शुक्रबार , अषोज १४, २०७९

भक्तप्रसाद भ्यागुतो : नेपालीलाई नेपाल डुलाउने पथप्रदर्शक

भक्तप्रसाद भ्यागुतो नेपाल घुमिरहेको छ, मतलब यो होइन कि ऊ बन्जी जम्प हानिरहेको छ या 'फेवा तालमा साइली' गाउँदै टिकटक बनाइरहेको छ । यात्राको क्रममा आइपर्ने स्वाभाविक हर्षोल्लासमा रमाइरहँदा नेपालको पारिस्थितिक प्रणाली, वातावरणीय स्वरूप, इतिहास, मौसम, संस्कृति हाम्रोसामू राखिरहेको छ ।

image

वि.सं. २०५४ सालमा प्रकाशित धूमधामको घुमघाम नामक बालोपन्यासको १२औँ छपाइ भइसकेको छ । १३ औँ छपाइ कथाघेराले गरिरहेको छ । भन्नु परोइन्, बालोपन्यास कनकमणि दीक्षितले लेखका हुन् । ‘एड्भेन्चर्स अफ अ नेपाली फ्रग’ को नेपाली अनुवादको नाट्य रूपान्तरण आयूष निरौलाको रहेको छ । निर्देशक आकाङ्क्षा कार्की हुन् । दर्शक/पाठक तपाईँ-हामी हौँ, हाम्रा बालबालिका हुन् ।

याद रहोस्- बालबालिका हुन् । नाटकघर बालिका देख्न नपाउँडा मन साँचो कुडिएको छ । ‘अघिल्लो दिनतिर थिए’, ऋषिकेश भन्दै थिए । म मुन्टो हल्लाएर ‘हो र गर्दै थिएँ ?’ पूर्णिमा, मन्जु र अजय चियाको सुर्को निल्दै थिए  ।

***

भक्तप्रसाद भ्यागुतोको नेपाल यात्राको वृत्तान्तमा दीक्षितको भोगाइको धेरै पाटो परेको छ, यो कुरा दीक्षितले पुस्तकको भूमिकामा नै उल्लेख गरेका छन्- “भक्तप्रसाद एउटा काल्पनिक चरित्र भए पनि उसले घुमेका धेरैजसो ठाउँहरूमा म आफैँ पुगेको छु ।”

कार्की र निरौलासँग यसपटक भेट नजुरेकाले यी कलाकारद्वयहरूको नेपाल यात्रा (धूमधामको घुमघाम) को इतिवृत्त मैले जान्न पाइनँ । भेट हुँदो हो त सोध्ने थिएँ, “तराइको गाडा तान्ने बयल मुसार्नुभएको छ ? जुफालको भिरालो हवाई-अड्डाबाट ट्विनअटर जहाजबाट उड्नुभएको छ ? मुस्ताङको सीमावर्ती चाङथाङ पुग्नुभएको हो ?” जहाँसम्म नाटक हेरिसकेपश्चातको मेरो मनोभाव छ, बक्सिङ थिएटरको साँघुरो परिधिभित्र पनि नाटक गतिशील बन्न पुगेको छ, नाटकलाई यात्रारत हुन् पुगेको छ । अलि अगाडि घिमिरे युवराजले ‘हिउँको पृथ्वी यात्रा’लाई यसैप्रकार गतिशीलता प्रदान गरेका थिए । सुजीत बिडारीकृत ‘ऐना झ्यालको पुतली’मा पनि यो काम देखेको हूँ ।

