बुधबार , साउन ९, २०८१

हरेक हृदयमा एउटा भमरा हुन्छ

खुक्की निलिरहँदा प्रेमिकाज्यू भन्दै हुनुहुन्थ्यो, “छिप्पिएको जाँड माग न ।” उहाँको भनाइको तात्पर्य थियो, “एकाबिहानै म्याडमलाई छ्याङ हान्न परेको थियो ।”

image

प्यार का पहला खत लिखने में वक़्त तो लगता है
नए परिंदो को उड़ने में वक़्त तो लगता है

जगजीत सिंह कति मनपसन्द कुरा गर्दै छन् ? हस्तीद्वारा लिखित यस गीत आज होलीको हर्षोल्लास लिएर झल्लुदरबार आइपुगेको छ । उसको स्वागतमा म बजार गएर आधा किलो हरिया रङका अङ्गुर र एक क्वार्टर साइज गोल्डेन वाक लिएर आइदिन्छु ।

झड्याम्म एउटा आवाज आउँछ । जगजीत र म ‘चियर्स गर्छौँ’ ।

***

बजार पुगेर आइपुग्दा एक दुई पोका पानी भरिएको गोला लोला दुवै गाला र कम्मरमा खान्छु । चोक-चोकमा बच्चाबच्ची/केटाकेटीहरू बन्दुक (पिच्कारी) र गोला लोला लिएर बसेका छन् । र, बेसी सतर्कता अपनाउने हरेक खैरो छालाहरू पिटिएका छन्, दलिएका छन्, दबारिएका छन् । सायद चिथोरिएका पनि हुँदा हुन् । किशोरवयमा पाइला हालेका केटाहरूको आँखा ‘उकासिएका किशोरी’ ताकिरहेछन्, र बेपत्तासँग ती दुई लिङ्गधारी तन्नेरी-तरुनीहरू वसन्तलाई मात ख्वाउने ‘प्रेम रङ’ एकर्कामा बर्साइरहेका छन् । खोजेको वस्तु अन्धकार रातमा भेटिएको भावुकतावश ती प्रेमिल जोडीहरू एकर्कामा एक-एक थान लोला दाँगेर कलङ्कीतिर बत्तिन्छन् । मेरो सामुन्ने उनीहरूको प्रेमले निथ्रुक्क भिजेको निलो पिच हाइ ओकलिरहेको हुन्छ । ‘झ्याँक्ने’, म उसको मुखैमा लात बर्साउँदै आफैंदेखि अपरिचित बनिरहेको फागु मनाइरहेको एलआरईको समाजतिर अगाडि बढिदिन्छु । कसैले पुनश्च: मलाई दाँगेर गोला लोला हिर्काउँछ । मेरो हृदय बेपत्ताले कुद्छ । भिजेको बिरालो मूलबाटो हुँदै कुदिरहेको तपाईँहरूले देखेको हुनुपर्छ ।

म झटपट झल्लुदरबार उक्लिन्छु । भूतपूर्व प्रेमिका ज्यूसँगको जम्काभेट सरह भिजेका कपडाहरूलाई ओभाइहाल्नु हतारो रहेछ । ती अहिले मनतातो उकुसमुकुस छातीलाई दिएर आफू ओभानो भइबसेका छन् । यद्यपि, यी कपडाहरू नफ्याली म लेख्न सक्दिनँ । र, म त्यो गरिहाल्न सक्दिनँ । किनभने,

प्यार का पहला खत लिखने में वक़्त तो लगता है
नए परिंदो को उड़ने में वक़्त तो लगता है

***

‘मधानी वा अष्टयाम गर्नेहरूले शिवको पूजा गरी अबिर साटासाट गर्थे, डम्फू बजाउँथे । अनि होलीको रङ समाजमा देखिन थाल्थ्यो ।’

यो एउटा होलीमय प्राचीन प्रसङ्गलाई भावुकतावश सम्झिन पुगेका सञ्जय मित्रको वाक्यांश हो । यद्यपि यस वाक्यांशले मलाई फागुनभरि ‘बूढो मान्छे पनि देवरसरह हुन्छन्’ भन्ने लोक्तोक्तिलाई सम्झाउँछ । नेपाली समाजमा देवर त्यो साइनो हो, जो भाउजू जिस्काउन र आफ्नो दायित्व बिर्सन छुट पाउँछ । देवर-भाउजुबीचको छेडखानीमा दाजु चाहिँ फुङ्ग परिबस्नु नियति हुनजान्छ । यो पहाडी नेपाली समाजमा हुर्केको मैले देखिरहने एउटा सामाजिक पर्दा हो ।

