आज राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले निर्वाचन आयोगले निषेध गरेका प्रचारप्रसारलगायतका कुनै पनि चुनावी गतिविधि गर्न पाइँदैन ।
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि (स्थिर समय) बिहीबार राति १२ बजेबाट सुरु हुँदैछ ।
आज राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले निर्वाचन आयोगले निषेध गरेका प्रचारप्रसारलगायतका कुनै पनि चुनावी गतिविधि गर्न पाइँदैन ।
४८ घण्टा अघिबाट निर्वाचन प्रचारप्रसारलगायत गतिविधि सञ्चालनमा निर्वाचन आचारसंहिता ०७९ले निषेध गरेकाले त्यस कार्यमा संलग्न नहुन आयोगले सचेत गराएको हो ।
त्यसैले आज राति १२ बजेसम्म राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले चुनावी प्रचारप्रसारमा लाग्न पाउनेछन् ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान हुनुभन्दा ४८ घण्टा अघिबाट सुरु हुने मौन अवधिमा निर्वाचन आचारसंहिताले निषेध गरेका कुनै पनि गतिविधि नगर्न, नगराउन राजनीतिक दल,उम्मेदवारलगायत सर्वसाधरणलाई सचेत गराएका छन् ।
मतदान केन्द्रबाट ३ सय मिटर वरिपरी कुनै पनि दल वा उम्मेदवारको प्रचारप्रसार सामग्री भए तत्काल हटाउनुपर्ने, निर्वाचनको वातावरण बिथोलिने कुनै पनि किसिमको सभा, सम्मेलन, भोजभतेर, लगायत कार्यलाई पूर्ण रूपमा निषेध गरिएको भण्डारीले उल्लेख गरे ।
भण्डारीले निर्वाचनको आचारसंहिता प्रतिकूल हुनेगरी कुनै पनि गतिविधि गरेमा तत्काल दोषीमाथि कारबाही हुने चेतावनी दिए ।
उनले कुनै पनि किसिमको डर, त्रास, भय नलिई वा प्रलोभनमा नपरी मतदान गर्न आम मतदातालाई आग्रह गरेका छन् ।
आयोगले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन प्रचारप्रसारसम्बन्धी सामग्री मंसिर १ गते राति १२ बजेसम्म हटाउन पनि निर्देशन दिएको छ ।
आयोगले सामाजिक सञ्जालमा पोस्ट भएका निर्वाचन प्रचारप्रसारसम्बन्धी सामग्री मंसिर १ गते राति १२ बजेसम्म हटाइसक्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको हो ।