मकै, रोटी, चिया, चाना हुनेका लागि स्थानीय रक्सी, चिसो लगायतका खाजा खुवाउने गरिन्छ ।

मौलिक ढंगका ढुंगाले बनाइएका चिटिक्क परेका घर, आँगन, बाटोघाटो, चिसो र सफा वातावरण र सफा मनका स्थानीयवासी मुख्य बिशेषता हुन् । पारिवारिक सदस्यझैँ व्यवहार गर्दे स्थानीयले आ-आफना घरघरमा पाहुना राख्नेगरी सुरुवात गरिएको होमस्टे गुरुङ जीवनशैली स्थानीय संस्कृतिका माध्यमबाट पर्यटकलाई न्यानो आतिथ्यता प्रदान गर्दछन भने स्थानीयस्तरमा उत्पादित खानापानमा जोड दिने गरेका छन् ।

२०५४ सालदेखि पर्यटन गाउँका अभियन्ता पूर्वसांसद स्व. क्याप्टेन रुद्रमान गुरुङको विशेष पहलमा होमस्टे सञ्चालनमा ल्याइएको हो । गाउँको विकास आफैबाट सुरुवात गर्नुपर्छ भन्ने मान्यता बोकेका गुरुङले स्याङ्जाको एक पिछडिएको स्थललाई साच्चीकै सुन्दर र दक्षिण एशियाकै नमुना पर्यटकीय गाउँ बनाउन सफल भएको सिरुबारीका वासिन्दा बताउँछन् ।

नेपालमा पहिलो होमस्टे सञ्चालन गर्ने स्याङ्जाको सिरुबारीलाई होमस्टेको उद्गम थलोको रुपमा देशभर परिचित रहेको छ ।

सिरुबारी जानका लागि पर्यटकीय नगरी पोखराबाट डेढ घण्टाको सवारी यात्रापछि स्याङ्जा पुतलीबजारको नागडाँडा र त्यसपछि झण्डै डेढ घण्टाको यात्रापछि सिरुबारी पुग्न सकिन्छ । सिरुबारीबाट उच्च हिमश्रंखला र सुर्योदयको नजिकबाट अवलोकन गर्न सकिन्छ ।

कसरी पुग्ने ?

काठमाडौँ–पोखरा दुई २०० किमि छ । बसमा ६ घन्टा । पोखरा–कार्कीनेटा –सिरुबारी ६४ किमि । पोखराको पृथ्वीचोकबाट बिहान १०ः३०, ११ र दिउँसो १ र २ बजे सिरुबारी जाने गाडी छुट्छन् । गाडीमा ५ घन्टा ।

२. मुलुककै पहिलो स्मार्ट भिलेज–घलेगाउँ

लमजुङ जिल्लाको उत्तरपश्चिमा पर्ने क्व्होलासोथार गाउँपालिकामा अवस्थित घले गाउँ नेपालकै पहिलो स्मार्ट भिलेज हो । यो सुन्दर घले गाउँ सार्क राष्ट्रको ‘नमुना गाउँ’को रूपमा समेत परिचित रहेको छ । यो गाउँ समुन्द्री सतहदेखि २ हजार एक सय मिटर उचाइमा रहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने घलेगाउँ करिब छ सय वर्ष पुरानो मानव वस्ती हो । लमजुङको यस घलेगाउँ नमुना पर्यटन गन्तव्य बनिसकेको छ । यो गाउँ गुरुङ समूदायको अत्यधिक बसोबास भएको गाउँ हो।

नामाकरण र इतिहास

चौबिसे राज्यकालमा घले राजाले यस ठाउँमा शासन गरेका थिए । तिनै राजाको नामबाट यस गाउँको नाम घले गाउँ राखिएको हो । साथै उनै राजाको सम्मान स्वरूप गाउँमा घले राजाको मूर्ति समेत बनाइएको छ ।

