मंगलबार , साउन ८, २०८१

ढलमा डुबिरहेछन् १५ सय वर्ष पुराना विष्णुविक्रान्त

समयको मारमा त्रिविक्रम सग्लो रहन पाएनन् । इतिहास यसैगरी चोइटिन्छ र, इतिहास चोइटाउन समयबाहेक अन्य अप्राकृतिक हर्कतको बढी हात रहन्छ ।

image

हृदय, बुद्धि र विचारको एकमुष्ट प्रकटीकरण कला हो । कुनै कला सौन्दर्यबोधक हुन्छ, आनन्दित बनाउँदछ । कुनै कला चित्कारबोधक हुन्छ, आघात पुर्‍याउँदछ । सौन्दर्यबोधक हुँदाहुँदै पनि आघात पुर्‍याउने नेपाली इतिहासको प्राचीन कलामध्ये एक हो- बागमती (ढलमती) किनारको ढलमा डुब्दै-उत्रँदै गरिरहेको नेपालको सर्वप्राचीन ‘कलात्मक’ त्रिविक्रमको मूर्ति । यस मूर्तिले स्वयम् आघात पुर्‍याएको कदाचित होइन, यसको महत्त्व नबुझेर संरक्षणको अभावमा हामीले उसलाई आघात पुर्‍याइरहेका हौँ । यस मूर्ति यस हालतमा पुग्नुले ऐतिहासिक सम्पदाप्रतिको हाम्रो बेवास्तालाई इंकित गर्दछ ।

नेपालको प्रस्तर-कलाको इतिहासमा तिथिमितिसहित अभिलेख अङ्कित सबभन्दा प्रमाणिक र कलात्मक ’त्रिविक्रमको मूर्ति’ ढलमा पुग्नुले हाम्रो धार्मिक तथा सांस्कृतिक ‘चिनो’ हराउने जोखिम बढेको सङ्केत गर्दछ । नेपाली कलाको विस्तार धर्मसापेक्ष रहेको पाइएकाले यहाँ ‘धार्मिक र सांस्कृतिक चिनो’ शब्द प्रयोग गरिएको हो । अतः धर्म सापेक्ष कलाकृतिहरूको उत्खनन, चर्चा-परिचर्चा र चियोचर्चा नै नेपाली इतिहासको ‘जेजति पाठ’ हो ।

अर्कोतर्फ, धार्मिक भावना र विचार सङ्केत नपाइने ज्यादै स्थूल किसिमको भद्दा मूर्तिहरू पाइनुले पनि ‘ज्योतिर्लिङ्ग, स्वयम्भू’ जस्ता विचारहरूलाई पुज्नेहरूको अस्तित्त्वप्रति सङ्केत गर्दछ । ‘प्राचीन आर्यहरू मूर्तिको निर्माण गर्न जान्दैनथे’ भन्ने म्याक्समूलर, म्याक्डोनल आदि विद्वान पनि छन् । यी विद्वानका कुरालाई काट्ने गरि एकातिर राजालाई देवता मानी पूजा गरिने कुषाण राजाका प्रतिमाहरू भेटिन्छ भने सिन्धु सभ्यतामै मूर्तिपूजा हुने गरेको प्रमाण भेटिन्छ । फेरि, यी विद्वानहरूसँग सहमति जनाउँदै वैदिक आर्यहरू वेदी वा प्रार्थना स्थलमा जम्मा भएर मूर्ति बेगरका ब्रह्म वा परमेश्वरप्रति आफ्नो समर्पण भाव व्यक्त गर्दथे भन्ने कथनहरू उपलब्ध छन् । यसकारण मूर्तिपूजाको सन्दर्भमा कसले र कहिले भन्ने प्रश्न गौण हुन् पुगेको छ । खैर, पूजा विशेषतः आदरसत्कार र मानसम्मानलाई श्रद्धापूर्वक गरिने एक विधि हो, जो धर्मसँग निकटतम छ । धार्मिक सम्प्रदाय अलग कुरा भयो ।

हामी त्रिविक्रममा आऊँ :