हिँड्नु स्वास्थ्यका लागि लाभदायक छँदै छ, त्यसअलावा सामाजिक विकास, व्यक्तित्व विकास र जाँगर विकासका लागि पनि स्वास्थ्यप्रदायक छ । मञ्जुश्रीले काटेको (कृष्णभक्त रिसाउलान्, कृष्ण पनि है त) पोखरीमा बस्नेहरू हिँड्न छाडेका थिएनन्, हिँड्थे । डोरबहादुर विष्टको सोतला यसकुराको खँदिलो प्रमाण हो, टोनी हेगनका युट्युबका भिडियो साक्षी छँदै छन् । सर्वविदित कुरा हो- ‘काठमाडौँ खाल्डो व्यापारिक थलो हो, नेपाल आफैँमा हिँड्नेहरूको देश हो ।’ कथित सुखमैत्री शहरीकरणको प्रभाव, पछिल्लो सञ्चार एवं यातायात प्रविधिको उन्नति र जुका मनोवृत्तिको विकासका कारण हिँड्ने जरुरत कम भयो, अभ्यास गरिन छाडियो । पैदलमार्ग पुरेर सडक मार्ग विस्तार गरिए, ‘टान’ जिल्लराम छँदै छ । आजभोलि पर्सनल ब्लगका लागि हिँड्नेहरू र यात्रा-निबन्धकारहरूको व्यक्तिगत भ्रमण बाहेक हिँडिरहेका मनुवाहरू देख्न पाइन्न । इन्द्रजात्राका दिन लिङ्गो क्रेनले घिसारेर ल्याइएको इतिहास त नाकैमुनिको हिजोको हो ।

नदीनालाहरू नै उफ्रिउफ्री मान्छेसम्म आई पुगिरहेछन्, हिउँ कोट्याउने र तालतलैया चुम्नेहरू कम भइगए । पुतली हेर्न जीपमा जाने चलन कायममुकायम छँदै छ । ‘टाढैबाट हिमाल राम्रो देखिन्छ’ भन्दै हिमाललाई सजावटको वस्तु बनाई बस्ने सांस्कृतिक विरासत हाम्रै हो । यो वित्यासलाई, यो अत्यासलाई नाटकले समाएको छ । यसकारण पनि अल्छीहरूका लागि यो नाटक फलदायक छ । ३०० को टिकटमा इचंगु-चितवन-पोखरा-मुस्ताङ- लोमान्थाङ पुग्न पाउनु भनेको साह्रो मनपसन्द कुरा हो ।

अब नाटकका विषयवस्तुमा आऊ;

मिझोरपश्चात् लुप्तप्राय: भएका प्रसन्न घिमिरे दाजू फोनकलमा भन्छन्, “यस किताबले नेपाल चिनाउँछ, चिन्न प्रेरित गर्दछ । पछिल्लो बाल हुर्काइको मनोसामाजिक अवस्था नियालिरहँदा त स्कुले बच्चाबच्चीहरूले यो किताब पढ्नु नै पर्दछ । सायद नाटक पनि त्यसैले मञ्चन भयो होला ।”

उनको कुरा ठीक हो- हामी बालबालिकाका कुराकानी नसुन्ने अटेरी अभिभावक भइरहेका छौँ, फलत: बालबालिकामा पनि हाम्रो स्वभाव देखिँदै छ । कुनै घुर्माइलो बिहान अब्बल फिल्मकार मनोज पण्डित उजामा क्याफेको बार्दलीमा मसँग भन्दै थिए, “हामी कल्पनाशील हुन् छोड्यौँ । अह्राएको गर्ने र रुटिनमा दैनिकी चलाउनु शहरगत आचरण भयो । यो प्रभाव ग्रामीण परिवेशमा पनि परिरहेको छ । यसले बालमनोविज्ञान सोत्तर पारेको छ यार..।”

कलाप्रेमीद्वयको यो चिन्ता नाटकका प्रस्तुत भएको देख्न पाइन्छ । यात्रा नगर्ने बित्तिकै लोककथाहरू खुम्चिदा रहेछन् । लोककथा सुनाउनेहरू बुढ्यौली कायाहरू आँखाबाट आँसु बगाउँदै ‘भद्रगोल र हिन्दी सिरियल हेर्दै थोते दाँत देखाइरहेका छन् ।” म आफ्नै हजुरआमासँग लोककथा सुनेर हुर्किएको तर, यतिखेर उहाँ मलाई ‘पाडेको गाउँबारे’ सोध्नेगर्नुहुन्छ । उहाँको एउटा कथामा फर्सी फुट्थ्यो र बियाँहरू मान्छेको रूपमा अवतरित हुन्थे । तिनको छुट्टै राज्य हुन्थ्यो । राजकुमारको प्रेम प्रसंग क्या रोचक थियो । अब ती दिन गए, आउँदैनन् क्यारे !

