शुक्रबार , मंग्सिर २३, २०७९

पर्यटक लोभ्याउँदै डाँफे-मुनाल पार्क

समुन्द्री सतहभन्दा करिब दुई हजार मिटर अग्लो डाँडामा बनेको पार्कबाट प्राकृतिक सुन्दरताका सबै रङ्गहरूको अवलोकन गर्न पाइन्छ । उत्तरमा दन्ते लहर झैँ मनोरम हिमशृङ्खला, हरियाली गगनचुम्बी पहाड अनि तँछाडमछाड गर्दै उभिरहेका थुम्काहरूको दृश्यावलोकन गर्न सकिन्छ ।

image

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका-२ स्थित वैकुण्ठ गाउँमाथिको डाँडामा अहिले दिनहुँ पर्यटकहरूको चहलपहल देखिन थालेको छ । डाँडामा डाँफे-मुनाल पार्क र गुरु रिम्पोछेको मूर्ति स्थापना भएसँगै पर्यटकहरू पुग्न थालेका हुन् । वैकुण्ठको दुर्सागङ (चिहान डाँडा) भनेर चिनिने महाभारत पर्वत रेन्जमा पर्ने डाँडा अहिले डाँफे-मुनाल पार्कको नामबाट पर्यटकमाझ चिनिन थालेको छ ।

समुन्द्री सतहभन्दा करिब दुई हजार मिटर अग्लो डाँडामा बनेको पार्कबाट प्राकृतिक सुन्दरताका सबै रङ्गहरूको अवलोकन गर्न पाइन्छ । उत्तरमा दन्तेलहर झैँ मनोरम हिमशृङ्खला, हरियाली गगनचुम्बी पहाड अनि तँछाडमछाड गर्दै उभिरहेका थुम्काहरूको दृश्यावलोकन गर्न सकिन्छ । दक्षिणमा महाभारत र चुरे पर्वत शृङ्खलाका अग्ला होचा पहाडहरू देखि तराईका लमतन्न परेका फाँट अनि बजारहरूलाई अवलोकन गर्न पाइन्छ । मकवानपुर र धादिङका थुप्रै सुन्दर गाउँ बस्तीहरूलाई पनि नियाल्न सकिन्छ ।

यो डाँडा धादिङको ब्रोम्दीङ गाउँसँगै जोडिएको छ । पार्कमा पुग्ने पर्यटकहरू ब्रोम्दीङ गाउँ नघुमी फर्किँदैनन् । धादिङको बेनीघाट रोराङ गाउँपालिका १ मा पर्ने ब्रोम्दीङ डाँडा र डाँडामा अवस्थित गाउँमा पुग्दा मुस्ताङको झल्को दिन्छ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी बजारबाट २८ किलोमिटरको दुरी पार गरेपछि यो सुन्दर डाँडामा पुग्न सकिन्छ । गजुरी बजार काठमाडौंबाट ६० किमीको दुरीमा रहेको छ । काठमाडौंको चन्द्रागिरि, मकवानपुरको चित्लाङ, टिस्टुङ, पालुङ हुँदै जान पनि सकिन्छ । त्यसैगरी धादिङको नौबिसे खानीखोलाबाट त्रिभुवन राजपथ हुँदै पालुङ निस्केर पनि जान सकिन्छ । पालुङबाट डाँडेबास, चामाखर्क, डाँडाखर्क, खोलाखर्क हुँदै वैकुण्ठ पुग्न सकिन्छ । वैकुण्ठ गाउँसम्म नियमित बस सञ्चालन हुन्छ । दुई पाङ्ग्रे सवारी साधनमा जाँदा थप रमाइलो हुन्छ ।

तस्बिरहरू:

पार्कबाट देखिएकाे धादिङकाे सुन्दरनागी, बासखर्क, थमभन्ज्याङ, नाङ्गी गाउँ अनि माछापुच्छ्रे हिमाल ।

धादिङ बेनीघाट राेराङ १ का गाउँहरू जरूङ, सिम्टार, लवाङ । तल सेताे कुहिराेभित्र मलेखु बजार । अन्नपूर्ण हिमश्रृङ्खला । 

पार्कसँगै गुरु रिम्पाेछेकाे मूर्ति । पुष्ठभूमिमा माछापुच्छ्रेसहित अन्नपूर्ण हिमश्रृङ्खला ।

पृष्ठभूमिमा धादिङकाे ब्राेम्दीङ डाँडा र गाउँ ।

सम्बन्धित समाचार