बुधबार , साउन ९, २०८१

गुँला पर्व बुद्धकालीन पानीको युद्धसँग जोडिएको छ ?

image

एक महीनासम्म मनाइने धार्मिक गुँला पर्व आज सम्पन्न भएको छ ।

नेवारी भाषमा ‘गुँ’ भन्नाले नौं र ‘ला’ ले महिना भनेर बुझिन्छ । सो पर्व नेपाल सम्वत अनुसारको पात्रोमा नौं महिना पुगेको अवसरमा मनाइन्छ । समुदायको विशेष पर्वको रुपमा रहेको गुँला पर्व एउटा साँगीतिक पर्व हो ।

प्राचीन समयदेखि शाक्य, बज्राचार्य, मानन्धरलगायतका समुदायले मनाउने यस पर्व साउन १३ गतेदेखि सुरु भएको थियो । यो पर्व गुँलाथ्व पारु (साउन शुक्ल परेवा) देखि शुरु भएपछि यँलाथ्व पारु (भाद्र शुक्ल परेवा) सम्म एक महीनासम्म विभिन्न धार्मिक तीर्थस्थलमा जाने र धार्मिक कार्य गरेर मनाउने गरिन्छ ।

यो पर्वमा प्रत्येक दिन नौ बाजा बजाएर चैत्य तथा मन्दिर परिक्रममा गरिने, एक महीनासम्म व्रतालुले नुन नखाई एक छाक मात्र खाने र पर्व अवधिभर बिहान–बेलुका पूजाअर्चना गर्ने प्रचलन रहेको छ । दर्शन गर्न जाँदा विभिन्न बाजागाजा बजाएर स्लोक मन्त्रोचारण गरेर मठमन्दिर, चैत्य, विहार परिक्रमा गर्ने गरिन्छ । यसक्रममा मांस र मदिरासमेत निषेध गरिएको हुन्छ । ठमेलको विक्रमशील महाविहार, पाटनको हिरण्यगर्भ महाविहार लगायतका ठाउँमा विभिन्न प्रज्ञापारमिताहरू पाठ गर्ने गरिन्छ ।

वसन्तपुरस्थित काष्टमण्डप परिक्रमा गर्दै नेवा: समुदाय।

पर्व अवधिभर विभिन्न विहार एवम् वाहलमा रहेका मूर्तिहरू प्रदर्शन गर्ने र तिनै मूर्तिहरूलाई पछी दर्शन गर्ने गरिन्छ । गुँला पर्व भक्तपुर, काठमाडौँ, ललितपुर, कीर्तिपुर र मध्यपुर थिमिमा पनि यस्तै प्रक्रियाबाट मनाउने परम्परा छ । साथै समूहमा सहभागीहरू नामसंगीतिलगायत विभिन्न धारणी स्तोत्र, प्रज्ञापारमिता आदिको पाठ गर्दै निस्कने गर्दछन् ।

यो पर्व बौद्धमार्गीअन्तर्गत पनि बज्रयानी नेवार समुदायले आ–आफ्नो क्षेत्रमा रहेको चैत्यको बाजागाजासहित पूजाआजा गरी मनाउने गर्दछन् । यो अवधिमा उपत्यकाका बज्रयानी नेवारहरु आ–आफ्नो टोलको समूहसहित बिहान सबेरै स्वयम्भू महाचैत्य, बौद्ध चैत्य र विभिन्न विहारमा रहेका चैत्य दर्शन गर्दछन् ।

पर्वको अन्तिम दिन अर्थात् यँलाथ्व पारुका दिन महिनाभर बजाइएका एवम् विभिन्न कारणवश नबजाइएका बाजाहरूलाई समेत पूजाआजा गरि यथास्थानमा राख्ने गरिन्छ । यस दिन बिहान ५ बजे नै स्वयम्भू पुग्ने र ९ बजेसम्म आ-आफ्नो टोलमा फर्की टोलभरका बाजाहरूको पूजाआजा गर्ने गरिन्छ  ।  बाजा पूजा सकिएपश्चात् भोज खाने गरिन्छ, यस भोजमा मासु देख्न सकिन्छ ।

वसन्तपुरको मरु टोलमा यँलाथ्व पारुका दिन महिनाभर बजेका बाजाहरूको पूजाआजा  गरिँदै, यसपश्चात् भोजखाएर पर्व समापन गरिन्छ ।

गुंला बाजा सम्बन्धि किम्वदन्ती:

