शुक्रबार , अषोज २, २०८३

अफगानिस्तानमा भूकम्प: २८० जनाको ज्यान गयो, छ सय घाइते

image

काठमाडौं । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा २८० जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् । आज बिहान अफगानिस्तानको खोस्त शहर केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पमा अफगानिस्तानसँगै पाकिस्तानमा पनि धक्का महसूस भएको थियो ।

भूकम्पमा परी बुधबार मध्याह्नसम्म २८० जनाको मृत्यु भएको सुरक्षा अधिकारीले बताएको अफगानिस्तानको राष्ट्रिय समाचार संस्था बख्तरले जनाएको छ । खोस्त राज्यका सूचना तथा संस्कृति निर्देशक शबीर अहमद ओस्मानीलाई उद्धृत गर्दै खख्तर समाचार संस्थाले ६ सय जना घाइते भएको जनाएको छ ।

भूकम्पले खोस्त र पाक्तिका राज्यमा क्षति पुगेको छ। पाक्तिका राज्यका पनि नाकी, जिरोल, बार्मल र गायन जिल्लामा धेरै क्षति भएको ओस्मानीले जनाएका छन् । क्षतिग्रस्त स्थानबाट घाइतेलाई अस्पताल पुर्‍याउन हवाई एम्बुलेन्सको प्रयोग गरिएको छ ।

भूकम्पले सडक तथा सञ्चार सेवा अवरुद्ध छ । क्षतिको विवरण आउने क्रम जारी छ । जसले गर्दा मृतकको सङ्ख्या बढ्न सक्ने जनाइएको छ ।

शक्तिशाली भूकम्पको धक्का पाकिस्तान र भारतमा पनि महसूस गरिएको छ । खोस्त शहरबाट ४० किलोमिटर दक्षिण-पूर्वमा केन्द्रबिन्दु रहेको भूकम्पले अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामावादलाई समेत हल्लाएको छ ।

गत १० वर्षमा अफगानिस्तानमा भूकम्पबाट सात हजारभन्दा बढीको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । संयुक्त राष्ट्रसंघका अनुसार, अफगानिस्तानमा वर्षमा औसत ५६० जनाले भूकम्पबाट ज्यान गुमाएका छन् ।

(अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूकाे सहयाेगमा)

सम्बन्धित समाचार