बिहिबार , जेठ ३१, २०८१

मुटु आकृतिको छेडेदह ताल

image

उत्तर पश्चिम दिशाबाट हेर्दा मुटुको आकारमा देखिने बाजुराको छेडेदह ताल सुन्दरताको एक अनुपम उपहार हो । धर्तीको स्वर्गको रूपमा परिचित खप्तड र सुन्दर यही तालको नामबाट यस पालिकाको नाम पनि खप्तड छेडेदह गाउँपालिका राखिएको छ ।

आटीचौरबाट पैदल यात्रा १ घण्टा, मोटरसाइकल वा जिप मार्फत करिब ४५ मिनेटमा यहाँ सम्म पुग्न सकिन्छ । बाजुरा बुडिगंगा नगरपालिका २ बल्देबाट करिब १ घण्टामा आटिचौर पुगिन्छ । बल्दे धनगढी-मार्तडी सडक खण्डमा अवस्थित छ ।

यसको पश्चिमको उकालोमा अजैमरे नामको चौतारो छ । डोगडीबाट उक्लिँदा यस चौतारामा थकाई नमेटेर कुनै बटुवा पनि अगाडी बढ्दैनन् ।

दक्षिणतिर रहेको घना पारिपातल सामुदायिक वनले दहको शोभा मात्र होइन, यस वरिपरिको वातावरण अनुकूल बनाउन सहयोग पुर्‍याएको छ । दहको वरिपरि चारैतिर दुवोको चौर छ । वर्षा महिनामा यो दुवोको हरियालीले कुनै व्यवस्थित पार्कको झलक दिन्छ ।

छेडेदहबाट नजिकको रमणीय स्थल भनेको छान्नीको लेक, बाजुरा र बझाङको सिमानामा रहेका जोराजोरीका जेठी वहुरानी हिमालयको दृश्य हेरेरै नथाकिने जस्तो छ । यस स्थानबाट बाजुराको सर्वोच्च शिखर (चौध हजार पाँच सय फिट) वडीमालिकाको सेताम्य चुचुरोमा बिहानै झुल्कने सूर्योदयका किरणले जोसुकैलाई पनि मोहित बनाउँछ ।

यस दहको दक्षिण–पश्चिम तिरबाट जोडिएर फैलिएको विशाल घना जङ्गल छ । यस वनमा बाँझ, लालीगुराँस, उत्तिस प्रजातिका रुखहरू छन् भने जङ्गली जनावरमा चितुवा भालु, मृग, स्याल, ब्वाँसो, वन बिरालोको लगायतका कयौँ जनावरहरू छन् । पंक्षीहरुमा मुख्यतः कालिज, तित्रा, कोइली, जुरेली पाइन्छन् । वसन्त ऋतुमा लालीगुराँसले पूरै जङ्गल रातै देखिन्छ । दक्षिणतिरको अग्लो डाँडामा गएर हेर्दा देखिने बाजुराको सब भन्दा ठूलो नदी बुढीगङ्गा, खप्तडको दृश्यले हेरिरहौँ लाग्छ ।

छेडेदहको पूर्वी छेउमा स्थानीय खापर देवताको मन्दिर छ । वर्षमा दुई पटक भदौ कृष्ण पक्षमा र पौष कृष्ण पक्षमा मेला लाग्छ । स्थानीय देउडाले मनोरञ्जन गर्नेको संख्या मनग्य हुन्छ । यसै गरी कार्तिक वाली र ज्येष्ठ वाली भित्र्याउँदा पनि पूजा हुन्छ । यस देवताको नाममा यी भक्तहरूले आफ्नो घरमा बस्तुभाउ फलोस् भनी गाई, भैँसी भाकल गर्ने चलन छ ।

सम्बन्धित समाचार