वेदीङलाई सगरमाथाको हिमआरोहीको गाउँ भनेर पनि चिनिन्छ । यहाँबाट ७५ जनाभन्दा बढीले सगरमाथा चुमिसकेका छन् ।
च्छो रोल्पा तालसँग सम्बन्धित आफ्नो मानसपटलमा रहेका सम्झनाका तारहरु छुँदा मात्र पनि म अझै झंकृत हुने गर्दछु । म सम्झिन्छु, कुनै बेला च्छो रोल्पा फुट्ने हल्लाले मुटु कपाउँथ्यो । अब भने त्यो डर हराएको छ । कटान गरेर पानीको निकास गरिएपछि त्यो डर हराएको हो ।
दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकामा पर्ने च्छोरोल्पा र दुधकुण्ड अहिले पर्यटकका लागि आकर्षणको बिन्दु बनेको छ । सर्वसाधारणबिच यसको लोकप्रियता दिनानुदिन बढिरहेको छ ।
च्छो रोल्पा जानेहरूलाई प्राकृतिक सुन्दरताले यसरी आकर्षित गर्छ कि मलाई एउटा सुझाव चाहिँ दिनै पर्छ जस्तो लाग्छ । च्छो रोल्पाको मन्त्रमुग्ध पार्ने सौन्दर्यमा हराउँदा आफूले बोकेर गएको निर्धारित समय फुत्किन सक्छ । वरपरका स्वर्गीय अनुभूतिलाई तस्विरमा कैद गर्दागर्दै दिन बितेको पत्तै हुँदैन ।
च्छो रोल्पा कसरी जाने ?
च्छो रोल्पा जान सजिलो छ । बाटो असहज पनि छैन । बाइक, जीप आदि व्यक्तिगत गाडी या सार्वजनिक यातायात प्रयोग गरेर च्छो रोल्पाको यात्रा सुरु गर्न सकिन्छ । सार्वजनिक यातायातका लागि चाबहिल या जडिबुटीबाट गाडी चढ्नु पर्छ, जसको लागि सम्बन्धित ठाउँमा बिहान ६ बजे पुगीसक्नुपर्छ ।
काठमाडौंबाट हिँडेको दिन सिमी गाउँ पुग्न सकिन्छ । काठमाडौं–चरिकोट (दोलखाको सदरमुकाम)को दुरी जम्मा १३२ किलोमिटर रहेको छ । त्यसपछि ६० किलोमिटर दुरी पार गरेपछि छ्योतछ्योत झरना आउँछ । काठमाडौंबाट छ्योतछ्योत झरना पुग्न करिब ८ घण्टा यात्रा गर्नुपर्छ ।
छ्योतछ्योत छाँगालाई मनमा र तस्विरमा कैद गर्दै झोलुङ्गे पुल पार गर्दै करिब २.५ घण्टाको पैदल यात्रा गरेपछी सिमीगाउँ पुगिन्छ, जहाँ पहिलो रात बिताउन उपयुक्त हुन्छ । तर, कसैलाई चरिकोटमा बास बस्ने इच्छा छ भने, त्यसो गर्दा पनि हुन्छ ।
यात्राको दोस्रो दिन क्याल्चे पुग्न सकिन्छ । तर, यात्राका दौरान देखिने प्राकृतिक अप्सराहरूसँग भने धेरै समय बिताउँदा, यात्रा लम्बिन सक्छ ।

छ्योतछ्योत छाँगा
सिमीगाउँ
छ्योतछ्योत छाँगो अवलोकन गरि झोलुङ्गे पुल पार गर्दै सिमीगाउँ पुगिन्छ । छ्योतछ्योत छाँगोपछि पैदल मार्ग हिँड्नु पर्ने हुन्छ । २१ सय मिटर उचाइमा रहेको सिमीगाउँसम्म अहिले फराकिलो र व्यवस्थित पैदल मार्ग निर्माण गरिएको छ । सिमीगाउँ पुग्नलाई ठाडै उकालो बाटो हिँड्नुपर्छ । ठाउँठाउँमा पिउने पानी र विश्रामस्थलको व्यवस्था छ ।
हरियो वनजंगल, चराचुरुङ्गीको चिरबिर-चिरबिर र खोलाको सुसेलीले हिँडाइलाई उमङ्गपूर्ण बनाउँछ । हिँड्दै जाँदा शरीर पसिनाले भिजे पनि मनोरम दृश्य र पहाडी चिसो हावाले शीतलता प्रदान गर्छ । पाइलाहरू जति माथि-माथि लम्किन थाल्छन्, दृश्यहरू उति नै मनोरम हुँदै जान्छन् । गाउँमा शेर्पा र तामाङ जातिको मात्र बसोबास छ । सिमीगाउँबाट गौरीशंकर हिमाल अवलोकन गर्न सकिन्छ ।
