भुटानकाे पाराे भ्याली र चित्लाङ उपत्यका उस्तै-उस्तै पहाडकाे काखमा बसेका छन् । त्यसैले चित्लाङलाई भुटानको 'पारो भ्याली'सँग तुलना गर्ने गरेका छन् ।
चित्लाङ मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर ९ र १० मा पर्दछ । नेपालको सङ्घीय राजधानी काठमाडौं उपत्यकाको दक्षिण पश्चिममा चन्द्रागिरी डाँडाको काखमा अवस्थित सानो अनि सुन्दर उपत्यका चित्लाङ समुन्द्री सतहबाट एक हजार सात सय मिटरको उचाइमा रहेको छ । चारैतिरबाट हरियाली पहाड जङ्गलले घेरिएको चित्लाङ प्राकृतिक सुन्दरताले भरिपूर्ण छ नै । पहिले चित्लाङको नाम चित्रापुर थियो । चैत्य जाने बाटो भएकाले यसको नाम चैतलोङ रहन गएको थियो । पछि अपभ्रंश भएर चित्लाङ रहन गएको स्थानीयको भनाई छ । चित्लाङको उत्तरतर्फ चन्द्रागिरि डाँडा र दक्षिणतिर महाभारत रेन्ज छ । यो उपत्यका सांस्कृतिक एवम् ऐतिहासिक दृष्टिकोणले पनि त्यत्तिकै महत्त्वपूर्ण छ ।
चित्लाङको इतिहास र ऐतिहासिकता
चित्लाङ राजा अंशुवर्माले गोठालाहरूलाई उपहारमा दिएको गाउँ हो समेत भन्ने गरिन्छ । भुटानकाे पाराे भ्याली र चित्लाङ उपत्यका उस्तै-उस्तै पहाडकाे काखमा बसेका छन् । त्यसैले चित्लाङलाई भुटानको ‘पारो भ्याली’सँग तुलना गर्ने गरेका छन् । त्रिभुवन राजपथ सञ्चालनमा आउनुअघि चित्लाङ काठमाडौं उपत्यकाको प्रवेशद्वार थियो । राणा शासनकालसम्म मकवानपुरलाई मात्रै नभएर तराईलाई काठमाडौं उपत्यकासँग जोड्ने गोरेटो थियो, चित्लाङ । स्थानीयका अनुसार वि.सं. २०१२ सालसम्म निकै भीडभाड रहको चित्लाङ वि.सं.२०१३ सालमा त्रिभुवन राजपथ खुलेपछि सुनसान बनेको हो । झन्डै ६ दशक सुनसान एकान्तमा बसेको चित्लाङमा फेरि चहलपलह बढ्न थालेको छ । व्यवसायीहरूका अनुसार अहिले हप्तामा तीन हजारभन्दा बढी पर्यटक चित्लाङ पुग्छन् ।
नेपालकाे चित्लाङ र भुटानकाे पाराे भ्याली: उस्तै पहाडकाे काखमा
संस्कृति र इतिहासको अध्ययन गर्नेहरूका लागि महत्त्वपूर्ण गन्तव्य हो, चित्लाङ । यहाँ २३ सय वर्ष पुरानो यस गाउँमा लिच्छवीकालीन वास्तुकला र सम्पदा रहेका छन् ।
राणा प्रधानमन्त्री जङ्गबहादुर राणा बेलायत भ्रमणमा जाँदा यही बाटो भएर गएको इतिहासकारहरूको भनाइ रहेको छ । अर्का राणा प्रधानमन्त्री चन्द्रशमशेरले सिकार खेल्न जाँदा निर्माण गरेको पाहुना घर र दरबारहरूको भग्नावशेष पनि ती क्षेत्रमा रहेका छन् ।
भारतका सम्राट अशोक यही ठाउँहरूबाट काठमाडौं जाने–आउने क्रममा चित्लाङको चित्रापुर नगरको चिलङगा चैत्य निर्माण गरेका थिए, जुन चैत्य हाल संरक्षणविहीन अवस्थामा रहेको छ ।
अशोक चैत्य र किराँत राजाहरूले बनाएका तीन गजुरको मन्दिर, तलेजु भवानी मन्दिर र विभिन्न शिलालेख इतिहास अध्ययनकर्ताका लागि महत्त्वपूर्ण स्रोत हुन् ।
द्वापर युगमा सप्तऋषिहरुले नुहाउने सप्तश्री धारा पनि चित्लाङमा छ । त्यहाँको भालेबास डाँडोलाई भगवान् शिव मानेर पुज्ने गरिन्छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले १९९८ सालमा चित्लाङमै बसेर आफ्नो चर्चित ‘यात्री’ कविता लेखेका थिए भनिन्छ । जुन ढुङ्गामा देवकोटा पानी पिएर थकाइ मारेर बसेका थिए त्यही ढुङ्गा अझै त्यहीँ छ ।
