शुक्रबार , साउन २२, २०८३

तपाईँको पर्खाइमा ‘स्वर्गको टुक्रा’ ब्राेम्दीङ डाँडा 

धादिङको बेनीघाट-रोराङ गाउँपालिका-१ मा अवस्थित ब्रोम्दीङ डाँडामा पर्यटकको चहलपहल बढ्न थालेको छ । समुन्द्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको ब्रोम्दीङ डाँडा महाभारत पर्वत शृङ्खला अन्तर्गत धादिङ र मकवानपुर जिल्लाको सिमानामा पर्दछ ।

image

केही वर्ष अघिसम्म गाईभैँसी अनि गोठालाहरू मात्रै देखिने डाँडा-पाखा/चौरहरूमा अहिले आन्तरिक मात्र नभएर बाह्य पर्यटक समेत देखिन थालेका छन् । घाँस-दाउरा बोक्नेहरूको लर्को देखिने डाँडा पाखाहरूमा अहिले पर्यटकहरूको घुइँचो बढ्न थालेको छ । डाँडामा रहेका सुन्दर हरियाली चौर, लमतन्न परेका फाँट अनि तँछाडमछाड गर्दै उभिरहेका थुम्का-थुम्कीहरूले स्वर्गकाे अनुभूति दिलाउँछन् । बिहानीमा सूर्योदयकाे दृश्यले मोहित बनाउँछ । साँझपख सूर्यास्तको दृश्यले डाँडामै बसिरहूँ बनाउँछ । सुन्दरताका सबै रङ्गहरू एकै ठाउँमा देख्न पाइन्छ ।

धादिङको बेनीघाट-रोराङ गाउँपालिका-१ मा अवस्थित ब्रोम्दीङ डाँडामा पर्यटकको चहलपहल बढ्न थालेको छ । समुन्द्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको ब्रोम्दीङ डाँडा महाभारत पर्वत शृङ्खला अन्तर्गत धादिङ र मकवानपुर जिल्लाको सिमानामा पर्दछ । धादिङको सबैभन्दा दक्षिणी भेगमा रहेको बेनीघाट-रोराङ गाउँपालिकाको वडा नम्बर एक र मकवानपुर जिल्लाको कैलाश गाउँपालिका  र राक्सिराङ गाउँपालिकाको सिमानामा पर्ने ब्रोम्दीङ डाँडा प्राकृतिक सुन्दरताले भरिपूर्ण भएपनि प्रचारप्रसारको अभावमा ओझेल पर्दै आएको थियो । पछिल्लो समय यातायातको सहजता र स्थानीय बासिन्दामा पर्यटनप्रतिको चासो बढेसँगै प्रचारप्रसार सुरु भएको छ ।

यस स्थानबाट उत्तरतर्फ लामबद्ध हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण, माछापुच्छ्रे, गणेश, लाङटाङ, गौरीशङ्कर देखि सर्वोच्च शिखर सगरमाथाको चुचुरा आँखै अगाडी देख्न सकिन्छ । दक्षिणतर्फ बागमती प्रदेशको राजधानी हेटौँडादेखि पर्साको वीरगन्ज बजारलाई अवलोकन गर्न सकिन्छ । त्यसैगरी चितवनको भण्डारा बजारदेखि गोरखाको मनकामना मन्दिर पनि यही डाँडाबाट देख्न सकिन्छ ।

पूर्वतर्फ काठमाडौंको चन्द्रागिरि र ललितपुरको फुलचोकी डाँडा पनि यसै स्थानबाट नियाल्न सकिन्छ । एकै ठाउँमा उभिएर उत्तरमा मनोरम हिमशृङ्खलादेखि तराईको समथर भूभागसम्म नियाल्नका लागि ब्रोम्दीङ डाँडा उपयुक्त गन्तव्य भएको स्थानीय श्याम लामा बताउँछन् । पर्यटन क्षेत्रमा लामो समय काम समेत गरेका लामा नेपाली कांग्रेस बागमती प्रदेश सदस्य हुन् ।