शेर्पा, तामाङको लुङताले सजिएका चिटिक्क घरहरू, पर्यटकहरू ओहोर दोहोर गरिरहने बाटाहरू, माने, चौतारा र हरियाली जङ्गलले गाउँको बसाई रमाइलो बनाइदिन्छ । पुरानो गुम्बा रहेको यस ठाउँमा गौरीशंकर संरक्षण क्षेत्रले होमस्टे राख्नका लागि पहल गरेको छ । सिजनमा स्वदेशी तथा विदेशी पर्यटकहरू यहाँ बास बसेर मात्र अघि बढ्ने गर्छन् । सिमीगाउँमा पुगेपछि फरक संसारमा आइपुगेको महसुस हुन्छ ।
सिमिगाउँबाट ३ घण्टाको पैदल यात्रा गरेपछी सुर्मुचे पुग्न सकिन्छ । जहाँ बिहानको खाना खान सकिन्छ । त्यसो त सिमी गाउँबाट साढे छ घण्टाको पैदल यात्रा गरेर डोङाङ पनि पुग्न सकिन्छ । र, थकाइ लागेको छैन भने डोङाङबाट पनि तीन घण्टा हिँडेर थांगदिन् पुगेर बास बस्न सकिन्छ । थांगदिन् मा १५/२० जनाको क्षमता रहेको २/३ होटेल रहेका छन् ।
सिमी गाउँमा भर्खरै स्वास्थ्य चौकी स्थापना भएको छ ।

सीमीगाउँ
सुर्मुचे
सिमीगाउँले पस्किएको बिहानको खाजापछी अघि बढेको यात्रा सुमुर्चेमा रोकिन्छ । हिँड्नुअघि आफूलाई दैनिक प्रयोगमा चाहिने सामानहरू मिलाएर झोला हलुङ्गो बनाउँदा उचित हुन्छ । अनावश्यक सामान बोकेर भारी गह्रुंगो बनाउँदा बोझ मात्र थपिन्छ । कहिले उकालो, कहिले तेस्रो बाटो हुँदै २४ सय ७० मिटरमा रहेको सुर्मुचेमा वसोबासको राम्रो व्यवस्था रहेको छ ।
करिब ३५ जनालाई सहजै वासको व्यवस्था गर्न सकिने सुर्मुचे होटेल एन्ड लज घना जङ्गलको बिचमा अवस्थित छ । यहाँ ठुला रिसोर्टहरूझैँ सुविधा पाउन सकिन्छ । वास बसियो भने भोलिपल्ट बिहानको नास्तापछि यहाँ भावी यात्राको बारेमा जानकारी दिइन्छ । यात्रा लेकको बाटोमा गरिने हुनाले पानी भने प्रशस्त पिउनु राम्रो हुन्छ ।
क्याल्चे
स-साना खोला र झरना अवलोकन गर्दै हिँड्दा, जङ्गलको यात्रा गर्दा थकाई स्वत: मेटिन्छ । खुला मौसममा हाँसीरहेका हिमालहरूसँग रम्न पाइन्छ । सुमुर्चेबाट दुई घण्टा हिँडेपछि २७६० मिटरमा रहेको क्याल्चेमा पुगेर थकाई मेटाउन सकिन्छ । यहाँ पनि खाना, खाजा र बासको राम्रो व्यवस्था छ ।
सुमुर्चे खुला ठाउँ भएकाले चारैतिर दृश्यावलोकन गर्न सकिन्छ । गौरीशंकर–९ ले यस क्षेत्रमा पर्यटक आकर्षित गर्न विभिन्न कार्यक्रमहरू अगाडि सारेको छ । यहाँ करिब १६ जना जति सहज तरिकाले वास बस्न सक्छन् । वासको व्यवस्था नमिले बाहिर खुला चौरमा ‘टेन्ट’ टाँगेर पनि बस्न सकिन्छ ।
डोङाङ
