बिहिबार , कार्तिक २८, २०८२

एकपटक पुग्‍नै पर्ने रुकुम पश्चिमको डिग्रे शाईकुमारी भगवतीदेवी मन्दिर

image

रुकुमको प्रसिद्ध धार्मिक स्थलको रुपमा परिचित डिग्रे शाईकुमारी भगवतीदेवी मन्दिर नेपालकै प्रमुख धार्मिक स्थलको रुपमा परिचत छ । मुसीकोट नगरपालिका वडा नं ५ थर्पुमा अवस्थित उक्त मन्दिर धार्मिक तथा पर्यटकीय हिसावले निकै महत्वपुर्ण स्थल पनि हो । मनले चिताएका कुराहरु पुराहुने धार्मिक विश्वास सहित सो मन्दिरको दर्शन गर्न हजारौँ भक्तजनहरुको भिड लाग्ने गर्दछ ।

हरेक बर्षको शुक्ल कार्तिक बैकुन्ठ चतुर्दशीको दिन विशेष मेला लाग्ने सो मन्दिरमा गरिएको भाकल पुरा भए पछि दर्शन गर्न जाने परम्परा रहि आएको छ । डिग्रे शाईकुमारी भगवतीलाई सत्य र असत्य छुट्याउने देवीको रुपमा मान्ने गरिएको छ । आफ्नो भाकल पुरा भएका भक्तजनरु विभिन्न शुभ साईत पारेर भगवतिको दर्शनको लागि पुग्ने गरेको स्थानिय बासिन्दाहरुको भनाई रहेको छ ।

हजारौं दर्शनार्थीहरु आफुले गरेका भाकल पूरा गर्न यो मन्दिरमा आउने गर्दछन् । अन वरदान, धन वरदान, जन वरदान र पुत्र वरदान माग्नको लागि भक्तजनहरु सो मन्दिरमा पुग्ने गरेको स्थानिय शेरबहादुर खत्रीले बताए । यहाँ भक्तजनहरुले बर्षमा एउटा मात्रै व्रदान माग्नु पर्ने जनविश्वास पनि रहि आएको छ ।

मन्दिर उत्पतिको किंवदन्ती 

यस मन्दिरको उत्पती बारेको किंवदन्ती निकै रोचक र अनौठो छ । देवी माईका पूजारी श्री डिल्ली प्रसाद उपाध्याय (गौतम) को अनुसार द्वापर युगमा चौखावाङ्गको कुक्रेकोट भन्ने स्थानमा शाह वंशका प्रतापी राजाले राज्य गर्दथे । उनका २ भाई छोरा थिए । जेठा केशर बम शाह र कान्छा ललित बम शाह थिए । जेठाले राज्यको हेरविचार गर्ने र कान्छाले गोठको हेरचाह गर्ने गर्दथे ।

ती २ भाइ मध्ये कान्छा छोरा चतुर थिए । त्यति बेलाको समयमा खडेरी परी पानीको हाहाकार परेको थियो र गाईगोठको हेरचाह गर्ने जिम्मा पाएका कान्छा छोरा ललित बम शाहले गोठालालाई गाई फुकाई पातल तिर लगाउनलगाई गोठालालाई गोठको गोबर पात सोहोर्न लगाए छन् र गोठालालाई गाई सँगै जान केही ढिलो भएछ ।

गाईहरुले त्यहाँ पानी खान नपाई छटपटिएर कुक्रेकोटबाट साँख खोला झरेछन् । त्यहाँ पनि पानी नपाएपछि साँख गाउँ कानेवाङ्ग पानाखोला आईपुगेछन् र त्यहाँ पनि पानी नपाएपछि थर्पू हुँदै डिग्रेको पानीको मुहान भएको स्थानसम्म आई आराम सँग पानी खाई अरु बाँकि गाईहरु चर्दै चर्दै देवीका कपडा सुकाउने र कपाल फड्कार्ने ठाउँ उन्ने चौर तिर गएछन् । कामु र धेनु नाम गरेका २ वटा गाइले हाल देवीको मन्दिर रहेको गुफा माथिबाट दुधको धार चढाई रहेका रहेछन् ।

ती गाई हेर्ने ग्वाला गाई तिर लागेछन् र गाई पातल भरी खोजी गर्दा त्यहाँ कतै पनि नभेटे पछि ती राजाका कान्छा छोरा सँग गाई हराएको खबर गरेछन् । गोठको जिम्मा पाएका राजाका छोराले गाई खोज्न साँख खोलातिर जान भनेछन् । उनले गाईका पाइला पहिल्याउँदै डिग्रेसम्म पुगेछन् र त्यहाँ पानी भेटाई गाइले पानी खाएको कुरा थाहा पाएछन् । उनले त्यहाँ पनि गाईलाई नभेटी गाईका पाईला पहिल्याउँदै उन्नेचौर पुग्दा अरु सबै गाईहरु आनन्द सँग चरिरहेका तर कामु र धेनु नामका २ वटा गाईलाई बगालमा नभेटेपछि ती अरु सबै गाईलाई त्यहाँबाट फर्काई पानी भएको ठाउँतिर ल्याएछन् ।