परम्परागत गुरुङ सस्कृती, घांटु, सोरठी, सेर्गा नाच यस गाउँको प्रमुख विशेषता हो । गाउँमा उत्तरकन्या मन्दिर, क्होंबो, चियाबारी, भ्यू टावर आदि सम्पदा अवस्थित रहेका छन् ।

नमुना चिया वगान, प्रांगारिक खेती, परम्परागत गुरुङ सङ्ग्रहालय, हिमाली दृष्यावलोकन, सुधारिएको होम स्टे आदिका लागि प्रख्यात घले गाउँको प्रमुख आय श्रोत नै पर्यटन व्यवसाय हो । हिमालको काखमा रहेको सार्क भिलेज ग्रामिण पर्यटकीय गाउँ घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनासलु, गणेश लगायतका हिमश्रृङ्खलाहरू अवलोकन गर्न सकिन्छ ।

होमस्टे व्यवस्था

घले गाउँमा गुरुङका ८० र दलितका ४५ घरहरू रहेका छन् । वि.सं. २०५७ सालमा १२ घरबाट होमस्टे सुरु गरिएकोमा अहिले अधिकांश घरमा होमस्टे सञ्चालन गराइएको छ । होमस्टेमा एकै रात दुई सय जना अटाउँछन् । घरघरमा वाइफाई सुविधा समेत रहेको छ ।

यातायात व्यवस्था

घलेगाउँ पुग्न लमजुङ जिल्लाको सदरमुकाम वेसीशहरबाट ३ घण्टाको कच्ची सडकमा मोटर यात्रा गर्नुपर्छ । राजधानी सहर काठमाडौंबाट बेशिसहर १७२ किमिको दूरीमा रहेको छ । यस्तै बेशिसहर देखि घले गाउँ २४ किमिको दूरीमा अवस्थित रहेको छ । बेशीसहरबाट जिप रिजर्भ गरेर गाउँ जान सकिन्छ । तर बेशिसहरबाट घले गाउँ हिडेर जाँदा लगभग ६ घन्टा लाग्छ ।

ग्रामीण पर्यटनको नमूना गन्तव्य घलेगाउँमा घुम्नलायक चियाबारी, गुरुङ संग्रहालय, भ्यूटावर, उत्तरकन्या मन्दिर, कोइवो धिँ लगायत सम्पदा छन् । त्यस्तै छिमेकी गाउँहरू घनपोखरा, भुजुङ र बागलुङपानीमा हाइकिङ गर्न मिल्छ ।

गाउँका अगुवा प्रेम घलेको अगुवाइमा २०५६ साल चैत २० गतेदेखि घलेगाउँमा ग्रामीण पर्यटनको अभ्यास हुँदै आएको छ । पर्यटन व्यवस्थापन समितिले बर्सेनि वैशाख २३ देखि २५ गतेसम्म ‘घलेगाउँ महोत्सव’ आयोजना गर्छ । विसं २०५७ बाट मनाउन थालिएको महोत्सवमा व्याडमिन्टन, बास्केटबल र फुटबल प्रतियोगिता गर्नुकासाथै सांस्कृतिक कार्यक्रम पनि देखाइन्छ ।

घलेगाउँलाई २०७६ साल मंसिर १७ गते स्मार्ट भिलेज घोषणा गरिएको हो । गाउँमा सडक, विद्यालय, खानेपानी, बिजुली, टेलिफोन, इन्टरनेट, होटल, होमस्टे लगायत आधारभूत सुविधा छ ।

३. गुरुङ समुदायको परम्परागत संस्कृतिको केन्द्र ‘भुजुङ’

यो गाउँ लम्जुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकामा अवस्थित छ । सदरमुकाम बेसीशहर देखि २४ किलोमिटरको जिप यात्रा पछि पर्यटकीय गाउँ, घलेगाउँ, नायु, घनपोखरा हुँदै करिव दुई घण्टाको पैदल यात्रा पछि ग्रामिण पर्यटकीय भुजुङ गाउँ सजिलै पुग्न सकिन्छ। यो गाउँ जिल्लाकै सबैभन्दा ठूलो र सिरान गाउँको रूपमा पनि प्रख्यात छ ।

