शुक्रबार , जेठ ८, २०८३

देशभर ३५३ जनप्रतिनिधि निर्विराेध निर्वाचित, कुन दलकाे कति ?

स्वतन्त्र उम्मेदवार ३४ जना निर्विरोध भएका छन् ।

image

काठमाडौं । देशभर ३५३ जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेमा गाउँपालिका अध्यक्षदेखि वडा सदस्यसम्म रहेका छन् ।

निर्वाचन आयोगले दिएको विवरणअनुसार गाउँपालिका अध्यक्षमा एमालेबाट एकजना निर्विरोध हुँदा नेकपा एसका दुई जना निर्विरोध भएका छन् । यी तीनवटै गाउँपालिका अध्यक्ष डोल्पाका हुन् ।

त्यस्तै उपाध्यक्षमा एमालेबाट दुईजना निर्विरोध निर्वाचित भएका छन् । उनीहरु डोल्पा र मनाङका हुन् । नेपाली कांग्रेसबाट एकजना र नेकपा एसबाट एकजना उपाध्यक्ष निर्विरोध भएका छन् ।

वडाध्यक्षतर्फ एमाले र कांग्रेसका १४/१४ जना उम्मेदवार निर्विरोध हुँदा नेकपा एसका ६ जना र माओवादी केन्द्रका ३ जना उम्मेदवार निर्विरोध भएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार ६ जना निर्विरोध भएका छन् ।

सदस्यतर्फ एमालेका २६ जना, कांग्रेसका ३१ जना, माओवादीका ५ जना, नेकपा एसका १२ जना र स्वतन्त्र १६ जना निर्वाचित भएका छन् ।

त्यस्तै महिला सदस्यमा एमालेबाट २३ जना, कांग्रेसका १५ जना, माओवादी र नेकपा एसका ७/७ जना निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार ८ जना निर्विरोध भएका छन् ।

दलित महिला वडा सदस्यमा एमालेका ५७ जना निर्विरोध भएका छन् । कांग्रेसका ४० र माओवादी केन्द्रका ३९ जना निर्विरोध भएका छन् ।

त्यस्तै नेकपा एसका ६ जना, नेपाल मजदुर किसान पार्टीका २ जना, लोसपा र जसपाका १/१ जना तथा स्वतन्त्र ४ जना निर्विरोध भएका छन् ।

एमालेका कूल १२३ जना उम्मेदवार निर्विरोध भएको आयोगले जनाएको छ । त्यस्तै कांग्रेसका १०१ जना, माओवादीका ५४ जना, नेकपा एसका ३४ जना निर्विरोध भएका छन् ।

जसपा र लोसपाका एक/एकजना निर्विरोध हुँदा नेपाल मजदुर किसान पार्टीका २ जना जनप्रतिनिधि निर्विरोध भएका छन् । स्वतन्त्र उम्मेदवार ३४ जना निर्विरोध भएका छन् । उनीहरुलाई निर्वाचित भएको प्रमाणपत्र भने सोही पालिकाको मतगणना सकिएपछिमात्र दिइने आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

प्रमुख दल कसका कति निर्विरोध

नेकपा एमाले
गाउँपालिका अध्यक्ष –१
गाउँपालिका उपाध्यक्ष –२
वडाध्यक्ष –१४
खुल्ला सदस्य –२६
महिला सदस्य –२३
दलित महिला सदस्य –५७
जम्मा –१२३

नेपाली कांग्रेस
गाउँपालिका उपाध्यक्ष –१
वडाध्यक्ष –१४
खुला सदस्य –३१
महिला सदस्य –१५
दलित महिला सदस्य –४०
जम्मा –१०१

नेकपा माओवादी केन्द्र
वडाध्यक्ष –३
खुल्ला सदस्य –५
महिला सदस्य –७
दलित महिला सदस्य –३९
जम्मा –५४

नेकपा एकीकृत समाजवादी
गाउँपालिका अध्यक्ष –२
गाउँपालिका उपाध्यक्ष –१
वडाध्यक्ष –६
खुल्ला सदस्य –१२
महिला सदस्य –७
दलित महिला सदस्य –६
जम्मा – ३४

सम्बन्धित समाचार