काठमाडौं । विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डे ‘शीतल’लाई पक्राउ गर्न माग गर्दै तामाङ र मगर समुदायले जिल्ला प्रहरी परिसर टेकुमा विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीले जिल्ला प्रहरी परिसरको कार्यालय घेरेपछि स्थिति तनावग्रस्त बनेको छ । प्रदर्शनका क्रममा प्रहरीले केही आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको आन्दोलनकारीले जनाएका छन् ।
अधिवक्ता पाण्डेले एक टेलिभिजन अन्तर्वार्तामा दिएको अभिव्यक्तिलाई लिएर नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर सङ्घका ज्ञानेन्द पुनले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।
भगवती पाण्डेविरुद्ध जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जाहेरी दर्ता भएको हो । प्रहरी परिसरबाट पत्रकारलाईसमेत हटाउन थालेपछि पत्रकारहरूले क्यामेरा नै डाउन गरेर विरोध जनाएका छन् ।
प्रदर्शन एवं प्रहरीमाथि ढुंगामुढा गर्ने २८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
अधिवक्ता पाण्डे मङ्गलवार बिहानै पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बुधवार बिहान उनलाई पक्राउ गरेको डिएसपी अनिल अधिकारीले जानकारी दिए ।
उनको बयान भइरहेको प्रहरीले जनाएको छ ।