पशुपतिको तिलगंगा क्षेत्रमा रहेको प्राचीन त्रिविक्रम (वामनदेव/विष्णुविक्रान्त) ढल भरिएको पोखरीमा रहेको छ, जो फोहोर फाल्ने, दिसापिसाब गर्ने र गाँजा तान्ने थलो हो । त्रिविक्रमको शिर कुल्चिएर पैदलयात्रीहरू नित्य हिँडिरहेकै छन् । कुकुर र बाँदरहरूको झम्टाझम्टी मच्चिरहेकै छ । दिनहूँ फोहोर मिल्किरहेकै छ । झिँगाहरू भन्किरहेकै छन् । कसैले कुनैबेला चढाएको फूलको थुङ्गो ओइलिसकेको छ । सुकुम्वासी बस्तीको बढ्दो चाप र बसपार्क क्षेत्र विस्तार छेउसम्मै आइपुगेको छ । यो सब बाबजुद हरेक बर्खा ढल मिसिएको पानीमा चुर्लुम्म डुबेर बस्नु त्रिविक्रमको नियति भएको छ ।

तस्बीर : कान्तिपुर

नित्य पूजा विगत भइसकेको छ । घामपानी सहेर टिठलाग्दो अवस्थामा रहेको मूर्तिको आकारप्रकार मात्रै होइन, शिलालेख समेत पढ्न नसकिने भएको छ । यति हुँदा पनि सुरक्षाको कुनै बन्दोबस्ती छैन, संरक्षण त परको कुरा सरोकारवाला निकायहरूको चासोसम्म व्यक्त भएको पाइँदैन । यदि यही अवस्था रहिरहने हो भने सुकुम्वासी बस्ती विस्तारको क्रममा मूर्ति उखालिनेछ र कुनै घरको भित्ता वा जगमा १६०० वर्षको इतिहास गाडिन पुग्नेछ । साथै, वैदिक सनातन धर्म अन्तर्गत (ऋग्वेदिक काल)का विशिष्ट शक्तियुक्त देवता विष्णुको उपासना गर्नेहरूद्वारा बुद्धको समयताका प्रतिपादित ‘पशुहिंसा विरुद्ध अहिंसात्मक- वैष्णव धर्म’ नेपालको प्राचीन धर्ममध्ये एक रहेको बताउने उपयुक्त स्रोत-सन्दर्भ नष्ट हुन् पुग्नेछ । यसै मूर्तिको जोडा मूर्ति राष्ट्रिय संग्रालयमा सुरक्षित रहेकाले ‘यसो हुँदैन’ भनेर पन्छिन ‘झिँगा’हरूलाई छुट पनि उपलब्ध छ  (अर्को जोडा मूर्तिको यथास्थानमा सम्बोधन हुनेछ) ।

त्रिविक्रमको मूर्ति कहाँनेर छ ?

तिलगंगा पारिको पशुपति छिर्ने गेट हुँदै लगभग ३०-४० मिटर अगाडि बढिरहँदा देब्रेपट्टि (खोलातर्फ) एउटा घरको भर्‍याङ देखिन्छ । सो भर्‍याङदेखि सुरु हुने पातलो गल्ली हुँदै सुकुम्वासी बस्तीतिर अगाडि बढ्दा कङ्क्रिटको चारकुने संरचना जलमग्न भइरहेको देख्न सकिछ । सोही आहालमा बसेर त्रिविक्रमको शिलालेख भनिरहेको छ, ‘हरेकपल्ट फेरिने संस्कृति मन्त्री र पशुपति विकास कोषका पदाधिकारीहरू, तिमिहरूको संरक्षणको प्रतिबद्धताको गफ धेरै भो । मलाई जोगाएर तिमीहरू फ्रान्ज काफ्का बन । सुग्घरी हौँ ।’

पङ्क्तिकारको दुर्भाग्य भनौँ या सौभाग्य, साउन २० गतेका दिन दिउँसो २ बजे टन्टलापुर घाममा सो मूर्तिप्रति निहुरिएको उसले मुसलधारे झरी रोकिएपश्चात् ३ बजे पुग्दा त्यो आहालमा कुल्चने आँट गर्न सकेन । अन्दाजी कुर्कुच्चा डुबाउने ढलमा पौडी खेलिरहेको अवस्थामा दोस्रोपटक उसले टुटे फुटेर र अनुहार नचिनिए पनि आफ्ना तेजोमय तीन पाउले तीनै लोक ढाकिरहेका त्रिविक्रमको ‘दर्शन’ पाएको थियो ।

