शुक्रबार , मंग्सिर २३, २०७९

जनकपुरलाई उजिल्याउन सम्पदाको उत्खनन् जरुरी

image

  • हिमांशु चौधरी

जनकपुरका मठ मन्दिर र तिनमा सुरक्षित मूर्ति र गढमा इतिहासका अनेक उत्थान पतनका तथ्य लुकेका कारण उत्खनन्को आवश्यकता देखिएको छ।

जानकारहरूका अनुसार प्राचीन बेबिलोनियाको सभ्यताबारे सन् १८४५ मा संसारलाई त्यतिखेर जानकारी भयो जतिखेर निनेबेहको उत्खनन्मा संयोगवश केही बेलायती पुरातत्वविद्हरूले असीरियाका राजा असुर बनिपालको पुस्तकालय फेला पारे ।

त्यसै उत्खनन्मा माटाका गोलचक्कीहरू पनि प्राप्त भयो । यी गोलचक्कीहरू ईसा पूर्व एक हजार वर्षका थिए । यसबाट प्राप्त सुचना अनुसार बेबिलोनियावासीले “मर्दुक” भन्ने देवतालाई देवाधिदेव मान्ने गर्दथे । १७८२ ई.पू. देखि १६८६ ई.पू.सम्म शासन गर्ने हम्मुखरावी भन्ने राजाले पनि मर्दुकलाई ससारका सर्वोच्च देवता भनेका छन् ।

बेबिलोनियाका गोलचक्कीहरू जस्तै यहाँ पनि एक्कासी माटो खन्दा प्राप्त भएका प्राचीन र्इंटा, अभिलेख, मुद्रा, मूर्तिहरु छन् जसले पौराणिक तथा ऐतिहासिक विषयका दुर्लभ जानकारीहरू दिने गरेकाले उत्खनन्को आवश्यकता महसूस गरिएको हो ।

जनकपुरका मठ मन्दिर र तिनमा सुरक्षित मूर्ति र गढहरु बिलुप्त भइवसेका इतिहासका उत्थान पतनका अनेक प्रसंग संसारलाई सुनाउन आतुर छन् । जनककालीन जनकपुरका कथा, बज्जिसङ्घको प्रभाव, मिथिलाको प्राचीन इतिहास, नान्यदेव वंशीय प्रभाव, सेन र पालकालीन अवस्था, एकीकरण पछिका तथ्य यी मठ–मन्दिर, मूर्ति र गढ गढीहरूमा लुकेको विश्वास गरिन्छ।

बेबिलोनको पूरा कथा अनुसार सृष्टिको आरम्भमा पानी नै पानी थियो । जसलाई नूनिलो र गुलियो पानीको संज्ञा दिइएको थियो । यस्तै विदेध माधवको कथाले पनि जनकपुरका सरोवरहरू औँल्याएका छन् कि यो भूमि पनि जलै जलले भरिएको थियो ।

बेबिलोनियाका मर्दुक देवाधिदेव भए जस्तै हाम्री सीता आदिदेवी हुन् । हामी सबै त्यसै आदि पुरुष र आदिमाताबाट फैलिएका छौँ । यहाँका मठ मन्दिर र मूर्तिहरूले निनेवेहको गोलचक्की भन्दा बढी सूचना दिने भएकाले यिनबारे अझै खोजी हुनुपर्ने अन्वेषक नारायणप्रसाद रिमाल बताउँछन्।

वैदिक वाङ्मय, पुराण तथा धार्मिक साहित्यहरूले जनकपुरधामको अस्तित्व अनादिकालदेखि नै रहेको र धार्मिक तीर्थ बिशेष गरेर सीताराम तीर्थका रूपमा प्रख्यात रहेको पाइन्छ । त्रेता युगमा उत्कर्षमा रहेको जनकपुरधाम द्वापर युगमा महाभारतको युद्ध पछि लोप भएर पृष्ठभूमिमा पुगेको र धेरै वर्ष पछि कलियुगमा सोह्रौ शताब्दी पछि जनकपुरधाम पुनः प्रकट भएको भनिन्छ ।

