शुक्रबार , अषोज १४, २०७९

भिक्षुको कथा- त्यो फेरि फर्कला ?

बालिका लज्जावनत भएर माथि उक्लन लागी । तर तुरुन्तै फर्केर अनि साहसको स्वरमा स्वाभाविकता ल्याएर सोधी, ‘तरकारी पकाउनलाई भुटुन र दाउरा चाहिन्यै छ । नुन, मसला र लाल्टिनमा मटीतेल पनि ल्याउनुपर्छ कि...?’

image

  • भवानी भिक्षु

‘क्रमशः अग्लो हुँदै गएको कष्टप्रद, कठोर, दुर्गम पहाडको क्षीण पथलाई आँखाले भेटेसम्म हेर्दा, मान्छे पो हो कि भन्ने भ्रम पार्ने एउटा धब्बाजस्तो पनि केही देखिएन ।’

भगवान् सूर्यले पश्चिमतर्फको पर्वतपछाडि आफ्नो मुख लुकाए तापनि तिनको लाज कालो पहाडका टुप्पाहरूमा फैलिन गएको थियो । खोलाहरू आफ्नो अविराम गीत गाएका गाएकै थिए । उनीहरूलाई जगत्को चिन्तामा केही रस, अनुरक्ति थिएन । धमिलोपना अन्धकारतिर डुल्दै गइरहेको थियो ।

मधेसबाट आउन लागेको एउटा यात्रीले, यौवनको सिँढीमा खुट्टा अडाई घरको द्वारमा उभिएकी सानीसँग सोध्यो, ‘यहाँ बास पाइन्छ ?’

‘कुन्नि, आमासँग सोध्नुपर्छ ।’

‘आमा ! तिम्री आमा कता छिन्, को हुन्, मैले त चिनेको छैन । कोसँग सोध्ने ?’

अनि— ‘आमा… ए आमा !’ प्रस्ट कण्ठबाट निस्केको त्यो मिठो र तीव्र स्वर पर्वतका कुनाकुनामा पस्न गयो । तर, कोही पनि आएन । एकछिन प्रतीक्षा गरेपछि, ‘पर्खनोस् है, म अहिल्यै आमालाई डाकी ल्याउने छु’ भन्दै सानी एकातिर गई र अलि बेरमै एउटी बूढीसँग लागी यात्रीको सन्मुख आइपुगी ।

‘लौ आमा यिनै हुन् । तपाईंका भरियाहरू कता छन् ?’

‘भरिया एउटै छ । त्यो पनि बूढो, हिँड्नै नसक्ने । त्यसैले गर्दा त यहाँ बस्नुपर्यो । नत्र आज चित्लाङ पुग्ने विचार गरेको थिएँ । त्यहाँ चिनाजानी भएका पसलेहरू पनि छन् । बास पनि राम्रै ठाउँमा पाइन्थ्यो । तर खोइ ! यो त भट्टीपसल पो हो क्यारे ?’

‘हो…।’  स्वरलाई अलि तान्दै, आश्चर्य र उपेक्षामिश्रित स्वरमा बुढीले उत्तर दिई ।

‘भट्टीपसल भएर के हुन्छ ? चित्लाङमा पनि त त्यही हो नि । छेउको कोठा सफै छ ।’ सानीले तुरुन्तै भनी ।

‘होइन’— बूढीले सोधी, ‘केही खानपिन पनि गर्नुहोला कि ?’

‘पिउन त होइन, खान मात्रै । भाँडा–बर्तन सँगै छ ।’

सानीले आफ्नी आमाको मुखनेरै मुख लाएर भनी, ‘किन आमा, चामल, दाल, घिउ, दाउरा त किन्ने नै छन्, नुन, तेल, मसला, तरकारी ! पल्लो कोठामा भान्छा र छेउको कोठामा सुते त भइहाल्यो नि ।’

‘एकपल्ट कोठा हेरूँ । सफा छ कि, सफा नभए त…।’

‘किन हुँदैनथ्यो ! हेर्नाेस् कोठामा के छ र ? भर्खरै लिपिराखेको कोठा, चाहिए एउटा सुकुल पनि ओछयाइदिउँला । लौ, भरिया पनि आइपुग्यो, बस्नुहुन्छ कि ?’

