एजेन्सी । सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्बाचेभको निधन भएको छ । ९१ वर्षको उमेरमा उनले अन्तिम स्वास लिए । रुसी अधिकारीहरूका अनुसार मस्कोस्थित अस्पतालमा मंगलबार उनकाे निधन भएको हो ।
उनी सन १९८५देखि १९९१सम्म सोभियत संघको सत्तामा थिए । गोर्बाचेभ तत्कालीन सोभियत संघका अन्तिम राष्ट्रपति हुन् । उनले अमेरिकासँगको शीतयुद्ध अन्त्यका लागि महत्त्वपूर्ण भूमिका निभाएका थिए । तर उनले सोभियत संघ ढल्नबाट बचाउन भने सकेनन् ।
सोभियत संघको पतनसँगै आधुनिक रुसको उदय भएको मानिन्छ । उनको निधनमा विश्वभरका नेताले श्रद्धाञ्जलि अर्पण गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गाेर्बाचेभले इतिहासको पाठ्यक्रम परिवर्तन गरेको टिप्पणी गरेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम सोभियत नेता गोर्बाचेभको निधनप्रति गहिरो दु:ख व्यक्त गरेका छन् । गोर्बाचोभ ५४ वर्षको उमेरमा सोभियत कम्युनिष्ट पार्टीको महासचिव हुँदै देशको सर्वोच्च नेता बनेका थिए ।