अर्कोतर्फ, लोककथा सुनाउने हजुरआमा र सुन्ने नातिनातिनाको भेट मुस्किल भएको छ । रेडियो बज्नै छाडिगए । ‘तेरो अनलाइन पोर्टलमा जागिर छैन” भनेर सोध्ने रेडियोकर्मीहरूसँग एउटा रेडियोनाटक गरौँ न  भनेको पनि कथा भइगएको छ । टिभी हेर्ने बालबालिकाहरूको युट्युबतिर बढोत्तरी (बसाइसराइ?) भएको छ । कल्पनाशीलता त ‘गई भाँडमा ।’ दुनियाँमा जेजे छ, काँचको स्क्रिनमै छ । नेपालमा जेजति छ, मोबाइलमै छ । कार्टुन हेरेर फुर्सद पाए  न बालबालिकाले बालसाहित्यका पुस्तक पल्टाउँदा हुन् । टिकटकबाट फुर्सद पाए न अभिभावक बालोपन्यास किन्न पुस्तकघरसम्म पुग्दा हुन् । यसप्रकार सबकुरा भताङभुतुङ भएको छ, छ्यालब्याल भएको छ । ‘माछा-माछा भ्यागुता’ भएको छ । बर्बाद भएको छ । हरितन्नम भएको छ । लोदर भएको छ । सम्झिल्याउँदा ‘हाइ’ आउँछ । गर्दीम ! कसको के जान्छ ? गर्दीम हाउ !

धेरै लामो भो.. ! मुख च्यात्न छोड्नुस् । केही कुरा गर्नुपर्ने भएको छ । सुन्नुस् !

पठन संस्कृतिको विकासको क्रममा ‘सिकाइ संस्कृति’ मूलभूत रूपमा जोडिएर आउने कुरा हो । विद्यालयहरूमा बालबालिकालाई पढाइन्छ, तर सिकाइँदैन । ‘नयाँ पाठ्यक्रम घातक छ है’ भनेर २० को दशकतिरै नरहरि आचार्यहरू बोलेका रहेछन्, मृगस्थलीको पुस्तकालयतिर बरालिरहँदा उनका पुस्तकहरूमा म यो कुरा भेट्दछु । विद्यार्थीको उत्तरपुस्तिकालाई सर्वस्व मान्दा उसको  सीप र क्षमता मूल्याङ्कन नै हुन् पाएन । धार्मिक ग्रन्थहरूको हस्तान्तरण, संरक्षण र कर्मकाण्डको निरन्तरतामा ‘चीउडो कन्याईरहेको’ विश्वविद्यालयहरूले सिर्जनात्मकता, प्रश्न र आलोचना त पोलेर खाइगए । फलतः प्लस टू पछि विद्यार्थीहरू नेपाल भित्रिरहेका परदेशी चराहरूसँग ठोक्किने गरी पल्लो आकाशतिर उचालिए, उचालिइरहेछन् । पढाइ र सिकाइबिचको भिन्नता विश्वविद्यालय नबुझेपश्चात् साहित्य अगाडि सर्‍यो, तर बजारीकरणको मारमा बालसाहित्यले खुट्टा हाल्ने ठाउँ पाएको छैन । दीक्षितजस्ता निकै कम लेखक छन्, धूमधामको घुमघाम जस्ता निकै कम पुस्तक छन्, कथाघेराजस्ता निकै कम थिएटर छन्; जो यस पछिल्लो वस्तुस्थितिलाई बुझ्दछन् । यसकारण उनीहरूलाई धन्यवाद नदिई मनले धर मान्दैन । धन्यवाद !

***

दीक्षितद्वारा गरिएको भक्तप्रसाद भ्यागुतोको चरित्र चित्रण लोभलाग्दो छ, जसलाई नाटकले पनि समात्न सकेको छ । पानी र जमिन दुवैतिर बस्ने मांसाहारी जीव भ्यागुतो मानव सभ्यतासँग अलि टाँसिएको जीव हो । खेतबारी, खोलानदी, बाटोघाटोमा देखिरहने यस जीवका विभिन्न लोककथाहरू पनि प्रचलित छन् । दीक्षितद्वारा लिखित यस कथाले लोककथाकै रूप लिन खोजिरहेको छ, तेह्रौँ छपाइले लोकप्रियता नै जनाइरहेको छ । र, मेरो अनुमान छ- ‘लोककथा बनिनुको पूर्वसर्त लोकप्रियता हो ।’ नाटकको हकमा पनि यो कुरा लागि होइजान्छ नै । कथाघेराका पछिल्ला नाटकहरूको उपस्थिति मननयोग्य छ, बस् यत्ति हो – मात नचढोस् ।