‘ए सानी, आइज ।’ भन्दै बूढी माथि उक्ली । सानी द्वारमै उभिएकी थिई । आइपुगेको भरियाले, मुखबाट एउटा सुस्केरो हाली भारी बिसाउँदै भन्यो, ‘यति गरुङ्गो भारी, यस्तो उकालो, नौ सुका ज्याला, उसैमा भरियानाइके पनि, बाटो–खर्च पनि, इसोर !’

चुपचाप उभिएकी सानीको अनुहारमा छचल्किरहेको जिज्ञासामा अलि आशा, विश्वास र सन्तोषको पनि आभा देखियो ।

कोठासोठा हेरिसकेपछि यात्रीले त्यहाँ बास बस्ने निश्चय गर्यो र सानी पनि अलि स्वस्थझैँ भई । भरियाको सहायताले एउटा कोठामा सुकुल हाली, भुइँमै आफ्नो ओछ्यान ओछ्याएर त्यसले अलिअलि निश्चिन्तताको सास फेर्न लागेको के थियो, भरियाले भन्यो, ‘लौत अब म जाऊँ हजुर… थाकिराखेको छु, केही खानपिन पनि गर्नुपर्ला, खाजा खानलाई दुई–चार आना दिनुपर्ने हो ।’

‘ला…’ भनेर यात्रीले चार पैसा फ्याँकिदियो । एउटा सन्तोषको दृष्टि हाल्दै बूढा भरिया भुइँबाट पैसाहरू टिपी जान लागेकै थियो, फेरि त्यो सानीले सोधी, ‘भान्छालाई केके कुरा ल्याउनुपर्ला, भन्नोस् न ! रात पर्न आट्यो, तपाईंसित लाल्टिन त छँदै छ, मटीतेल पनि चाहिन्छ कि ?’

प्रश्नको उत्तर नदिएर त्यसले जान लागेको भरियालाई भन्यो, ‘ए बूढा, डोकोबाट भाँडाहरू झिकेर खोलामा पखाली ल्याऊ ।’ अनि सानीतिर फर्केर भन्यो, ‘पानी ल्याउन एउटा गाग्री त दिनुपर्ला, पानी पनि ल्याइहाल्नोस् । अब यो पनि आफ्नो खानपिनमा लाग्ने छ ।’

‘हुन्छ, म अहिल्यै माथिबाट ल्याइदिन्छ ।’

‘तर गाग्री सफा छ ?’

‘लौ…! गाग्रीमा के लागेको छ र ? चित्त बुझ्दैन भने खोलामा माझेर पानी ल्याउनू भनेपछि त भइहाल्यो नि ।’ बालिकाको अनुहारमा अलि संकोच छर्लङ्ग हुन गएको थियो ।

भरियाले डोकोबाट भाँडाहरू झिकिसकेको थियो । सानीले माथिबाट तुरुन्त एउटा सानो पित्ले गाग्री ल्याइदिई । त्यो समेत लिएर भरिया खोलातिर गयो । त्यसपछि युवक यात्रीले सन्ध्याको धमिलो प्रकाशमा हेर्यो— त्यो भट्टीपसल्नीकी छोरीको परिच्छद, बाह्य आवरण मैलो र दरिद्रताको विज्ञापन भए पनि त्यसको अनुहार नराम्रो थिएन । गालामा पार्वत्य वायु र परिश्रमको सुन्दर उपहार, स्वाभाविक लाली र यौवनको सिँढीमा उक्लिरहेकी त्यसको बैंस छ । आँखा गोल, उज्ज्वल र भित्रका नानी निकै काला र चञ्चल छन् । तिनीहरूमा अपार जिज्ञासा औ उत्सुकता क्रीडा गरिरहेका थिए ।

‘तब… भान्छाको निम्ति केके ल्याऊँ ?’ प्रश्न एकान्तजन्य संकोचको मध्यम स्वरमा थियो । यात्रीले भन्यो, ‘असल पुरानोे मसिनो चामल एक माना, एक चौथाइ दाल, दुई पैसाको यहाँ पाइने तरकारी र दुई आनाको घिउ, बस, यति मात्रै भए पुग्छ ।’

कुरा सुनेर त्यो माथि उक्ली र अलि बेरमै भनेजति जम्मै थोक ल्याइदिई । भरियाले पनि भाँडा र पानी पल्लो कोठामा राखी गइसकेको थियो । त्यस कोठामा लिपपोत गरेको चुलो र ठाउँ दुवै सफा थिए ।