सुर्मुचे बस्नेहरू क्याल्चेमा दिउँसोको खाना खाएर वास बस्न डोङाङ पुग्न सक्छन् । या थांगदिन् या वेदीङ पुगेर पनि पर्यटकहरू बस्ने गर्छन् । खोलाको तिरमा रहेको यो सानो बजारमा होटेल तथा लजको राम्रो व्यवस्था छ । यो ठाउँमा च्छो रोल्पा जाँदै गर्नेहरू र फर्केकाहरूको भेट हुने गर्छ । नजिकै खोला भएकाले पर्यटकहरूले यस ठाउँलाई बढी रुचाउने गर्छन् ।
करिब ५० जना जतिलाई वासको व्यवस्था रहेको यस ठाउँमा ४/५ वटा सामान्य होटेल र लजहरू रहेका छन् ।

डोङाङ
वेदिङ
डोङाङबाट हिँडेकाहरू खोलानाला, झरना, चिमाल पार गर्दै चराचुरुङ्गीको मिठो धुन सुन्दै वेदिङ पुग्छन् । स्वच्छ वातवरण र यहाँको सुन्दरताले थकाइ महसुस हुन दिँदैन । कहिले उकालो, कहिले ओरालो यात्रा गर्दा पनि यात्राको कठिनाइलाई बिर्सिएर हिडरहुँ जस्तो लाग्छ । डोङाङबाट पाँच घण्टाको यात्रामा वेदिङ पुगिन्छ, थांगदिन्बाट भने तीन घण्टा लाग्छ । वेदिङ पुगेर त्यसदिन वास बस्न सकिन्छ ।
वेदिङमा थुप्रै होटेल तथा लजहरू रहेका छन् । ३७ सय मिटरमा रहेको वेदिङ प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यसलाई ‘सगरमाथाको हिमआरोहीको गाउँ’ भनेर समेत चिनिन्छ । यस ठाउँबाट ७५ जनाभन्दा बढीले सगरमाथा शिखर चुमिसकेका छन् । वेदिङमा काटमार वर्जित छ । साथै, जाँडरक्सी खाएर होहल्ला गर्न पनि पाइदैन । यहाँ गाउँलेहरू आफैँले बनाएको नियम काइदाको छ ।
यहाँ प्रसिद्ध सङ्गछोलिङ गुम्बा समेत रहेको छ । हरेक वर्ष असारमा ठुलो मेला लाग्ने यस ठाउँमा आउने पाहुनाहरूलाई स्थानीय नाच देखाउँदै स्वागत गरिन्छ ।
स्थानीय आफैँले बत्तीको व्यवस्था मात्र गरेका छैनन्, विद्यालय समेत स्थापना गरेका छन् । यहाँबाट लोभलाग्दो हिमश्रृङ्खला देख्न सकिन्छ । त्यसो त खाना चाहनेका लागि मेनु अनुसारको खानेकुराको व्यवस्था पनि छ तर, पर्यटकहरूलाई यस क्षेत्रमा पाइने अर्गानिक खानेकुराहरूले लोभ्याउँछ ।
असोज-कात्तिकमा यस क्षेत्रमा विदेशी पर्यटकहरू बढी आउने हुनाले होटेल पाउन मुस्किल हुनसक्छ ।

वेदिङ गाउँ
ना गाउँ
थांगदिन् वास बस्नेहरू बिहानको खाना वेदीङमा खाइसकेपछि हिमश्रृङखलाहरुको दृश्यावलोकन गर्दै बेलुकाको वासको लागि ना गाउँ पुग्छन् । वेदीङमा वास बसेकाहरू भने सोहि दिन ना गाउँमा खाना खाएर च्छोरोल्पा र दुधकुण्डको यात्रामा निस्किन सक्छन् । बाटैभरि डाँफे, मुनाल, घोरल हेर्दै यात्रा अघि बढ्छ । लामाहरूले कोरेका बुद्धका तस्बिरहरूले कुनै भिर, पाखा, ढुङ्गा खाली छैनन् । वरपरको वातवरणमा हराउँदा-हराउँदै थाहै नपाइ ना गाउँमा पुगिन्छ । ना गाउँमा होटलको राम्रो व्यवस्था भएकाले वासको लागि त्यति समस्या हुँदैन ।
रुख बिरुवा केही नभएको, चारैतिरबाट हिमालले घेरिएको, बारीहरू ढुङ्गाको गाह्रोले घेरिएको यस ठाउँमा पहिलो पटक पुग्ने पर्यटकले नयाँ अनुभूति पाउँछ । आकर्षक रूपमा ढुङ्गाले सजिएका घरहरूले मनै लोभ्याउँछ ।
