बुधबार , साउन ९, २०८१

चुम भ्याली -‘जहाँ हिंसा निषेध छ’

गोर्खा जिल्लाको चुमनुब्री गाउँपालिकामा रहेको 'चुम भ्याली'मा पशु हत्या निषेध छ ।

image

चुम भ्याली गोरखा जिल्लाको पूर्व–उत्तर क्षेत्रमा पर्ने अति प्राचीन बौद्ध संस्कृति भएको उपत्यका हो । चुम शब्दको खास अर्थ हो ‘पूर्व ।’ यसलाई अहिंसा क्षेत्रको रूपमा पनि चिनिन्छ । गोरखाको चुमनुब्री गाउँपालिका-६ चुम्चेत र ७ छेकम्पार, दुई वडालाई एकमुष्टमा चुम उपत्यका भनिन्छ । करिब ८ सय घरधुरी रहेको चुम उपत्यकामा कहिल्यै पनि काटमार गरिँदैन ।

छेकम्पारलाई १९७७ सालमै अहिंसा क्षेत्र घोषणा गरिएको हो भने चुम्चेतलाई २०६९ सालमा । गाउँमा अहिंसा (स्याक्या) महोत्सव गरी चार किल्ला तोकी त्यस क्षेत्रभित्र हिंसाजन्य पाँच काम नगर्ने प्रतिबद्धता स्थानीयले जनाएका छन् । कुनै पनि जनावर काटमार नगर्ने, सिकार नखेल्ने, मह नकाढ्ने, डढेलो नलगाउने, मासुको प्रयोजनका लागि जीव एवं पंक्षीलाई अहिंसा क्षेत्रभित्र प्रवेश नगराउने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै, काम दिन नसक्ने गरी बुढो भएपछि पनि कुनै जनावरलाई नमार्ने वा मासु खाने व्यक्तिको हातमा नबेच्ने र चौँरीको बाच्छा नमार्ने प्रतिबद्धता पनि जनाइएको छ । चीनसँग सीमा जोडिएको यस गाउँको प्रहरी चौकीमा बस्ने प्रहरीहरूले समेत काटमार गर्न पाउँदैनन् । चुमभ्याली घुम्न जाने सयौँ विदेशी पर्यटकले पनि मासु खान पाउँदैनन् किनभने होटलहरु सबै शाकाहारी मात्रै छन् ।

यो क्षेत्रलाई जीवजन्तुको खुला सङ्ग्रहालय भन्दा हुन्छ । यहाँका जीव-जनावर र चराचुरुङ्गीको मानिससँग पारिवारिक सम्बन्ध छ । यो उपत्यकामा बुद्धको पञ्चशीलको मान्यता अनुसरण गरिएको छ ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिचान गरेका १०० वटा नयाँ पर्यटकीय गन्तव्यहरूमा गोरखा जिल्लाको चुमभ्यालीलाई छनोट गरेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने तयारी गर्दै गर्दा सरकारले चुमभ्यालीलाई छनौट गरिएको थियो ।

धार्मिक तथा सांस्कृतिक महत्त्व

चुम उपत्यकामा कुनै काटमार हुँदैन । यो उपत्यका अहिंसा क्षेत्र हो । वन्यजन्तुहरू पनि प्रशस्त देख्न पाइन्छ । त्यसैले यो उपत्यका एक खुल्ला सङ्ग्रहालय जस्तै लाग्छ । चुम उपत्यका धेरै वर्षदेखि अहिंसा क्षेत्र रहिआएको प्रमाणको रूपमा विक्रम संवत् १९७७ सालमा सालमा महागुरु गुरु अवतारी डुक्पा लामा सेराब दोर्जेको रोहबरमा अहिंसात्मक परम्परालाई पालन गर्ने गराउने प्रतिबद्धता जनाई ‘चुम निवासी आफ्नो धर्मकर्ममा तल्लीन रहिआएका छौँ’ भनी चुमबासीहरूले प्रतिबद्धता गरेका हस्तलिखित कागजात अझैसम्म सुरक्षित पाइन्छ । यहाँ ७०० वर्ष भन्दा प्राचीन गुम्बा छन् । यहाँको शान्तिप्रिय संस्कार र संस्कृति, बौद्ध धर्मसम्बन्धी प्राचीन मानी, कानी, छ्योर्तेन, चैत्य, स्मारक र तिब्बती संस्कृतिको अलग्गै महत्त्व छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप) का पर्यटन अधिकृत नरेन्द्र लामाले सो क्षेत्रको बारेमा शोधपत्र नै तयार गरेका छन् । उनकाअनुसार देशमा धर्मको सङ्कट परे सुरक्षित क्षेत्रको रूपमा सो स्थानलाई व्याख्या गरिएको छ । बुद्ध धर्मका गुरुले पनि सो क्षेत्रलाई ‘हिडन साईड’ अर्थात् लुकेर रहेको अनौठो स्थानको रूपमा व्याख्या गर्दै बुद्ध धर्ममा सङ्कट आएका बेला सबैभन्दा सुरक्षित आश्रय स्थानको रूपमा चिनाएका छन् ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरू

