मेसोपोटामियामा लगभग २५० वर्ष ई.पू मा आयोजना गरिएको विवाह समारोह मानव सभ्यतामा पहिलो पटक रेकर्ड गरिएको विवाह समारोह हो ।
समाजको विकासक्रम जसै एक सरल अवस्थाबाट जटिलतातर्फ अगाडि बढ्दै आयो, विवाह संस्थाप्रति समाज र मान्छेको सामाजिक निर्भरता पनि बढ्दै गयो । प्रायः पुरातन समाजलाई प्रजातिहरूको अस्तित्वको लागि एक सुरक्षित वातावरण एवम् सम्पत्तिको अधिकार प्रदान गर्न नियमहरूको प्रणाली आवश्यकता थियो । विवाह संस्थाले यी आवश्यकताहरू सम्हाल्यो र आफूलाई अगाडि लिएर गयो ।
विवाहलाई सांस्कृतिक सार्वभौमिकता मानिन्छ, जसको अर्थ यो हो कि, विवाह सबै संस्कृतिहरूमा एक सामाजिक संस्थाको रूपमा उपस्थित छ । विवाहले धेरै कार्य गर्दछ । धेरैजसो समाजमा यसले आमा, बुबा र वंशाणुगत रूपमा आफन्तहरूसँगको सम्बन्ध परिभाषित गरेर बच्चाहरूलाई सामाजिक रूपमा पहिचान गर्दछ । यसका साथै, यसले यौन व्यवहारलाई नियमन गर्ने, एक उमेर समूहबाट अर्को उमेर समूहमा स्थानान्तरण गर्ने, संरक्षण गर्ने, सम्पत्तिको अधिकार लाई सञ्चालन गर्ने, व्यक्तिको प्रतिष्ठालाई संरक्षण गर्ने, शक्ति र अधिकारको सन्तुलन राख्ने गर्दछ । र, सबैभन्दा महत्त्वपूर्ण कुरा, विवाह ‘परिवार संस्था’को आधारभूत आधार हो ।
धेरैजसो समाजमा, विवाह एक- स्थायी सामाजिक र कानुनी सम्झौता मानिन्छ र दुई- व्यक्तिको बीचको सम्बन्ध (जो पति/पत्नी बीच आपसी अधिकार र दायित्वमा आधारित छ) लाई मानिन्छ । तर जेसुकै होस्, विवाहले प्रायः दुई व्यक्ति बीचको यौन सम्बन्धलाई सङ्केत गर्दछ ।
इतिहासका प्रमाणहरूलाई आधार बनाएर भन्ने हो भने विवाह लगभग ४,३५० वर्ष पुरानो संस्था हो भन्न सकिन्छ । अधिकांश मानवशास्त्री विश्वास गर्दछन् कि, पुरातन परिवारहरूमा ३० जना भन्दा बढी व्यक्तिको सुस्त र सङ्गठित समूह हुने गर्थ्यो, जसमा धेरै पुरुष नेताहरू हुने गर्थे (जहाँ उनीहरूले सन्तानका निम्ति साझा गरेका महिलाहरू हुन्थे) । जब समाज शिकार प्रणालीबाट कृषि सभ्यतामा (कृषि समाज) मा बसोबास गर्न थाल्यो, तब समाजलाई थप स्थिर प्रबन्धहरूको आवश्यकता पर्न गयो ।
हरेक समाजमा विवाहसँग सम्बन्धित समारोह, यसका नियम, कानून र भूमिकाहरू एक समाजबाट अर्को समाजमा फरक हुन सक्छन् । यस्ता नियम र पद्धतिहरू समाजले आवश्यकताअनुसार अनुसरण र परिवर्तन गर्दै आएको तथ्य ऐतिहासिक रूपमा विवाहको संरचनामा हेर्दा प्रस्ट हुन जान्छ ।
मानव सभ्यतामा पहिलो पटक रेकर्ड गरिएको विवाह समारोह (जहाँ एक महिला र एक पुरुषलाई एकजुट गर्ने बारेमा) मेसोपोटामियामा लगभग २५० वर्ष ई.पू समारोहको आयोजना गर्ने पद्धति विकास भएको पाइन्छ । त्यसपछिका केही सय वर्षहरूमा हिब्रु, ग्रीक र रोमनहरूले विवाहलाई एउटा पुरानो संस्कृति र परम्पराको रूप दिन थाले । यसप्रकार विवाह एउटा व्यापक संस्थामा परिणत भयो । तर, त्यतिबेला विवाहको प्रेमको र धर्मसँग खासै सम्बन्ध थिएन ।

Dated as being from 550-530 BCE, this Attic Greek lekythos depicts a wedding procession. Attributed to the Amasis Painter. Now housed in The Metropolitan Museum of Art.