यहाँका सम्म फाँटमा आलुबाहेक अरू खेती छैन । आलु यस गाउँको मुख्य बाली हो । यहाँका वासिन्दाले चौरी पालनबाट दूधजन्य पदार्थहरू घ्यू, छुर्पी आदि निर्यात समेत गर्ने गर्छन् । महिलाहरूले गलैँचा, राडी बुन्ने र निर्यात गर्ने गर्छन् । पुरुषहरू प्राय: हिमाल चढ्नेमै व्यस्त हुने हुनाले घरव्यवहार महिलाले धानेका छन्, यो हिमाली भेगको उल्लेखनीय सामाजिक पाटो हो ।
पुराना गुम्बाहरू प्रशस्तै भेटिने यस ठाउँमा पथप्रदर्शक पनि प्रशस्तै भेटिन्छन् । वेदीङबाट ना गाउँ हुँदै च्छो रोल्पा पुगेकाहरू फर्किएर ना गाउँमै वास बस्ने गर्छन् ।
ना गाउँबाट च्छो रोल्पा जाँदै गर्दै तासीलाप्चा पास पार गरेर नाम्चे बजार जाने एउटा पुरानो पदमार्ग देखिन्छ । यसलाई सगरमाथा जाने सजिलो र छोटो मार्गको रूपमा पनि लिइन्छ । यहि बाटो प्रयोग गरि विदेशी पर्यटकहरू सगरमाथा जाने गर्दछन् ।

ना गाउँ
च्छो रोल्पा
ना गाउँबाट करिब डेढ घण्टा हिँडेपछी एउटा झोलुङ्गे पूल आउँछ । पूल पार गरेपछि दुई बाटो आउँछन्, देब्रेतिरको बाटो दुधकुण्ड जान्छ भने दाहिने तिरको बाटो च्छोरोल्पातिर लाग्छ । दुधकुण्ड जान गाइडको आवश्यकता पर्छ भने च्छोरोल्पा जान गाइड चाहिदैन ।
दुधकुण्डबाट चाँदीझैँ टल्किरहेका हिमशृंखला देख्न सकिन्छ । ना गाउँबाट बिहान ५ बजे टर्चको उज्यालोमा हल्का खाजा र पानी बोकेर हिँडेपछि साढे तीन घण्टामा दुधकुण्ड पुग्न सकिन्छ । पर्यटकहरूका लागि दुधकुण्डमा टि-हाउस निर्माणको कार्य भइरहेको छ । दुधकुण्डबाट दुई घण्टामा च्छो रोल्पा पुग्न सकिन्छ, त्यहाँ पनि टि-हाउसको सुविधा छ ।

च्छोरोल्पा
च्छो रोल्पा धेरै पर्यटकहरूलाई आकर्षित गर्ने गन्तव्य हो । तर, दुधकुण्ड पुग्नेहरूको पनि सङ्ख्या बढ्दै गएको छ । ना गाउँबाट च्छो रोल्पा जानका लागि बिहान सबेरै हिँड्नुपर्छ । बाटो भरि नै तस्विर लिँदै हिँड्ने हो भने च्छो रोल्पा पुग्न ढिला हुन पनि सक्छ ।
च्छो रोल्पा पुग्ने बेलामा अलि उकालो हिँड्नुपर्छ । तर, अगाडीबाट हिमालले हात समाएर तानेपछि उक्लिन त्यती गाह्रो पनि नहोला । सेताम्मे हिमाल र ठाउँ-ठाउँमा देखिने चौरी गाईको नचाइले भोक, तिर्खा भुलाउने काम गर्छ । चिसो सिरेटोले थकाइको औषधीको काम गर्छ ।
तालमा पुगेपछी जिन्दगीमा सबै कुरा जितेझैँ महसुस हुन्छ । एकछिन्लाई साथीसंगी भुलिन्छ । मान्छेलाई आँखै चिम्लन पनि लोभ लाग्छ । ४५ सय मिटर उचाइमा रहेको च्छोरोल्पाको सुन्दरता शब्दमा बयान गर्न सकिँदैन । त्यसको अनुभव गर्नलाई उसैको काखमा पुग्नुपर्छ ।
च्छो रोल्पाबाट करिब तीन घण्टा सिधै उकालो हिँडेर पनि दूधकुण्ड पुगिन्छ । ५५ सय मिटर उचाइमा रहेको दूधकुण्ड चारैतिरबाट हिमालले घेरिएको छ । नामजस्तै सेताम्मे यो कुण्डमा महादेवको मन्दिर छ । जहाँ भदौ जनैपूर्णिमामा मेला लाग्छ ।

दुधकुन्ड
अब फर्कौँ ल !
