काठमाडाैं । बाँकेको खजुरा गाउँपालिका –२ ‘ए गाउँ’ का अगुवा किसान लालबहादुर खत्रीको बारीमा यतिबेला लटरम्म टमाटर फलेको छ । बारीभरी टमाटर भए पनि गोदाम पनि भरिएको छ । बजारमुल्य नपाएपछि खत्रीले टमाटर फालेर विरोध गर्नुभएको छ ।
“बारीमा करिब तीन सय पचास क्विन्टल टमाटर टिप्न बाँकी छ” खत्रीले भन्नुभयो, “घरको गोदाममा २०–२५ किवन्टल टमाटर छ । विक्री नभएपछि बारीमा फाल्न बाध्य भएका छौँ, टमाटरको मूल्य नपाए पनि खेतबारीमा मल होला भनेर टमाटर फाल्न बाध्य भयौँ ।”
खत्रीले करिब तीन बिघा जमिनमा तरकारी खेती गर्नुभएको छ । खत्रीसहित सीतापुरका अन्य किसानको पीडा पनि उस्तै छ ।

भारतबाट भित्रिने विषादीयुक्त तरकारीका कारण स्थानीय उत्पादनले बजार र मूल्य नपाएको भन्दै खत्रीले स्थानीय सरकारले समन्वय नगरेको बताउनुभयो । आफूजस्ता धेरै किसानको टमाटर बिक्री नभएर घरमै थन्किएको उहाँको भनाइ छ । लागत मूल्य समेत नआउने गरी प्रतिकिलो टमाटर १०–१२ रुपियाँमा समेत बिक्री नभएको खत्रीको भनाइ छ । यसबाट लागत उत्पादन समेत नउठ्ने खत्रीको भनाइ छ ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले किसानको उत्पादन विक्री नभएर बारीमै थन्किएको विषय अत्यन्त गम्भीर विषय भएको भन्दै गाउँपालिकाले टमाटरको उचित मूल्यसहित सहज विक्री वितरणका लागि स्थानीय सहकारीमार्फत समन्वय गरेको बताउनुभयो ।
“गाउँपालिकाले बागेश्वरी बहुउद्देश्यीय कृषिबजार सहकारी संस्था लिमिटेड हाटबजार खजुरामार्फत बिक्रीका लागि उत्पादनमा अनुदान र ढुवानीमा सहयोग गरी बजारीकरण गर्न सहयोग गर्नेछ” अध्यक्ष विकले भन्नुभयो, “उत्पादित बस्तु नष्ट गर्नुभन्दा यसको वैकल्पिक प्रयोग गरी सस बनाउने, ड्राइ गरी प्याकेजिङ्ग गर्ने, अचार उत्पादन गरी प्रयोगमा ल्याउन आवश्यक सहयोग गर्न गाउँपालिका तयार छ ।
गोरखापत्र अनलाइन