चामल हेर्दै यात्रीले भन्यो, ‘खोइ, यो त राम्रो चामल भएन ।’

‘तर यसभन्दा राम्रो चामल त यहाँ कतै पनि पाइन्न । भएदेखि त म आफैं ल्याइहाल्ने थिएँ । तरकारी पनि आलुबाहेक अरू केही पाइँदै पाइन्न ।’

अलि हाँसेर यात्रीले भन्यो, ‘ए त्यसो हो भने के लाग्छ, पाएजत्तिकैमा सन्तोष गर्नुपर्ला ।’

‘अब म जाऊँ त ?’ सानीले सोधी  ।

‘हुन्छ’ भन्दाभन्दै युवकलाई कुन्नि किन फेरि एकपल्ट त्यस सानीको अनुहारमा दृष्टि फेर्ने आवश्यकताको अनुभव भयो । दुवैका आँखा जुधे ।

बालिका लज्जावनत भएर माथि उक्लन लागी । तर तुरुन्तै फर्केर अनि साहसको स्वरमा स्वाभाविकता ल्याएर सोधी, ‘तरकारी पकाउनलाई भुटुन र दाउरा चाहिन्यै छ ।  नुन, मसला र लाल्टिनमा मटीतेल पनि ल्याउनुपर्छ कि…?’

‘ए…! यो त बिर्सेकै रहेछु । तरकारी त घिउमै भुटिहालूँला, मसला चाहिन्न, एक पैसाको अलिकति बेसार र नुन दुवै ल्याऊ, अनि तिम्रो केरे, चार पैसाको दाउरा, लाल्टिनमा चाइँ छ पैसाको तेल भए पुग्छ, बुझ्यौ ?’

एकैछिनपछि सबै थोक ल्याई सानी माथि उक्ली । आफ्नी आमासँगै केही खानपिन गरेर पन्ध्र–बीस मिनेटभित्रै आफ्नो सुत्ने कोठामा पसी भित्रबाट ढोका थुनिहाली  ।

अहिले साँझको साढे सात मात्रै बजेको थियो, तैपनि निकै अँध्यारो भएको थियो । सघन र विशाल पर्वतहरूको अंकमा भएका ती पुतलीझैँ दुईचारओटा घर यस्तरी स्तब्ध उभिरहेका थिए मानो शरीरभित्रबाट प्राणै निस्किसकेको छ । खोलाको शृंखलाबद्ध गर्जन एकनाससित ध्वनित थियो, तैपनि त्यस शून्यपनाको भयानकता बढिरहेकै थियो ।

ओछ्यानमा पल्टेकी कुन्नि केके सोचिरहेकी सानीले हठात् यात्रीको कोठाबाट आइरहेको खटपट ध्वनि सुनी । त्यो त्यही कुरा सोच्नमा मग्न भई !

‘अहिलेसम्म त्यसले खानपिन गरिसकेको रहेनछ क्यारे । भात पकाउन जान्दो हो कि होओइन, पकाइसकेको तिहुन–तरकारी चुलोबाट उतार्दा खसाल्यो पो होला कि ! लोग्नेमान्छे भात पकाउन कहाँ जान्दो हो र ! तर त्यो त सधैँ मधेसैमा बसिरहेको मान्छे हो । त्यहाँ कसले भात पकाई ख्वाउँदो हो नि । अथवा कोही भान्छे बाहुन राखेको होला । तर कहिले हुन्थ्यो ! मधेसमा खर्च निकै पो लाग्दछ, यसो हेर्दाखेरि यो कुनै साहु–महाजनजस्तो पनि छैन । त्यसो भए, यतातिर धमाधम आउनेहरूको जस्तो, ठूलाठूला टिनका भरिभराउ भएका गरुङ्गा बाकसहरू हुनुपर्दथ्यो, छालाका तीनचारओटा साना–ठूला ब्याग, भाँच्ने खाट, नोकर, धेरैजना भरिया, आफू तामदान वा कार्पेटमा बसेर आउनुपर्ने, खोइ त्यो त केही पनि छैन । यो त मधेसमा कतै जागिरे पो होलाजस्तो छ । आफैं नोकरी गर्नेले बाहुन कहाँ राख्न सक्छ र !’