भ्यागुताको बारे थोरै कुरा नगरीकन मनै मानिरहेको छैन । भन्नुस् ‘ट्वार ट्वार..’ नगरी हुँदै भएको छैन । गरौँ ?

ट्वार ट्वार..- यो पक्का कुरा छ कि, भ्यागुताको सामाजिक, आर्थिक, सांस्कृतिक र वातावरणीय महत्त्व छ । खाद्य चक्रको मध्यभाग रहने भ्यागुतो पारिस्थितिक प्रणाली सन्तुलन राख्न ट्वारट्वाराइरहन्छ । कीरा, फट्याङ्ग्राको सङ्ख्या नियन्त्रण गरेर मानवलाई गुण लगाएकाले हुनुपर्दछ मानिसले भ्यागुताको बिहे गर्दिएको छ । गुँपुन्हीका अवसरमा वर्षा गराउन सहयोग गर्ने र बच्चा खाएर हत्तु पारिरहेको घण्टाकर्ण नामको राक्षसलाई हिलोमा दबाएर मारेको बताएर खोकनाको नेवा: समुदाय भ्यागुतोलाई पूजा गरिरहेको छ । डेंगीबाट आकुलव्याकुल मानव समुदायले लामखुट्टे मार्न बजारले दिलाएको अनेक उपाय गर्दछ तर, भ्यागुतो बचाऊँ भनेर सोच्दैन । टुकुचा गायब पार्नेहरूले हिलो जोगाउने र हिलोमा भ्यागुतो जोगाउने कुरा गरेको सुहाउँदैन पनि । तर, उनीहरूलाई थाहा हुनुपर्दछ- लामखुट्टे नियन्त्रणको अचुक ओखती भ्यागुतो हो । तर, पछिल्लो राजनीतिक रीतिरिवाज काँचुली फेरिराख्न माहिर होइदिँदा भ्यागुतो मासियो नै । छोरा-छोरी पुस्ताले जुनकिरीको चाक बलेको देख्न नपाउने स्थिति सृजना भइरहँदा कुन्नि कुन टन्टो आइपरेर हो कथाघेराले यो नाटकलाई टेकु दोभान नजिकै मञ्चन गरेछ ! निरौला-कार्कीसँग भेट नभएकाले यो जिज्ञासा पनि मुल्तबीमै रह्यो ।

अध्ययनहरू भन्छन्, विश्वभरि करिब आधा भ्यागुताका प्रजाति सङ्कटापन्न छन् । जलवायु परिवर्तन, जलप्रदूषण, वासस्थानको विनाश, भू-उपभोगमा परिवर्तन, कीटनाशक औषधि मूलभूत कारण भएको तिनले औँल्याएका छन् । यस्तोमा संसारकै ‘वान एन्ड ओन्ली’ भक्तप्रसाद भ्यागुतोलाई जोगाउने अभिभारा हामीकन आइपुगेको छ । दीक्षित र कथाघेराले त्यो काम गरिसकेका छन् । गर्छौं नी ?

***

मलाई थाहा थियो- तपाईँ यसै मान्नुहुँदैन । ‘नाथे, भ्यागुतो त हो.. ,किन जोगाउने ?’ तपाईँ भन्दै हुनुहुन्छ ।  किन जोगाउने, म भन्छु नि ।