समुन्द्री सतह देखि करिब १६०० मिटरको उचाईमा रहेको यस गाउँको पूर्वमा घले गाउँ पर्दछ भने उत्तरमा विशाल जंगल, घाँसे खर्क, लम्जुङ हिमाल, अन्नपूर्ण हिमाल स्पष्ट रूपमा देख्न सकिन्छ । करिब ३६२ घरधुरी रहेको भुजुङ गाउँमा ९० प्रतिशत गुरुङ समुदाय रहेका छन् । ‘न्याय नपाए गोर्खा जानु, संस्कृति खोज्न भुजुङ जानु’ भन्ने भनाई पनि प्रचलित रहेको छ ।

यस गाउँमा अझ पनि गुरुङहरूको परम्परागत रितिरिवाज, भेषभुषा, भाषा, संस्कृति र पहिचान जिवितै रहेको छ । घरहरूको पर्खाल ढुंगा, माटो, काठ र छानोमा ढुङ्गा, टिन र खरले छाएको पुरानो शैलिका आर्कषक पुरानो घुमाउने घर पनि यहाँ रहेको छ । खानाको रूपमा लोकल चामलको भात, कोदोको ढिंडो, सिस्नो, गुन्द्रुक, निउरो, कुरीलो, पिडालु, अनि कोदोको शुद्ध रक्सी, लोकल खसी र कुखुराको मासुको पनि स्वाद लिन सकिन्छ ।

यहाँका मानिसहरूको मुख्य पेशा भनेको कृषि हो । यस गाउँका मानिसहरूले पशुपालनमा भैंसी, वाख्रा भेंडा र पशुपंक्षीमा कुखुरा पाल्ने गरेका छन् । मिहेनती र लगनशिल छन् यहाँका मानिसहरू, फुर्सदको समयमा पुरुषहरूले डोको, नाम्लो, डालो, मान्द्रो, घुम, भकारी र महिलाहरूले उनवाट राडीपाखी, बख्खु, पुवाबाट थैलो, झोला, भाङग्रा जस्ता हस्तकला सामानहरू बनाउँछन् । बेलायत, भारत र नेपाली सेनामा भर्ती हुने वैदेशीक रोजगार र होटल व्यावसाय थप आय आर्जनका स्रोतहरू हुन्। यहाँका ८० प्रतिशत मानिसहरू साक्षार छन् ।

परम्परागत ऐतिहासिक संस्कृति नृत्यमा भुजुङ्कै गहनाको रूपमा घाँटु (कुसुन्डा), कृष्ण चरित्र, साराङ्गी, घ्याब्रि, प्हच्यु, सेर्गा, नृत्यहरू यहाँको विशेष आर्कषण हुन् । शुभ पुटपुटे, छेवर, दिनभरिको थकान मेट्ने अनि सुखदु:ख बाँड्ने पवित्र थलो रोधी पनि यहाँ रहेको छ । यस ठाउँको संरक्षण र विकास स्थानिय स्तरबाटै गरिनु पर्दछ भन्ने उद्देश्यले लाली गुँरास युवा क्लब, युम्बो विकास आमा समुह, २०५० सालमा स्थापित राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपर्ण् संरक्षण क्षेत्र आयोजना, यस अर्न्तगत रहने संरक्षण क्षेत्र व्यवस्थापन समिति, पर्यटन व्यवस्थापन उपसमिति, भुजुङ्ग लघु जल विद्युत व्यवस्थापन समिति, भुजुङ्ग उपस्वास्थ्य चौकि, खानेपानी व्यवस्थापन समितिहरू क्रियाशील छन् ।