विचारधारा अकैतिर बग्यो, ‘त्यसो भए त्यसकी स्वास्नी होली ।’ अनि मुटुमा प्याट्ट एउटा थपडीजस्तो लाग्यो–च्याप्प गरेझैँ ! त्यो आफ्नो अन्तरैमा निस्तब्ध भई ।

बाहिर त्यही अविराम स्वरले गर्जिरहेको थियो खोलाको ध्वनि । जम्मा भइरहेका विचारहरू अलि विशृंखलजस्ता भए । त्यसले एउटा लामो सास फेरी । तर त्यो अवस्था एकछिन पख्ता–नपख्तै लोभ्याइराखेका ती मधुर कल्पनाहरूले फेरि छोप्न थाले । सासपर्यन्त अलि थामेर त्यसले सन्ने प्रयत्न गरी, ‘यात्री भातसात खाई सुत्यो कि !’

तलबाट केही आवाज सुनिएन । ‘त्यसो भए त्यो सुत्यो ।’ तर फेरि त्यही खटपट । मुसाहरू होलान्, होइनन् त्यही हो बिचरा अझ…’ तर अघि नै तर्सिसकेका ती मूक सहानुभूतिहरूलाई विचारहरूले समात्न साहस गरेनन् । एकैछिनपछि ओछ्यानबाट जुरुक्क उठेर सलाई कोरी र सिरानतिरको खोपामा राखेको टुकी बाली ।

धूम्रयत क्षीण प्रकाशले अन्धकारमा छाम्न थाल्यो । टुकी लिएर बिस्तारै त्यो तल ओर्ली । त्यसको छाती हान्न लागेको थियो, ‘बूढी सुतिरहेकी छे कि ?’ एउटा अव्यक्त र क्षीण डरले अन्तर्को धेरै टाढाबाट चियाउनेजस्तो प्रयत्न पनि गर्यो ।

त्यो तल पुगी । ‘तर… किन ओर्लेकी हूँली ! केही काम त छैन ।’

यात्रीको कोठामा लाल्टिनको नीरव मन्द प्रकाश थियो । त्यसतर्फ यसो झट्ट एकपल्ट हेरी आँखा फर्के । त्यो आफ्नो सेतो ओछ्यानमा सुतिरहेको थियो–निश्चिन्त, निरुद्विग्न, निर्विकार !

प्राणपर्यन्तलाई तीव्रताका साथ तानिलिने एउटा भयानक लोभ, त्यसको भित्र मुटुको हनाइका साथै हान्न लाग्यो र कुनै अव्यक्त उल्लास, साहस, डर र पीडाको भन्न नसकिने मिश्रण त्यसको नसानसामा दगुर्न थाल्यो, प्रवाहित भयो ।

त्यही हलचल, त्यही प्रवाह लिएर त्यो माथि पुगी । आफ्नो मैलो ओछयानमा लडी ।

यात्रीचाहिँ बिहान उठेर गइहाल्यो । सानीका आँखामा आइबसेका र छचल्किरहेका मूक मोह र कुन्नि कस्ता अव्यक्त आकांक्षाहरू त्यसलाई निकै टाढासम्म पहाडको टुप्पामा पुर्याई फर्के ।

कुन्नि केले हो, त्यसको मन भारी हुँदै आयो, हृदयमा आर्द्र भावनाहरूको गरुङ्गो प्रवाह बग्न थाल्यो र त्यसको भित्र मनमा लगातार एउटा प्रश्न उम्लन थाल्यो, ‘त्यो फेरि फर्कला’ ?’

तर सानीको त्यस प्रश्नको समाधान भएन । त्यो यात्री फर्केन । केही दिनपछि सानीको बिहा पनि भयो, त्यो आफ्नो घरमा गई । घर–गृहस्थीको कर्तव्य र लोग्नेको प्रेम, माया, ममता इत्यादि पनि साधारण नियमजस्तै समातिइन थाले ।

उनीहरूका कार्यमा सानीबाट केही अस्वाभाविकता पनि परेन । तर सानीको गाउँले संस्कृति भएको सुदूर अन्तरको एउटा मनले भगवान्को वरदानजस्तो समातेको त्यो प्रश्न, ‘त्यो फेरि फर्कला !’ ले दिनमा दुईचारपटक अवश्य चियाउने प्रयत्न गरिहाल्थ्यो ।

लोग्नेको घरमा रहेको बखत कहिलेकाहीँ एउटा शंकाले भयानक अन्तर्संग्राम मच्चाई दिन्थ्यो, ‘म यहाँ छु, यात्री फर्केर गइहालेको भए त…?’