जनकपुरका मूर्त सम्पदाका सन्दर्भमा मठ मन्दिरमा रहेका मूर्तिहरू धातु, पाषाण र मणि–विग्रहका रहेका बताइन्छ । पाषाणका मूर्तिहरूमा केही पालकालीनका छन् भने केही मध्यकालीन छापका छन् । केही भने अयोध्यामा रहेका मूर्तिहरू जस्ता देखिन्छन् । यहाँका मूर्तिहरूले कुनै एक कालको कला एवम् शैली प्रस्तुत नगरी विभिन्न कालका कला एवं शैली प्रस्तुत गरेको पाइन्छ ।

पुरातात्विक अंश भएका केही मन्दिरहरूमा राम मन्दिर, जानकी मन्दिर, जनक मन्दिर, लक्ष्मण मन्दिर रत्नसागर, कपिलेश्वरनाथ र कुपेश्वरनाथ मन्दिर उल्लेखनीय रहेको छ । जानकी मन्दिर बन्नु भन्दा अगाडि पैगोडा शैलीमा बनाइएको राम मन्दिरमा रामको पञ्चायन मूर्ति, लक्ष्मीनारायण, विष्णु, दशावतारको मूर्ति, सात घोडा रथमा रहेको सूर्यनारायण मूर्ति महत्वपूर्ण मानिएको छ ।

पुरातत्वविद तारानन्द मिश्रका अनुसार राम मन्दिरको पश्चिम–दक्षिण दिशामा मन्दिरसँग टांसिएर रहेको शिशुनारी मूर्ति पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण छ, सम्भवतः जनकपुरको प्राचीनतम् मूर्ति यही नै हो । सो पाषाण मूर्ति पालकालीन भएको अनुमान गरिएको छ । सोही मन्दिरमा रहेको एकमुखे शिवलिङ्ग पनि पुरातात्विक दृष्टिकोणले महत्वका छन् ।

सो मन्दिरका प्रथम महन्थ चर्तुज गिरीले ती मूर्ति मन्दिरको पछाडि रहेको वरको रूखमुनि प्राप्त गरेका थिए । वरको रूखलाई वटवृक्ष तथा कल्पवृक्ष भनिएको छ । यस वृक्षमुनि आफूले चिताएको वर मागेमा वर पूरा हुने विश्वास पाइन्छ ।

त्यस्तै, जनक मन्दिरमा सतानन्द, राजश्री, सुनयना, सीता, गोपालका मूर्ति रहेका छन् भने सीरध्वज जनकको मूर्ति (शीर, हात, खुटटा नभएको) खण्डित छ । यस खण्डित मूर्तिबारे विभिन्न कथन पाइन्छ । महाराजा जनकले दिएको दाइजोबाट अयोध्याका राजा दशरथ सन्तुष्ट नभएकाले जनकले टाउको काटेर दिएको प्रतीकका रूपमा यो खण्डित मूर्ति रहेको भन्ने भनाइ छ । त्यस्तै, यवनले आक्रमण गर्दा मन्दिर भत्काउने मूर्ति फोड्ने हु्ँंदा मूर्ति खण्डित भएको हो भनाइ पनि पाइन्छ ।