देवरलाई ‘फागुन’सँग तुलना गर्न मिल्दछ । त्यो किनभने फागुन जिस्कने र जिस्काउनेहरूको महान् चाड हो । एकाबिहानै जगजीत सिंहले मलाई जिस्काइदिएँ । एक झुप्पो अङ्गुर र क्वार्टर प्याक ल्याएर मैले उनलाई जिस्काइदिएँ । हामीबिच वसन्तलाई जिस्काइरहेका तन्नेरी-तरुनीहरू आइदिए । र, उनलाई एकातिर-मलाई एकातिर पुर्‍याइदिए । आफूलाई भुलिबिर्सेका दिनहरूलाई सम्झिँदै गर्दा-

अर्को प्याक लिएर जगजीत सिंह भनिरहेका हुन्छन्,

जिस्म की बात नही थी, उनके दिल तक जाना था
लंबी दूरी तै करने में वक़्त तो लगता ह
लंबी दूरी तै करने में वक़्त तो लगता है
प्यार का पहेला खत लिखने में वक़्त तो लगता है

म उनलाई अर्को प्याक थपिदिएर उनीसँग दुरी बढाउँछु । उनी फिलहाल ‘म्यूट’ छन् । चुस्की लिइरहेको आवाज भने गुञ्जायमान नै छ ।

***

खेतहरूमा केराउ फलेको र गहुँको बालामा फूल फुलेको समय थियो त्यो । एउटा तरुणयुग । एक  अल्हादक अनुभूति ।

हरियो केराउको काँचो दानालाई बोटबाटै प्रेमिकाज्यूले चुँडाउनु भयो र मेरो मुखमा राखिदिनुभयो । एउटा हिउँदे बालीले वसन्त आएको चाल पायो त्यसपछि । केराउको झ्याङ्गिएका लहरालाई तानातान गरेर हामीले लपाङफेदीलाई छाडेका थियौँ ।

लपाङफेदी, तस्बीर:राजु झल्लु प्रसाद

लपाङफेदीबाट किम्ताङफेदीतर्फ लाग्दै गर्दा आफ्नो मुखको केराउको दाना उहाँलाई दिँदै सामुन्नेको दबदबे खेतलाई देखाउँदै मैले एउटा कथा सुनाएँ ।

जसानुसार- केही वर्ष अगाडि एक हल गोरु सहित एक किसान साउनमा खेत जोत्दै थिए । टम्म पानी भरिएको खेतमा जोत्दाजोत्दै हलो अड्कियो । गोरु सतर्क भयो । तर, एक्कासि दुवै गोरु दलदलमा फसे । किसान आत्तियो तर उसकै आँखाअगाडि हल गोरु लापता भए । किसानको पनि सोही हालत भयो । टाउको मात्रै देखिएको अवस्थामा  कसैले उसको उद्धार गर्‍यो । आज ती किसान अपाङ्ग जीवन बिताइरहेका छन् ।

“छ्या, केराउ अड्कियो । कस्तो डरमर्दो ।” उहाँ एकनास हुनुभयो । म पनि चुपचाप रहेँ ।

फागुनको महिनाले धुलो उडाएर आफ्नो परिचय दियो । एउटा रातो पात हल्लिँदै आएर उहाँको काखमा बस्यो । उहाँले कानमा सिउरिँदै भन्नुभयो, “यो मौसममा बहने शुद्ध र ताजा वायु कति बेइमान छ, बोटका पात सबै निखारीदिन्छ ।”

‘वसन्तको रगतै यस्तो छ । श्यामश्वेत सुन्दरता ।’

उहाँले मेरो कुरा सुनेर जसप्रकार ओठ नेप्राउनुभयो, त्यो  प्यास र तृप्तिले आतुर हृदयलाई कुत्कुताउने स्वभावको थियो । तर, मैले ब्रेक लगाइनँ । किनभने पुग्नुपर्ने ठाउँ कागजका चरा सरह थियो, जति नै बल गरे पनि पुग्नु अगावै झरिजाने खालको ।