ब्रोम्दीङ डाँडा मात्रै नभएर बेनीघाट-रोराङ वडा नम्बर एक नै पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण रहेको वडाध्यक्ष जीवन सिं तामाङले बताए । वडाका जरुङ, सिम्टार, सुन्दरनागी, लवाङ लगायतका अन्य गाउँहरू पनि सुन्दरताले भरिपूर्ण रहेका छन् । यहाँका उत्पादनहरू सबै अर्ग्यानिक हुने भएकाले पनि ‘एग्रो टुरिजम’को पनि सम्भावना रहेको वडाध्यक्ष तामाङले बताए ।

ब्राेम्दीङ डाँडामा नेपालको मूल जाति तामाङ समुदायको बसोबास छ । वडाका अन्य गाउँहरूमा अति सीमान्तकृत चेपाङ समुदायको पनि बसोबास रहेको छ । तामाङ र चेपाङ समुदायको संस्कृति, जीवनशैली र रहनसहनको अवलोकन गर्न पाइन्छ । स्थानीय अर्ग्यानिक खानपानले जिब्रोको स्वाद फेर्न पाइन्छ । लोकल कुखुराको मासु र मकैको ढिँडो  त्यहाँ पुग्दा छुटाउनै नहुने खाना हुन् ।

भर्खरै पर्यटकमाझ चिनिन थालेकाे यस वडामा पर्यटकहरूका लागि सुविधासम्पन्न हाेटलहरू भने खुलेका छैनन् । सामान्य खाने-बस्ने सुविधासहितकाे साना हाेटलहरू भने छन् ।

ब्रोम्दीङ डाँडासँग सिमाना जोडिएको मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर दुईले वडालाई पर्यटकीय गन्तव्य बनाउन विकासका पूर्वाधारहरू निर्माण गर्न थालिसकेका छन् । वडामा पर्यटकका लागि होमस्टे सञ्चालन  गरिएको छ । चिया बगान निर्माण थालिएको छ । चर्चित कैलाश डाँडा पनि सोही वडामै पर्दछ । कैलाश डाँडाकै नामबाट वडाको नामकरण गरिएको छ । वडाको सबैभन्दा माथि अवस्थित गाउँ वैकुण्ठको डाँडामा रहेको कुण्डमा गुरु रिम्पोछेको विशाल मूर्ति समेत स्थापना गरेको छ । मूर्तिसँगै डाँफे-मुनाल  पार्क पनि निर्माण गरिएको छ । पार्क र मूर्तिको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या दैनिक वृद्धि हुन थालेको स्थानीय बताउँछन् ।

डाँडा, पाखा-पखेरा हिमाल देखि तराईको भूभागसम्म नियाल्नका लागि उचित गन्तव्य हो, ब्रोम्दीङ डाँडा । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी बजारदेखि करिब २५ किलोमिटरको दुरीमा रहेको डाँडामा सबै साना ठुला सवारी साधन लिएर पुग्न सकिन्छ । वडाकै सबैभन्दा ठुलो गाउँ जरुङसम्म काठमाडौंदेखि दैनिक बस सञ्चालन हुन्छ । बसको आरामदायी यात्रा गर्न पनि सकिन्छ भने अन्य सवारी साधनबाट  पनि सजिलै पुग्न सकिन्छ ।

काठमाडौंबाट ६० किलोमिटरको दुरीमा रहेको गजुरी बजारबाट दक्षिणतर्फ २५ किलोमिटरको दुरी पार गरेपछि यो सुन्दर डाँडामा पुग्न सकिन्छ । राजमार्ग अन्तर्गतकै आदमघाट, घाटवेशी, मलेखु लगायतका बजारबाट पनि यो स्थानमा पुग्न सकिन्छ । मकवानपुर जिल्लाको थाहा नगरपालिकाको पालुङ बजार हुँदै जाँदा पनि यो डाँडामा पुग्न सकिन्छ । त्यसका लागि धादिङको धुनिबेँसी नगरपालिकाको नाैविसे-खानीखोलाबाट त्रिभुवन राजपथ हुँदै जानुपर्दछ । तर यो मार्ग हुँदै जाँदा लामो दुरी पर्दछ । डाँडा पाखा-पखेरामा रमाउँदै यात्रा गर्नका लागि भने यो मार्ग पनि उत्तम हुन्छ ।

सम्बन्धित समाचार