लक्ष्मण मन्दिरमा भएका लक्ष्मणको मूर्ति पौराणिक भएको मानिन्छ । भागवतका अनुसार त्रेता युगमा मिथिलाका राजा बहुल्याश्व जनकका पालामा मिथिलामा भीषण अनिकाल पर्दा सो अवस्थाबाट शान्ति पाउन तत्कालीन ऋषिमुनिहरूले राजालाई हिमालयमा गई बाह्र बर्ष तपस्या गर्न सल्लाह दिए । ऋषिमुिनको सल्लाह अनुसार उनी हिमालयमा गई तपस्या गर्न थाले । बाह्र वर्ष तपस्या गरे पछि उनलाई लक्ष्मणको पत्थरको मूर्ति प्राप्त भयो र आकाशवाणी भयो- ‘तिमी यो मूर्ति लिएर जानू र पूजा गर्नू । तिम्रो देशमा अनिकाल हट्ने छ । जनता सबै खुशी रहने छ ।’ राजाले लक्ष्मणको मूर्ति लिएर आफ्नो देशमा आएर पूजाआजा गर्न सुरू गरेपछि राजा र प्रजा आनन्दले जीवन बिताउने थाले ।

रामजानकीका मूर्तिहरू प्रमुख रहेको रत्नसागर मन्दिरमा लक्ष्मण, राधाकृष्ण, लडु गोपाल र हनुमानका ३१ भन्दा धेरै धातु र संगमरमरका प्राचीन मूर्ति र ७ सय भन्दा बढी सीताराम स्वरूपका शालिग्रामको नियमित पूजा गरिन्छ ।

जनकपुर उप–महानगरपालिका वडा नं १२ कुवा गाउँमा रहेको कुपेश्वरनाथ मन्दिरको शिवलिङगकाबारेमा धार्मिक ग्रन्थहरूमा पनि उल्लेख छ । मन्दिरभित्र महादेव कुपेश्वरनाथ एउटा कूप जस्तो गोलाकार खाल्डोमा रहेका छन् । महादेव कूपमा रहेकाले यी नाथलाई कुपेश्वरनाथ भनिएको हो । गाउँको नाम पनि कुवा भनिएको हो । कुपेश्वरनाथको शिवलिङगलाई बराहको थुतुनो हुन सक्छ भनेर पनि अनुमान गर्नेहरु छन् ।

कुपेश्वरनाथको मन्दिर चर्तुज गिरीकै समयमा बनेको हो र यो राम मन्दिर जतिकै पुरानो मानिन्छ । यसको पनःनिर्माण विसं १९९६ सालमा भएको हो । फेरि २०५१ सालमा जीर्णोद्धार गरिएको हो । मन्दिर शिखर शैलीमा निर्माण गरिए पनि त्यसमा मैथिल वास्तु शैलीका अंश पनि रहेको छ । मन्दिरमा रहेको छाना बंगालका पालकालीन राजाद्वारा निर्माण गरेको जस्तो देखापरेका अन्वेषक रिमाल बताउँछन्।

जनकपुर उप–महानगरपालिका वडा नं। १२ हनुमानगढीमा पाषाणका हनुमान र धातुका रामजानकीका मूर्ति रहेका छन् । सन्यासी प्रितम दासले तीर्थाटनका क्रममा गङ्गामा हनुमानको मूर्ति प्राप्त गरेको उल्लेख छ । जनकपुर आउने पहिला सन्यासीहरूमा सूरकिशोर दास र चर्तुज गिरी पछि विसं १८३८ मा प्रितम दासले बराहकुटीको मौजाको कुश विर्ता पाएको गीर्वाण विक्रम शाहको मिति १८६७ सुदी ५ भाद्रको शाही आदेशबाट यस मन्दिरको प्राचीनता स्पष्ट हुन्छ ।

पन्ध्र दिने परिक्रमाको क्रममा कचुरीको किशोरीको डोला पहिलो रात यही मन्दिरमा विश्राम गराई बिहान कल्याणेश्वर लाने परम्परा रहेको छ । शिखर शैलीमा निर्माण गरिएको सो मन्दिरमा हनुमानका मूर्ति भक्तिभावले दक्षिण मुख फर्काई राखिएको छ ।

