बिहिबार , मंग्सिर १४, २०८०

गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा

image

४४ औं विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंबाट यात्रा थालेको करीब ५० जना राइडरलाई पर्सा राष्ट्रिय निकुञ्जमा स्वागत गरिएको छ । बुधबार बिहान ८ बजे नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीबाट फ्यालग अफ गरेर सुरुवात भएको बाइक टुर पर्सा राष्ट्रिय निकुञ्जमा अपरान्ह ४ बजे पुगेको हो ।

राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा

दिउँसो १ बजे मकावनपुरगढी आइपुगेको राइडरहरुलाई मकावनपुरगढी वडा नं २ का वडा अध्यक्ष बखानसिंह पाख्रिनले स्वागत गरेका थिए । मकावनपुरगढीका स्थानिय सरोकाहरुसँग अन्तर्रक्रिया गर्दै राइडरहरु हेंटौडा हुँदै बारा (पर्सा राष्ट्रिय निकुञ्ज) तर्फ निस्किएका थिए ।

राइडरहरु मकावनपुरगढीमा

पर्सा राष्ट्रिय निकुञ्जको जङ्गल सफारीसँगै राइडर स्वागत कार्यक्रममा जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, नाटा मधेश प्रदेशका अध्यक्ष मोहन शर्मा, सबुज गणका प्रमुख सेनानी गणेशमान पन्त, होटल सघं बाराका अर्जुन लम्साल लगाएत स्थानिय सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

करीब १००० किमि यात्रा र १५ वटा जिल्लाको पर्यटन प्रबर्द्धन सँगै स्थानिय तहमा भइराखेको पर्यटकिय गतिबिधिलाई नजिकबाट बुझ्ने ध्ययेका साथ टुर सुरु गरिएको हो ।

कलाकार तथा मोडल सनम कठाएत, गायक डेभिड शंकर र मोडल कुशुम शर्मा समेत सहभागी टुरमा विभिन्न रमाइला कार्यक्रमहरु समेत समावेश गरिएको छ ।

राइडरहरुको टोली आज चितवनमा बास बस्दै, लुम्बिनी, बुटवल, पाल्पा, पोखरा हुँदै १५ गते काठमाडौं फर्किने छ ।

सम्बन्धित समाचार