भक्तप्रसाद भ्यागुतो नेपाल घुमिरहेको छ, मतलब यो होइन कि ऊ बन्जी जम्प हानिरहेको छ या ‘फेवा तालमा साइली’ गाउँदै टिकटक बनाइरहेको छ । यात्राको क्रममा आइपर्ने स्वाभाविक हर्षोल्लासमा ऊ रमाएको छँदैछ, उफ्रिने, नाच्ने र गाउने गरिरहेकै छ । त्यसअलावा ऊ नेपालको पारिस्थितिक प्रणाली, वातावरणीय स्वरूप, इतिहास, मौसम संस्कृति हाम्रोसामू राखिरहेको छ । कला, साहित्य, संस्कृति र इतिहास नै कुनै पनि देशको व्यक्तित्त्व हो, त्यसलाई पुष्टाउने काम भक्तप्रसाद जस्ता सीमित भ्यागुताहरूले गर्छन्, बाँकी धानखेतमै ट्वारट्वाराइरहन्छन् । लोकपरम्परागत संस्कृतिको मर्यादा र मर्म बुझ्नु यात्राको धर्म हो, सो धर्म भक्तप्रसादले निभाएको छ । कसरी भने उसले संजाका बहुपक्षीय चारित्रिक गुण र दोषहरूको अध्ययन र मूल्यांकन गर्न सकेको छ । पछिल्लो सामायकीसँग ऊ कतै-कतै छुट्यो कि भन्ने भान चाहिँ हुन्छ, प्रसंगअनुरुप तल आउने नै छ;

१. काठमाडौंको इचङ्गुको धानखेतमै चेपागाँडा अवस्था पार गरेर लक्काजवान भइसकेको ऊ आफ्नो हजुरबाउ बुद्धिप्रसाद (ऋषिकेश) सँग ‘आफ्नो जीवनको कुनै उद्देश्य भएको र, त्यो भेटेरै छाड्ने जिद कसेर नेपाल भ्रमणमा निस्किन्छ । वैष्णव सम्प्रदायको मूल थलोकोको रूपमा रहेको इचङ्गुनारायणमा हुर्केबढेको एउटा ठिटो भ्यागुतोले लोमान्थाङ पुगेर बौद्ध भिक्षुणीबाट जीवनदर्शनका विभिन्न कुराहरू सिक्दछ, यो कुरा मलाई कम्ता मन परेको छैन । विष्णु र बौद्धको पौराणिक लडाइँमा होच्चिएका अग्निदेव यो यात्रालाई कसरी हेर्दा हुन् कुन्नि ?

२. लेखकले मेन्सन गरेका गुजमुज्ज परेका झिँगटीका घरहरू, मन्दिरका गजुर र अग्ला दरबारका बुर्जाहरू आजभोलि देख्न मुस्किल छ, यसकारण नाटकले पार्श्वचित्रको सहायता लिएर काठमाडौंको पछिल्लो होहल्ला आफ्नै पाराले देखाएको छ । नवीनचन्द्रजी’ले यस दृश्यमा निभाएको भूमिका काबिल-ए-तारिफ छ । धानखेतबाट निस्किएको भक्तप्रसाद शहरको होहल्लामा जसप्रकार च्यापिन्छ, दबारिन्छ र चिथोरिन्छ; त्यो दृश्य मनमा सियो बनेर बसेको छ । लेखिरहँदा च्वास्स घोच्यो । आत्थो !

३. नाली खोतलिरहेको कुकुरले सातो लिइदिएपश्चात् नदीको बाटो हुँदै तराइ झर्ने निधोमा पुगेको भक्तप्रसादको यो प्रसङ्ग उल्लेखनीय छ । विष्णुमती र बागमती टेकु दोभानमै मिसिए । मुसलधारे पानीका कारण बढेको नदीको बहावमा घच्ची खाँदै भक्तप्रसाद तराइ पुग्छ । यस दृश्यलाई देखाउन प्रयोग गरिएको प्रप्स संयोजन मन परेको कुरा छ । तराइमा पुगेपश्चात् उसको गोरु (बयलदाइ) सँग भेट हुन्छ । नेपाल दर्शनका क्रममा तराइ झरेको सुनेर गोरुले पनि तराईको सविस्तार वरण गर्दछ । गेयात्मक पारामा गरिएको तराई वर्णनले कान र मन खुसी हुन्छन् ।