तर यस प्रश्नको विश्लेषण गर्ने साहस त्यस बखतसम्म त्यसमा रहनै जान्नथ्यो । कस्तो गरुङ्गो, कस्तो भयानक, कस्तो पीडाप्रद शंका हो ! बरु यात्री कहिल्यै पनि नफर्कोस्, त्यसको पथ हेर्दाहेर्दै यस जीवनको अन्त पनि भइजाओस्, तर सानीलाई नभेटी त्यो त्यसै गइहाल्ला भन्ने विधिविधानको स्वागत गर्ने शक्ति त्यसमा थिएन ।

त्यो तिर्खा, त्यो अनन्तकालीन प्रतीक्षा, त्यो दिनहुँको अभ्यस्त निराशाको धक्का त्यसको सासमा मिसिइसकेको थियो । त्यही त्यसको जीवन थियो, त्यही त्यसको जीवनक्रम ! त्यसैलाई समातेर त्यो आफ्नो गृहस्थीकी गृहिणी थिई, आफ्नी सासूकी बुहारी र पोइकी जोई ।

तर कदाचित् कुनै हठात्को अभिशापले त्यही छिन्नभिन्न गरिदिएको अवस्थामा पनि त्यो बिचरीचाहिँ गृहिणी, बुहारी र लोग्नेकी स्वास्नी भइरहन सक्ली ? कुन हृदयबाट यस्तो आशा गर्ने ?

यति भए पनि सानीबाट लोग्नेप्रति पत्नीत्वमा केही बाधा–व्याघात परेको थिएन र त्यस पत्नीत्वमा कुनै छल थियो, कतैबाट त्यसमा छिद्र थियो, यो कुरा भन्नेलाई भयानक श्राप दिने शक्ति पनि त्यस सानीमा अवश्यै थियो ।

नारीको विशाल हृदयमा बालकप्रति, आमाबाबुकाप्रति, माइतका साथीभाइप्रति, पतिगृहका सासू, ससुरा, जेठाजु, देवर, भतिजा इत्यादि सबैकाप्रति ममता रहन सक्छ भने सानीको हृदयमा त्यस यात्रीका प्रति पनि कुनै प्रतिध्वनि थियो ।

नारीचाहिँ पतिकी स्वास्नी हो, यो कुरा प्रदीप्त सूर्यझैँ सत्य छ, तर पत्नीत्वको हदसम्म मात्रै । किन्तु नारी एक मात्र पत्नी नै त होइन ! त्यो पत्नीभन्दा बाहेक पनि केही हो, बहिनी हो, दिदी हो, बुहारी हो, भाउजू हो, आमा हो र यी सबभन्दा पर नारी मूर्तिमयी ममता हो । समस्त जगत्मा नारीकै महान् ममता छरिन नगएको भए यो विशाल विश्व शुष्क रुखझैँ निर्जीव काठ मात्र रहन जान्नथ्यो ?

जाने बखतमा यात्रीले पन्ध्र दिनमा फेरि फर्कनुपर्ला भन्ने कुरा गरेको थियो । त्यो पन्ध्र दिनको प्रतीक्षा सानीलाई अझसम्म पनि याद छ । छसात दिन भयानक उदासीनता, महान् शून्यतामा समाप्त भएको थियो ।

आठौँ दिनदेखि–आजैको दिनमा त्यो फेरि फर्कला भन्ने आशाले— अलिअलि चियाउने प्रयत्न गर्यो । सानीलाई सम्झना छ, त्यस दिन गाईलाई ख्वाउने घाँस काट्न जाँदा कुन्नि कुन भावना, कुन आशा, कुन उत्साहले त्यो पहाडको टुप्पासम्म पुगिछ । घाँसको भारी भुइँमा राखी एउटा ढुंगामा बसी आफ्नो अन्तरको सुखद कल्पनामा मग्न भइछ । आँखा एकाग्र भएर नेपालबाट आउने बाटो हेरिरहेका थिए ।

त्यतातिरबाट आउनेहरूलाई देख्ता त्यसको भित्री कल्पनामा एउटा उत्साह छरिन जान्थ्यो– अत्यन्त सुखद र प्राणप्रद ! ‘यस्तै आजैका दिन त्यो पनि संसारको प्रसन्नता आफ्ना अंग–प्रत्यंगमा सञ्चित गरी आउला, आफ्नो पूर्व–परिचयको प्रसन्नता अलिअलि हाँसोमा छरिदेला र फेरि एक दिन त्यहीँ बास बस्ला । तर बास नबसेदेखि त…!

