शुक्रबार , मंग्सिर २३, २०७९

कविता- तोपको नालमाथि बसेको परेवा

सायद यति बेला ऊ- कुनै बारुद होइन, बुद्ध सोचिरहेछ अथवा बन्दुकको नलीको सट्टा बोधिवृक्षको तोडका सोचिरहेछ !

image

  • ध्रुवकृष्ण दीप

फेरि पनि त्यो
हाम्रा नानीहरू खेल्ने चउरमा
निस्फिक्री गोला बर्साउन तेस्र्याइएको
कुनै पनि बेला पड्किन सक्ने
भीमकाय तोपको नालमाथि बसेर
एउटा निर्दोष–निमुखा परेवा—
अनभिज्ञ अथाह
अलिकति निद्रामा झैँ
अलिकति तन्द्रामा झैँ
प्वाँखभरि चुपचाप आफ्ना
आफूजस्तै कलिला सपनाहरू कन्याउँदै
एकतमास टोलाइरहेको छ

सायद यति बेला ऊ—
कुनै बारुद होइन, बुद्ध सोचिरहेछ
अथवा बन्दुकको नलीको सट्टा
बोधिवृक्षको तोडका सोचिरहेछ
अथवा ऊ आफ्नो पखेटाका लागि
अझै पनि एउटा गतिलो आकाश नपाएर
एउटा अर्कै आकाश सोचिरहेछ
अथवा हुन सक्छ ऊ—
युद्धले भताभुङ्गिएको बस्तीमा
कतै पिउने पानीपर्यन्त नपाएर
अलिकति आफ्नै आँसु सोचिरहेछ
अथवा हुन सक्छ, ऊ—
मामुली चरासम्म पनि नपाएर
वरिपरि कतै
अलिकति आफ्नै शरीर सोचिरहेछ

म ठोकेरै भन्न सक्छु
यो स्यानो सेतो चराले अहिले
कुनै पनि कालो सोचिरहेको छैन

एउटा उन्मुक्त जीवनबाहेक यसले
कसैको मृत्यु सोचिरहेको छैन
यो मायालु चराले यति बेला
अलिकति हरियाली र शान्तिबाहेक
कसैसित पनि युद्ध सोचिरहेकोछैन ।

Tags:

सम्बन्धित समाचार