किम्ताङफेदी, तस्बीर: रोशन फ्यूबा

***

आकाशभरि गुन्जिरहेको प्रेमगीत (चराको चिरबिर) सुन्दै हामी उँभो लागिरहेका थियौँ । हरेक किलोमिटरमा ४/५ वटा राता/पहेँला पातहरूले उहाँलाई चुमिरहन्थ्यो । र, उहाँ हरेक पातलाई केशराशीमा सिउरिएर बिहानीको पहाडी टाकुरासरह चम्किरहनुभए’थ्यो ।

एउटा जलधारा तल हिँडिरहेको थियो । खोलाको नाउँ नेत्रावती थियो, मास्तिर आँखु भनिन्थ्यो । सुन्नमा आएअनुसार कुनै संस्कृत विद्वानले आँखुको संस्कृतिकरण गरिदिएका थिए । नढाँटी भन्दा, हामी धादिङको माख्लो भेगतिर लस्किएका थियौँ ।

भन्नै बिर्सिएको- एकाबिहानै सँगै ब्युँझिएपश्चात् झोला कसेर हामी गणेश हिमाल फेदीतिर उक्लिएका थियौँ । बोन्पो (झाँक्रीपन्थ) मासेर क्रिश्चियन धर्म अपनाएका झार्लाङवासीहरूको गाउँसम्म हामीलाई पुग्नु थियो । सेता मजेत्रो गुथेजस्ता शिखरहरू मुन्याडको यो भूगोल गाउँघरका तृष्णाले धापिएका हरेकलाई लोभ्याउने थलो हो, यो । दुर्भाग्य, पोखरा र सौराहा बाहेक प्रेम जोडीहरूले यस्ता ठाउँहरू देखेकै छैनन् र पो त ! कृषि पर्यटन र सांस्कृतिक विरासतका स्वप्नमय सम्भावनाहरू नियाल्न आँखाहरू यता नपुगेको देख्दा मापाको रिस उठेर आउँछ, बास्नादार लेकाली माटोको वासनाले ती स्वाँठहरूलाई किन लोभ्याएको होला ?

भन्नै बिर्सिएको-  सँगै ब्युँझिएर बाइकमा झोला प्याक गर्दा हामीले याद राखेका थिएनौँ कि हिमाच्छादित धर्तीको न्यानो चिसोमा आलिङ्गनबद्ध हुनु हर्षजड (गद्गद) क्षण हुनेछ । सहरमा भोलि फागु उत्सव थियो । हामी त्यसलाई ढड्नेसो फर्काई वरी हर्षनाद गर्दै झार्लाङ पुगेका थियौँ, एउटा विजयध्वनि गुन्जयामन बनाउँदै । सहरी रिमिकझिमक र चाकडीबाट वाक्क भएपश्चात् हामीले ताजगी प्राप्त गर्न घान्द्रुकलाई टप्ने एउटा लेकाली गाउँलाई आफ्नो गन्तव्य बनाएका थियौँ । केही समयअगाडि यही गाउँपालिकाको ऐतिहासिक, सांस्कृतिक र धार्मिक इतिहास लेखनको लागि म केही साथीहरूलाई लिएर त्यता पुगेको थिएँ । तर, त्यतिबेला त्यो रौनक रहेन । जो योपटक जुर्दै थियो ।

***

फागुनको महिनामा प्रेमिकासँग एउटा कौमार्य भूगोलमा पुगेको एउटा प्रेमीको हृदय कति वाचल हुन् सक्ला ? त्यो अनुमानित कथन बाहिरको कुरा छ । राधाको रूप लावण्यमा लट्ठ जगतगुरु कृष्ण भएको थिएँ म । र, मेरो मुखबाट पनि फुत्त निस्किएको थियो, ‘ऋतुहरूमा म वसन्त हुँ ।”

प्रेमिकाज्यूले पुर्लुक्क हेरेर प्वाक्क छेड हान्नुभए थ्यो, “हेर न, भमराको भुनभुनाहट । कसैले भनोस् नभनोस्, आफैँ मपाईँ ।”
प्रेमिकाज्यूको नम्रतापूर्वक नखराले मेरो मुख टालिएको थियो ।

अलिपछि  म बोलें, “हरेक हृदयमा एउटा भमरा हुन्छ ।”
“तिमिमा २/४ वटै हुनुपर्छ”, उहाँको झटारो ।