तराइ पुगेपश्चात् उसले जङ्गल देख्छ । ‘जङ्गल त आफूले काठमाडौँ पनि देखेको तर त्यहाँ पर्खाल लगाइएकाले भित्र जान नपाएको’ बताइरहँदा चाहिँ मन कटक्क हुन्छ । नारायण ढकालले प्रेतकल्पमा वर्णन गरेको ‘शिवपुरी जंगलगाथा’ ‘झल..झलीमा आँखामा हुन्छ’ । अनि ‘सम्झी रुनु रुनु’ हुन्छ । क्या अर्नु, ‘शिवपुरीलाई शान्त रहन दिऊँ’ भनेर तीर्थराज श्रेष्ठहरू बोलिरहे पनि सुन्दिने कोही भएन । नागी गुम्बा, पाँचतारे होटेल र ओशो तपोवन मस्तराम भइबसेका छन् । दिल्लगीबाज होइबसेका छन् । घोर विरोधाभास !  आजभोलि यस्ता जङ्गलहरूमा पर्खाल मात्रै होइनन्, गेट पाले पनि छन् । र, काठमाडौँको जङ्गल पैदलयात्रीका निमित्त घण्टाको हिसाबमा किनबेच भइरहेको छ । पैदलयात्री किनिएको समयमा प्लास्टिक थुपारेर, उफर बजाएर पुतलीदेखि चरासम्मको सातो लिइरहेका छन् ।  दुख्छ । ऐया..!

तराईको हाल म उत्ति जान्दिनँ । भन्नुस् न, मेरोमा भाग्यमा टिनमा बसेर विष्णुमतीमा हेलिने सौभाग्य प्राप्त भएको छैन । तर, मेरो अध्ययन बताउँदछ, ‘ढुङ्गा, गिट्टी, बालुवा निर्यात प्रकरणले तराइलाई सक्दैछ ।” दुख्छ । ऐया..!

४. लेखकले मेन्सन गरेको ‘शाही चितवन राष्ट्रिय निकुञ्ज’मा जसप्रकार रानी बघिनीको आगमन हुन्छ, त्यो अलि विरोधाभासपूर्ण छ । जङ्गलको रानी बघिनीले आफूहरूलाई जोगाउन आवश्यक रहेको बताइरहँदा म पछिल्लो बाघ सङ्ख्या सम्झँदै थिए । दीक्षितले लेख्दाताका बाघको सङ्ख्या जोगाउनु पर्ने नै थियो तर, यतिखेर कथाघेराले बाघको सङ्ख्या  बढाउनु आवश्यक छ भने उद्घोष गर्नु अलि आवश्यक थिएन । बढीमा ४५० वटा मात्रै बाघ धान्न सक्ने नेपालले ३५० बाघ जुटाइसकेको छ । यदि यही अनुपातमा बाघ संरक्षणका लागि आर्थिक एवम् वैचारिक जोहो गरिरहने हो भने बाघ-मानव द्वन्द्वले गाह्रो पार्नेछ । यस प्रसङ्गलाई समेट्ने कुरामा नाटक चिप्लियो भन्ने मेरो भनाई छ ।

यहाँनेर ‘सामुदायिक वन सुशासनको बहुआयामिकता’का विषयमा नाटकले बोल्दिएको भए पालिका-सङ्घको वैचारिक मतभेदले टेको पाउने थियो । यस अलावा बघिनीमार्फत वातावरणमाथि मानव हुकुमियतको सवाल (चारकोसे झाडी मासिएको प्रसङ्ग) मा गरिएका कुराकानीहरू मननयोग्य छन् । राप्ति नदी किनारमा गरिएका यी कुराकानी विचारणीय छन् । यैनेर हात्ती चढ्ने र चढाउने प्रसङ्गमा हात्तीमाथिको मानव अत्याचारलाई उजिल्याइएको छ । घडियाल गोहीले आहार नपाइरहेको कथा-व्यथाले घोच्छ । घोच्यो..आत्थो !