वैकल्पिक पदयात्राको लागि विभिन्न स्थानवाट पुग्न सकिने भुजुङमा २५ घरमा पाहुना राख्ने व्यवस्था पनि रहेको छ  यस गाउँको वन क्षेत्रमा विभिन्न लोपोन्मुख जंगली जीव जनावारहरू, पशुपंक्षी, जडिवुटी, फलफूल र विभिन्न प्रजातिका पुतलीहरू पाईन्छ । ग्रामिण पर्यटन विकासमा टेवा पुर्‍याउने उदेश्यले नेपाल पर्यटन बोर्ड, जि.वि.स, गा.पा.र स्थानिय सङ्घ संस्थाहरूको सक्रियतामा ग्रामिण पर्यटकिय गाउँ भुजुङ्को आर्कषण, स्थानिय कला संस्कृतिको संरक्षणू भन्ने मुल नाराका साथ २०६४ सालमा सभासद पृथ्वी सुब्बा गुरुङ्को प्रमुख अतिथ्यमा प्रथम भुजुङ् महोत्सव सफलताका साथ सम्पन्न गरिएको थियो ।

अहिले चिया बगान पनि यहाँको प्रमुख आकर्षण बनेको छ । शिक्षा, खानेपानी, विद्युत, टेलिफोन, टेलिभिजन, स्वास्थ्य आदिको सुविधाबाट गाउँलेहरू र गाँउमा आउने पर्यटकहरू लाभान्वित भएका छन् ।

यजम्रो, भयरा, योरी, शिल्दो, युम्बो, सलिया, अजम्रो यहाँका मानिसहरूले पुज्ने देवताहरू हुन् । आफुले चिताएको कुरा पुर्‍याईदिने हुनाले यजम्रो (सन्तानेश्वर महादेव) लाई यहाँका मानिसहरूले सबभन्दा ठूलो देवताको रूपमा मान्ने गर्दछ । गाउँदेखि उत्तरीमोडामा पर्ने घना जंगलको सुनसान ठाउँमा एउटा ठूलो ढुंगामाथि सँधै पानी जमिरहने ठाउँमै यजम्रो देवता रहेका छन् ।

धार्मिक, ऐतिहासिक, सांस्कृतिक विविधता एवम् प्राकृतिक छटाले भरिपूर्ण घना जंगल, डाँडापाखा, छहरा, कन्दरा, हरियाली, हराभरा स्वच्छ वातावरण, हावा, मुटु छुने चिसो पानी, मोती जस्तै टल्कने हिमालहरू, दक्षिणतर्फ नागवेली आकारमा सुसाई बगेको मिदिम खोला, गाउँकै अगाडि छङछङ झरी रहने कईयो झरना यि-यस्ता कुराहरूले सबैलाई हषिर्त एवं आनन्दित तुल्याउँछ । गाउँबाट देखिने तल्क्यु, घिम्चे, चिलिन्चे, रम्जै, कम्दी, किज्गो जस्ता खेती योग्य फाँटहरूको आकर्षणले वास्तवमा भुजुङ् गाउँलाई स्वर्ग जस्तै बनाएको छ । कला संस्कृतिलाई नजीकबाट नियाल्ने र ग्रामिण पर्यटनलाई टेवा पुर्‍याउनको निम्ति एकपटक भुजुङ गाउँ पुग्नुस् ल ।

४. कास्कीको घान्द्रुक गाउँ, जहाँ पुगेपछि फर्किन मान्दैनन् पर्यटक

घान्द्रुक नेपालको एक चर्चित पर्यटकीय गाउँ हो । गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकामा पर्ने यो गाउँ नेपालको सबैभन्दा बढी घुमिने गाउँ हो । समुन्द्री सतहबाट करिब दुई हजार एक सय मिटरको उचाईमा अवस्थित यस गाउँमा आन्तरिक तथा बाह्य पर्यटकको घुँइचो लाग्ने गर्दछ । अन्नपूर्ण बेसक्याम्प जाने बाटोमा पर्ने भएकाले पनि त्यसतर्फ जाने पर्यटकहरु घान्द्रुकमा आराम गर्छन् । गाउँमा पुगेका पर्यटकहरु हतपती फर्किन मान्दैनन् । गाउँको सुन्दरताले पर्यटकहरुलाई बसिरहुँ बनाइदिन्छ ।