किम्वदन्तीअनुसार रोहिणी नदिमा भएको पानीको युद्धपश्चात् शाक्यमुनि बुद्ध काठमाडौं आएका थिए, उनीसँगै कपिलवस्तुबाट आएका शाक्यहरूले यी बाजा पनि बोकिल्याएको बताउने गरिन्छ । त्यसपश्चात् भगवान गौतम बुद्धको महिमा गाउँदै महिनाभरी उनमै समर्पित भएर यस पर्व मनाउन थालिएको बताइन्छ ।

गुंला बाजा भनेर विशेषत: ‘धा:’ लाई मात्र लिने गरे पनि यस पर्वमा प्रयोग हुने सबै बाजालाई ‘गुंलाबाजा’ भनेर सम्बोधन गर्ने गरेको पनि पाइन्छ । कुन समूह वा टोलको बाजा कति राम्रो छ भनेर देखाउने अवसरको रूपमा लिँदै यसको प्रतियोगिता नै आयोजना गर्ने गरेको देखिन्छ । बाजामा नयाँ पुस्ताको सक्रियता उत्साहप्रद छ।

गुँलाथ्व पारुका दिन स्वयम्भू परिक्रमा गर्दै नेवा: समुदाय।

पछिल्ला दिनहरूमा बाँसुरी लगायतका बाजाहरूको प्रयोग कम हुने गरेको देखिन्छ ।  यसैगरी यहाँ बाजा बजाउन सरिक कतिपय व्यक्तिहरू ‘ब्याण्ड बाजा’लाई आफ्नो पेशा-व्यवसाय बनाइरहेको बताउँछन् ।

गुँला पर्व नेपाल सम्वत अनुसारको पात्रोमा नौं महिना पुगेको अवसरमा मनाइन्छ।

शाक्यमुनि बुद्ध र पानीको युद्ध 

बुद्धको गृहत्याग  पानीको राजनीति र युद्धसँग जोडिएको बताउनेहरू (अम्बेडकरसहित) का अनुसार, कोलियसँग जोडिएको शाक्य बंशको राज्य कपिलवस्तुको किनारमा रोहिणी नदी बग्ने गर्दथ्यो । शाक्य र कोलिय दुवैले रोहिणीको पानीबाट आ–आफ्ना खेतमा सिँचाई गर्थे तर कसले पहिले र कति भन्ने विषयमा ती दुईबीच प्रत्येक वर्ष विवाद हुने गर्थ्यो । यस विवाद हरेक वर्ष चुलिंदै गयो तर निष्कर्षमा पुग्न सकेन ।

‘यसै विवादले मारकाटसम्मको स्थिति सृजना गर्यो । शाक्य सेनापतिले कोलियविरुद्ध युद्ध घोषणा गर्ने हेतुले सङ्घमा प्रस्ताव ल्याए । शाक्यहरूको सङ्घ एक प्रकारले संसद्जस्तो थियो । राजकुमार सिद्धार्थ पनि सङ्घका सदस्य थिए, उनले प्राकृतिक स्रोतका रूपमा रहेको पानीकै लागि मारकाट गर्नु नपर्ने बरु कोलियहरूसँग आपसी सल्लाहमा पानीको उपयोग गरी सधैँंको लागि युद्ध टार्न सकिने बताए । सेनापतिले लडाईंमा अग्रसर हुनु क्षेत्रीय धर्म भएको ढिपी कसे भने सिद्धार्थले धर्मको सिद्धान्तअनुसार शत्रुताले शत्रुतालाई नष्ट गर्दैन र शत्रुतालाई केवल मित्रताले मात्र समन गर्न सक्छ भन्ने दार्श्निक तर्क दिए ।

यसप्रकार ती दुईको कुरा विल्कुलै फरक भयो जुन छलफलबाट टुङ्गो लाग्न सकेन । अत, उक्त दुई प्रस्तावमा छिनोफानो गर्न सङ्घमा मतदान गरियो, जसमा सेनापतिले बहुमत प्राप्त गरे । सङ्घको नियमअनुसार अल्पमतमा परेका राजकुमार सिद्धार्थलाई अब तीन वटा विकल्पहरूमध्ये एउटा छान्नु पर्ने बाध्यता भयो;

क) सेनापतिको कुरामा सहमति जनाएर युद्धमा भाग लिने,
ख) मृत्युदण्ड या निर्वासनमा जाने,
ग) समाजबाट बहिस्कृत हुँदै परिवारका सदस्यहरूको जायजेथा हरण गराउन राजी हुने ।