संस्कृतिले धनी चित्लाङ
चित्लाङ प्राचीन सम्पदाले मात्र होइन, कला संस्कृतिले पनि धनी छ । विशेषतः चित्लाङ गाउँमा नेवाः समुदायभित्र पर्ने बलामीको पुर्ख्यौली वासस्थान मानिएको छ । यसका पछि क्रमशः तामाङ र क्षत्रीहरूको बसोबास रहेको छ । तामाङ समुदायको विशिष्ट संस्कृतिले त्यहाँ पुग्ने पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ ।
बलामीहरूले वैशाख पञ्चमीमा कुल देवताको पूजा गर्ने गर्छन् । बाह्रवर्षे भैरवनाथ जात्रा, भैरव तथा महादेव जात्रा, ५ सय वर्ष पुरानो कार्तिक नाच, खड्ग जात्रा र गोदावरी मेला चित्लाङका प्रसिद्ध पर्वहरू हुन् । यहाँ प्राय बाह्रै महिना कुनै न कुनै पर्व, मेला तथा जात्राहरू लागिरहेका हुन्छन् ।
पाहुनालाई गरिने स्वागत महसुस गर्न पनि चित्लाङ जानैपर्छ । चित्लाङवासीले आफ्नै सगुन र नास्पातीको लोकल रक्सीले स्वागत गर्दछन् । नासपती र मुला चित्लाङका विशेषता हुन् । नासपतीको जुसलाई मात्र फर्मेसन गरी बनाइएको वाइन पनि त्यहाँ पुगेर पिउन सकिन्छ । होमस्टे र रिसोर्टहरूमा मकैको पीठोको हलुवा, तारेको आलु, फापरको रोटी जस्ता अर्ग्यानिक खानेकुराहरू खान पाइन्छ । नजिकैको जङ्गल हेर्दै, खोलाको गीत सुन्दै, गाउँ घुम्दै, स्थानीय मठमन्दिर नियाल्दै, अर्ग्यानिक खानाको मजा लिँदै, चित्लाङमा रम्न सकिन्छ ।
हाइकिङको लागि उत्कृष्ट गन्तव्य चित्लाङ
चित्लाङ पुगेपछि पर्यटकलाई हाइकिङ गर्ने स्थल धेरै छन् । चित्लाङबाट कुलेखानीको इन्द्रसरोवर तालसम्म हाइकिङ गर्न सकिन्छ । विद्युत् आपूर्ति गर्दै आएको इन्द्र सरोवर ताल नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशय हो ।
यही सरोवरको पानीबाट कुलेखानीमा विद्युत् उत्पादन गरिन्छ । जलविद्युत् आयोजनाका लागि निर्मित यो सरोवर रमणीय पर्यटकीय क्षेत्रका रूपमा विकसित भएको छ । कुलेखानी अर्थात् इन्द्रसरोवरसम्म सडक यातायात पनि सञ्चालनमा छ । तर पनि चित्लाङ पुग्ने धेरै पर्यटक हाइकिङ गर्दै जान रुचाउँछन् । तालमा बोटिङ गर्न पनि पाइन्छ ।
त्यसैगरी चित्लाङको अर्को आकर्षण भेडा फार्म र नासपतीको बगैँचा हो । बगैँचा र भेडा फार्म अनि हरियाली खुला चौर मनमोहक देखिन्छ ।
चित्लाङ जाने बाटो छोट्टियो
काठमाडौँको कलङ्कीबाट २० किलोमिटरको दुरीमा रहेको चित्लाङ अब एक घण्टामै पुग्न सकिन्छ । पहिले काठमाडौँबाट दक्षिणकाली हुँदै करिब ३ घण्टाको यात्रा गरेर पुग्नुपर्ने चित्लाङ अहिले चन्द्रागिरिको मोटरबाटो खुलेपछि एक घण्टामै पुग्न सकिने भएको हो ।
काठमाडौँको थानकोट चेकपोस्टबाट चन्द्रागिरि हिल्स जाने बाटो हुँदै चित्लाङ पुग्न सकिन्छ । चेकपोस्टबाट १५ किलोमिटरको कच्ची बाटो पार गरेपछि चित्लाङ पुग्न सकिन्छ । चन्द्रागिरि डाँडा हुँदै चित्लाङ पुग्न चेकपोस्टबाट मात्रै ४५ मिनेटको मोटरसाइकल यात्रामा पुग्न सकिन्छ ।