काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल र नेपाल परिवार दलले एमालेको ‘सूर्य’ चिन्ह लिएर स्थानीय तहको चुनावमा प्रतिस्पर्धा गर्ने सहमतिप्रति भीम रावलले आपत्ति जनाएका छन्।
एमालेको सल्लाहकार रहेका रावलले बुधबार एमाले र राप्रपाबीच भएको पाँच बुँदे सहमतिप्रति आपत्ति जनाउँदै सूर्य चिन्हलाई बेचेको आरोप लगाएका छन्।
त्यसप्रति आपत्ति जनाउँदै रावलले ठेकेदारी गरेको आरोप लगाए।
‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे ! के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ?’ रावलले सामाजिक सञ्जालमा लेखेका छन् – ‘यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र।’
बुधबार नै नेपाल परिवारल दलले पनि सूर्यबाटै स्थानीय तहमा प्रतिस्पर्धा गर्ने सहमति गरेका छन्।
बुधबार एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र थापाको उपस्थितिमा दुई दलबीच सूर्य चिन्ह लिएर प्रतिस्पर्धा गर्ने तर निर्वाचित जनप्रतिनिधि राप्रपाकै हुने सहमति गरेका थिए।