काठमाडौं । पहिलो र दोस्रो विश्व युद्धमा ज्यान गुमाएका करिब ६० हजार गोर्खालीहरूको सम्झनामा फेदीखोला गाउँपालिकाको साल्मेडाँडा ‘गोर्खा स्मारक’ निर्माण भइरहेको छ । आइतबार वि विल राइज फाउण्डेसन नेपाल र पोखरेली मञ्च युकेको संयुक्त आयोजनामा सोही साल्मेडाँडासम्म ‘हाइक फर साल्मेडाँडा’ कार्यक्रम सम्पन्न भएको छ ।
स्याङ्जाको साल्मे डाँडासम्म पुगेका पदयात्रीले बिहान ९ बजे पोखरास्थित मटिखान टावरबाट पाइला । मटिखानस्थित जेन्टलमेन यूथ क्लबका युवा, जनजागृति आमा समूहका महिलाले फूलमाला, खादा र पञ्चेबाजासहित करिब ६० जना यात्रीलाई स्वागत गरेका थिए ।
पदयात्रामा अभिनेत्री करिश्मा मानन्धर, गायिका सुनिता दुलाल, कीर्तिमान आरोही फूर्वा तेन्जिङ शेर्पालगायतका चर्चित व्यक्तिहरू समेत सहभागी भएका थिए । यात्राका क्रममा स्याङ्जा रामटीस्थित न्यू चण्डी कालिका इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीको भव्य स्वागत ग्रहण गर्दै यात्रीले रामकोट होम स्टेमा खानपिन गरेका थिए ।
त्यसपछि साल्मेडाँडा पुगेर औपचारिक कार्यक्रम सुरु भएको थियो । पैदल यात्रामा सहभागी सबैले साल्मेमा निर्माणाधीन गोर्खा स्मारक पार्कको समेत अवलोकन गरे । गोर्खा भूतपूर्व सैनिक सङ्घ (गेसो)ले उक्त पार्क निर्माण गरिरहेको छ ।

पोखरेली मञ्च युकेका अध्यक्ष मानप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङ, नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष खड्ग रानाभाट, गोरखा स्मारक पार्क व्यवस्थापन समितिका अध्यक्ष जङ्गबहादुर गुरुङ, महासचिव डा. चन्द्र गुरुङ आदिको उपस्थिति थियो ।
कार्यक्रममा अभिनेत्री मानन्धरले पर्यटन प्रवर्धन गर्ने कर्ममा संलग्न हुन पाउँदा खुसी लागेको बताइन् । गायिका सुनिता दुलालले कुनै पनि देश समृद्ध बन्नका लागि पर्यटनलाई प्रवर्धन गर्नु पर्नेमा जोड दिइन् । फाउण्डेसनको निर्देशक (पब्लिक रिलेसन राष्ट्रिय अन्तराष्ट्रिय)समेत रहेकी उनले हङहङ, बेलायत आदि देशमा ‘हाइक फर नेपाल’ का माध्यमबाट नेपाल चिनाउने समेत बताइन् । उनले निर्माणाधीन स्मारकका लागि फाउण्डेशनको तर्फबाट २ लाख रुपियाँ आर्थिक सहयोगको घोषणा पनि गरिन् ।
बेलायतबाट आएकाहरूको ठूलो सङ्ख्यामा सहभागिता रहेको हाइकिङमा बेलायतको बे्रकन टाउनका मेयर डेनिड मेरिडिथ पनि आइपुगेका थिए । उनी गोरखा स्मारक निर्माणमा हौसला दिन पनि आएका हुन् । गाउँको पर्यटन प्रचारकै निम्ति हाइकिङ गरिएको पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङले जानकारी दिएका छन् ।