काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेर बहादुर देउवाको अमेरिका भ्रमणलाई शंकाको दृष्टिले नहेर्न आग्रह गरेका छन् ।
मंगलबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९/८० का लागि परराष्ट्र मन्त्रालयका लागि विनियोजन भएको बजेट र सरकारको परराष्ट्र नीतिबारे सदनमा उठेको जवाफ दिँदै खड्काले नेपालको परराष्ट्र सम्बन्ध ठीकठाक रहेको र प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई पनि नियमित गतिविधिको रुपमा लिन आग्रह गरेका हुन् ।
‘भेटघाटलाई शंकाले नहेर्न आग्रह गर्दछु। यस्ता भ्रमणले नेपालको सम्बन्ध विस्तार गर्न र देशको छवि बढाउन भूमिका खेलेको छ। विगतका वर्षमा यस्ता भ्रमण भएको थियो, यो भइरहन्छ, उनले अगाडि भने, ‘नेपालको स्वाधिनता, स्वतन्त्रताकालाई ध्यान दिएर भ्रमण हुन्छन्। सार्वभौमसत्ता, स्वाधिनताप्रति सरकार गम्भीर रहेको छ।’
उनले संसदमा भने, ‘सरकारले अन्तर्राष्ट्रिय सम्बन्धनलाई थप सुदृढ बनाउने काम गरेको छ। पञ्चशीलको सम्बन्ध, अन्तर्राष्ट्रिय कानुन र राष्ट्रिय हितलाई ध्यान दिएर सरकारले काम गरिरहेको छ।’
असार अन्तिममा हुने देउवाको अमेरिका भ्रमणका क्रममा एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ। हालसालै सार्वजनिक भएको सम्झौताको उक्त मस्यौदामा अमेरिकी सेनालाई नेपालमा सहज उपस्थिति दिनेछ।