छिः यस्तो दुष्कल्पना ! त्यसलाई कत्ति पनि त असुविधा र दुःख मकहाँ भएको थिएन । मैले जम्मै काम गरिदिएकी थिएँ । राम्ररी पकाई–खाई सुतेको थियो । किन नबस्नु !’

यस्तै प्रकारले नित्य नयाँनयाँ कल्पनाहरू त्यसको आशालाई प्रदीप्त तुल्याउँदै, दिवसहरूलाई बिताउँदै गए । अन्ततः त्यो चिर अभीप्सित पन्ध्रौँ दिन पनि आयो । सानीलाई सम्झना छ, त्यस दिन बिहान हुनुभन्दा तीन घण्टाअगाडि राति नै त्यसको निद्रा खुलिहाल्यो । ढोका खोलेर एकपल्ट बाहिरतिर हेर्दा रात धेरै बाँकी थियो । जून टहटह लागिरहेको र आकाश स्वच्छ थियो । खोलाको ‘हर्र’ घ्वनि उत्फुल्लताको स्वागत–गानझैँ लाग्यो । भगवान्को बास गर्ने आकाश आफ्नो निर्मल जूनमा हाँसिरहेको जस्तो प्रतीत भयो ।

दुई–तीन घण्टामै प्रदीप्त सूर्य निस्कने छन्, पहाडका टुप्पामा त्यसका सुनौला किरणहरू फैलिन जान्छन् । यही दिन त्यसको आउने शुभोत्सव हुन्छ । त्यो आउला, भोलि नै त्यो आउला,  बिहान हुनेबित्तिकै त्यो हिँड्छ र सुखको भण्डारझैँ भएर सानीलाई भेट्टाउला  ।

धेरै बेरसम्म त्यो त्यसै विचारमग्न, सुखकल्पनाविभोर भएर बसिरही, अनि एउटा आत्तिएजस्तो लामो सास फेरी । आफ्नो कोठामा गएर ओछयानमा ओल्टेकोल्टे गर्न थाली । त्यसपछि बिहान पनि भयो, सूर्य पनि उदाए, सानीले उद्विग्न प्रतीक्षा पनि गरी, साँझ भयो, रात पनि पर्यो, तर… तर… पन्ध दिनको अत्यन्त उद्विग्न प्रतीक्षाको परिणामस्वरूप सानीले पाई, ‘त्यो आएन ।’

आँखामा आँसु, हृदयमा वेदना, प्राणमा अन्धकार, कण्ठमा भक्कानु र रोमरोमपर्यन्तमा आद्र्र रुदन भरेर त्यस यात्रीको सट्टामा सानीले यही चार अक्षरको स्वागत गरी आफ्नो मुटुमा बसाली, ‘त्यो आएन !’

कठैबरी, नारीको निर्बल हृदय ! तँमा उत्सर्गको परिमाण कति छ ? उत्सर्ग गर्नालाई तैले कति रस, कति माया, कति बन्धन र कुन्नि कति के–के सञ्चित गरिराखेकी छेस् ?

त्यस्ता कैयौँ पन्ध दिन बिते । जीवनमा र जीवनक्रममा आद्यन्तझैँ भिन्नता आइलागेर फेरि ‘त्यो आएन’ साथै ‘त्यो फेरि फर्कला कि…?’ भन्ने सम्बद्ध भई अभ्यन्तर–यात्रा गर्न थाल्यो । यस यात्राको विराम कहाँ छ, लक्ष्य कहाँ छ र अन्त कहाँ छ, जीवनको शेषमा कि त्योभन्दा पनि पारि, कुन्नि ?

क्रमश अग्लो हुँदै गएको कष्टप्रद, कठोर, दुर्गम पहाडको क्षीण पथलाई आँखाले भेटेसम्म हेर्दा मान्छे पो हो कि भन्ने भ्रम पार्ने एउटा धब्बाजस्तो पनि केही देखिएन ।

हुँदाहुँदै युगैको परिवर्तन भयो । सानीकी आमा पनि अनन्तसँग भेट्न गइहाली, जहाँ गएर कोही पनि फर्कन्न । आफ्नो माइतकै घरमा त्यही पुरानो व्यवसाय समाती सानी बसी ।

त्यो लोग्नेकै घरमा भएको बखत ‘यात्री गइहालेछ कि’ भन्ने सानीको सारै सम्भवनीय शंकाको टुंगो लाग्यो । त्यसपछि नेपालबाट लाखौँ यात्रीहरू त्यही मार्खूको बाटो भई तल मधेसतिर ओर्ले, तर ‘त्यो यात्री…!’