झरीमा भिजिरहेका विष्णुविक्रान्त, तस्बीर : राजु झल्लु प्रसाद

समयको मारमा त्रिविक्रम सग्लो रहन पाएनन् । इतिहास यसैगरी चोइटिन्छ र, इतिहास चोइटाउन समयबाहेक अन्य अप्राकृतिक हर्कतको बढी हात रहन्छ । यस कुकर्ममा पाशुपत क्षेत्रको माउ अड्डा पशुपति क्षेत्र विकास कोष प्रमुख भागीदार हो । सतही सुधारमा गद्गद् उसलाई कसैले ‘के गरेको यस्तो’ भनेमा ‘गर्दै छौँ’ भन्ने निम्छरो जवाफ दिनु उसको ‘सनातन परिचय’ भएको छ । सम्पदास्थलको विरासत बोक्ने कोषले विष्णुविक्रान्तमाथि हेलत्तो गर्नु, महत्त्व नबुझ्नु वा बुझेर पनि बुझ पचाउनु, या संरक्षण गर्नुको व्यक्तिगत फाइदा खोज्नु लज्जाको विषय हो । साथै, यस्ता अमूर्त सम्पदाको अवलोकन गर्न विशेष पर्व नै कुर्ने या संयोग नै जुराउने तपाईँ हामी पनि अन्य सबै कुरा गर्ने तर जीर्ण, क्षतिग्रस्त र लथालिङ्ग सम्पदाबारे मौन रहेको ‘पाशुपत क्षेत्रको सांस्कृतिक सम्पदा (मूर्त र अमूर्त)’ नामक किताब हौँ । यस्ता मूर्त–अमूर्त सम्पदालाई ‘ढलमति नदी’ नै बनाइरहँदासम्म जति ठूलो ग्रन्थ प्रकाशन गरे पनि पशुपतिनाथको महत्त्व बढ्दैन क्यारे । (गुठी संस्थान, राष्ट्रिय अभिलेखालय, चारखाल अड्डा, पुरातत्त्व विभागको त कुरा गर्नै परेन । आँची हो भनेपछि किन चलाइरहनु ?)

सत्यमोहन जोशीले आफ्नो पुस्तक ‘नेपाली मूर्तिकलाको विकासक्रम’मा लेखेका छन्, “यस मूर्तिलाई राजा मानदेवले आफ्नी मुमाराज्यवतीको नाममा एक विशाल मन्दिर बनाइ स्थापना गरेका हुन् । यो मूर्तिमा जुन उत्कृष्ट शैली र कलाको अभिव्यक्ति छ, त्यो अद्वितीय छ । हाल यो मूर्ति नेपाल राष्ट्रिय संग्रालयमा छ (पहिले यो मूर्ति लाजिम्पाट, धोबी चौरमा थियो) । यही मूर्तिकै जोडा एक अर्को मूर्ति पशुपति तिलगङ्गामा खेतको डिलमा मिल्किएको छ ।” जोशीले एक अर्को मूर्ति भनेर सम्बोधन गरेको मूर्तिको यहाँ चर्चा हुँदैछ । र, उनले ‘विशाल मन्दिर’ भनेबमोजिम मन्दिरको अवशेष यहाँ देखिँदैन ।

पुरातात्त्विक नियमअनुसार ‘कुनै पनि सम्पदालाई स्थानान्तरण गर्न मिल्दैन । तिनलाई जहाँ भेटिन्छ, त्यहीँ नै रहन दिइनुपर्छ ।’ सोही स्थानान्तरणको काम धोबीचौरमा हतियार उद्याउन प्रयोगमा आइरहेको यस मूर्तिको जोडा मूर्ति (त्रिविक्रम)को संरक्षण हेतु नियम (प्राचीन स्मारक संरक्षण ऐन, २०१३) विपरीत संग्रालयमा पुर्‍याउने काम जोशीबाट भएको थियो । पङ्क्तिकार तिलगंगाको मूर्तिको दुर्दशा देखिरहँदा सोच्ने पुग्दछ, ‘जोशीले सही गरेछन् ।’