पहिलो उनले स्वीकार गर्ने कुरै भएन । तेस्रोमा उनी भन्छन्– परिवारको के दोष छ र उहाँहरूलाई सजायँ दिलाउनु ? त्यसैले सिद्धार्थ दोस्रो विकल्प रोज्छन् र भन्छन् “मलाई फाँसी दिनोस् वा देश निकाला, म खुशीसाथ स्वीकार गर्छु । सङ्घमा अनेक तर्क्वितर्क हुन्छ, सेनापति सिद्धार्थलाई मृत्युदण्ड दिएर त्यसको दोष लिन चाहँदैनन् र पुनः छलफलपछि निर्वासनमा पठाउने निधो हुन्छ । यो नै राजकुमार सिद्धार्थको गृहत्यागको आधार बन्दछ साथै ज्ञान प्राप्तिको मार्ग पनि  (स्रोत : दिनेशराज भुजु) ।’

रोहिणी नदीको ऐतिहासिक खोज हुन् सकेन

दुर्भाग्य, बुजुले बौद्धकालीन नदि भने उल्लेख गरेको रोहिणी नदिको ऐतिहासिक खोज, अनुसन्धान हुन् बाँकी नै छ । बुद्धकालिन समयमा चर्चाको विषय बन्ने गरेको रोहिणी नदि यतिखेर बेवास्ताको मारमा परेको छ। बुद्ध दर्शनमा ऐतिहासिक महत्व बोकेको यो नदिकै नामबाट रोहिणी गाउँपालिका नामाकरण गरेपनि नदिको इतिहास खोजीको विषय हुन् सकेको छैन । पालिकाका अध्यक्ष विद्या प्रसाद यादव रोहिणी नदीको खोज/अनुसन्धानको लागि रकम छुट्याएको भएतापनि नदीबारे चासो दिँदै विज्ञ टोली आफूकहाँ नआइपुगेको बताउँछन् । तर, उनको यस कुरामा स्पष्टता भने देखिँदैन । रुपन्देहीका तिलोत्तमा, ओमसतिया र रोहिणी गाउँपालिकाको बिचबाट बग्ने यो नदिलाई स्थानीय सरकारले समेत वास्ता नगरेको पाइन्छ । यसैगरी, लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रिय क्याम्पस नै त्यहाँ रहेपनि यस नदिबारे खोजअनुसन्धान भएको पाइँदैन ।

सहभागीहरू नामसंगीतिलगायत विभिन्न धारणी स्तोत्र, प्रज्ञापारमिता आदिको पाठ गर्ने गरिन्छ।

कपिलवस्तु राज्य उत्तरमा हिमालय, दक्षिणमा पभ र कुशीनगर, पूर्वमा रोहिणी नदि र पश्चिममा राप्ती नदी बीच फैलिएको भन्ने कुरामा इतिहासकारहरू सहमत छन् । पूर्वको सीमाना रोहिणी नदिपारि कोशाला अन्तर्गत देबदह राजधानी भएको कोलिय गणराज्य थियो र त्यसका राजा सुप्रबुद्ध थिए । ‘सुप्रबुद्ध राजाका दुई छोरीहरु थिए मायादेवी र प्रजापति । कोलीय र कपिलवस्तुका राजाहरु दुवै सूर्यवंशी भएकोले उनीहरु बीच बिहेको सम्बन्ध थियो । त्यसैले राजा शुद्धोधनका दुवै पत्नी मायादेबी र प्रजापति कोलीय राजकुमारीहरु थिए । कपिलवस्तुका राजकुमार सिद्धार्थको बिहे पनि कोलीय राजकुमारी यसोधरासँग भएको थियो (स्रोत : डा. लेखनाथ काफ्ले)।’

गुँला पर्व कति पुरानो ?

डा. नरेशमान बज्राचार्य स्वयम्भू महाचैत्य बनिसकेपश्चात्को कुरा भएकाले गुँला पर्व शाक्यमुनिबुद्ध पश्चात् देखिएको हुन् सक्ने तर बुद्धसँगसँगै काठमाडौंमा बाजा भित्रिएको भन्ने यकिन प्रमाण नभएको बताउँछन् । वर्षमाससँगै समान्तररूपमा गुँला पर्व विकसित भएको हुनुपर्ने उनी बताउँछन् ।

यस पर्वका अवसरमा भक्तपुरमा स-साना माटाका चैत्यहरू निर्माण गर्ने परम्परा रहेको बज्राचार्य बताउँछन् तर, सो परम्परा लोपोन्मुख हुँदै गएको छ । यसरी माटाका चैत्य बनाउने कार्यलाई ‘लक्ष्यचैत्य व्रत’ भनिने गरिछ ।

(तस्बीर : राजु झल्लु प्रसाद)

Tags:

सम्बन्धित समाचार