गुरुङ समुदायको बाहुल्यता रहेको यस गाउँमा उक्त जातिको विशिष्ट संस्कृतिको पनि अवलोकन गर्न पाइन्छ । गाउँमा पुग्ने पर्यटकहरुलाई विनोदप्रिय गुरुङ समुदायको स्वागत, सत्कार, नाचगान र लोकसंस्कृतिले मोहनी नै लगाउने गरेका छन् ।

सन् १९९० को दशकमा पोखरा बाग्लुङ सडक बनेपछि यो गाउँमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । यस गाउँमा वर्षको बाह्रै महिना पर्यटकको भीड हुने गरेको छ । विश्वव्यापी कोभिड महामारीले विश्वको पर्यटन क्षेत्र थला परिरहेका बेला पनि घान्द्रुक गाउँमा भने पर्यटकको चहलपहल कायम थियो र छ ।

घान्द्रुक प्राकृतिक सुन्दरता र गुरुङ संस्कृतिको अध्ययनका लागि उत्कृष्ट गन्तव्य हो । हिमालको काखमा अवस्थित सुन्दर गाउँले पर्यटकको मन लोभ्याउँछन् । परम्परागत गाउँले संरचनामा बनाएका घरहरुको दृष्यले अर्कै ग्रहमा पुगेको महसुस गराइदिन्छ । घरको छानोदेखि बाटोघाटोसम्म ढुङ्गको प्रयोग गरिएको छ । जसले गर्दा घान्द्रुक ‘ढुङ्गाको गाउँ’ भनेर समेत चिनिन्छ ।

सुन्दर शहर पोखराको उत्तरपश्चिममा अवस्थित यो गाउँमा सबै खालका सवारी साधन लिएर पुग्न सकिन्छ । ट्रेकिङ गर्दै जान पनि सकिन्छ ।

५. नेवारी कला, संस्कृति र श्रमले पोतिएकी ‘बन्दीपुर’

भक्तपुरे शैलीमा बनेका इँट्टाका घर । बुट्टा भरेका आँखीझ्याल । कलाले सिँगारेका टुँडाल । शान्त बजार, त्यहीँ बजारको बीचमा ढुंगाको छपनीले चिठेको बाटो, जहाँ मोटर गाडी गुडाउन बन्देज छ । भीमसेनको मन्दिर । आँखै अगाडि जुगल, लाङटाङ, गणेश, मनास्लु, हिमचुली, अन्नपूर्ण, धौलागिरी र कान्जिरोवा लगायत हिमालको दृष्य । तनहुँको प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरका विशेषताहरु हुन् यी ।

नेवार संस्कृतिमा लिपिएको बन्दीपुरको सहरी संरचना साढे दुई सय वर्ष पुरानो मानिन्छ । रहनसहन, थिति र संरचनाका साथसाथ प्राकृतिक सौन्दर्य बन्दीपुरका विशेषता हुन् । बन्दीपुर वरिपरिका गाउँमा मगर संस्कृतिको अवलोकन गर्न पाइन्छ । हिमालयको फराकिलो दृश्य बन्दीपुरको विशेषता हो । बजारबाट दश मिनेट परको टुँडिखेलबाट हिमालको हिउँमात्र देखिँदैन, ३०० कि.मी. फराकिलो क्षितिजमा फैलिएका फाँट, पहाड पनि देखिन्छन् ।