ती गाईहरु कामु र धेनु गाईका नजिक गई वरिपरि बसेछन् । ती २ वटा गाईले देवीलाई धार चढाई रहेको देखेर गोठालो अचम्भित भई गाईलाई त्यहीं छोडी राजालाई खबर गर्न कुक्रेकोट दरबारमा गई सबै बृत्तान्त सुनाएछन् । दिव्य दृष्टी भएका राजाले ग्वालाका साथ आफ्ना भारदारहरु संग सो ठाँउमा गई अध्ययन घटना परिघटनाको यथार्त जाँच बुझ गरेपछि पानीमा र गुफामा देवीको बास हुन्छ भन्दै माथिबाट दुधको धार पुष्पगुच्छा सहित भेटी चढाए पछि छिपछिपे पानी रहेको ठाँउ सानो पोखरीको रुपमा परिणत भयो ।

त्यस पछि गाईलाई सुम्सुम्याए जस्तो गरी पानीको पोखरीबाट देवीले भनिछन् तिमी आयौ मेरो दर्शन गर्यौ आज शुक्ल कार्तिक बैकुन्ठ चतुर्दशीको दिन हो । एक वर्षपछि यस पहरा मुनिको गुफामा देवीको मन्दिर र पानीको पोखरीमा देवीको मुर्ती स्थापना गरी प्रत्येक दिन नृत्य पाठ पुजा गर्नु, कार्तिक बैकुन्ठ चतुर्दशीको दिनमा पुजा पाठ गरी बोका वली चढाउनु ईच्छाएको र सन्तान वर माग्नु भनि उपदेश भएछ ।

साथै सोही दिनको राती पुजारीलाई देवीको महिमा स्तुती गर्न लगाउनु भोलिपल्ट पुर्णिमाको दिनमा मेला जात्रा लगाउने चलन चलाउनु, देवीको मन्दिर फल्याकको छानो भएको बनाउनु र देवीको मुर्ती र मन्दिर सुरक्षा र हेरचाह गर्ने जिम्मा ठुलो गाँउका जनजातीलाई दिनु, मानिसहरु मेला जात्रा मान्न आउदाँ हातहातमा लट्ठी ल्याएर आउन र देवीको मन्दिर लाई सात पटक घुमी प्रदक्षिणा गरी भुत प्रेत धपाई देवीको रक्षा गर्न देवीको पाठपुजा नृत्य रुपमा चलाई रहनु यसो गर्दा सबै रक्षा हुन्छ यी कुरा नपत्याई बेवास्ता गरी वसेमा अनिष्ठ होला भनि देवी पानीको कुण्ड रहेको गुफाबाट अन्तरध्यान भएको किम्वदन्ती रहेको छ ।

यी कुरा राजाले सुने पछि देवीको मन्दिर बनाई देविले भने अनुसार नै शाईकुमारी भगवती देवीको नामाकरण गरी पुजा पाठ गर्न सुरु भएको जनविश्वास रहेको छ । त्यस पछि राजाले सो स्थानमा देवीको मन्दिर स्थापना गरी गौतम थरका ब्राम्हणलाई नित्य पाठपूजा चलाउनको लागि पुजारीको जिम्मेवारी दिएको बताईन्छ ।

अहिले पनि गौतम थरका पूजारीबाट नै सो मन्दिरमा नित्य पाठ पूजा चल्दै आईराखेको छ । हाल पूजारीको रुपमा रहेका डिल्ली प्रसाद उपाध्य –गौतम) १० औं पूस्ताका मानिन्छन् । उनी आबाल ब्रम्हचारी हुन् । मन्दिर व्यावस्थापनको लागि राजाले त्यहीबेला जग्गा गुठी र विर्ता लालमोहर लगाइ दिएका थिए भन्ने गरिन्छ ।

यता भगवती देवीलाई मनोरञ्जन, मन्दिरको सुरक्षा र गुठीको जग्गा रेखदेख गर्ने जिम्मा सेरीगाँउ थर्पुका मानिसहरुलाई र देवीको सुरक्षा गर्ने कामको जिम्मा साँख गाँउका जनजाती लगायतका मानिसहरुलाई दिईएको थियो भन्ने मान्यताका साथ त्यहाँका स्थानियहरुले अहिले पनि सोही अनुसार कै जिम्मेवारी निर्बाह गर्दै आईरहेका छन् । त्यस परिसर भित्र विभिन्न ५ वटा मन्दिरहरु रहेका छन जसमा शिद्ध बाबा मन्दिर, सत्यनारायण मन्दिर, गणेश मन्दिर, शिब मन्दिर र खप्तड स्वामी सरस्वती मन्दिर । मन्दिरमा नित्य पाठपूजा बिहान ७ बजे र साँझ ६ बजे गर्ने चलन छ ।

पूजारीले भित्रि पूजा गरेर मन्दिर परिक्रमा गरिसकेपछि मात्र सर्बसाधारणले पूजा गरी बली चढाउने प्रचलन छ । यहाँ बोकाको मात्रै बली चढाईने र परेवा उडाउने गरिन्छ ।

सम्बन्धित समाचार