त्यसपछि, नाङ्गो गणेश हिमालको आड पाएर उहाँलाई आफूतिर तानेको थिएँ । त्यतिबेला घाम मनास्लुको फेदीबाट लजाएर खुत्रुक्क मुन्तिर झरेको थियो ।

***

हामी दार्खास्थित कुरी गाउँमा थियौँ । यहाँ होमस्टे छैनन् । तर वास पाइन्छ । माग्न जान्नुपर्छ, संसारमा सबैथोक पाइन्छ । हिँड्नेहरूलाई थाहा छ, धूपी, चिमाल, चुत्रो, भोजपत्र तथा बैँसका बुट्यानहरू हुर्काएर बसेको हरेक गाउँले पाहुनालाई क्या स्वादले स्वागत गर्छ ।

लेकाली सन्नाटामा भोटे कुकुरको एकोहोरो भुकाइ गुन्जिँदै थियो । मंगोलनश्लका जनजाति तथा भोट बर्मेली भाषा समुदाय अर्थात् तामाङ परिवारले दिएको भुटेको मकै र कोदोको पिठो मिसाइ पकाएको डेम्सङ ढिँडो खाएर एकार्कालाई च्यापेर निदायौँ ।

तस्बीर: राजु झल्लु प्रसाद

***

भोलिपल्ट ब्युँझँदा, हाम्रो आँखाअगाडि प्रकृतिका पौराणिक र ऐतिहासिक वास्तुकला अटेसमटेस थिए । गणेश, मनास्लु शिखरमा पोतिएको रक्तिम आभाले भन्दै थियो, ‘प्रेमिकालाई चाट्न छोड् मुला । पालुवा हालेका तर कोपिला फक्रक्क फुटेका फूलहरूको वासना तँलाई आएको छैन ?”

म होस्ल्याङ, नौनीका डल्ला जस्तो कपासे फूल टिप्न ल्याक्चे कुण्ड मुन्तिरका खेततिर हामफ्यालेँ ।  धामी–झाँक्रीका प्रिय यस फूल त्यस भेगमा पाइनु स्वाभाविकै थियो तर मैले गलत फुल टिपेको थिएँ । यो फिल टिप्दाटिप्दै उडिजान्थ्यो । लास्टाँ भेट्नो मात्रै बोकेर उकालो लागे ।

प्रेमिका ज्यू मलाई देखेर मुसुमुसु हाँस्दै भन्दै हुनुहुन्थ्यो, “सबेरै बोको उकालो लाग्यो ।…”
“भ्याँ…”, उहाँको कपाल तानिदिँदै मैले आफ्नो ‘बोका बोका पारा’ देखाएँ ।

त्यस उच्च भूभागको चिसो सिरेटो छल्न बज्यैले ‘खुक्की’ बनाउनुभयो । गहुँको पिठोलाई पानीमा मुछेर सानो टोपी जस्तो बनाइ दूधमा पाकुन्जेल उमालेपछि खुक्की बन्ने रहेछ । यो खाना टाढा गोठ, जङ्गल, पर्ममा जाँदा खाजाको रूपमा खाने गरिँदो रहेछ । हामीले भने बिहानको ९ बजे नै नुन, लसुनसँग खुक्की दबायौँ ।

खुक्की निलिरहँदा प्रेमिकाज्यू भन्दै हुनुहुन्थ्यो, “छिप्पिएको जाँड माग न ।”

उहाँको भनाइको तात्पर्य थियो, “एकाबिहानै म्याडमलाई छ्याङ हान्न परेको थियो ।” तामाङ्नी बज्यैले खुसी हुँदै एक-एक डबका छ्याङ दिँदै भन्नुभयो, “जौको सातु पनि मिसाइदिऔँ?”

हामीले के थाहा, ‘हुन्छ’ भनिदिऔँ ।
पछि थाहा भयो, मस्त लाग्दो रहेछ ।

खुक्की र छिप्पिएको जाँड खाएर ल्याक्चे कुण्ड तिर झरेका हामी जँड्याहाहरूले त्यो दिउँसो बिजलुङ ढुङ्गाको चढेर पारिपारिका गाउँ हेर्यौं । यो ढुङ्गाको उचाई ७३ मिटर रहेको छ भने लम्बाई २०० मिटर रहेको छ । ढुङ्गाको टुप्पोसम्म चढ्नु मापाको काम छ । माथि पुगेर तल हेर्दा मुटु लात्याक्कै हुन्छ । तर, चढिसकेपछि भने आफूलाई मृग शावक मान्ने जोखिम हरेकले मोल्छ । उफ्रिदिऊ जस्तो पो हुन्छ त ।

बिजुलुङ ढुंगा

तल आँखु खोलाको सुसेली, सामुन्ने  पुष्प–विविधताको अलौकिक सम्पदा अर्थात् यो लेकाली भेग !