जोशीले छाउनी पुर्याएको त्रिविक्रम, तस्बीर : शिलापत्र

२०३२ सालमा सत्यमोहनले बताएअनुरूप नै यस मूर्ति मिल्किरहेको अवस्थामा छ । हाल त्यहाँ खेत छैन, अव्यवस्थितरुपमा सुकुम्वासी बस्ती विस्तार भइरहेको छ । सत्यमोहन जोशी सहित मोहनप्रसाद खनाल, हरिराम जोशी, जगदीश चन्द्र रेग्मी आदि विज्ञले उतिबेलै चिन्ता व्यक्त गर्दै ‘बेवारिसे छन् वा खेतको डिलमा यसै परिरहेको छन्’ भनेका मूर्तिहरूमध्ये कतिपय सोही अवस्थामा रहेको र कतिपय हराइसकेका पाइन्छन् । बेवारिसे अवस्थामा रहेका यस्ता मूर्तिहरू जुनसुकै बेला पनि चोरी हुनसक्ने जोखिम बढ्दो छ । पशुपतिका विष्णुविक्रान्त हराए भन्ने सुन्न नपरोस् ।

विष्णुविक्रान्त कति पुरानो ?

जगदीश चन्द्र रेग्मीले यस मूर्तिको बारेमा चर्चा गर्दै लेखका छन्,  “लाजिमपाट धोबीचौरको थुम्कामा राजा मानदेव प्रथमकालिक तीन वटा अभिलेख अङ्कित मूर्तिहरू रहेका छन् । एउटा त नरवर्माले संवत् ३८८ (ई. ४६६) मा शिवलिंग र मन्दिर बनाएको प्रमाण हो । (बज्राचार्य २०३०: ३१) अर्को अभिलेख संवत् ३८६ (ई.४६७) मा राजा मानदेव प्रथमले थापेको त्रिविक्रम मूर्तिको हो (ऐजन:३४) । उनी राजाको रानी क्षेमसुन्दरीले सं.३६० (ई.४६८) मा शिवलिंग र मन्दिर थापेको प्रमाण अभिलेख पनि यहीँ छ (काठमाडौं शहर सांस्कृतिक अध्ययन, भाग- १, पृ. २१) ।”

नरवर्माले संवत् ३८८ मा स्थापना गरेका शिवलिंग र मानदेवकी रानी क्षेमसुन्दरीले संवत् ३९० मा स्थापना गरेका शिवलिंग आज पनि यथास्थानमै छन् ।

मूर्तिलाई नियाल्दा : ‘सम्पूर्ण आयुधसहितका विष्णुले तीनै लोकलाई ढाकेका छन् । विक्रान्तस्वरूप विष्णुका मुनि राजा बाली हातमा जलधरासहितको कलश लिएर दान दिन प्रतिज्ञाबद्ध हुँदै वामनका अगाडि खडा भएका छन् । राजा बलिकी रानी आफ्ना पतिका साथ नमस्कार-मुद्रामा देखिन्छिन् भने अश्वमेध यज्ञको प्रतीक घोडा देखाइएको छ । यसैगरि असुर-पुरोहित शुक्राचार्य तथा अन्य कतिपय आकृतिहरू यस मूर्तिमा स्वाभाविक ढङ्गले कुँदिएका छन् ।’

मुसलधारे झरी पर्नु अगाडी खिचिएको, तस्बीर : राजु झल्लु प्रसाद

त्रिविक्रमको पादपीठमा के लेखिएको छ ?

त्रिविक्रमको पादपीठमा लिच्छवी- लिपिमा अङ्कित अभिलेखको प्रतिलिपि यसप्रकार छ-

“मातु: श्रीराज्यवत्या: हितकृतमनस: सर्व्वडा पुष्यवृद्धर्यै
राजा सहीमानदेव: शुभविमलमति: पात्रदानाम्बुवर्षा ।
लक्ष्मीवत्कारयित्वा भवनमिह शुभं स्थापयामास सम्यक्
विष्णु विक्रान्तमूर्ति सुरमुनिमहितं सर्व्वलोकेकनाथम् ।।
सम्वत् ३८९ वैशाख शुक्ल दिवा २ ।”

(भावार्थ : असल सफा बुद्धि भएका सत्पात्रमा पानीसरह दान बर्साउने राजा श्री मानदेवले हित गर्ने मन भएको (आफ्नी) मुमा राज्यवतिको सधैँ पुण्यको बढिबढाउ होस् भन्नानिमित्त राम्रो असल मन्दिर बनाउन लगाई देवता र ऋषिहरूले पुजिएका, सारा संसारका एउटै मालिक त्रिविक्रम (वामन) मूर्ति विष्णुलाई राम्ररी स्थापना गर्नुभयो । संवत् ३८९ वैशाख शुदि २ । (इतिहास-संशोधन मण्डल, प्रमाण प्रमेयको आधरमा, पृ. २०२-२०३ । यसमा अङ्कित संवत्लाई शाके संवत् मानिएको छ ।  (जोशी, ऐ.  पृ. १९)

