बुधबार , जेठ १३, २०८३

राजनीति गर्ने भनेको पैसा कमाउन जाने होइन, जनताको सेवा गर्न जाने हो

image

गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ८ को प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका वेद प्रसाद ढकालले शिक्षा, स्वास्थ्य र कृषिमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाली कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्रबाट उठेका उनको चुनाव चिन्ह गुलाबको फूल हो । उनले स्थानीय तहमा लुकेर रहेको भ्रष्टाचार अन्त्य गर्नु पर्ने समेत बताएका छन् ।

उनै  वेद प्रसाद ढकाल सङ्ग हिमाल दर्पणकर्मी अन्शु खनालले गरेको कुराकानीको सम्पादित अंश :

१.गाउँपालिकाको विकासका लागि तपाईँको एजेन्डा के-के छन् ? 

धेरै ठुला-ठुला एजेन्डा त छैनन् । खासमा कृषि यातायात, शिक्षा र स्वास्थ्य नै हो ।

गाउँमा शिक्षाको गुणस्तर राम्रो नभएर सबै बच्चाहरू सहर बजारमा पढ्छन् । अभिभावकले विदेशमा बसेर कमाउने, छोराछोरी सहरमा बसेर पढ्ने । कमाएको सबै पैसा शिक्षामा खर्च हुन्छ । शिक्षा महँगो भयो । गाउँको स्कुल अलि व्यवस्थित भएमा ती सबै गाउँ फर्किन्थे । गाउँमै जनशक्ति बढ्थ्यो । जग्गा जमिन बाँझो छ, गाउँमा सबै मान्छे हुने भए खेती पाती हुन्थ्यो । जग्गा बाँझो राख्न पर्दैन थियो । उत्पादन बढ्थ्यो । एउटा कुराले धेरै कुरालाई असर गरेको छ ।

कृषिमा उत्पादन भएपछि कृषिमा आत्मनिर्भर भइन्थ्यो । शिक्षामा परिवर्तन गर्न सकियो भने धेरै परिवर्तन हुन्छ भन्ने मेरो मान्यता हो । साथै, स्थानीय विषयमा विद्यार्थीको दैनिक जीवनमा लागू हुने विषय पढाउने पनि लक्ष्य छ ।

यहाँ अर्को समस्या यातायातको हो । यातायातलाई व्यवस्थित गर्नुपर्छ । बर्सेनि बजेट आउँछ । काम पनि भएको जस्तो देखिएको छ । कागजमा पनि पुरै काम भएको हुन्छ तर, काम देखिँदैन । कागजमा ८० प्रतिशत नै काम भएको देखिन्छ तर, व्यवहारमा ४० प्रतिशत काम नि भएको छैन । स्थानीय तहमा लुकेको भ्रष्टाचार हुन्छ, त्यसलाई अन्त्य गर्नु पर्छ ।

२.भ्रष्टाचार कम गर्न के गर्नुहुन्छ त ?

सबैखाले योजनाका लागतहरू जनप्रतिनिधिले आफ्नै निगरानीमा काम गरेमा लुकेका भ्रष्टाचार कम गर्न सकिन्छ । खासमा राजनीति गर्ने भनेको पैसा कमाउन जाने होइन, जनताको सेवा गर्न जाने हो । यो कुरा सबैले बुझे भ्रष्टाचार आफैँ रोकिन्छ ।

३. कृषिमा के गर्ने योजना छ ?

कृषिलाई व्यवसायीकरण गर्नुपर्छ । किसानहरूलाई अनुदान कसरी दिँदा के गर्दा सहज हुन्छ भन्ने कुरालाई ध्यान दिएर काम गर्छु ।  सबैभन्दा ठुलो कुरा हामीले कृषिमा ध्यान दिनु पर्‍यो । कृषिलाई विकास गर्न सकियो भने रोजगारी सिर्जना हुन्छ कृषिलाई आधुनिकीकरण र प्रविधिको प्रयोग गरेर मात्रै भएन बजार व्यवस्थापन पनि एकदमै जरुरी छ । गाउँमा दुःख गर्ने किसानहरूले आफ्नो मेहनत अनुसारको पारिश्रमिक पाइरहेका छैनन् ।

बिचौलिया, माफियाहरू मात्रै मोटाई रहेका छन् यसलाई अन्त्य गरेर सिधै व्यापारी र किसानको सम्पर्क गराएर किसानलाई मेहनत अनुसारको परिश्रमिक पाउने वातावरण मिलाउने योजना बनाउनु पर्छ । यसका लागि सहकारी प्रणाली अपनाएर, कुनै एउटा सहकारीलाई सम्पूर्ण जिम्मा दिएर किसानलाई भरपर्दो हुने गरी काम गर्न सकिन्छ ।

किसानको पहुँच बजारसम्म पुर्‍याउन पर्छ । जसले गर्दा किसानलाई पनि  काम गर्नलाई ऊर्जा मिल्छ ।

कृषिमा रोजगारी सिर्जना हुन्छ । यसले हाम्रो गाउँमा चरम समस्याको रूपमा रहेको बसाइसराइ समेत कम हुन्छ ।

४. स्वास्थ्यमा के गर्ने सोच्नु भएको छ त ?

सरकारले गराएको स्वास्थ्य बिमा सुलभ छ तर पनि कत्तिले नजानेर नबुझेर नसकेर बिमा गराई रहेका छैनन् । स्वास्थ्य बिमा वडाले नि:शुल्क गराउने योजना छ ।

५. तपाईँबाट नयाँ के काम अपेक्षा गर्ने त ?

प्रविधिमैत्री सेवा – वडा कार्यालयलाई प्रविधिमैत्री बनाउने मेरो अर्को योजना हो । जे कागजपत्र बनाउन परे पनि सहज र सुलभ होस् भनेर यो सोचेको हुँ । साथै भूकम्पपछि हाम्रो वडामा वृक्षारोपण नै भएको छैन, जसले गर्दा  पहिरो र भूक्षयको जोखिम उच्च छ वातावरण र पानिको संरक्षणको लागि वृक्षारोपण गर्ने योजना छ । बाटोघाटो निर्माण गर्दा वडाका चौताराहरू पनि सबै मासिएका छन् भएका चौतारा संरक्षण गर्ने र नयाँ रूखहरू रोप्ने योजना हो । अनि गाउँमा भएका पोखरी र मन्दिरहरूको संरक्षण गर्ने योजना छ ।

६. दलिय राजनीति र स्वतन्त्रमा के फरक पाउनुभयो ?

दलीय राजनीतिमा पार्टीको नियम कानुन आचारसंहितामा बसेर काम गर्नु पर्‍यो । आफूले गर्न सक्छु भने पनि पार्टीले टिकट दिएन भने कुर्नु पर्‍यो । स्वतन्त्र हुँदा आफ्नो एजेन्डा बनाएर काम गर्न मौका पाइन्छ ।

७. अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

समाज विकास सँगै सुरक्षा पनि उत्तिकै जरुरी हुन्छ । भयरहित वातावरण सिर्जना गर्ने, जाड रक्सी खाने, हिंसा गर्ने, दुर्व्यवहार कम गर्ने वातावरण प्रयास गर्नेछु ।

जनतालाई दिनुपर्ने अति आवश्यक सेवा सुविधा अझै सर्वसुलभ बनाएर लैजानेछु ।

सम्बन्धित समाचार