जनकपुर उप–महानगरपालिका वडा नं. १६ मा शिखर शैलीमा निर्माण गरिएको कपिलेश्वरनाथ मन्दिरको धार्मिक पुरातात्विक महत्व निकै छ । मन्दिरमा शिवलिङग, बसहा, गणेश, पार्वती, शालिग्राम तथा मन्दिर बाहिर वरपर शिव, पार्वती, गणेश, जोगिन्दर, महारानी आदिका मूर्तिहरु रहेका छन् । मन्दिरको भित्रका मूर्तिहरु काला पत्थरका छन् भने मन्दिर बाहिर अधिकांश मूर्ति संगमरमरका छन् ।

धार्मिक ग्रन्थहरुमा उल्लेख भए अनुसार, जनकवंशीय राजा सीरध्वजले जनकपुरको चारै दिशामा चारनाथको स्थापना गरेका थिए । तीमध्ये पूर्व–उत्तरमा कपिलेश्वरनाथ पनि एक हुन् । भनिन्छ, कपिलमूनिको आश्रम पनि यहीँ थियो । कालान्तरमा आएर यस मन्दिरको प्राचीन रूप लोप हुन गयो । अन्वेषकहरूले यस मन्दिरको प्राचीन रूप सीमरौनगढीय वास्तु शैलीमा निर्मित भएको उल्लेख गरेका छन् ।

मुगल वास्तु शैली र मैथिल वास्तु शैलीको सङ्गमबाट बनेको जानकी मन्दिरमा वास्तु कलाकारिताको विलक्षणता देखिन्छ । मन्दिरको गर्भगृहमा महात्मा सूरकिशोर दासद्वारा प्रतिष्ठापित किशोरीजीको स्वर्णमय प्राचीन मूर्ति र ओरछा नरेश तथा महारानीले प्रतिष्ठापित गरी मणि विग्रहका मूर्ति रहेका छन् ।

यी मूर्ति चाँदीको पाताले मोडिएको रथ आकारझैँ भान हुने विशाल एवम् कलात्मक सिंहासनमा आकर्षक ढङगले सजाएर राखिएका छन् । सीतारामका मूर्तिहरू राखिएको कोठामा बस्ने मूलद्वार पनि चाँदीबाट नै जोडिएका छन् । सीतारामको पछिल्लो भागमा अष्टकुञ्ज नामक कोठाहरू छन्, सो मध्ये दुई कोठाबाट पाताल जाने बाटो छन् । मन्दिरको उत्तरतर्फको प्रवेशद्वारमाथि दुईवटा विशाल राता आँखा भएका पत्थरले बनेका सिंहका कलात्मक मूर्ति छन् । पहिले यी दुवै सिंहका चारैवटा आँखा हीराजडित थिए । टाढैदेखि चम्किलो देखिन्थ्यो तर ती हीरा चोरिएको बताइन्छ । यस कलात्मक पत्थरमा कलात्मक ढङगबाट रोमनमा एस. पी. लेखिएको छ ।

जनकपुरधामको वडा नं ८ मा रहेको ज्ञानकूप विद्याकूप नजिकैको ढिस्को, कपिलेश्वर महादेवको गढी, कुपेश्वर महादेव मन्दिरको ढिस्को र उपमहानगरपालिका तथा यस क्षेत्रमा रहेका प्राचीन पोखरी एवम् तलाउको अन्वेषण आवश्यक देखिएको छ ।

यसका साथै विग्धी खोलामा प्राप्त कुषाणकालीन मुद्रा अध्ययन र अनुसन्धानको विषय रहेको छ । खोजकर्ता नमोनारायण झाले यसबारे पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि गम्भीरता नदेखाइएकाले ती मुद्राको अवस्था अज्ञात रहेको बताइन्छ ।

यसैगरी, जनकपुर उप महानगरपालिका वडा नं १३ मा रहेको त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रले सीतासित विवाह गरेको स्थल भनी प्रख्यात ‘मणिमण्डप’ पनि अध्ययन, विश्लेषण, अनुसन्धानको प्रतीक्षामा छ । राजा जनकले सीताको विवाह गर्दा मडवाका रूपमा ‘मणिमण्डप’ को निर्माण गराएको जनविश्वास छ ।