५. फूलमाया दिदीको ट्रकमा बसेर पोखरासम्म पुगेको भक्तप्रसादले उपहारमा एउटा टोपी पाउँछ । ‘ट्रकमा हिँड्दा जाडो हुन्छ, तिम्रो कपडा छ कि छैन’ भनेर ट्रक चालक फूलमाया दिलाएको सद्भावमाथि भने प्रश्न उठाउने ठाउँ छ । नाटक र लेखक दुवैले यसलाई विचारेका छैनन् । ‘कुनै पनि जनावरलाई उसको प्राकृतिक अवस्थामै छाड्दिनुपर्दछ’ भन्ने मान्यता छ । लुगा ल्याइदिन थाल्दा बेसी रोमान्टीसिजम हुन्छ, आजभोलि नवाजुद्दीन सिद्दिकीको बोलवाला छ, यस्तोमा यसो नगरेकै राम्रो हो क्यारे ! फेरी,  मानवीयताको सवालमा यो एक उदाहरणीय घटना हो । यसलाई जसप्रकार लिँदा पनि होइजाने देखियो ।

बरु फेवाताललाई ‘महासागर’ भन्दै उफ्रिरहेको भक्तप्रसादको चिच्याहट साह्रो कलात्मक प्रतीत हुन्छ । आँगनमा र्‍याल चुहाउँदै घस्रिरहेको चिप्ले किरा, गमलामा टाँसिएको शंखेकिरा,  भ्यागुताको एकनासे ट्वारट्वार, झ्याउँकिरीको झ्याउँझ्याउँ, पिलपिल बत्ती बाल्दै अँध्यारो रातमा डुल्दै गरेकी जुनकिरी शहरमा देख्न मुस्किल भइरहँदा यो चिच्याहटले साह्रो रमाएँ । तर, मलाई झटपट सम्झना हुन्छ- “फेवातालमा दिनभर डुबुल्की मारेर होटेलमा फर्किएर चिया खाइरहँदा ‘फेवातालमा गु भेटिएको’ समाचार पढेर हत्त न पत्त नुहाउन छिरेको दुई वर्षअगाडिको आफैँलाई ।” अनि बिरक्तिएर आउँछु । भक्तप्रसाद हाम्फ्यालेको त्यो फेवा खोइ ? अलौकिक कथाको मुग्धता रम्न सक्दिन । कटक्क काटिन्छ..मन । अरेरे..! फेवाताल अतिक्रमणको कुरा त नाटकले बोल्दै बोलेन नि ? किन बोलेन हँ ? कार्की-निरौलासँग यो प्रश्न पनि सोध्न बाँकी नै छ ।

६. यता, सिमसार र पानी’ नारा दिएर ‘विश्व सिमसार दिवस’ मनाउने सरकारलाई नाटकले प्रश्न गरिरहेको छ- “ओसिलो, धापिलो, थलथले, दलदले, पानी जमिरहने क्षेत्र खोइ ? जलीय वृहत् पारिस्थितिक प्रणालीको गतिशीलताको रोकेर कस्तो विकास निर्माण गरिराछौँ ? साउने सोमबारहरू, जनै पूर्णिमा, कुसे औँसी, छठ, माघे सङ्क्रान्ति कता गएर मनाउने ? बाढी र सुख्खा जस्ता प्राकृतिक विपतका लागि सुरक्षा कवचको रूपमा रहेको सिमसार कहिले जोगाउने ?”

नाटकले फेवा किनारमा बढिरहेको विकृत शैलीको पर्यटकीय गतिविधिमाथि पनि राम्रो कटाक्ष गरेको छ । पोखराका लोक-संस्कृति, साहित्य, कला, सङ्गीत लगायतका थुप्रा पाटाहरू आजभोलि सेलाएका छन् । पर्यटनसँग सालनाल जोडिएको पोखरामा  संस्कृतिका संवाहक र प्राकृतिक सौन्दर्यताको धरातल डगमगाइरहेको हो कि भनेर दर्शकलाई चिमोट्नु नाटकको अब्बल पक्ष हो । यो चिमोटाई मज्जाको । मज्जा आयो..!याहूहू..!

७. माछापुच्छ्रे ‘माछाको पुच्छर जस्तो छ कि छैन’ भन्दै धम्पुस-लान्द्रुक-घान्द्रुकतिर बत्तिएको भक्तप्रसादको यो यात्रा वृत्तान्तको मनमोहक चित्रण भेटिन्छ । ग्रामीण पर्यटन नगरीको रूपमा परिचित यस अन्नपूर्ण सर्किटको सांगोपांगो चित्रण मनपरेको छ । खच्चडको जीवनदशा र शालिग्राम ढुङ्गाको ऐतिहासिकताले दर्शकलाई एकैपटक ‘ढिकीच्याउँ’ खेलाउँदछ । जिन्दगीको भारी बोकेर आफ्नो अस्तित्व कथिरहेको शालिग्राम नामको गधालाई टीयूमा इतिहास शाखाहरू चिन्दैनन् । पुरातत्त्व र अभिलेखालयका पछिल्ला संस्करणहरू यो नाटक हेर्न आए, के मुन्टो उठाउन सक्दा हुन् बरै !