च्छो रोल्पाबाट धेरै हिँड्ने मान्छेहरू वेदीङ आएर वास बस्न सक्छन् भने बिस्तारै फर्किनेहरू ना गाउँमा आएर बस्न सक्छन् । वेदीङबाट बिहानको खाजा खाएर हिँडेकाहरू डोङाङमा दिउँसो खाना खान आइपुग्छन् । खाना खाएर बेलैमा हिँडेको मान्छे साँझसम्म सिमी गाउँ पुग्छन् । यात्रा छोट्याउन समय भए छेतछेत आएर बस्नु सजिलो हुन्छ ।
सिमीगाउँ बस्ने मान्छे छेतछेतबाट गाडी चढ्न भोलीपल्ट बिहानै ४ बजे हिँड्नु पर्छ ।
ना गाउँ बस्ने मान्छे भने भोलीपल्ट बिहानै हिँडेर थांगदिनमा आएर खाना खान्छन् र हिँडाइ अनुसार डोङाङ/क्याल्चे या सुर्मुचे आएर बस्न सक्छन् । ती ठाउँमा बसेकाहरू भोलीपल्ट छेतछेत आएर बस्दा सजिलो हुन्छ । छेतछेत दिउँसै आईपुगेको खण्डमा त्यहाँ उपलब्ध बोलेरोमार्फत चरिकोटसम्म जान सकिन्छ । चरीकोटमा काठमाडौं जाने गाडी पाइरहन्छ ।
के-के लैजाने ?
खुट्टा मर्किदा लगाउने मलम, फस्ट एड औषधीहरू (लेक लाग्दा खाने औषधी, सिटामोल आदि) ट्रेकिङ पोल या छडी, टर्च लाइट, बलियो जुत्ता, आफूलाई मनपर्ने चकलेट-खाद्य या पेय पदार्थ साथमा बोकेर लैजाँदा यात्रा सजिलो हुन्छ ।
चिसोबाट जोगिन बाक्लो ज्याकेट र कम्तिमा ३ थान बाक्ला लुगा लैजानु उचित हुन्छ । साथै आफ्नो दैनिक उपभोगका सामानहरू पनि झोलामा राख्नुहोला ।
नेटवर्क कहाँ-कहाँ पाइन्छ ?
सिमीगाउँबाट जति माथी गयो, मोबाइल नेटवर्क हराउन थाल्छ । त्यसपछि ठाउँ-ठाउँमा (क्याल्चे) भेटिन्छ भने ठाउँ-ठाउँमा हराउँछ । बेदिङमा नेपाल टेलिकमको टावर भएकाले थाङदिनदेखि मास्तिर नेटवर्क राम्रो पाउन सकिन्छ । टूजी नेट पनि चल्छ । तर, ना गाउँ पुग्नु अगाडिदेखि नै नेटवर्क हराउँछ ।
(समग्रमा यो यात्रा हिँडाइ अनुसार ४ दिन देखि एक हप्ता सम्मको हुनसक्नेछ ।)