यस मूर्तिको अभिलेखमा आरम्भमा प्रशस्ति (प्रशंसा) र अन्त्यमा मिति अङ्कित भएको छ, जो राजाले राखेका अभिलेखहरू प्रायशः देखिने गरिन्छ । यहाँ पनि अन्यत्र सरह नै जारी गरिएको ठाउँबाट सुरु गरेर राजाको प्रशस्ति र नाम उल्लेख गरि जनताको कुशलमंगलको कामना गर्दै अभिलेखको वास्तविक आशय वर्णन गरिएको छ ।

ढलले छपिएको विष्णुविक्रान्तको मूर्तिको शिलास्तम्भ, तस्बीर: शिलापत्र ।

विष्णुविक्रान्त मूर्तिको कलात्मक प्राचीनता :

यस मूर्तिभन्दा अगावै पनि धेरैथरि मूर्तिहरू निर्माण भएका हुन् सक्छन्, तर, तिनमा तिथिमिति उल्लेख छैन । प्रस्तर  मूर्तिको हकमा यसभन्दा पुरानो अभिलेख नभेटिएपनि शिलाहरू भने भेटिएका छन् ।

टिप्पणी : (पादपीठमा संवत् १०७/ई. १८५ श्री परमदेव महाराज जय वर्मा’ लेखिएको, लैनसिंह वाङ्देलले ‘जया वर्माको मूर्ति र नेपालको वर्मा वंश’ नामक पुस्तक उल्लेख गरेका मूर्ति राजाको भएको र कलापक्षको हिसाबले विष्णुविक्रान्त जत्तिको सर्वोत्कृष्ट नभएकाले हालसम्म विष्णुविक्रान्तकै मूर्तिलाई प्राचीन कलात्मक मूर्ति मान्नुपर्दछ । यस मूर्तिको उल्लेख यसकारण पनि उल्लेख छ कि यही पुरातात्त्विक प्रमाणको आधारमा किराँत कालको अन्त्य ई. १८५ मा भएको मानिन्छ । )

पुनः पाठमै फर्किऔँ, अभिलेख अङ्कित सर्वप्राचीन प्रमाणिक शिलालेखहरूको कुरा हुँदै थियो;

सर्वविदित उदाहरण: ‘इतिहासको आविष्कार गरिँदैन, अद्यावधिक गरिन्छ’ भनेअनुसार पशुपतिनाथ पटाङ्गिनीको मुक्तिखण्डपमा एकाएक भेटिएको (२०४६) लिच्छवीकालीन शिलास्तम्भ (‘३८१ शकसंवत्’) ले त्यसभन्दा अघिसम्मको सबैभन्दा प्राचीन प्रामाणिक अभिलेख भनिएको चाँगुनारायणको मानदेवको शिला (‘३८६ शकसंवत्’) लाई माइलो बनाएर आफू जेठो भएर बसेको छ । विष्णुविक्रान्तको मूर्तिको शिलास्तम्भको रोलक्रम छुट्याउन बाँकी नै छ । (२,३०० वर्ष लुम्बिनी र निग्लीहवाका ब्राह्मी लिपिमा लिपिबद्ध अशोकस्तम्भ अपवाद रहे ।)

मानदेवको यस मूर्तिभन्दा अगाडी नै उनको पुर्खा राजा जय वर्मा लगायतको मूर्तिहरू निर्माण भएको पाइएकाले पुराना मूर्तिहरूको सरसरती चर्चा गर्नु प्रासङ्गिक हुन्छ । हाँडीगाउँमा प्राप्त शिरविहीन एक बलौटे प्रस्तर मूर्ति (बोधिसत्त्व र यक्षबोधिसत्त्व बीच विवाद जारी, दोस्रो शताब्दी हो कि भनिएको), लुम्बिनीमा केशरशमशेरले उत्खनन गराउँदा भेटिएको रातो बलौटे प्रस्तरको उष्णिषसहितको सुन्दर बुद्धमूर्ति (शिरोभाग मात्रै, दोस्रो शताब्दी मानिएको) मूर्तिहरू केही उदाहरण हुन् । यसबाहेक आर्यघाटको मृगेश्वर, विरुपाक्ष, मृगेश्वरको बायाँपट्टिको आर्यादेवीको मूर्ति, मृगस्थलीको द्विभुज मूर्ति, किरातेश्वर इत्यादि र ठाउँ-ठाउँका साना खालका मोटा बसाहाहरूले शिव, सूर्य, नन्दी, मृग आदिका प्राचीन मूर्तिस्वरूपको सर्वविदित (विवादास्पद पनि) प्रमाण भई नै हालै । यसबाहेक केही शिलास्तम्भ, शिवलिंग तथा अन्य छरिएर यताउता रहेका कलाकृतिहरू पूर्वलिच्छवीकालीन हुन् भनिएको छ तर कति पुरानो हो भने ठम्याउन सकिएको छैन ।