‘कहिल्यै त फर्कला !’ त्यसको निरास आशालाई डोर्याउने एउटा क्षीण, मसिनो धागोको छेउ प्राप्त हुन गयो र त्यसलाई त्यसले लम्याउँदै गई । तर…?

कति सुकुमार, कस्तो सुन्दर, कस्तो लोभ्याउने र कति लामो हुन्छ यो निराश आशाको मसिनो धागो ! त्यस धागाको बदला कोही त्यसको जीवन, यौवन दुवैको धागो चाँच्चाँडै तान्दै गइरहेको थियो, तर सानीलाई उसको पत्तो थियो ?

त्यो त आफ्नो अतीतको मनोरम स्मृति, केवल एक दिन मात्रको क्षणिक स्वप्नमै व्याप्त थिई । ‘त्यो स्वप्निल सुकमारता, त्यो मधुरिमा, प्रथम यौवनको पहिलो उपहारमा कृतज्ञतास्वरूप त्यसले गरेको उत्सर्गको सार्थकता कहिले फेरि आउला !’

यही निधिलाई नित्य–निरन्तर नयाँ तुल्याउँदै तह लाइराख्नामा नै त्यो व्यस्त थिई । त्यसलाई जीवनसूत्र तानेको थाहै कसरी हुन्थ्यो र ? प्रेम जीवनको बाटो हो र उत्सर्ग त्यसको अन्तिम लक्ष्य, त्यस लक्ष्यसम्म पुगेपछि पाइन्छ आफ्नो अस्तित्वको विलुप्ति ।

एक दिन साँझको बखत सानी आफ्नो पसल उठाइसकेपछि द्वारमा अन्यमनस्क उभिइरहेकी थिई । यस्तै उभिइरहेको अवस्थामा, यस्तै शान्त–क्लान्त सन्ध्याको धमिलोपनामा, अनुरागको प्रतीकझैँ आएको थियो ‘त्यो यात्री ।’

तर आजै मात्र होइन कि जीवनका अनेकौँ भग्न आकांक्षा, सुस्याइरहेको आशा, मुटुको उदासीन पीडा लिई त्यसले कति कतिपल्ट त्यसै द्वारमा उभिई आशाहीन व्यर्थ प्रतीक्षा गरी, तर त्यो नआएको–नआएकै भयो ।

यस्ता जम्मै मिथ्या स्वागतको उत्तरमा त्यसले पाएकी थिई, प्राणको तलबाट उम्लने एउटा नीरव आर्द्रता र गहभरि आँसु ।

आज पनि त्यो त्यसै उभिइरही यात्रीको होइन कि आफ्नो चिरपरिचित त्यही आर्द्रता, त्यही आर्त, मूक रुदन र त्यही आँसुको प्रतीक्षा गरिरहेकी थिई र एउटा यौवनपारि पुगिसकेको मानवले त्यसको सामुन्ने आइपुगी सोध्यो, ‘यहाँ बास पाइन्छ ?’

हृदयमा बगिरहेको रक्त थामिन गएजस्तो हुन लाग्यो । एउटा बज्रप्रहारझैँ अतीतको मुड़की हानिन गयो, ‘धक्क ।’ आउनेको मुख हेरेको हेरेकै भइछ ‘त्यो सानी ।’

‘यहाँ बास पाइन्छ कि पाइँदैन ?’ —फेरि प्रश्न भयो । सानीको मुख एकपल्ट झन् प्रदीप्त भएर तत्क्षणै कालो निर्जीवझँै भइहाल्यो । त्यसले अन्तरिक्षतिर हेर्दै अत्यम्त कष्टसाथ भनी, ‘पाइन्छ, भरियाहरू कता छन् ?’

