काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका सम्बन्धमा अन्यौलता सिर्जना गर्ने अभिव्यक्तिहरु नदिन राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेको छ।
बिहीबार आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरु नदिन राजनीतिक दलका नेता एवं कार्यकर्ताहरुलाई आग्रह गरेका हुन्।
पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तयारीहरु तीव्रताका साथ अन्तिम चरणमा पुगेको अवस्थामा स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरुप्रति आयोगको ध्यानाकर्षण भएको बताए।
प्रवक्ता पौडेलले भने, ‘निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तयारीहरु तीव्रताका साथ अन्तिम चरणमा पुगेको अवस्थामा स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरु राजनीतिक दलका इमान्दार नेता एवं कार्यकर्ताबाट आएको अभिव्यक्तिप्रति आयोगको ध्यानाकर्षण भएको छ। निर्वाचनका विषयमा अन्योलता सिर्जना गर्ने किसिमका अभिव्यक्ति नदिनुहुन सरोकारवाला सबैलाई आयोग आग्रह गर्दछ।’
बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलहरूले विभिन्न बहानामा निर्वाचन पर धकेल्ने कोसिस गरिरहेको बताएका थिए ।