विवाहको मुख्य उद्देश्य थियो, महिलालाई र पुरुषलाई एक साथ बाँध्नु ! र, यसरी एक प्रणालीबाट जन्मिएका सन्तानले आफूभन्दा अघिल्लो पुस्ताले जम्मा गरेको सम्पत्ति र सञ्चित गरेर छाडेका वस्तुमाथि अधिकार जमाउने प्रणाली सिर्जना हुन पुग्यो । अर्को हिसाबमा भन्ने हो भने वास्तवमै भविष्यमा आउने पुस्ता अघिल्लो पुस्ताको जैविक उत्तराधिकारी त थिए तर, यहाँनेर यो कुरा बुझ्न एकदमै जरुरी छ कि, छोरीहरुलाई र महिलालाई यो जैविक अधिकारबाट वञ्चित गरियो ।
महिलालाई यस्ता अधिकारहरूबाट पर राखियो र विवाह संस्थाको बढ्दै गएको विकासले गर्दा महिला एक पुरुषको सम्पत्ति जसरी हेरिन थालियो । यसको प्रमाणस्वरूप पुरातन ग्रिसको विवाहको समारोहमा हुने एक पद्धतिलाई हर्दा प्रस्टै हुन जान्छ, जहाँ- एक बुबाले आफ्नी छोरीलाई विवाह गर्दा यी शब्दहरू भन्ने गर्थे, “म मेरी छोरीलाई तिमीलाई (पुरुषलाई) वैध सन्तान जन्माउने उद्देश्यको लागि वाचा दिन्छु ।” तर जब महिलाहरू सन्तान जन्माउन असमर्थ अथवा जैविक कारणले गर्दा सन्तान उत्पादन हुँदैन थिए, तब पुरुषलाई अर्को विवाह गर्ने अधिकार हुन्थ्यो भने महिलालाई यस्ता अधिकारहरू दिइएको थिएन ।
पुरातन हिब्रु समाजमा पुरुषहरू धेरै पत्नीहरू लिन स्वतन्त्र थिए साथै विवाहित पुरुषहरू रखौटीहरू र किशोर-किशोरीहरूसमेत आफ्नो यौन चाहना पूरा गर्न राख्ने गर्थे । जबकि उनीहरूका पत्नीहरूले घरमै बस्नुपर्थ्यो र परिवारको हेरचाह गर्नुपर्थ्यो । यहाँनेर यो बुझ्न आवश्यक छ कि यसप्रकार विवाह गरी ल्याएका माहिलाहरूले घरपरिवार चलाउनुपर्ने, सन्तान हुर्काउनु पर्ने, परिवारका सदस्यका आवश्यकताका निम्ति सधैँ अग्रसर रहनुपर्ने मान्यतालाई विवाह संस्थाले सामाजिकीकरण गर्यो र थुप्रै अधिकारहरूबाट महिलालाई वञ्चित गर्न मूख्य भूमिका खेल्यो ।
यसक्रममा विवाहलाई धार्मिक, नागरिक वा कानूनीरूपमा स्वीकृतिको आवश्यकता पर्न थाल्यो । यद्यपि केही समाजमा यो केवल दुई दम्पतीको नितान्त व्यक्तिगत इच्छासँग पनि जोडिएको हुन्छ/थियो ।
जब रोमन क्याथोलिक चर्च युरोपमा एउटा शक्तिशाली संस्था भएर स्थापना भयो अनि विवाहलाई कानुनी मान्यताका लागि पादरीले दिएका आशिष्हरूको आवश्यकता पर्न थाल्यो र आठौँ शताब्दीसम्म आइपुग्दा क्याथोलिक चर्चमा विवाहलाई धार्मिक रीतिथिति वा परमेश्वरको अनुग्रह प्रदान गर्ने समारोहको व्यापक रूपमा स्वीकार गरियो ।

Babylonian Marriage Market by Edwin Long, 1875 CE, Royal Holloway College, London.