यहाँ बौद्ध समुदाय धेरै भएकाले बौद्ध भिक्षु-भिक्षुणीहरू पाइन्छन् । यही क्षेत्रमा विश्वकै सबैभन्दा पुरानो डेफु डोल्मा भिक्षुणी (आनी) गुम्बा रहेको छ । यो करिब ८२० वर्ष अघि स्थापना भएको बताइन्छ । स्थापना कालमा उक्त गुम्बामा करिब पाँच सय भिक्षुणीहरू बस्थे । त्यहाँ उनीहरूले दैनिक पूजा पाठसँगै बुद्ध धर्म सम्बन्धी अध्ययन पनि गर्थे । त्यस्तै यो क्षेत्रमा मु गुम्बा (भिक्षु), राचेन आनी (भिक्षुणी) गुम्बा, मिलारेपा गुफा लगायत अन्य गुम्बाहरू समेत पाइन्छन् । प्राकृतिक सौन्दर्य गणेश हिमाल १,२,३, ४,५, बौद्ध हिमाल र शृङ्गी हिमालले यो उपत्यका घेरिएको छ । याे हिमालहरूको दृष्यावलोकनको लागि पनि यो उपयुक्त क्षेत्र हो ।

जैविक विविधता

उक्त क्षेत्रको जङ्गलमा झारल, घोरल, कस्तुरी मृग, कालिज, डाँफे तथा मुनाल र फ्या (स्थानीय भाषामा मुसा भनिन्छ), लङ्गुर बाँदर जस्ता जीवजन्तु प्रचुर मात्रामा पाइन्छ । खुल्ला चिडियाखानाको रूपमा समेत चिनिएको सो क्षेत्रमा झारल नाउर कस्तुरी घर वरपर चरिरहेका हुन्छन् । मानिससँगै जङ्गली जनावर पनि खेलिरहेका हुन्छन् । मनासलु संरक्षण क्षेत्र भित्र पर्ने यो क्षेत्र खुल्ला चिडियाखानाको रूपमा समेत चिनिन्छ । यहाँका स्थानीयले दूध, दही, घ्यू, छुर्पीको लागि मात्रै पशुपालन गर्छन् । आफूले पालेको पशु अन्य कसैलाई मारकाटको लागि बिक्री गर्दैनन् ।

पर्यटन प्रवर्द्धन

नेपालमा कम प्रचार पाएको तर विश्वका पर्यटक माझ धेरै प्रचार भएको पर्यटकीय क्षेत्र हो ‘चुम भ्याली’ । यो क्षेत्र विक्रम सम्वत् १९७७ देखी पशुहिंसा रहित क्षेत्रको रूपमा विश्व परिचित हुँदै आएको छ । यो क्षेत्र अहिंसा क्षेत्र घोषणा भएको ९४ वर्ष पूरा भएको छ । उक्त क्षेत्रमा विगत एक शताब्दीदेखि पशु चौपाया तथा पंक्षीजन्य जातीलाई काटमार नगरिएको विश्वास गरिन्छ । तर प्रचारप्रसारको कमी हुँदा चुम भ्याली ओझेलमा परेको छ ।

कसरी पुग्ने ?

चुम उपत्यका गोरखा जिल्ला सदरमुकामदेखि उत्तर ५० कोष टाढा रहेको छ । गोरखा सदरमुकामबाट झन्डै ५ दिनको पैदल दूरीमा यो क्षेत्रमा पुगिन्छ ।

सम्बन्धित समाचार