यसो हुनुमा ती मूर्तिहरू माटोद्वारा निर्मित हुनु, काठका हुनु एवम् काठका वस्तुहरू स्थायी रूपले नखप्नु मुख्य कारण (मेसोपोटामियाका माटाका फलकहरूमा अङ्कित गरिएका तर पढ्न नसकिएका लेखहरूको सङ्ग्रहहरू आदि अपवाद रहे) हुन् आउँछन् । यसैकारण विकल्पको रूपमा ढुङ्गा (प्रस्तर)को मूर्तिहरू निर्माण हुन् पुगे । ढुङ्गा प्रयोगको कारण चम्काई, टिकाउ र सर्वसुलभता हो । लिच्छवीकालको उत्तरार्धदेखि भने प्रस्तरका अतिरिक्त ताम्रपत्र, राजोपत्र, सुवर्णपत्र आदिमा पनि अभिलेखीकरण सुरु भएको छ ।

मध्यकालको प्रारम्भताका भने पूर्वी भारतको सम्पर्क (पाल/पालि कला), गोरखनाथ (तन्त्रको प्रभाव)को सम्पर्क लगायतका कारण धातुकलाको द्रुत विकास भएको पाइन्छ । प्राचीन मध्यकालमा बनेका उमामहेश्वर, सूर्य, विष्णु, भगवतीहरू तथा बौद्ध सम्प्रदायका अनेक देवी-देवताका मूर्तिहरू नेपाल (बाहिर चोरी भएका पनि)कै संग्रालयमा छरिएर रहनु यस कुराको प्रमाण हो । मध्यकालीन कलाकृतिहरूको विरासत चाहिँ पश्चिम नेपालतर्फ ज्यादा देखिन्छ । मध्यकालमा चित्र एवम् वास्तुकलाको विकास उपत्यकासहित नुवाकोट, गोरखा, बौद्ध विहार र स्तुपाहरू भरपुर देखिन्छ । सालिक निर्माण चाहिँ पछिल्लो ‘हाउ झुसे, बकम्फुसे’ टाइप्सको तरिका हो । अझ त्यसमा पनि लौका, घिरौँला, आँप, भुइँकटर चाहिँ पछिल्ला सत्ताधिकारीहरूको ‘लास्ट तोरी स्वभावको ब्रो स्ट्याइल्स्’ हो । एकछिन हाँसौँ हाउ ।

तिलगंगाबाट देखिएको पशुपति, तस्बीर : राजु झल्लु प्रसाद

खैर, हामी विष्णुविक्रान्तमा नै आऊ,

‘नेपालको प्रस्तर-मूर्तिकलाको इतिहासमा अभिलेख र सालमिति अङ्कित सबभन्दा प्रामाणिक र कलात्मक मूर्तिको पृष्ठभूमिमा नेपाली प्रस्तर-कलाको विकास इसाको पहिलो, दोस्रो शताब्दीमै सुरु भइसकेको सहजै अनुमान गर्न सकिन्छ । किनभने, विष्णुविक्रान्तको मूर्तिमा जुन ओजस्वीपाना छ तथा कलाशैलीको जुन विकसित छाप छ, त्यसको क्रमिक विकासमा मानदेवको समयभन्दा अघिको समयलाई औँल्याउन कर लाग्न आउँछ । किनभने, पाँचौँ शताब्दीमा निर्मित त्यो अद्वितीय मूर्तिमा भएको कलाकारिताको विकासको निमित्त त्यसलाई २००/३०० वर्षको पृष्ठभूमि उसै पनि आवश्यक पर्न आउँछ । (जोशी, ऐ. पृष्ठ १९-२०)


क्रमश..

सम्बन्धित समाचार