धेरै स्थानहरूमा, राज्य वा एक धार्मिक अख्तियारले विवाहलाई वैध र कानुनी ठान्नको लागि विवाह स्वीकृत गर्न अनिवार्य गरेको हुन्छ । यो विवाह समारोह पछि आउँदछ, जुन अवधिमा दुई दम्पतीबीच पारस्परिक अधिकार र जिम्मेवारीको समाजद्वारा विशेषरूपमा उल्लेख गरी सहमत गराइएको हुन्छ । त्यसैले समाजले वा राज्यले वैवाहिक जीवनलाई अक्सर सामाजिक रूपमा अभिवादन गरिदिन्छ र उनीहरूको सन्तान जन्माउने इच्छालाई सामाजिकीकरण गरिदिन्छ ।
यहाँ यो कुरालाई पुष्टि गर्न सकिन्छ कि, व्यक्तिको सन्तान जन्माउने प्राकृतिक अधिकारलाई एक स्थापित मान्यता वा राज्यको शक्तिले नियन्त्रण गर्दै आएको छ । हामी यो कुरालाई अर्को एक उदाहरणबाट प्रस्टै पार्न सक्छौँ, जस्तो- धार्मिक, कानूनी वा सामाजिकरूपमा मान्यता नपाएका वा नदिइएका दुई व्यक्तिबाट जन्मिएका सन्तान अथवा आमाबाबुको पहिचान हुन नसकेका सन्तानलाई धार्मिक संस्थाले धार्मिकरूपमा अधिकारबाट वञ्चित, राज्यले विभिन्न सुविधा र राजनीतिक अधिकारबाट वञ्चित र समाजले अवैधानिक सन्तान वा कलङ्क जस्ता अमानवीय लाञ्छना लगाउँदै आएको छ । यसका सम्बन्धमा राज्यहरूमा केही सुधारका काम त भएका छन् तर अझै यो विभेदको अवस्था जीवित नै छ ।
विवाहलाई प्रेमको प्रतिकका रूपमा लिइने गरिन्छ तर मानव इतिहासलाई हेर्दा दम्पतीहरूलाई प्राकृतिक र केही व्यावहारिक कारणहरूले गर्दा एक संस्थागत आकार दिन सँगै ल्याइएको थियो, न कि उनीहरू प्रेममा परेर । तर, मानवीय संवेदना र भावनात्मक विकासको क्रममा धेरै विवाह जोडीहरूले गहिरो आपसी सम्बन्ध र जीवनयापन गर्न सजिलो भएको महसुस गरे र यहाँनेरबाट प्रेम र भक्तिको अवधारणा विवाह व्यवस्था भित्र प्रवेश गरेको पाइन्छ । तर, रोमान्टिक प्रेमको विचार, विवाहको लागि एक प्रेरक शक्तिको रूपमा, मध्ययुगभन्दा पछि मात्र प्रवेश गरेको पाइन्छ । अन्वेषणकर्ताहरूका फ्रान्सेलीहरूद्वारा प्रेम र विवाहको अवधारणालाई जोडेको भन्ने पाइन्छ वा भनौँ ‘आविष्कार’ गरेको पाइन्छ ।
ऐतिहासिक, सामाजिक एवम् आर्थिकरूपमा महिलाहरूले आफूमाथि भएका अन्याय अत्याचार र अधिकारबाट वञ्चित राखिएपश्चात त्यसको प्रतिकारस्वरूप विद्रोह र क्रान्तिकारी कदमहरू अघि बढाए । यसक्रममा महिलाहरूले विश्वका धेरै जसो भूगोलमा मतदानको अधिकार प्राप्त गरे, यस अधिकारले महिलाहरूलाई राजनीतिक स्वतन्त्रता र राज्य सञ्चालनमा संलग्न हुने अधिकार दियो । यसरी यहाँनेर आइपुग्दा (सन् १९२०) विवाह संस्थाले एक नाटकीय रूपान्तरण सुरु गर्यो ।
एकाएक, प्रत्येक ठाउँमा महिला र पुरुष दुई पूर्ण नागरिकहरू भए । तर १९२० सम्मको परम्पराअनुसारको आफ्नो पुरुष दम्भ कायम राख्न पतिले घरमा पत्नीमाथि शासन गरि नै रह्यो ।
६० को दशकसम्म आइपुग्दा, धेरैजसो अधिकार महिलालाई दिएपनि १९७० को दशकमा बल्ल ‘वैवाहिक बलात्कार’को अवधारणालाई कानूनको दायरामा ल्याइयो र अन्ततः मान्यता दिइयो । उक्त कदमले महिलामाथि रहेको पतिको कामुकतालाई पुरा गर्नुपर्छ भन्ने धारणा परिवर्तन हुन गयो र ‘विवाहपछि पुरुषको महिलामाथि यौनको स्वामित्व हुन्छ’ भन्ने अवधारणाको जग भत्कियो । जुन त्यो भन्दा पहिलेको समाजका लागि एक अकल्पनीय कुरा थियो । दुई व्यक्तिको यौनपूर्तिको चाहाना उनीहरूको निजी र स्वतन्त्र इच्छासँग सम्बन्ध राख्दछ भन्ने धारणा वास्तवमै एकदम नयाँ र परिवर्तनकारी थियो, जसले गर्दा महिलाहरूलाई आफ्ना अधिकार स्थापना गर्न सहज भयो ।
‘अमेरिकन फेमिलिज् एण्ड नोस्टाल्जिया ट्रप्र’का लेखक इतिहासकार स्टेफनी कोन्टजले मान्दछन् कि ‘विगत ५००० वर्षमा, विवाह व्यवस्था र पद्धतिमा निकै परिवर्तन भएको छ ।’
( क्रमशः…)