बिहिबार , बैसाख २४, २०८३

हदम्याद नहटाए संकल्प प्रस्ताव ल्याउने महिला सांसदको चेतावनी

image

काठमाडौं । महिला सांसदहरूले नाबालिकाहरूमाथि हुने बलात्कारलगायत जघन्य अपराधका घटनामा हदम्याद लगाउने कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाका नेकपा एमालेकी सांसद बिन्दा पाण्डे, नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रकी सांसद अमृता थापामगरलगायत सांसदहरूले नाबालिकाहरूमाथि हुने बलात्कार लगायतका जघन्य अपराधका घटनाको अनुसन्धानमा समेत हदम्याद लगाउने व्यवस्था राखिएको उल्लेख गर्दै त्यस्तो कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका हुन् ।

सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्षअघि बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी एक युवतीको विषयलाई लिएर प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले आइतबार सिंहदरबारमा आयोजना गरेको अनौपचारिक छलफलमा बोल्दै एमालेकी सांसद पाण्डेले सरकारले सो घटनाको अनुसन्धानका लागि सरकारले हदम्याद हटाउने गरी तत्काल कानुन संशोधन नगरे आफूहरूले संसदमा संकल्प प्रस्ताव ल्याउने चेतावनी दिइन् ।

हदम्याद लगाउने हो भने पनि पीडितले मुख खोलेको वा घटना सार्वजनिक भएको दिनबाट मात्रै हदम्याद लगाउन उपयुक्त हुने स्पष्ट पारे । सांसद पाण्डेले महिलामाथि हुने यौनजन्य हिंसाका घटना बढदै गएपनि त्यसलाई नियन्त्रण गर्न सरकारले नसकेको भन्दै आक्रोश व्यक्त गरिन् ।

नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले सौन्दर्य प्रतियोगिताका आयोजकले अपराध गरेको भन्ने कुरा स्वतः सिद्ध भएकाले घटनाका पीडित ती युवतीलाई तत्काल न्याय दिन सरकारसँग माग गरे । उनले अपराधीलाई अनुसन्धान गरी तत्काल कारबाही गर्न पनि ढिलाई नगर्न सरकारलाई सचेत गराइन् ।

सांसद भुसालले अपराध कर्ममा लागेकाहरूलाई सरकारले कुनै पनि बहानामा अनुसन्धानको दायरामा ल्याउन आलटाल गर्न नमिल्ने पनि बताइन् । उनले नाबालिकाहरूको हकमा अनुसन्धानका लागि हदम्याद हटाउन पनि सरकार तयार हुनुपर्ने बताइन् ।

नेकपा माओवादी केन्द्रकी सांसद अमृता थापामगरले यौन हिंसामा परेकाहरूलाई तत्काल राहत दिने व्यवस्था पनि कानुनमै उल्लेख गर्न सरकारलाई दवाव दिइन् । उनले मनोरञ्जन र अनौपचारिक क्षेत्रका महिलाहरू यौन हिंसाका कारण प्रताडित हुनुपरेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि राजनीतिक पार्टी र त्यसका भातृ संगठनहरूले पनि पहल गर्नुपर्ने आवश्यक्ता औंल्याइन् ।

सम्बन्धित समाचार