कालिगण्डकीको दुर्दशा देखेर अत्तालिइरहेका र जोगाउन भरमजदुर प्रयास गरिरहेका दुब्लो, पातलो कायाका आरके अदिप्त दाइलाई पनि यही बेला म सम्झिन पुग्छु । एक रात फोनमै अढाई घण्टा बात मारेर ‘आउँछु यार दाइ शताब्दी घर टेक्न’ भनेको थिएँ, मुल्तबीमै छ । पुग्नु त छ, पुग्दाखेर शालिग्राम गधासँग पनि भेट भइजाला ! त्यतिबेला ‘काठमाडौँ देश हेर्न फेरी आयो नि’ भन्नुपर्ला । त्यतिबेला उसले भन्ने त छ नै – ‘यो काठमाडौंले देश हेर्नु पनि गज्जब राम्रो कुरा हो ।’

८. कालिगण्डकीको किनार हुँदै कागबेनीसम्मको यात्रा प्रसङ्ग पनि रुचिकर छ । जोमसोममा दैनिक मध्यान्हपछि नियमित रूपमा चल्ने हावाहुरीबारे भन्ने क्रममा अलि हतारोपन देखिन्छ ।  रणनीतिक महत्त्व बोकेको यस भेगको बारेमा अझ केही प्लटहरू आवश्यक थियो भन्ने भन्ने लागिरह्यो । इस्वीको छैटौँ-सातौँ शताब्दीतिर तिब्बतको ङारी प्रदेश अन्तर्गतको प्रशासनिक इकाईको रूपमा रहेको मुस्ताङ: यहाँको  मुखिया प्रथा, तिब्बतमा युद्धरत खम्पालीहरूसँग २०२८/२९ सालसम्म भएको झडप, बौद्ध धर्मको प्रचार-प्रसारका इतिहास, अनकन्टार पहाडको कुना-कन्दराहरूमा निर्माण भएका प्राचीन गुफा, सिँचाइको अभाव र उजाड भूमि लगायतका विषयवस्तुहरू पनि सम्मिलित भइदिएको भए झनै गजब हुने थियो भन्ने लागिरह्यो ।

फेरी, केही छुट्नु जीवनको नियति नै हो । नाटक पनि त एक जीवन हो । छुट्यो, ठिकै छ ! मन बुझाउने मेसो, यसरी बुझाए पनि त भो ! जलवायु परिवर्तनको असरले हिमालमा नराम्रो प्रभाव पारिरहेको छ, यसबारे नाटक अलि बोल्दिएन । मन खिन्न त फेरी पनि छ है ! हिमाली क्षेत्रको जैविक विविधता मेरो रुचीको विषय हुँदा यसो पनि त लागेको हुँदो हो । राम जाने !

बिम्बात्मक संवादले भरिएको यस नाटकबारे धेरै कुरा गर्न सकिने थियो । भेगीय एवम् स्थानविशेष विभिन्न जनावरको दुरुस्तै आवाज निकालिरहेका कलाकारहरू (आशिष काफ्ले, बसना तिमल्सिना, विनीता लामा गुरुङ, गणेश पौडेल, कविराज राई, मारुती सापकोटा, नवीन चन्द्र अर्याल, निशान खत्री, ऋषिकेश बस्याल, सरिता कठायत र सुरज मल्ल) लाई धन्यवाद दिएर मलाई टुङ्गाउन हतारो भएको छ । सांस्कृतिक बिम्ब उठानबारे बोल्न म अलि सानै छु । नाटकको यस पाटोबारे जानकारहरूले मुख खोल्लान् नै ! अहिलेलाई अस्तु भनौँ क्यारे !

अस्तु !

(तस्बीर: कथाघेराको फेसबुक पेजबाट)

Tags:

सम्बन्धित समाचार