शुक्रबार , अषोज १४, २०७९

विश्वकर्मा पूजाका दिन नेवा: समुदाय बिस्माद्य:लाई पुज्दै

विश्वकर्मालाई नेवा: समुदायले #बिस्माद्य:को नामले सम्बोधन गर्दछन् भने आजको दिन बिस्माद्य: पूजा गर्ने चलन रहेको छ ।

image

  • सन्दीप महर्जन

आज देशभर विभिन्नस्थानमा विश्वकर्मा पूजा मनाइँदै छ । विशेष गरेर मधेस क्षेत्रमा आजको दिन धुमधामका साथ विश्वकर्मा पूजा गरिन्छ । विश्वकर्मा देवतालाई निर्माता तथा औजारहरुको देवताको रुपमा पूजा गर्ने चलन छ । धेरैले आजको दिन नेवा:हरुले विश्वकर्मा पूजा गर्दैन भनेर बुझ्ने गर्दछन् र हुन पनि हो, किनकी नेवा: परम्परा अनुसार घरमा भएका विभिन्न औजार, हतियार तथा साधनहरु जस्तै साइकल, मोटरसाइकल, कुटो, कोदालो, चक्कु आदि सबै दशैंको अष्टमी – नवमीको दिनमा स्थापना गरि विधि अनुसार पूजा गर्ने गरिन्छ ।

तर आजको दिन नेवा:हरुले विश्वकर्मा देवतालाई पूजा गर्ने गर्दछन् । विश्वकर्मालाई नेवा: समुदायले बिस्माद्य:को नामले सम्बोधन गर्दछन् भने आजको दिन बिस्माद्य: पूजा गर्ने चलन रहेको छ । नेवा:हरुको परम्परागत घरको सबैभन्दा माथिल्लो तल्लामा रहेको थाम जसले छानाको भार थामेको हुन्छ, सो थाम वा त्यहिँ रहेको दलानमा बिस्माद्य: स्थापना गरेको हुन्छ । सोही थाम वा दलानलाई नै बिस्माद्य:को रुपमा पूज्ने गरिन्छ भने बिस्माद्य:ले छाना थामेको हुन्छ र घर भत्किँदैन भन्ने विश्वास रहेको हुन्छ । आजको दिन यहि बिस्माद्य:लाई आ-आफ्नो रीत अनुसार पूजा गर्ने गरिन्छ ।

खासै धेरैलाई जानकारी नै नभइसकेको बिस्माद्य:को आकृती तथा स्वरुप हुँदैन अर्थात् यसलाई निराकार रुपमा नै पूजा गरिन्छ । यसै गरि आजको दिन पाटनको महालक्ष्मीस्थानमा रहेको महालक्ष्मी मन्दिरको ठ्याक्कै पछाडी रहेको विस्माद्य: र पाटनको मंगलबजार नजिकै तिछुं गल्लिमा रहेको बिस्माद्य:को मन्दिरमा पूजा तथा दर्शन गर्न जाने गरिन्छ । सम्भवत: नेपालमा प्राचीन रुपमा यहि दुइटा मात्रै बिस्माद्य:को मन्दिर रहेको छ । हाल बिस्माद्य: को जानकारी पनि कम भएको अवस्था तथा पुरानो घरहरु पनि धेरै बाँकी नभएकोले बिस्माद्य: पूजा गर्ने चलन पनि हराउँदै गएको छ ।

(पहाडतिर घरको मूल खाबो (थाम) लाई पूजा गर्ने चलन यद्यपी देख्न पाइन्छ – सम्पादक ।)

Tags:

सम्बन्धित समाचार