बिहिबार , मंग्सिर १४, २०८०

धार्मिक, सांस्कृतिक एवम प्राकृतिक पर्यटनकाे सङ्गम, धादिङ्गको ‘गङ्गाजमुना झरना’

image

अग्लो पहाडको टुप्पोबाट दुई झरना निरन्तर झरिरहन्छ । यी दुई झरना दिदिबहिनी हुन् । गंगा र जमुना । दिदिबहिनीको चञ्चलता र सुन्दरताले त्यहाँ पुग्ने सबैलाई मोहित बनाउँछन् । धादिङका १३ वटा स्थानीय तहहरुमध्ये एक हो गंगा जमुना गाउँपालिका । गंगा र जमुनाकै नामबाट गाउँपालिकाको नामाकरण गरिएको हो । बाह्रै महिना अनवरत झरिरहने गंगाजमुना झरनाले प्राकृतिक, धार्मिक एवम सांस्कृतिक महत्व समेत बोकेको छ ।

यो झरनामा हरेक वर्ष ठूलो मेला लाग्छ । दुई झरना ठूलो गङ्गा र सानो जमुना झरनाको रूपमा परिचित छ । पारि डाडाँबाट छङछङ झरिरहेको देखिन्छ । पौराणिक तथा धार्मिकरूपले प्रसिद्ध मानिएको गङ्गाजमुना झरना उत्तरी धादिङमा पर्दछ । यति सुन्दर अनि धार्मिक एवम सांस्कृतिक पर्यटनको समेत सम्भावना भएर पनि प्रचारप्रसार र प्रवर्द्धनको अभावमा गंगा जमुनाले उल्लेख्य मात्रामा पर्यटक तान्न सकिरहेको छैन ।

वरिपरिको गाउँमा पानी नपरेको अवस्थामा पानी पार्न यो झरनामा जलधारा गरेपछि पानी पर्छ भन्ने विश्वासमा मूलपानी, फूलखर्क, बुढाथुम, आगिन्चोक, सल्यानकोटवासी वैशाख जेठमा भगवानसँग पूजा गर्छन् । हरेक वर्ष हरिबोधनी एकादशी (ठूली एकादशीं) को दिन यहाँ ठूलो मेला लाग्छ ।

अघिल्लो दिन नै मानिस यहाँ मनोकांक्षा पूरा हुने हेतुले बत्ती बाल्न पुग्छन् । रातभर जाग्राम बसेर बत्ती बालेपछि भोलिपल्ट नुहाइधुवाई गरेर महादेवको पूजा गर्ने चलन छ । यहाँ देशका धेरै ठाउँबाट मानिस मेला भर्न आउँछन् । पूजा गर्छन् र आफूले चिताएको कुरा मागेमा पूरा हुन्छ भन्ने विश्वासमा मानिस भाकल पूरा गर्नसमेत आउने गर्छन् । भक्तजनले फूलको डोली, जिउँदो परेवा र गाईको दूध चढाएर आफूले चाहेको कुरा माग्छन् । यो पूरा हुन्छ भन्ने मान्यता छ ।

काठमाडौंमा रहेको पर्यटकीय यो झरना हेरेर दुई दिनमै काठमाडौँ फर्किन सकिन्छ । काठमाडौंबाट एक सय किलोमिटरको यात्रा तय गरेपछि धादिङबैँसी पुगिन्छ । धादिङबैंसीबाट सल्यानटार ३० किलोमिटर पार गरेपछि २५ किलोमिटरको दूरी फूलखर्क हुँदै सुकभञ्ज्याङसम्म कच्चीबाटो जानुपर्छ । यो यात्रामा पनि अन्य पर्यटकीय र ऐतिहासिक स्थान हेर्न सकिन्छ ।

सुकभञ्ज्याङ पुगेपछि उकालो बाटो हिँड्नुपर्ने हुन्छ । गुरुङ गाउँ पार गर्दै झरना पुग्न हिँडेर दुई घण्टा लाग्छ । अलि विस्तारै जानेका लागि समय बढी पनि लाग्छ । वर्षाको समयमा ठूलो हुने र हिउँदमा अलि सानो पानीको झरनाले सबैको मन लोभ्याउने झरना गङ्गाजमुनाको रूपमा परिचित छ । पहाडको ठाडो ढिस्को उभिएको माथिबाट पानी झर्ने गर्छ ।

पानीको झरना बगिरहन्छ । पश्चितमतर्फ रहेको एउटा स्थानमा कुकुर धारा छ । यसको माथि गङ्गाजमुनामा नुहाइसकेपछि यसतर्फ नुहाउन आउने झक्तजनले सबै पापबाट मुक्ति पाइने भनाइ रहेको र मानिस कुकुरधारामा नुहाउन नपाए पनि मुख धोएर भए पनि जाने गरेका छन् ।

रमाइलो धार्मिक यात्रामा जान चहानेहरुका लागि गङ्गाजमुना झरना उत्कृष्ट गन्तव्य हो ।

Tags:

सम्बन्धित समाचार