‘आउन लागेका छन्’— यात्रीले एउटा ढुंगामा बस्तै भन्यो, ‘धेरै दिन भइसक्यो मधेसबाट नेपाल गएको, फर्कनै सकिनँ । आज बल्ल फर्कन लागेको त देख्छु बाटो, पहाड जम्मै नयाँजस्ता भइसकेका छन् । नेपाल जान लागेको बखत पनि यसै घरमा बास बसेको थिएँ, आज पनि त्यो घर भएदेखि त्यसैमा बसूँला भन्ने विचार गरी घरबाट हिँडेको बल्ल आइपुगेँ । खोइ त्यो बूढी ? सानीचाहिँ त तिमी नै हौ कि…?’

बज्रादपि कठोर र प्रलय–गर्जनभन्दा पनि तीव्र कोलाहलमय त्यस आउनेको उपर्युक्त कुरा सानीको अन्तरमा उत्रिन गयो । त्यो त्रस्त भइहाली । यतिका दिनको दीर्घ प्रतीक्षा, यस्तो रौंरौंलाई कल्पाइराख्ने नैराश्यको रुदनको अन्तलाई यस्तरी सजिलोपनामा स्वागत गर्न त्यो तयार थिइन ।

हा मानव ! सानीको यस्तो जीवनव्यापी समस्त आकांक्षा, आशा, पीडा, रुदन, नैराश्य, तिर्खा, कल्पना, सुख, दुःख र समस्त आह्वानको प्रतीक जम्मै तिमी नै हौ, यो तिमीलाई थाहापर्यन्त पनि छैन ! तिम्रो यो सजिलो प्रश्नमा, तिम्रो यो अप्रत्याशित आगमनमा, यो जीवनव्यापी कथासमष्टिमा एउटा नारीहृदयको केके कतिकति चूर्ण–विचूर्ण भइसकेको छ, तिमी किन, कसरी अनुमान गर्न सक्तछौ ।

सुदूर क्षितिजबाट आएको ध्वनिझैँ सानीको मुखबाट निस्क्यो, ‘अँ, सानी मै हुँ ।’

‘हो, मैले चिनिसकेकै थिएँ । तर तिमी… तिमी त… बूढी नै भइसकिछौ !’ आउनेले मुसुमुसु हाँस्तै भन्यो ।

बल्ल सानीका आँखा उघे्र । त्यसलाई आफ्ना अंग–प्रत्यंगको खुम्चिन लागेको छाला देखा परेर बितेको दीर्घ समयको सम्झना भयो र झन् प्रत्यक्षमा उसले देखी, यात्राको तीन चौथाइ पूरा भएर त्यसले पाइछ, आशा–समाप्तिका साथै जीवन–सन्ध्या पनि आइपुगेको रहेछ ।

दुनियाँ अर्कै भएको रहेछ, यस वर्तमानसँग त्यस सानीमा कुनै प्रकारको सामञ्जस्य रहेनछ ! सानी शिथिल, क्लान्तझैँ हुन गई । उभिइरहनामा शरीर सारै नै गलेको जस्तो भान हुन लाग्यो र त्यहीँ त्यस द्वारमा थचक्क बसी ।

बिहान हुनेबित्तिकै— त्यही अतीतकै जस्तो यात्री फेरि हिँडिहाल्यो । त्यसै दिनदेखि त्यसको जीवनको उद्देश्यै हरायो । त्यसले अझसम्म आफ्नो अन्तरमा समाती, आफ्नो आशामा झुन्डयाइराखेका त्यसका उमंग, उत्साह र यौवनपर्यन्तलाई यात्रीको त्यही एउटै वाक्यले खाइदियो, ‘तर तिमी त बूढी नै भइसकिछौ !’

त्यसपछि त्यो नारी, त्यो जीवनपर्यन्तकी मूक आशा, त्यो आफैंमा निहित भइरहने गरुङ्गो वेदना, त्यो सानी आफ्नो दीर्घ प्रतीक्षामा, आफैंमा समाप्त भइहाली । तर त्यति मात्रै होइन, आह ! प्राणभन्दा पनि बढ्ता माया गरी तहलाउँदै राखेको त्यसको जीवनव्यापी परिचित, प्रिय त्यो प्रश्न पनि एउटा भयानक विषादको अन्धकारमा विलुप्त हुन गयो, ‘त्यो फेरि फर्कला ?’

(रचनाकाल : मार्ग, १९९७)
(भिक्षुको कथासंग्रह ‘गुनकेसरी’ बाट ।)

Tags:

सम्बन्धित समाचार