मंगलबार , भाद्र ९, २०८३

भानुभक्तका पनातिको गुनासो, “चुँदीरम्घालाई पर्यटकीय स्थल बनाइएन, हामी दुःखी छाैँ”

image

तनहुँ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको चुँदीरम्घाबारे नसुन्ने सायदै कोही होलान् । तर उक्त स्थलमा पुग्ने नेपाली र विदेशी पर्यटक भने नगण्य देखिएका छन् ।

आदिकविको लोकप्रियता र भाषिक एकताको श्रीगणेशको श्रेयका दृष्टिले चुँदीरम्घामा पर्यटकीय गतिविधि बढ्नुपर्नेमा त्यस्तो हुन नसकेको सन्दर्भ क्रमशः उठ्न थालेको छ । पर्यटकीय पूर्वाधारका रूपमा भानुका साहित्यिक सङ्ग्रहालय, पक्की सडक, होटल, घरबास लगायतको प्रबन्ध नहुनुले पनि यस्तो भएको हुनसक्छ । भानुसँग जोडिएको घाँसीकुवा नजिकै पृथ्वीराजमार्ग बनाइएको छ । चुँदीरम्घामा हेर्नैपर्ने भानुसँग जोडिएका विशेष स्मृतिस्थल निर्माण गरिएका छैनन् ।

नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मातहत हुने गरी सञ्चालनमा ल्याएको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले भानुका हरेक जन्मजयन्तीमा विविध साहित्यिक र प्रतियोगितात्मक कार्यक्रम भने गर्दै आएको छ । यस्ता कार्यक्रममा काठमाडौँ र विभिन्न जिल्लाबाट आमन्त्रण गरिएका केही कवि पुग्छन् । सीमित स्थानीयवासी र आसपासका विद्यालयका शिक्षक–विद्यार्थी कार्यक्रममा सहभागी हुन्छन् । त्यसपछि एक वर्षसम्म चुँदीरम्घाको साहित्यिक वातावरण सुनसान रहन्छ ।

भानुभक्तका ८२ वर्षीय पनाति हरिनाथ शर्मा आचार्यको मनमा पनि यो कुरा गढेको रहेछ । सरकारले पर्याप्त ध्यान दिन नसकेका कारण भानुको जन्मस्थल ओझेलमा परेको उहाँको गुनासो छ । आचार्य आफू केही समयअघि भारतको सिक्किम जाँदा त्यहाँ भानुको भव्य जन्मजयन्ती मनाइएको देखेर दङ्ग पर्नुभयो । भानुभक्तका छोरा रामनाथ हुनुहुन्थ्यो । उहाँका छोरा देवीभक्तका छोरा हरिनाथ आचार्य गाउँमै सामान्य किसानी गरेर दिन बिताउनुहुन्छ । रामनाथका दुई श्रीमतीमध्ये अर्की श्रीमतीपट्टिका एक नाति हरिनाथभन्दा जेठा पनि जीवितै छन् ।

भानुभक्तको २१०औँ जन्मजयन्तीका अवसरमा विकास समितिले शुक्रवार भानु नगरपालिका–४ मा आयोजना गरेको भानुभक्तीय रामायण वाचन तथा खुला कविता प्रतियोगिता कार्यक्रममा सहभागी स्रष्टाहरूले पनाति हरिनाथसँग भेट्न र सँगै तस्बिर खिचाउन पाउँदा बेग्लै अवसरको अनुभव गरेका थिए । पनाति आचार्यले रासससँग कुरा गर्दै भन्नुभयो, “यत्रो देश–विदेशमा नाम कहलिएका भानुको जन्मस्थललाई आजसम्म पर्यटकीय गन्तव्य नबनाइएकामा हामी परिवारका तर्फबाट दुःख व्यक्त गर्दछौँ ।”

उक्त स्थललाई पर्यटकीय गन्तव्य बनाउन पहल भने नभएका होइनन् । डा जयराज आचार्यको अध्यक्षतामा गठित भानु साहित्य उद्यानका महासचिव काशीराज आचार्यले रम्घाडाँडामा रहेको चार सय रोपनी जग्गा अधिग्रहण गराएर त्यहाँ साहित्य उद्यान बनाउने कार्य सुरु भएको जानकारी दिनुभयो । सोका लागि सरकारबाट रु एक करोड निकासा भएको थियो । उद्यानले व्यक्तिगतस्तरमा पनि आर्थिक सहयोग जुटाइ विकास समिति र नगरपालिकालाई यस्ता काममा भरथेग र सहजीकरण गर्दै आएको छ । महासचिव आचार्यले सबै जग्गा अधिग्रहण भइसकेपछि उक्त डाँडामा भानुको एक सय आठ फिटको विशाल मूर्ति बनाउने लक्ष्य लिइएको बताउनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा विष्णुविभु घिमिरेले चुँदीरम्घालाई गन्तव्यस्थल बनाउन आग्रह गर्दै आदिकविले जनजीवनका सरल शैलीमा भानुभक्तीय रामायण र अन्य लोकप्रिय रचना गरेका कारण उहाँको कीर्ति नेपाल बाहिर नेपालीहरू पुगेका सबै स्थानमा भएको बताउनुभयो । उहाँले प्रतिभा अब्बल भएमा कुनै सञ्चारमाध्यम वा विमोचनजस्ता कार्यक्रमबाट प्रचार नभए पनि मानिसले कृति आफैँ बोकेर देशाटन गर्ने उदाहरण रामायणलाई लिन सकिने जनाउनुभयो ।

सोही स्थानमा जन्मिएका अध्येता एवं साहित्यकार विधान आचार्यले पृथ्वीराजमार्गमा बनाइएको घाँसीकुवा नै भानुभक्तीय कुवा हो भन्ने प्रामाणिक आधार नभएकाले यसबारे अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

यसैबीच भानुजयन्ती मनाउन चुँदीरम्घामा काठमाडौँ र विभिन्न स्थानबाट आएका कविले बिहीबार साँझ बन्दीपुरमा काव्यसाँझ मनाएका छन् । कार्यक्रममा डा घिमिरे, तीर्थ श्रेष्ठ, किशोर श्रेष्ठ, विधान आचार्य, राजेन्द्र शलभ, विश्वविमोहन श्रेष्ठ, नवराज कार्की, डा हिरण्यलाल ज्ञवाली, ज्योति जङ्गल, रीमा केसी, लक्ष्मी माली, अमृत क्षेत्री, प्रतिमा पोखरेल, ईश्वरमणि अधिकारी, सञ्जीव पौडेल, काशीराज आचार्य, भीष्म उप्रेती, असीम सागर, रुद्र ज्ञवाली, स्नेह सायमी लगायतले रचना वाचन गर्नुभएको थियो ।

भानु जयन्तीका अवसरमा आज विकास समितिको कार्यालयबाट बिहान झाँकी प्रदर्शनीसहित प्रभातफेरी सुरु भई चुँदीरम्घास्थित आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरिँदै छ । दिउँसो भानुभक्तीय रामायण वाचन र खुला कविता प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण र अन्य साहित्यिक कार्यक्रमका साथै समितिद्वारा पहिलो पटक प्रकाशित भानुभक्तको रामायण ग्रन्थको विमोचन हुँदै छ । रासस

सम्बन्धित समाचार