‘ईर्ष्या, चिन्ता, डाह, द्वेष, डिप्रेसन सबैसबै गफै रहेछ सोल्टिनी ।”, सिङल्ह लेकतिर हेरेर टोलाइरहनु भएकी प्रेमिकाज्यूलाई चिमोट्दै भनेँ ।
“माया, ममता र प्रीति नै सबैथोक रहेछ सोल्टी’, छातीका रौँमा हात घुसार्दै ऊ सुस्ताई ।

यसप्रकार मलाई सताइरहने उसको औडाह आदत छ । यता, मलाई वसन्तले आएर मेरो शरीरमा पालुवा हाल्दिए जस्तै शीतल महसुस भयो । बनवालाहरू र उडिरहेका पत्करहरू नियाल्दै दिमाग रन्थनाउने बिजुलुङ ढुङ्गा (याब्रा युङ्बा)को किंवदन्ती गमिरहेँ ।

किंवदन्ती अनुसार, धेरै वर्ष पहिला एउटा बिजुली नाम गरेको चराले उक्त ढुङ्गालाई सिङ्ल्हदेवी (सिङल्ह लेक) तर्फ लाग्दै गर्दा उक्त स्थानमा एउटा रुखको हाँगोमा नाम्लो अड्किएपश्चात् यस खेतमा झर्न पुगेको अरे । पत्याउनै मुस्किल ।

तर, अनुसन्धानकर्ता खोजराज गोलेका अनुसार,‘गाउँको देउतालाई नै ‘स्हिङ्ग ल’ भनिन्छ । माङ बोन भाषामा ‘स्हिङ्ग’ शब्दले ‘गाउँ’लाई जनाउने गर्दछ। त्यसैले ‘स्हिङ्गला ल’ भन्नाले गाउँलेले मान्ने गरेका वा गाउँमा स्थापित देउतालाई बुझ्नुपर्दछ। सिङ्ल्हदेवीले गाउँको सुरक्षा गर्न सक्ने हैसियत समेत राख्ने हुनाले गाउँ तथा समाजको सुरक्षार्थ त्यस्ता शक्तिको पूजा अर्चना गर्नुपर्ने आमविश्वास रहिआएको रहेछ । सिङ्ल्हबाट चाहिँ गणेश, लामटाङ, प्यााल्दोर, कञ्चनजङ्घा आदि हिमालहरूदेखि लिएर तराईका समथर मैदानी भाग अनि लेकाली फाँट र खर्कहरू देखिन्छन् ।

फागुनको हावालाई रुखहरूलाई नङ्गाइसक्दा पनि उहाँको उठ्ने छाँटकाँट नदेखेपछि मैले ‘धादिङ जिल्ला, बैरेनी आएको’ भन्ने मिठो गीत लास्ट तोरी पारामा सुनाइदिएँ । चट्याङ परेसरह उहाँ जर्‍याकजुरुक उठ्नु भयो ।

उठ्नेबित्तिक्कै पारा देखाउँदै भन्नुभयो, “स्याल कराएछ भनेको, तिमि पो हौँ ?’

हुँ भन्नु कि नभन्नुको दोसाँधमा म जकडिएँ । के भनौँ भइरहेकै थियो, भनिदिएँ, “झार्लाङ पुग्नु छ मै’साब । छिपिएको जाँड चर्कै लागेछ त ।’

अघि हात घुसारेर सुतेको छातीमा मुक्का बज्रियो । छाती छाम्दै म त्यो उँचो बिजलुङ ढुङ्गाबाट झरेँ । उहाँ अघिअघि गएर चट्टानमा मुख जोतेर पानी पिउँदै हुनुहुन्थ्यो । मैले उहाँलाई ल्याक्चे कुण्ड पुगेपछि भेट्टाएँ ।

