काठमाडौं । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा-१ मा दुई उम्मेदवारका समर्थकबीच सोमबार राति खुकुरी हानाहान हुँदा ६ जना घाइते भएका छन् ।
गाउँपालिकाको-१ नम्बर वडामा माओवादी केन्द्रबाट वडाअध्यक्षका उम्मेदवार र स्वतन्त्रबाट वडाअध्यक्षमा उम्मेदवारी दिएका सुन्दर ओलीका समर्थकबीच झडप भएको ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी विष्णुप्रसाद सोतीले बताए ।
उनले भने, ‘लक्ष्मण र सुन्दर पक्षका कार्यकर्ताहरुबीच विवाद बढेपछि झडप भएको हो । झडपमा ६ जना घाइते भएका छन् । ‘
उनका अनुसार घाइते हुनेहरुमा रुँघाका धर्मेन्द सुनार, टिकाजंग मल्ल, जीवन पुन, बलबहादुर पुन, चेतन केसी र यमबहादुर पुन रहेका छन् ।
घाइतेमध्ये धर्मेन्द्र, टिकाजंग र जीवनको अवस्था गम्भीर भएकोले थप उपचारका लागि राति नै नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य ३ जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।
डीएसपी सोतीका अनुसार गाउँपालिकाको-१ नम्बर वडामा माओवादी केन्द्रका गाउँपालिका उपाध्यक्ष सुन्दर ओलीले स्थानीय तह निर्वाचनको लागि आफ्नो नेतृत्वमा वडा अध्यक्षसहितको स्वतन्त्र प्यानल बनाएर बागी उम्मेदवारी बिषयमा विवाद भएको हो । तर स्वतन्त्र उम्मेदवार सुन्दर ओलीले भने आफूहरुको कारण झडप नभएको बताएका छन् ।
वडा नम्बर १मा माओवादी केन्द्रले लक्ष्मण ओलीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ भने सुन्दर ओलीले स्वतन्त्रबाट वडाअध्यक्षको उम्मेदवार बनेका छन् ।
त्यसैगरी बैतडीको डिलासैनीमा माओवादी उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ ।
बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य उम्मेदवार हरिराम साउदमाथि खुकुरी प्रहार भएको छ ।
६० वर्षका साउदमाथि गए राति खुकुरी प्रहार भएको हो । साउद नेकपा माओवादी केन्द्रबाट वडा सदस्यका उम्मेदवार छन् ।
उनीमाथि स्थानीय एमाले कार्यकर्ताले खुकुरी प्रहार गरेको आरोप छ ।
घाइते साउदको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेर थप उपचारका लागि धनगढी पठाइएको छ। उनको टाउकोमा गम्भीर चोट छ भने टाँका लगाइएको छ ।
घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।