भगवान् विश्वकर्माले सीताको विवाहका लागि मणि जडित मड्वा निर्माण गरेकै कारण वैवाहिक मड्वाको नाउँ मणिमण्डप हुन गएको अनुमान छ । यसका साथै जनकपुर क्षेत्रमा प्राचीन पोखरी, इनारहरू पनि छन् जसमा पाइने ईंटा असामान्य आकारका छन् । शोधकर्ताहरू जनकपुर क्षेत्रमा भएका सम्पदालाई दृष्टिगत गर्दै जनकपुरको सभ्यतालाई रोमको सभ्यता भन्दा १५ वर्ष जेठो भनेका छन् । कतिपयले जनकपुर र लुम्बनीको सभ्यता समकालीन भएको उल्लेख गरेका छन् ।

सुप्रसिद्ध चिनियाँ यात्री ह्वेन साङ्गले पनि भ्रमण गर्दा गर्दै मिथिलाको नाम सुनेर सातौँ शताब्दीमा सन् ६४० तिर यहाँ आउँदा उजाड र अस्तव्यस्त अवस्थामा पाएको भनी यात्रा वृतान्तमा उल्लेख गरेका छन् । जनकवंशीय राजा करालको बध पछि ऐश्वर्यवती मिथिलापुरीको दुर्दिन सुरू भयो । करालको अन्त्यसम्म मिथिला राज्यको दक्षिण पूर्वमा गंगापारि रहेको प्राचीन वैशाली शक्तिशाली राज्यमा परिणत भइसकेको थियो ।

करालको अवसान पछि वैशालीका वज्जिहरूले मिथिलामाथि धावा बोली आफनो अधीनमा लिए । केही दशक पछि वज्जि सङ्घ पनि मगधका राजा अजात शत्रुबाट परास्त भएर मिथिला प्रदेश ५५३ ई.पू. तिर मगधको अधीनमा परे । मगध पछि कन्नौज, पालवंश र कर्णाटवंशीहरूको पोल्टामा पर्दै सन् १३२६ मा गयासुद्दिन तुगलकले जिते पछि केही समयका लागि मिथिला दिल्लीको मुस्लिम शासनमातहत समेत रह्यो । यसरी राजाहरूको विजय–पराजयसँग इतिहासमा हुँदै गरेको उथल–पुथल बीच सयौं वर्षसम्म पराधीन र श्रीहीन अवस्थामा गुमनाम रहेको यस क्षेत्रको प्रमाणीकरणका लागि यहाँ भएका मूर्त र अमूर्त सम्पदाको खोज, अनुसन्धान र उत्खनन् आवश्यक छ ।

जनकपुर क्षेत्रमा पाइने सम्पदाले सामान्यतया मौर्य, शुँग, कुषाण, गुप्त, पाल, सेन राजवंश र पछि मकवानपुरका सेन राजाहरूको समयलाई बोध गराइरहेको छ । मानव सभ्यताको विकासक्रमलाई रेखाङ्कित गर्न सकिने विभिन्न गढीको उत्खनन् गर्नु आवश्यक देखिएको छ । यस क्षेत्रलाई जानकीको जन्मथलो, माइती भनी धार्मिक ग्रन्थहरूले प्रतिपादित गरेपनि त्यस समयको अवशेष अहिले पनि अनुसन्धानको विषय रहेको छ । यस अतिरिक्त पुरातात्विक महत्वका वस्तुहरूको गहन अध्ययन हुनसक्यो भने तत्कालीन राज्य व्यवस्था, सामाजिक जीवन, धर्म र लिपिबारे पनि प्रशस्त जानकारी प्राप्त हुन सक्ने सम्भावना रहेको साहित्यकार डा. राजेन्द्र विमल बताउँछन् ।

सम्बन्धित समाचार