ल्याक्चे कुण्ड, तस्बीर: राजु झल्लु प्रसाद

***

सेक्के तामाङ र दामान पाख्रिनको किस्सा (खनियावास विद्रोह), ल्याक्चे कुण्ड, कुरी गाउँ, आदित्यादी हुँदै हामी त्यो साँझ झार्लाङ पुगेका थियौँ । झार्लाङ १ र २ लाई छिन्नभिन्न पारेको दक्षिण एसियाकै ठुलो पहिरो (जो यद्यपि बहिरहेको छ) मुनि बसेर निकैबेर घोत्लियौँ । झन्डै ०७० वर्ष अगाडि (२०११) यहाँ भीषण पहिरो गयो, जसकारण पर्खाल, करेसा, गोठ, कटेरा मात्रै होइन, दुई गाउँ नै दुई तिर भयो । चाल पायौँ, आज पनि पहिरो वारि र पहिरो पारीकाहरू बिच बात बन्दैन ।  पहिरोले चिरेर दुई भागमा विभाजित गरेपछि भूगोलमा मात्र होइन, सामाजिकता र सम्बन्धमा पनि मज्जाको चिरा थपिएछ ।  प्रतिस्पर्धाकै कारण एकै गाउँमा पहिरो पारि र वारि एकै गाउँमा दुई फरक फरक माध्यमिक विद्यालयहरू छन् । क्या बोर !

Jharlang Landslide

तस्बीर: राजु झल्लु प्रसाद

सिङ्गो गाउँ नै बगेर बगर र भिर बनेको यो दृश्य हेर्न नसक्ने किसिमको थियो । यो पहिरोमा परि विस्थापित भएकाहरूलाई राजा महेन्द्रले टीकापुर लगेका रहेछन् । हाल यहाँदेखि विस्थापितहरूको त्यहाँ ‘पुनर्वास नगरपालिका’ नै रहेको छ ।

पहिरोले निम्ताएको दुर्दशालाई नियालिरहँदा साँझ ढल्न थाल्यो । साँझ ढल्दै जाँदा लेकाली वृक्षका छायाँहरू भुँइमा खस्न छाडेँ । हामीलाई पुनश्च: वासको खाँचो पर्‍यो । देशको तमाम रमझमदेखि परको गाउँमा शहरी लुगा लगाएका दुई युवावय वास खोज्दै भौँतारिनु पनि कम्ताको रोमान्टिक चाहिँ नहुने !

र, त्यसरात हामीले स्याङ्ला मा.वि. मास्तिरको एउटा घरमा रात काट्यौँ । हामीले ‘सँगै सुत्छौँ’ भनेका हौँ तर ग्राम्य संस्कारले त्यो हुन् दिएन । हामी दुई एउटै घरको दुई ओछ्यानमा एकार्कालाई कल्पिएर ‘भुस भयौँ ।” चराचुरुङ्गीको सुमधुर स्वर र रातको शान्त वातावरणले यद्यपि सजिलो बनायो ।

झार्लाङ, तस्बीर: राजु झल्लु प्रसाद

***

यता जगजीत सिंह ब्युँझिएछन् । उता हामी सुतेको सुत्यै भयौँ ।

ब्युँझिएका जगजीत सिंहलाई रक्सी थपिदिएर म उतै जान लागेको थिएँ ।

उनी एक्लै बर्बाउन थाले-
हमने इलाज-ए-ज़ख़्म-ए-दिल तो ढूँढ लिया लेकिन
गहरे ज़ख़्मो को भरने में वक़्त तो लगता है
गहरे ज़ख़्मो को भरने में वक़्त तो लगता है
प्यार का पहेला खत लिखने में वक़्त तो लगता है

जगजीत सिंहलाई रक्सी थापिदिँदै मैले खुसुक्क भने, ‘यार, ऊ हिजो मात्रै पाँचपोखरी उक्लिएकी छे । मलाई बित्यास पर्या छ । यो ताई न तुइँको सिमेन्टको जङ्गलमा रङ्ग छ्यापेर होली मनाइरहेकाहरूलाई नियाल्नुपर्या’छ । ऊ स्लो वाकमा हिन्दी ।’

जगजीतलाई लागिसकेको थियो, उनी भन्दै छन्;

मुँह की बात सुने हर कोई दिल के दर्द को जाने कौन
आवाज़ों के बाज़ारों में ख़ामोशी पहचाने कौन 

अस्तु !

सम्बन्धित समाचार