बन्दिपुर, तनहुँ जिल्लाको पुरानो सदरमुकाम हो । यो शहर मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडका तनहुँ, कास्की, लम्जुङ्ग, गोर्खा र मनाङ्गको लागि दक्षिणबाट सामान ल्याउने मुख्य व्यापारिक नाकाको रुपमा विकास भएको थियो । यस ठाउँबाट वि.स, २०२५ सालमा सदरमुकाम दमौली सारिए पनि सांकृतिक सम्पदा र प्राकृतिक मनोरमताको प्रचारप्रसारसंगै बन्दिपुर व्यापारिक नाकाबाट पर्यटकीय स्थानको रुपमा विश्वभर नै प्रसिद्धि छ ।

बन्दीपुरबाट पूर्वपट्टि भक्तपुरको उत्तरमा पर्ने जुगल देखिन्छ । पश्चिमतिर चाहिँ लाङटाङ, गणेश, गोरखा ९मनास्लु हिमचुली तथा बौद्धसहित, अन्नपूर्ण, धौलागिरि र काञ्जिरोवा हिमाल फेददेखि टुप्पोसम्मै देखिन्छन् । तलतिर मर्स्याङ्दी नदीले बनाएका उपत्यका हेर्दा लाग्छ, बन्दीपुर उपत्यका माथि झुण्डिइरहेको छ । बन्दीपुरले प्राकृतिक भ्यु टावरको उपमा यसै पाएको होइन ।

बन्दीपुरबाट दुई घण्टा हिँडेर पातालीद्वार वा स्वर्गद्वारी गुफा पुग्न सकिन्छ । यहाँको सिद्ध गुफा नेपालकै सबैभन्दा ठूलो गुफा मानिन्छ । बन्दीपुर वरिपरिका डाँडा हाइकिङका दृष्टिले पनि उपयुक्त मानिन्छन् । बन्दीपुर प्याराग्लाइडिङका लागि पनि चर्चित छ । ११५० मिटर उचाइमा रहेको भञ्ज्याङ चौतारा, बुरुञ्चे डाँडाबाट ग्लाइडरहरू तल फाल हाल्ने गर्छन् । पोखराका कम्पनीहरूले यहाँको प्याराग्लाइडिङको व्यवस्थापन गरेका छन् ।

सेती नदीमा राफ्टिंग गर्न दमौली आउनेहरूले पनि बन्दीपुरमा एक दिन बास बस्ने गरेका छन् । मुग्लिनबाट आधा घण्टा जतिमा गाडीमा पृथ्वी राजमार्गको डुम्रेबजार पुगिन्छ । त्यहाँबाट दुई किमि पश्चिममा पिप्ले, जहाँबाट आधा घण्टा मोटर यात्राबाट पुरानो पहाडी सहर बन्दीपुर पुग्न सकिन्छ ।

पहाडी संस्कृति, पहाडी दृश्य र पहाडी पैदल यात्राका लागि बन्दीपुर अत्यन्त उपयुक्त गन्तव्य हो । मंसिरतिर जानुभयो भने हिमाल हेर्दै बन्दीपुरे सुन्तलाको स्वाद लिन पाउनुहुन्छ । मध्यजेठदेखि मध्यअसारसम्म आउने आगन्तुकको बजारमा मानिसले मात्र होइन, बाटैभरि चौबीस जातिका सुनगाभाले पनि स्वागत गर्छन् ।

बन्दीपुरमा घुम्नको लागि बसोबासको समस्या छैन । टुँडिखेलमा सुविधासम्पन्न रिसोर्ट मात्र छैन, पुराना नेवारी घरहरूलाई पनि मध्यमस्तरको बसोबासका निम्ति उपयुक्त होटलका रूपमा विकसित गरिएको छ । यहाँका कतिपय घरहरूमा खाना र बिहानको खाजा खाने गरी स:शुल्क पाहुना भएर बस्न सकिने व्यवस्था पनि छ । बन्दीपुरका प्रमुख आकर्षणहरूमा खड्गदेवी माई मन्दिर पनि एक हो ।

सम्बन्धित समाचार